आज हामीहरू चौरासी लाख प्राणीहरूमध्ये अठार लक्षणलेयुक्त सर्वश्रेष्ठ मानव जीवन प्राप्त भएको हाम्रो शास्त्रले प्रस्ट्याएको छ। यो अमूल्य जीवन पाएर आज कुशल मार्गको चिन्तन मनन् र त्रिरत्नप्रति शरण गमन गर्न सकिएन भने पछि बीउबिनाको फलको आशा कसरी गर्ने ? आज दुःख लाग्दो कुरो के देखा परेको छ भने (छेढोग) लामा र (जिन्धाग) जजमानहरूमा धर्मको विषयलाई लिएर साधारण ज्ञानको बोध हुन नसकेको छ। खासगरी हाम्रा पुर्खाहरूले आफ्नो धर्म भित्रको सार अर्थ नबुझेर अन्य धर्मको देखासेखी गरेर मृतक कार्यहरूमा पनि लाशलाई सिन्दुरले पहिरिने र लाशको अघिअघि खुकुरी देखाउँदै लाने, मृतकको नाम गरेर नुनतेल बार्ने, केश खौरने, छोपो ओड्ने, माना चामल तर्पिने, घेवा नसकुन्जेल कुखुराको मासु, माछा, आमाको मृत्युमा दुध, बाबुको मृत्युमा मृगको मासु आदि बार्ने, काँसको थाल बटुकामा नखाने, छालाको जुत्ता चप्पल नलगाउने, खाट राडि आसनीमा नबस्ने, गहना फुकाली त्याग्नु पर्ने, चुलो नबाट्ने, लुगा उल्टा लगाउने, गुन्द्री समेत उल्टा ओछ्याउने, खतुकि (शोकमा परेको व्यक्ति) ले अरूसँग नबोल्ने, खतुकिलाई अरूले छुन नहुने, दोमासे बार्ने, दाग बत्ती दिने, आफन्तले आगो दिने, श्रावणमा धर्म नगर्ने, मृतकको नाममा जीव हत्या गर्ने, यस्ता चलनहरू हाम्रो महायान बुद्धिष्टभित्र नपर्ने हुनाले यस्ता चलनहरूदेखि अलग रहनु अति आवश्यक छ। यस्ता चलनहरूदेखि नछुटेसम्म हामी र हाम्रो बुद्धमार्गी बुद्धिष्ट सन्तानहरू धर्मबाट अत्यन्तै टाढा हुनेछौँ । जबसम्म यस्ता चलनहरूसँग छुट्न सक्दैनौँ तबसम्म हामीलाई हाम्रा गुरुजनहरूले अँगाल्ने छैनन् र हामीले जति नै धर्म प्रचार गरेता पनि पानीले भिजेको सलेदोमा आगो सल्काए जस्तो हुनेछ । खोलाको बगरमा स्याउ रोपेजस्तो हुनेछ । हिउँको थुप्रोमा धान रोपेजस्तो हुनेछ । यस किसिमको अहितका चलनहरूसँग अलग्ग भई शुद्ध रहनु पर्नेछ ।
हामीहरूमा बारम्बार भोगिरहेको भन्दा हर्षको
सीमा रहँदैन र हाम्रो हृदयमा अहंकार उत्पन्न हुन्छ ।
त्यस अहंकारले सताएपछि शोक सुर्तासँग अलग
गराउँछ र मृतक आत्मालाई दुःखदेखि छुटाउने पुण्य
संञ्चय गर्ने कामदेखि छुटाउँछ । त्यस्ता चिजहरूलाई
तीन वर्ष नभए पनि वर्ष दिनसम्म त्याग्नु पर्छ ।
वास्तवमा मृत्यु संस्कारमा पालन गर्नु पर्ने
कुराहरू तल दिइएको छ:- १. नयाँ लुगा नफेर्ने
२. धार्मिक पर्वबाहेक जातीय पर्व नमनाउने
३. पार्टी नखाने
४. गीत नगाउने
५. ननाच्ने
६. गहना पहिले लगाएको भन्दा थपेर नलगाउने र धुम्रपान, मतमदिरासँग पनि अलग्ग रहेर मृतकको नाममा धार्मिक कार्यमा होसियार साथ लागि पर्नुपर्ने । यति मात्र बार्न सके दुःखको समयमा अचानक उत्पन्न हुने अहंकारको निर्मुल हुनेछ अनि
विनम्र भई धार्मिक कार्यमा अघि सर्न सजिलो हुनेछ । बुद्ध धर्म भनेको अहिंसा परम धर्म हो । सबै धर्मसँग धार्मिक सहिष्णुता राख्दछ ।
मृतकको नाममा गर्नु पर्ने कार्यहरू:-
१. मर्ने समयमा बर्दो पाठ गराउनु पर्ने छ-कारण मरणको दुःखदेखि मुक्त गराउनलाई
२. होम यज्ञ वा लाश जलाउने ठाउँ खाल्डोभन्दा चौका उठाई जलाए उचित हुनेछ । अस्तु छुट्याएर अरू खरानी र हड्डी चोखो ठाउँमा सेलाउनु पर्नेछ । यदि सिद्धि पुरूषको हड्डी खरानी भए पानीको मुल्कोमा बगाउँदा उचित हुन्छ । अरूको यसो गर्न मिल्दैन ।
३. आफन्तले आगो दिनु हुँदैन । कारण दुःखमाथि दुःख थपिएर बिराठ बन्नेछ । मृतकको आत्माले दुःखदेखि छुट्कारा पाउन असमर्थ हुनेछ ।
४. बिरन्तरी मानिस वा लामाद्वारा आगो दिनु पर्नेछ लामाद्वारा आगो दिए पहिले भएको दुःख देखि मुक्त हुने आशिर्वाद पाउनेछ ।
५. लाश जलाएको कोइला खरानीमाथि (माने छ्योर्तेन) मन्दिर पुजास्थान बनाउन मनाही छ । किनकी खरानी हड्डीमाथि पुजास्थान बनाई पुजापरिक्रमादि गरे मृतक आत्मालाई दुःखको बोझ बडेर बिराठ बन्नेछ र मुक्त हुने मौका पाउँदैन भन्ने विश्वास छ । माने छ्योर्तेन बनाउँदा चोखो ठाउँमा बनाई (सुङ्) मन्त्र मात्र लगाई बनाउने र हड्डी खरानी अस्तु नलगाउने । त्यसो गरे सबै प्राणीले पुण्य सञ्चय गर्ने धर्मस्थल बन्नेछ, त्यसको पुण्यले मृतकको आत्माले सखवती क्षेत्रमा बास लिन सक्नेछ भन्ने विश्वास रहिआएको छ ।
यसरी सांसारिक चलन र धार्मिक चलनमा आकाश र पातालको फरक पर्नेछ । त्यसकारण लोक कीर्तिमा फसेर यो अमूल्य जीवन तथा समय बिताउनु त बहुमूल्य रत्न मणि हिलोमा मिल्काएसमानको नोक्सान हुने कुरालाई बुझिदिए आजको युगमा धर्मको सामु मानव जीवन प्राप्त गरेको ठूलो महत्व रहने थियो । सधैँ नै परोपकारको भावनाद्वारा परामीतालाई अपनाई दुःखी प्राणीको हित गरे अमूल्य पुण्य सञ्चय गर्ने खानी फेला पर्ने थियो । अन्त्यमा सबै सज्जन महानुभावहरूमा प्राणीको हित गरी धर्मको सेवा गर्ने दृढ संकल्प गरौँ भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु ।
प्रस्तुति: छिरिङ तामाङ
(ह्याङ्ला काइ, २०७० अंक-४ बाट साभार)