निष्कर्षः ‘एकेडेमीमा रमिता छ… ! रमितामा छ प्राज्ञको झुण्ड, ‘प्रज्ञा’को अनिकाल !‘
निष्कर्ष अन्तिममा आउनुपर्ने कुरा हो तर यो लेखको प्रारम्भ मैले निष्कर्षबाट सुरु गरेँ ।
‘पुरस्कार र विवाद समानार्थी शब्द होइनन्’ भनेर भन्न सकिने अवस्था रहेन । विश्वभरि नै पुरस्कार र विवाद जोडिएर आउने गरेका छन् । चाहे त्यो गान्धीदेखि ट्रम्पसम्म मुछिएको नोबेल पुरस्कार होस् या सिन्धुलियदेखि मुकारुङसम्म मुछिएको राष्ट्रिय कविता महोत्सव । राष्ट्रिय सम्मानदेखि विश्व चर्चित पुरस्कारसम्म उही उस्तै हविगत छ- विवादित, टकरावपूर्ण !
‘पुरस्कार र विवाद’बीचको आत्मियता :
जहाँसम्म जसोगरी पुग्दा पनि भयो । बौद्धिक उत्कृष्टतादेखि निर्णायक संस्थासम्मको स्वविवेकको मोलमोलाइसम्म । निर्देशित राजनीतिदेखि नियतगत प्रपञ्चको रमितासम्म । गुणवत्ताको मानकदेखि रुचि क्षेत्रभित्रका स्वीकृत/अस्वीकृत अभिव्यक्तिसम्म । पुरस्कारदाताको उद्देश्यदेखि पुरस्कार प्राप्त गर्नेका पक्षधरसम्म । पुरस्कारले विवादको घेरा नाघ्न सकेन ।
विवादका जटिलताहरू धेरै छैनन् (थोरै पनि होइनन्) । कहिले पुरस्कार दिने संस्थाको जिम्मेवारीपनामा मन्दी, कहिले पुरस्कार थाप्ने व्यक्तिको नैतिकतामा अल्पता । कतै स्वच्छताको कमी, कतै वस्तुनिष्ठताको साँघुरोपना । कहिले विविधताको न्यूनता, कहिले एकनासपनाको अधिकता ।
समग्रमा ‘पुरस्कार’ प्रशंसा स्वरूप, प्रोत्साहन स्वरूप, आदर स्वरूप, सम्मान स्वरूप दिइनु पर्ने र पाउनेले पनि पुरस्कारको ओजलाई आफ्नो मानवीय सामाजिक दायित्वबोध सम्झनु पर्ने निष्कर्षमा पटक-पटक फलाना-फलानाहरू पुगिरहेकै हुन्, र फलाना-फलानाहरूले ‘त्यसो होइन यसो यसो हो’ पनि भनिरहेकै हो ।
कुराको श्रीगणेश ‘गणेशजी’बाट नै गरौँ । यहाँ ‘श्रीगणेश’का कुरा किन गरेकोभन्दा १०८ वटा विभिन्न नाम भएका भगवान् गणेशलाई कला र साहित्यको भगवान् मानिन्छ । उनले शिव-पार्वतीलाई प्रदक्षिणा गरे । तर कार्तिकेयले त्यत्रो दु:ख खेपेर पनि त्यो स्थान पाएनन्, जुन स्थानमा आज ‘गणेशजी’छन् । उनले आफ्ना मातापिताबाट जेजस्ता ‘पुरस्कार’ पाए त्यसले कार्तिकेयमाथि अन्याय भयो भन्ने चर्चा खासै नयाँ, नौलो र नवीनतम चर्चा होइन ।
पुरस्कार के हो र के होइन ?
‘पुरस्कार के हो र कसो हो’ भनेर खोजिनिधि गर्दै जाँदा विचारक आहुतिको तर्क घतलाग्दो भेटियो । उनी “पुरस्कारको राजनीति“मा लेख्छन्, “सामन्तवादी युगमा राजा महाराजा वा समाजका हुकुमशालीहरूले आफ्ना रैतीको कामबाट खुसी भएर दिने बक्सिस पुँजीवादी स्वतन्त्रताको युगमा पुरस्कारका रूपमा स्थापित हुन आइपुग्यो ।”
“पुरस्कार भनेको सामन्तवादी प्रचलन ‘बकस’को पुँजीवादी दोस्रो संस्करण मात्रै हो ।”, आहुतिसँग नै सहमत देखिए समीक्षक/निबन्धकार गुरुङ सुशान्त पनि ।
नेपाली शब्दकोशले आत्मसात्स्वरूप परिभाषित र व्याख्या गरेको पुरस्कार शब्दको अर्थ ‘अगाडि ल्याउनु, आदर-सम्मान गर्न दिइने वस्तु, पारितोषिक नै पुरस्कार हो ‘ भनी लेखेको भेटियो । यसलाई प्रज्ञा-प्रतिष्ठानले आफ्नो नवीनतम मोबाइल एप डिक्सनेरीमा ‘पुरस्कार कुनै पनि कामगरेबापत व्यक्तिलाई उसको सामाजिक प्रतिष्ठा बढाउन र प्रोत्साहन गर्न दिइने वस्तु’ भनी थपिएको समेत भेटियो ।
पुरस्कार के होइन त ? तात्कालिक समाज, परिस्थिति, समयको उत्कृष्टतालाई सम्मान गर्ने क्रममा नियतगत स्वार्थ राखिन्छ भने त्यो पुरस्कार होइन । त्यो राजनीति हो । राजनीतिगत स्वार्थ हो ।
राजनीतिले मात्र कुनै पनि समाज, कुनै तप्का, कुनै पनि विचार समूहलाई एकैपटक (या पटकपटक) दण्डित या सम्मानित गर्न सक्दछ । कोही एकका कारण सोही विचार समूह, समाज र वर्गका समग्र व्यक्तिहरूलाई दण्डित राजनीतिक स्वार्थका कारण मात्र हुन सक्दछ ।
पुरस्कार नितान्त व्यक्ति र उसको सृजनाले तात्कालिक समाजलाई के-कति असल योगदान गर्यो भन्ने आधारमा दिनुपर्दछ । यदि दिइँदैन भने निर्णायकको भूमिकामाथि प्रश्न उठ्छ । “पुरस्कारको सर्वमान्य मापदण्ड हुँदैन तर निष्पक्षता भने हुनैपर्छ ।’, विचारक दीपेन्द्र पाण्डे बताउँछन् ।
पुरस्कार संस्कृति कि विकृति ?
इतिहासमा प्रथम पुरस्कार पाउने श्री गणेश थिए कि ग्रीसका ओलम्पिक खेलाडीहरू (बार्टर सिस्टम) ? यतातर्फ बहसलाई मोड्न उचित छैन नै ।
डिल्लीराम मिश्रको नेपाली पुरस्कारको इतिहास नामक १२४६ पृष्ठको बृहत् आकारको किताबलाई नेपाली पुरस्कार इतिहासको विविध र विधागत क्षेत्रका श्रृंखला र पुरस्कार स्थापना गर्ने सङ्घ-संस्था एवं व्यक्ति व्यक्तित्व विशेषको पुरस्कार स्थापनाको सन्दर्भ र पृष्ठभूमिबारे बाँकी जिम्मा सुम्पिएर पंक्तिकार नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजनामा भर्खर मात्र सम्पन्न ‘राष्ट्रिय कविता महोत्सव’लाई चर्चाको केन्द्रबिन्दु बढाउँदै अघि बढ्न चाहन्छ ।
त्यस पहिले एक दुई कुरा छन्, त्यसलाई सरसरती समेटौँ । पहिलो भनेको पुरस्कारको आवश्यकता र संस्कृति, दोस्रो चाहिँ संस्कृति भइसकेपछि त्यसले निम्ताउने विकृति र दुर्घटनाहरू ।
कानूनी राज्यमा दण्ड र पुरस्कारको महत्त्वलाई विशेष बताइन्छ । असल काम गर्नेहरू पुरस्कृत हुनु र गलत काम गर्नेहरू दण्डित हुनु मनासिब नै हो । पुरस्कारको आवश्यकताबारे चर्चा यति नै ।
संस्कृति भनेको विद्यमान क्रियाकलापलाई परिमार्जन या चम्किलो/उज्यालो/परिष्कृत बनाउँदै जाने कुरा भयो । आवश्यकताकै कारण संस्कृतिको विकास (या नाश पनि) हुँदै जाने कुरा हो । यो पनि यति नै ।
आचारविचार, रहनसहनलाई समेटेर व्यक्ति, समाज, राष्ट्र हुँदै उनीहरूका आ-आफ्ना मुल्यमान्यता, भावना र चिन्तनमननको भौतिक अभिव्यक्तिहरूलाई बिम्ब-प्रतिबिम्ब बनाउँदै जाने क्रममा दुर्घटनाहरू नघट्ने कुरा भएन । दुर्घटनालाई आक्समिकताको परिधिभित्र स्वीकार्दा कुरा चिप्लिने भएकाले दुर्घटनाको ठाउँमा विकृतिलाई पनि साथसाथै राखेको हुँ । विकृति भनिसकेपछि स्वभाविक र प्राकृतिक रूप, रंग र ढंगदेखि अपभ्रंश हुँदै विकार, बिगार र खराबीसम्म जान सकिने भयो । (त्यता एकछिनमा जाऔँला ।)
पुरस्कार र दण्ड-सजायको संस्कृति विकृत नभएकै जाति । त्यसो भइदिए यो लेख यहीँ टुंगिन्थ्यो । काइदा हुन्थ्यो । तर एउटा अर्को कुरा पनि के छ भने, को राम्रो र को नराम्रो भन्ने कुराको उद्घाटन सत्र पुरस्कार र दण्डको स्वभावशीलताभित्र धुमधामसँग पर्न आइगयो । यही धुमधामले रामराम..के कति कारनामा मच्चाएको ? अर्को कुरा परिवर्तनलाई आत्मसात् गर्दै पुरस्कार र दण्ड-सजायको संस्कृतिले आफूलाई परिमार्जन गर्दै लैजान जाँगर देखाइरहेको छैन ।
पुरस्कारका दोकान र दोभानहरू :
पुरस्कारको दोकान खुल्यो (दण्ड-सजायलाई बहसको विषयबाट पर सारौँ, त्यो अर्को बहस हो) । जसरी ईश्वरवाद, आतंकवाद, पर्यावरणवाद र लोकतन्त्रवादका दोकानहरूले वर्तमानमा सटर उदांगो पारिरहेका छन्, उदांगो दोकानमा सामान किनबेच चलिरहन्छ । किन्ने आउँछ, किन्छ-जान्छ । बेच्नेले बेच्छ । (या किन्ने-बेच्नेबीच सम्झौता हुन्छ ।) सम्झौताले उधारो खेती गर्छ । (या उधारो खेतीले सम्झौता गराउँछ ।) सम्झौता र उधारो खेती दोकला हुन्, यिनीहरूबीच जोइ-पोइको जस्तो सम्बन्ध हुन्छ । आगो बलिरहन्छ, पराल जलिरहन्छ ।
र, कुरा आयो पुरस्कारको । पुरस्कारलाई सामान (वस्तु) भनेर त माथि नै परिभाषा गरिइहालियो ।
पुरस्कारका दोभानतिरका कुरा चाहिँ के भने, दुईतिर बाट दुई थरी आउँछन् र अर्को थरीलाई बढारेर लैजान्छन् । दुई खहरे एकसाथ मडारिएर धान खेतमा बालुवा हुलेजस्तै ।
र, यहाँ पनि कुरा आयो पुरस्कारको । पुरस्कार दिने र लिनेबीच एउटा विधा, कार्यशाला या परिपाटी निहित भएर लेनदेन हुन थालेको छ (यसले रमिता निम्त्याइरहेको छ) । तिनै विधा, कार्यशाला, परिपाटी प्रायजसो: धान खेत बनेको इतिहास साक्षी छँदैछ ।
तर सबै पुरस्कारहरू दोषयुक्त र प्रभावित छ भन्ने कुरा पनि होइन । तर ती सीमित छन्, निष्पक्ष छन्; जति छन् तीप्रति अथाह सम्मान छ ।
अब सिधै फड्को मारौँ – नेपाली कला र साहित्यतर्फ :
अन्य विधा-विविधमा जस्तै नेपाली कला-साहित्यतर्फ पनि दर्जनौँ पुरस्कारहरूको बोलवाला छ । (बोलवालाको सिधा अर्थ दबदबा हुन आउँदछ भने आओस् ।) तिनले बर्सेनि प्रतियोगिता, पुरस्कार राशी, पुरस्कृत सर्जक एवं सिर्जना छनौट र उत्कृष्टताको घोषणा गर्दछन् । र, तिनका प्राज्ञिक हैसियतदेखि नैतिक मर्यादासम्मका कारणहरूबाट छनौटमा परेका सर्जक र सिर्जनाको भोलि तय हुने गर्दछ ।
छनौटमा पर्ने त परे, मानिसको स्वभाव हो उपहार र कोसेलीले सबलाई खुसी नै दिलाउँछ । दिलायो, उनीहरू खुसी भए सकियो (तर ऊ आफ्नो नैतिक दायित्वबाट भाग्न पाउँदैन) । तर नपर्नेको के ? नपाउनेहरूको के ? नपरेकाहरू दु:खी हुने, गुनासो मात्रै पोखिरहने कि अर्को बाटोतर्फ हिँड्ने ?
टी.एस. इलियटको उद्दरण दिँदै गजलकार जीवनपानी भन्छन्, “उत्तम रचनाको सञ्चार आफैँ हुन्छ, कसैले बुझिदिनु पर्ने, पुरष्कृत गरिदिइरहनु पर्ने होइन ।”
यहीँनेर, कवि भूपिनको जीवनपानीसँग नजिकको मत छ । उनका अनुसार ‘लेखनको गम्भीरतामा विश्वास गर्ने कोही सर्जक यस्तो दौडमा समावेश हुँदैन ।’
कवि खेम बतासको विचार पनि करिबन उस्तै छ, “सर्जकको रचनाले उसको महिमा उजागर गर्छ । सर्जक बन्नका लागि प्रतिस्पर्धामा भाग लिएर कुनै उत्कृष्ट स्थान नै ग्रहण गर्नु पर्छ भन्ने छैन ।”
यही परिवेशमा कवि वि.पी.अस्तु आफ्नो अनुभव साझा गर्छन् । उनले दुई पटकसम्म प्रतियोगितामा कविता पठाए । एकपटक आफ्नो कविता कत्तिको पठनीय छ भनेर जाँच्न, अर्को पटक पुरस्कारको लोभ नराखी कविताको स्तरीयता मात्र जाँच्न ।
“पहिलोपटकमा पुरस्कारको लोभ हाबी हुनेदेखि इगोजस्तो महसुस हुने भइहाल्दो रहेछ ।”, उनी भन्छन्, “दोस्रोपटक ती लोभलालच नसाँधिकन कविताको स्तरीयता जाँची माग्ने मनसायले पठाएँ । तर, प्रतियोगिता मात्र कविताको स्तर जाँच्ने माध्यम होइन रहेछ ।”
पुरस्कारका कारण बजार र पाठकले सिर्जनामाथि विभेद थाले…
कला, सृजना, सौन्दर्य लगायतका विषय प्रतियोगिताका लागि हुन् कि होइनन् ? यदी हुन् भने त्यसका लागि कस्ता आधारशीला, धरातल र वैचारिकी आवश्यक पर्छ ? नाप्ने तुलो के ? जोख्ने ढक कस्तो ? कति परिमाण र कति गुणवत्तालाई एक इकाई बराबरको मानक मान्ने ? आजपर्यन्त यस विषय विवादित बनिरहेकै छ ।
कवि नविन प्राचीनको राय छ, “सौन्दर्य चेत हरेक व्यक्ति/समुदायअनुसार फरक हुन्छ । हरेक चीज आफ्नै सीमिततासहित सुन्दर हुन्छ र यो निरपेक्ष हुन्न भन्ने विश्वास आजसम्म जीवित छ ।”
अर्कोतर्फ, प्रतियोगिताले राम्रो नराम्रोमा बाँडफाँड गरिदिँदा सृजना बलशाली र कमजोर मानिने/ठानिने जोखिम झन् बढेर जाने भयो । राम्रो मानिएका सृजना बलशाली ठानिनुपर्ने कारण के-कति हुन् ? नराम्रोको परिभाषामा समेटिनासाथ कुनै पनि सिर्जनाको कित्ताकाट किन भइहाल्छ ?
“कुनै सृजनालाई दिइने पुरस्कार त्यसले दिने नवीन कुराका लागि हो, त्यसले साहित्य र समाजमा पार्ने प्रभावका लागि हो । योभन्दा त्यो राम्रो भन्ने हुनुहुँदैन ।”, कवि कुशल न्यौपानेको मत छ ।
‘सबै पुरस्कार दोषरहित हुँदैनन्’मा लेखक निलम कार्की निहारिका यही प्रश्नलाई फरक प्रसंगसाथ उठाउँछिन्, “सिर्जनालाई लैंगिक कित्तामा उभ्याएको त मलाई पटक्कै सह्य हुँदैन । सिर्जना, सिर्जना हो ।”
“खासमा सृजनाको मूल्यांकन निकै जटिल, गम्भीर र लगभग असम्भव प्रक्रिया हो । मानव समाजमा पुरस्कार/सम्मानले अन्तत: जमाउने विभेद नै हो ।”, कवि भूपिन पुरस्कारकै कारण बजार र पाठकले सिर्जनालाई विभेद गर्न थालेको बताउँछन् ।
पुरस्कार र प्रतियोगिताको स्थापनार्थ : स्वार्थ की उद्देश्य ?
साहित्यिक पुरस्कारहरू सामान्यतया प्रमुख रूपमा तीनवटा उद्देश्यद्वारा स्थापित देखिएको आहुतिको मत छ ।
‘एक- कुनै सम्पन्न व्यक्तिको प्रतिष्ठालाई दीर्घजीवी बनाउन ।
दुई- निश्चित विचार र राजनीतिलाई प्रोत्साहित गर्न ।
र, तीन- पुस्तकको व्यापार बढाउन ।
चौथो बुँदामा उनी ‘लेखन प्रोत्साहनका उद्देश्यहरू’लाई अगाडि सार्छन्, जुन आफैँमा सबैभन्दा पछाडि उभ्याइएको उद्देश्य हो ।’
आहुतिसँगै सहमत देखिन्छन् कवि स्वप्निल स्मृति । “पुरस्कार राजनीति हो नि ! पुरस्कार प्रापकलाई समाजले थोरै भए पनि मान दिन्छ, सार्वजनिक रूपमा अनुमोदन गर्छ । धेरथोर हाइहाइ हुन्छ, वृत सानै भए पनि चर्चा-परिचर्चामा सघाउ पुर्याउँछ ।” उनको मत छ ।
यहीँनेर, कवि मनोज मुस्किल ‘प्रतियोगिता र पुरस्कार झुर चीज हो’ भनेर आफ्नो विचार छोटोमै टुंग्याउँछन् ।
लेखक/पत्रकार अक्षर काका हरेक वर्ष विवादित बनिरहने नेपाल प्रज्ञा-प्रतिष्ठानको ‘राष्ट्रिय कविता महोत्सव’लाई हवाला दिँदै भन्छन्, “कविता महोत्सव कर्मकाण्ड हो । बर्सेनि हुन्छ । भाग लिनेले लिन्छन् । नलिनेहरू कवि नहुने होइनन् ।”
जुनसुकै उद्देश्यबाट स्थापित भए पनि स्थापना गर्ने व्यक्तिको निश्चित विचार र राजनीति भइ नै हाल्छ । त्यसका पछिका बाहालवालाहरू पनि विचार र राजनीतिविहीन हुँदैनन् । र, उनीहरूको विचार र राजनीतिसँग असहमत या फरक दृष्टिकोणसहित कुनै सिर्जना आउँछ भने त्यसले अपनत्व पाउँदैन । जब अपनत्व रहँदैन त्यहाँ स्वार्थले मुख बाँएको प्रष्ट हुन आउँछ । त्यहाँ राजनीतिगत स्वार्थ जोडिन आइपुग्छ नै आइपुग्छ !
त्यसो भए प्रतियोगिता र पुरस्कारको कुनै औचित्य नै छैन त ?
कुनै पनि प्रतियोगिताले प्रतिस्पर्धात्मकता बढाउँछ । प्रतिस्पर्धाकै कारण हामी ‘होमो सेपियन्स’ यहाँ छौँ । दुई हात माथि उठाएर थालेको संघर्षले प्रतिस्पर्धाको रूप लिएर नै यो सभ्यताको निर्माण भएको इतिहास हामीसँग आजपर्यन्त कायममुकायम छँदै छ ।
वर्तमान परिदृश्यमा, पुरस्कारले प्रेरित गर्दछ भने प्रतियोगिताले प्रतिस्पर्धी बनाउँछ । प्रेरणा मानसिक प्रवृत्तिको सक्रियता या उत्तेजना भएकाले त्यसको पक्षधरतामाथि पनि प्रश्न उठ्छ । ‘कस्तो प्रेरणा ? असल कि खराब ?’ कुनै पनि उत्प्रेरक विचारको उद्देश्य हुन्छ, ऊ किन कसैलाई किन उत्तेजित बनाउँदै छ भनेर ।
अर्कोतर्फ, प्रतिस्पर्धा भनेको होडबाजी हो । बल, बुद्धि र योग्यताको आधारमा उत्कृष्ट हुने भाव । यसको नियतगत स्वार्थ सुकर्मतर्फ हुनपर्दछ ।
यद्यपि यो यसैगरी चल्छ भन्ने छैन । समाजको निष्पक्षताको कल्पना एउटा कुरा हो तर सामाजिक गतिविधिहरू निष्पक्ष हुन्छन् भन्ने छैन । “एउटी आमाले दुईटा जुम्ल्याहा छोरा पाइन् भने उसले एकसाथ दुवैलाई खाना खुवाउन सक्दिनँ । जुम्ल्याहा छोरासँगसँगै उसले अर्को दुई हातको पनि जन्म दिन सक्दिनँ ।”, विचारक दीपेन्द्र पाण्डे बताउछन् । पुनर्जन्मको सिद्दान्तलाई अभिप्रेरित गर्ने फेनिक्स चरा पनि एक समयमा एकको संख्यामा मात्रै उपस्थित छ ।
कवि भूपिन ‘मानव सभ्यता रहेसम्म पुरस्कार प्रथा चलिरहने र विवाद बल्झिरहने’ बताउँछन् ।
र, यतिखेर सामाजिक परिवर्तनको चरित्र निर्माणमा राजनीतिक शक्तिहरूको गतिशील भूमिका महत्त्वपूर्ण बन्न पुगेको छ । शक्तिको विभिन्न चरित्रका कारण ऐनामा जमेको धुलो पुछ्न छोडेर हामी आफ्नो मुहार टकटकाइरहेका छौँ ।
वस्तुगत जगतमा आउने परिवर्तन र समयसँगै समाज बदलिँदै जान्छ । उसको चेतना, विचार र अनुभूतिजन्य अनुभवहरूमा पनि ध्रुवीकरण प्रारम्भ हुन्छ । एउटा पक्ष यथास्थितिवादी बन्छ भने अर्को पक्ष प्रगतिशील । र, कोलाहलको सिर्जना यहीँबाट हुन पुग्छ ।
कुरा के भने, सामाजिक वा राजनीतिक आन्दोलनको ताप सेलाउँदै जाँदा राजनीतिक विषयहरूको प्रगतिशील चरित्र पनि गुम्दै जान्छ र, त्यही क्रममा यी र यस्ता प्रतियोगिताधारी संस्थाहरूको महत्त्व र उद्देश्यमाथि प्रश्न उठ्दै जान्छ । तर यहीँनेर यी संस्थाहरूले परिवर्तनलाई आत्मसात् गरिदिने हो भने, समयक्रमानुसार आफूलाई अपडेट गराउँदै गइदिने हो भने समस्या समाधानोन्मुख भइहाल्छ ।
“प्रतियोगिताहरू आफैँमा खराब हुँदैनन् । त्यसको प्रयोजन के हो, स्वच्छता कति छ भन्ने मुख्य सवाल हो । प्रतियोगिताले प्रतिभा र क्षमतालाई पहिचान गरेर तिनलाई अगाडि बढ्न प्रेरित पनि गरेका छन् ।”, कवि जोतारे धाइवाको मतानुसार प्रतियोगिताको महत्त्व तब स्थापित हुन्छ जब ती संस्थाहरूले वैज्ञानिक आधार र पारदर्शिता कायम गर्नतर्फ आफूलाई संवेदनशील बनाउँदै लैजान्छन् ।
गजलकार रूपक अलंकार लेख्छन्, “प्रतियोगिताहरू मानक निर्माणको लागि हुनुपर्ने हो, तर त्यो हुन सकेन । यसकारण त्यसको औचित्यमाथि प्रश्न उठ्न थालेको हो ।”
“प्रज्ञा-प्रतिष्ठानको कविता प्रतियोगिताको मोडल, र पुरस्कार परम्परा हेर्दा लाग्छ त्यहाँ धेरै प्रयोगशील र नयाँ काइदाका कविता पुरस्कृत हुँदैनन् । तर, आम पाठकको रुझान् आजको परिवर्तित समयसँग हक्की संवाद गर्न सक्ने नयाँ बान्की र कथ्यका कविता पुरस्कार आऊन् भन्नेतिर देखिन्छ । राष्ट्रिय कविता महोत्सवको नतिजा आएपछि सधैँ हुने टिकाटिप्पणीको कारण यो हो ।”, समालोचक महेश पौड्याल राष्ट्रिय कविता महोत्सव विवादित होइरहनुको भित्रि गुत्थी खोल्छन् ।
यो टकराव र घर्षणको सिलसिला अझ बढाउनमा ठूलो हात प्रज्ञा-प्रतिष्ठानको रहेको धेरै कवि/लेखकहरूको राय छ । अब चर्चालाई त्यस तर्फ नै अघि बढायौँ ।
प्रज्ञा-प्रतिष्ठान के हो ? प्राज्ञ को हो ?
यसको उत्तर प्राथमिक तहमा पढ्ने विद्यार्थीलाई समेत कण्ठस्थ छ, “नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान एवं प्रतिभाहरूको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न स्थापित एक राष्ट्रिय प्रतिष्ठित संस्था हो ।” तर, यो आफ्नो उद्देश्यमा कति सफल छ/छैन त्यो बारे तल चर्चा हुदै जानेछ ।
“प्राज्ञ त्यो हो, जो प्रज्ञावान अनि आभामण्डित हुन्छ । ऊ आफ्नो ज्ञान र प्रज्ञाको आलोकमा पूरै समाज उन्नयनको सामर्थ्य राख्छ । नेताका आसेपासे, धुपौरे, भिजिलान्ते प्रतिष्ठानको नियुक्ति पाउँदैमा प्राज्ञ बन्न सक्दैनन्, तिनीहरू त फगत म्यादी प्राज्ञ हुन् । जसरी चुनावका अगाडि भर्ना गरिएका म्यादी प्रहरी म्याद सकिएपछि सेवानिवृत्त हुन्छन्, यी तथाकथित प्राज्ञको हविगत पनि त्योभन्दा फरक हुँदैन ।”, ‘अखिल नेपाल प्रज्ञा-प्रतिष्ठान’मा शेखर खरेल टिप्पणी गर्छन् ।
प्रज्ञा-प्रतिष्ठान र उसको भूमिकामाथि प्रश्नै-प्रश्न :
नेपालमा भाषा, संस्कृति र कलाको उत्थान र प्रवर्द्धनका साथै लेखक, साहित्यकार र कलाजीवीहरूको सम्मान र संरक्षण गर्ने उद्देश्यले स्रष्टाहरूको अवधारणाअनुरूप नै स्थापित प्रज्ञा-प्रतिष्ठानले आफ्नो उद्देश्यअनुरूपको काम गर्न नसकेको आरोप साहित्य, नाट्य संगीत र कला क्षेत्रमा सक्रिय रहँदै आएका स्रष्टाले लगाउँदै आएका छन् । कतिले यसको खारेजीको माग गरेका छन् भने कतिले चाहिँ यसलाई सुध्रिन अपिल गरिरहेका छन् ।
मूलतः प्रज्ञा-प्रतिष्ठानहरू प्राज्ञिक कार्यका लागिभन्दा पनि राजनीतिक कार्यकर्ताहरूको भर्ती केन्द्रका रूपमा विकसित हुँदै गएको मत एकातर्फको छ भने प्रतिष्ठानले विधागत रूपमा काम गर्दा स्वतन्त्र भएर काम गर्न सकेन भन्ने अर्कोतर्फको मत । जे होस्- प्रज्ञा-प्रतिष्ठानहरू प्राज्ञविहीन प्रतिष्ठानमा फेरिएका लगभग निष्कर्ष सबैको छ ।
‘नेपाली भाषा, मातृभाषा, साहित्य, कला संस्कृतिको संरक्षण गर्ने तथा विश्वमा प्रसारण गर्ने दायित्व पाएका तीन प्रज्ञा-प्रतिष्ठानको नियुक्ति प्रक्रियागत रूपमै गलत बाटोमा गइरहेको’ कला अनुरागी तथा समीक्षकहरूको टिप्पणी छ ।
तीनवटै प्रज्ञा-प्रतिष्ठान (नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र नेपाल संगीत नाट्य प्रज्ञा-प्रतिष्ठान)ले विधानमै गल्ती गरेर क्षेत्रीय, जातीय, लैंगिक र पिछडिएका शब्दलाई प्राज्ञिक छनौटका आधार बनाएकाले पनि समस्या रहेको उनको सरह धेरैको गुनासो छ । प्राज्ञिक उन्नयनका लागि तय गरिएका पदमा जथाभावी भए त्यसले देशकै भाषा, कला तथा संस्कृतिमा नकारात्मक असर पर्ने र परिरहेको परिदृश्यमा यो चर्चा भइरहेको हो ।
प्रज्ञा-प्रतिष्ठानको काम-कर्तव्य, अधिकार के हो भन्ने कुरा नै थाहा नभएका व्यक्तिको नियुक्ति हुँदा कार्यसम्पादनमा समस्या हुने गरेको अनुभव ललितकलाका पूर्व प्राज्ञ ज्योतिप्रकाश विककै रहेको छ ।
“राजनैतिक खिचातानी, कार्यकर्ता र आसेपासे भर्ती गर्ने थलोको रूपमा विकसित हुन थालेपछि यसले आफ्नो मूल उद्देश्यको लय गुमायो । झन्डै, ६ दशकभन्दा बढीको इतिहासमा औँलामा गन्न सकिने मात्र सबल नेतृत्व यसले पाएको देखिन्छ ।”, लेखक मिलन संग्रौलाको तर्क छ, “वर्तमान परिपेक्ष्यमा त यो एउटा समिति भवनमा मात्र सीमित भएको छ । प्राज्ञ र कर्मचारीहरूले चौरमा घाम ताप्ने र बेलाबखत पुराना प्रकाशन फिँजाएर पुस्तक मेलाको नाटक गर्नेबाहेक खास केही गरेको पाइन्न ।”
‘राजनीतिकर्मीको पदमा बस्ने इच्छा पुर्याउने वा त्यस्ता व्यक्ति थन्क्याउने थलोका रूपमा प्राज्ञिक निकायलाई दलले प्रयोग गरिरहेका’ कला अनुरागी नगेन्द्रप्रसाद पौडेलको राय छ ।
साहित्यकार हरि अधिकारी प्रश्न गर्छन्, “कवि गोष्ठी गर्ने, कवि जयन्ती मनाउने, किताब छाप्ने, हल भाडामा दिने काम त अरूले पनि गरिरहेकै छन्, एकेडेमी नै किन चाहियो ?” प्रज्ञा–प्रतिष्ठानहरू भाषा, साहित्य, कला, संस्कृतिको ‘थिंकट्यांक’ बन्न नसकेकोमा उनको दुखेसो छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठान के गर्दै छ ?
“बहालवाला संस्कृतिमन्त्रीले एक पटक सोधेछन्, ‘एकेडेमी के गरिरहेको छ ?’
एक प्राज्ञले भनेछन्, ‘पत्रिका निकालिरहेका छौँ ।’
“अप्ठेरोमा एकडेमी“मा राजकुमार बानियाँले केही पहिले लेखेका थिए । (छोडौँ, कुरा अघि बढाऔँ)
नेपाल प्रज्ञा-प्रतिष्ठान वि.सं. २०१४ असार ९ गते नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन, अनुसन्धान, संरक्षण, संवर्द्धन र सर्वाङ्गीण विकासका निम्ति स्थापना गरिएको संस्था हो । नेपाली साहित्य कला एकेडेमी, रोयल नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै अहिले नेपाल प्रज्ञा–प्रतिष्ठानका रूपमा परिचित छ ।
पद्य, गद्य आख्यान, समालोचना–निबन्ध, लोकवार्ता–बालसाहित्य, मातृभाषा साहित्य, अनुवाद, नेपाली भाषा कोश व्याकरण, मातृभाषा, संस्कृति, दर्शन र सामाजिक शास्त्र गरी ११ वटा प्राज्ञिक विभागमार्फत अनुसन्धान लगायतका काम गरिरहेको छ । त्यो कति प्रगतिशील र गतिशील छ भनेर जाँच्नको लागि १२५ जात र १२३ भाषा भएको मुलुकमा सबै भाषा, साहित्य र संस्कृतिको प्राज्ञिक विधाको संरक्षण, संवर्द्धन र विस्तार गर्न नसेकेको यथार्थले छताछुल्ल पारेकै छ ।
उसो त प्रतिष्ठानले बेलाबेला भाषा, साहित्य, अनुवादसम्बन्धी कार्यक्रम, कविता महोत्सव, गोष्ठीजस्ता काम गरिरहेकै छ । एकेडेमीका पत्रिकाहरू प्रज्ञा, समकालीन साहित्य, कविता, सयपत्री (बहुभाषिक), जर्नल अफ नेपाली लिटरेचर एन्ड कल्चर (अंग्रेजी), आँगन (मैथिली) र थायभू (नेपाल भाषा) को प्रकाशन (नियमित नभए पनि) भइरहेकै छ (तर साहित्य लेखनमा बामे सर्दै गरेकाहरू कहिल्यै अटाउँदैनन् ।) यति मात्रै पर्याप्त काम हो त ?
“नेपाल प्रज्ञा-प्रतिष्ठान भनेको देशको साहित्य, कला, संस्कृतिको उत्थान र सम्वर्द्धन गर्ने वा गर्नुपर्ने संस्था हो । वर्षमा एक पटक कविता प्रतियोगिता तथा एउटा दुईवटा औपचारिक कार्यक्रम आयोजना गरेर त्यसको जिम्मेवारी पूरा हुँदैन ।”, लेखक दीपा दाहाल भन्छिन् ।
यस्तै, कवि कुशल न्यौपानेका अनुसार ‘प्रतिष्ठान कर्मकाण्ड गर्छ । बसालेको थितिमा सुधार गरेर नेपाली साहित्यको उन्नयन गराउनुपर्ने थियो तर उन्नतिको बाधक नै यही संस्था हो भन्ने उदाहरण प्रस्तुत गरिरहेछ ।’
“नेपाल प्रज्ञा-प्रतिष्ठान फराकिलो हुनै सकेन । अहिले प्रज्ञा भन्ने बित्तिकै हुने खाने विजातीय वर्गकै मनोरञ्जनको थलो जस्तो भयो, जहाँ काव्यिक बुद्धिविलासको मेला लाग्ने गर्छ ।”, कवि कृष्ण विश्वकर्मा भन्छन्, “राष्ट्रकै साहित्यको प्रतिनिधित्व गर्ने थलो भएपछि समग्रता समेट्न नसक्नु र उही महेन्द्रीय अवधारणामै खुम्चिनु प्रज्ञाको सबैभन्दा ठूलो भूल हो ।” विश्वकर्माका अनुसार ‘प्रज्ञा सबैको हो भन्ने धारणा बनाउनै सकेन प्रज्ञाले ।’
‘हिजो जुन उद्देश्य र औचित्यका लागि राजा महेन्द्रले नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान सुरु गरेका थिए, आज पनि त्यही अवस्थामा हुनु र नयाँ एस्थेटिकलाई स्थानै नदिएकाले एकेडेमीप्रति आमगुनासो रहेको’ लेखक राजन मुकारुङको तर्क छ । “सानो समूह, समुदायको गुनासो महोत्सवमार्फत सम्बोधन भएन ”, उनी भन्छन्, “एउटै ट्रेन्डका पुरस्कृत हुने खालका कविता लेख्ने अवस्था सृजना प्रतिष्ठानले नै गरेको हो ।”
प्रत्येक वर्ष हुने राष्ट्रिय कविता महोत्सव (विवाद ?) र १९ करोड ५० लाखको वार्षिक बजेटबाहेक एकेडेमीको कामकाजबारे कसैलाई अत्तोपत्तो हुँदैन । उसले के कति खोज र अनुसन्धान गर्यो ? अल्पसंख्यक, सीमान्तकृतका भाषा, संस्कृति, दर्शन, इतिहास र अन्य सामाजिक मुद्दा एवं बहसमा पनि उसको कुनै अग्रसरता छ ? यस प्रश्नको जवाफ न प्रज्ञा–प्रतिष्ठानका कुलपतिलाई थाहा छ, न नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक वाहालवाला प्रधानमन्त्रीहरूलाई । मुलुकको भाषा, संस्कृति, संस्कार, इतिहास जोगाउने काम प्रतिष्ठानको हो भनेर उनीहरूले बिर्सिँदै गइरहेका छन्, बिर्सी नै सकेका छन् ।
देशको कला, साहित्य, इतिहास र संस्कृतिको संरक्षण गर्न प्राज्ञिक वर्गलाई संवेदनशील हुन आग्रह गर्नुपर्ने प्रतिष्ठानले नयाँ विम्ब, क्राफ्ट, आवाजको मुख कहिलेसम्म थुन्ने हो ? लामो संघर्षबाट आएको परिवर्तन र जनताको चाहना महोत्सवको आकर्षण र भव्यताभित्र किन पर्दैन ?
राष्ट्रिय कविता महोत्सव कि ‘प्रज्ञा कविता प्रतियोगिता’ ?
प्रज्ञाको इतिहासनुसार ‘कवि गोष्ठी’ले राष्ट्रिय स्तरको ‘कविता उत्सव’मा बढुवा पायो । २०२२ देखि २०७८ सम्म आइपुग्दा ५१ वर्षमा (५ वर्ष प्रतियोगिता भएन) हजारौँ कविको लालनपालन भयो । हजारौँ कविताले स्याहारसुसार पायो ।
प्रतियोगितामा अनुहार देखाउन आइपुगेका कविहरूले महेन्द्रकालीन धङधङी नछोड्ने निचोड पेश गर्यो कि त प्रतिष्ठान ‘स्याबास’ भन्दै काँध मुसार्दै भन्छ, “यो पाली दोस्रोमा चित्त बुझाएस्; अर्कोपटक पक्का पहिलो बनाइदिन्छु ।”
कविता लेख्नुजेल राष्ट्रवादी भइ टोपल्ने कविका कविता ‘अब आँसु खसाल्नु पर्दैन’ क्याटागोरीका कविता हुन् भनेर बताउन ‘कविता महोत्सव पच्चीस वर्ष’ (२०२२–२०४६) र ‘राष्ट्रिय कविता महोत्सवः पुरस्कृत कविताहरू’ (२०४७–२०७६) सरसरती पढ्दा भइजाने भयो ।
खाँटी राष्ट्रवादी दाबी गर्ने कवि जमात यो बहसको पल्लो किनारबाट हिँड्छ, वल्लो किनारमा आएर ऊ ‘नजाने गाउँ भए पनि बाटो चाहिँ सोधी हेरौँ न त’ भन्ने हिम्मत गर्दैन । त्यसले ‘मान्छे खुल्दछ मान्छे भइ उसको देशभक्तिमा’ भन्ने उसको गाउँको बाटोमा पहिरो ल्याउँछ, बाढी निम्त्याउँछ ।
जानाजान असत्य लेख्नुहुँदैन भनेर जानेको कवि जानाजान अज्ञानतासहितको कविता लेखिदिन्छ । प्रतिष्ठान सत्यलाई ढाकछोप गर्नु हुँदैन, दबाउनु हुँदैन भन्दै पनि गर्छ अनि तिनै कविताहरूलाई पुरस्कृत पनि गरिदिँदै जान्छ । यहाँ यसरी पनि काइदै..काइदा भइराखेकै छ ।
स्वाभाविक रूपले झुटसँगको संघर्षमा अस्वभाविक रूपमा सत्य लेख्नै पर्छ । जुन चीज सुमुधुर हुन्छ त्यही मात्र सत्य कदाचित् होइन । अलिक अप्ठ्यारो कुराहरू गर्नैपर्छ, गर्ने यसैगरी नै हो ।
छरछिमेक, नातागोता, इष्टमित्रलाई फाइदा पुर्याउने काम, वास्ता गर्ने शैली प्रतियोगिताको होइन । तर हाम्रातिरका अनेकन् प्रतियोगिता र पुरस्कार समारोहहरू आफ्ना पोस्ने कार्यशैली बनेको छ । र, यसको सुरुवात कर्ता ( ?) र हर्ताकर्ता भनेको नेपाल प्रज्ञा-प्रतिष्ठान बनेको प्रष्टै छ ।
“महोत्सव भनेपछि महोत्सव गर्ने हो, प्रतियोगिता हैन । विषयमा विविधता रहन दिनुपर्छ । देशभक्ति, नश्लीय राष्ट्रवाद र ‘हिमालै राम्रो नेपालै प्यारो’ मार्काका कविता मात्र कविता होइनन्, देशका चरम असन्तुष्टि पनि देशै हुन्, कवितै हुन् । सबै अट्ने राष्ट्र निर्माणको संकल्प हो भने सबैका स्वरहरू आउन जरूरी छ । हरेक वर्ष गरिने प्रतियोगिताको बजेट हेर्ने हो भने, बहुविषयगत र बहुदिवसीय कविता महोत्सव गर्न सकिँदैन र ?”, कवि कुशल न्यौपाने प्रश्न गर्छन् ।
“एकेडेमी सबैको हो । सबैले त्यसमा अंशियार खोज्छन् नै ।”, समालोचक महेश पौड्याल भन्छन् ।
कविता के हो ?
“कविता मूलत: अभिव्यक्ति हो । यो विचार, चेत, दृष्टिकोणमा आधारित रहन्छ । वर्तमान सन्दर्भमा कविता परिवर्तनको मुद्दा, सत्ताविरोधी चेतसँग पनि गाँसिदै आएको छ । कविता सदैव प्रतिपक्षमा रहनुपर्छ भन्ने मत निबन्धकार गोविन्द वर्तमानको रहेको थियो, जसलाई समकालीन कविहरूको ठूलो हिस्साले आत्मसात् गरिरहेको पाइन्छ ।
पहिला कविता कस्तो हुने ? पद्यलाई मात्र कविता मान्ने कि गद्य पनि कविता हो भन्ने अन्तर्विरोध थियो, न्यूनाधिक अझै होला । तर समयसँगै यो परिस्कृत हुँदै आयो । दृष्टिकोण फेरिए । विश्वव्यापी आयामसँग पनि नेपाली कविताको साइनो गाँसियो ।’, लेखक/पत्रकार अक्षर काका भन्दछन् । (यसबारे थप चर्चा गरिएन ।)
प्रतिष्ठानको नजरमा कविता कस्तो हुनुपर्छ ?
“परम्परावाद, जडता, राष्ट्रवाद, स्वच्छन्दतावाद र विद्यमान हिन्दू राज्यको स्तुति गाउने कवितालाई मात्रै एकेडेमी असलमा कविता मान्छ ।” – संजित फलानाको विचार छ ।
“नेपाल प्रज्ञा-प्रतिष्ठानले बर्सेनि एउटा नाटक मञ्चन गर्छ । त्यो हो राष्ट्रिय कविता महोत्सव । भर्खरै त्यो औपचारिक नाटक पूरा गरेर सक्यो । अब एक वर्ष कुम्भकर्ण निद्रामा विश्राम लिनेछ आगामी वर्षको तयारीका लागि ।”- कवि कृष्ण विश्वकर्मा उसैगरी लेख्छन्, “प्रज्ञाको प्रतियोगिता सबैको लागि होइन ।” यस महोत्सव खस भाषाको महोत्सव मात्र भएको दाबीसहित उनी भन्छन्, “उही चुरेभन्दा माथि र चिमाल फुल्ने लेकभन्दा तलको सबै कुरा सर्वोत्कृष्ट र त्योभन्दा माथिका, त्योभन्दा तलका सबै कसमल भन्ने मान्यता राख्छ र भ्रममा गर्वानुभूति गर्छ/गराउँछ प्रतिष्ठान ।”
“यसपालि र अघिल्लो सालका पुरस्कृत कविता हेर्दा प्रतिष्ठानले हिमाल, पहाड, नदी, चरा, बुद्ध, स्वयम्भू लगायत नअटाएका कवितालाई कवितै नमान्ने रहेछ भन्ने लागेको छ । राष्ट्रिय कविता प्रतियोगिता भन्ने बित्तिकै राष्ट्रगीतजस्ता कविता हुनुपर्ने मान्यता आफैँमा लज्जास्पद छ ।” लेखक दीपा दाहालको मत छ ।
“प्रज्ञा-प्रतिष्ठानले गर्दै आएको कविता महोत्सव पुरस्कारमा हुने खराबीको एक अग्रणी केन्द्र नै बन्यो । यो पुरस्कारको वैचारिकीप्रति नै व्यापक शंका उत्पन्न भइसक्यो । कविताको डाइभर्सिटीलाई यस प्रतियोगिताले जति खतरामा अर्को कुनै पुरस्कारले पारेकोजस्तो लाग्दैन । हिमाल, लालीगुराँस, कोरा राष्ट्रिय एकता र संस्कृति अनि त्यसको गौरवगान । बस् यत्तिमा सीमित कविताहरू मात्र पुरस्कृत हुने । यो गम्भीर समस्या हो ।”, कवी भूपिनको मत छ ।
यहीँनेर ‘प्रतियोगीतामा सहभागी नै हुन्न’ भनेर अड्डी कसेका कवि चन्द्रवीर तुम्बापोको राय न्यायसंगत लाग्छ । उनका अनुसार ‘एकेडेमी फरक विचारलाई स्पेस दिँदैन । प्रतियोगितामा कुनै पनि मधेसी कवि सहभागी हुँदैनन् । यसको कारण भनेको अपनत्व महसुस नहुनु नै हो ।’
यी सब विचार विमर्शले एक संस्कार-संस्कृति, एक भाषा, एक भेष र निश्चित समुदायको आदर्शलाई झापड हान्दै एकै प्रश्न सोधिरहेको छ, “यतिबिघ्न राष्ट्रवादी चेत भएर पनि आखिर किन नेपालको राष्ट्रवाद वा राष्ट्रियता सबल बन्न सकिरहेको छैन त ?” एक टड्कारो प्रश्न ज्युँका त्युँ छ ।
अर्कोतर्फ, एकेडेमीको समावेशिताको सिद्दान्त अझ काइदाको छ । समावेशीकरणको नाममा ३० कवि (दलित, जनजाति, मधेसी, महिलासहित)को अनुहार देखाएर ती आवाजलाई बस् देशप्रेम र राष्ट्रवादसँग साट्नु मात्र प्रतिष्ठानको जमर्को रहेको देखिन्छ । दलित, जनजाति, मधेसी, महिला र सीमान्तकृतको मौलिक आवाज जे हो त्यसैलाई सम्मान गर्ने (सुने मात्र पनि पुग्थ्यो) पुरस्कृत गर्ने आँट प्रतिष्ठानसँग छँदै छैन । “ढिकीले स्वर्गमै पनि धानै कुट्छ’ भनेर ऊ बसेको छ । (यस वर्ष पुरस्कृत कविहरूमा महिलाहरूको उपस्थिति बाक्लो देखिएको छ, जो एक कोणबाट स्वागतयोग्य छ ।)
महोत्सवको उद्देश्य र कविताको उत्कृष्टता :
कस्ता कविताहरूलाई एकडेमीले उत्कृष्टता प्रदान गर्यो भनेर खोज्दा अर्को काइदाको कुरा फेला पर्यो ।
‘नैतिकता (२०२२ को शीर्षक), इमानदारी र देशभक्ति (२०२३), ‘नेपाली हाम्रो श्रम र सीप स्वदेशमै लगाऔँ,’ ‘उद्योगी बनी स्वदेशी वस्तु प्रयोगमा बढाऔँ’, ‘रच्छौँ हामी सबै जुटेर विपना नेपालीको सुन्दर’, ‘बनाऔँ कर्मभूमि यो शान्तिक्षेत्र नेपाल’, ‘विकास देशको हुन्छ एकतामा जुट्यौँ भने’, ‘नदी र हाम्रा पाखुरा भाग्यरेखा नेपालका’ जस्ता शीर्षकहरू राजाबाट हुकुम होइबक्सिरहयो र त्यसै भावानुभूतिका कविताहरू उत्कृष्ट भैरहेका छन्- जुन क्रम आजसम्म रोकिएको छैन (यसैपटक उत्कृष्ट चयन भएका कविताका शीर्षकहरूलाई हेरौँ) । आज राजा छैनन् तर त्यही भावमा कविता लेखे मात्र उत्कृष्ट हुने परिपाटी भने बसिसकेको छ ।
“यस्ता प्रतियोगितामा कहिलेकाहीँ राम्रा कविताहरू पनि पुरस्कृत भएका छन् तर समग्रमा हेर्दा औसत र औसतभन्दा कम स्तरका कविताकाे सहभागिता देखिन्छ ।”, कवि विप्लव ढकालले कुरालाई छोटोमिठो नै राखी टुंग्याए ।
“कविता महोत्सव धेरै वर्षदेखि भागबण्डामा चलिरहेको छ । निर्णायक नै कम्युनिस्ट र कांग्रेसबाट छानिन्छ । समझदारीमा कसको भागमा कुन पुरस्कार पर्छ, त्यही रिजल्ट आउँछ । जस्तो कि यसपालि (२०७७ को) नेकपाको भागमा प्रथम पर्यो, वामपन्थीमध्येका उनीहरूलाई खास लागेकालाई सो पुरस्कार दिए, कांग्रेसको भागमा परेको दोस्रोमा पनि त्यस्तै भयो । तेस्रोमा चाहिँ कोटा सिस्टमले काम गर्छ- महिला, जनजाति, छन्द । तेस्रोमा त्यति भागबण्डा हुन्छ जस्तो मलाई लाग्दैन, समझदारीमै कुरो मिल्छ । यसर्थ, तेस्रोमा यदाकदा राम्रा कविता छानिन्छन् ।”, कवि प्रोल्लास सिन्धुलिय प्रज्ञाको समावेशिताको सिद्दान्तलाई अघिल्लो वर्ष यसरी उदांगो पारिदिएका थिए । यस वर्षको नतिजा प्रकाशनपश्चात उनले लेखेका छन्, “साविकका कविता महोत्सवझैँ प्रारम्भिक छनोट (४१ कविता) सम्भवतः निर्णायकले गरेनन् । गरेको भए जेजस्ता कविता सुनियो, यसपालि बुझाइएका यीभन्दा निकै अब्बल कविताहरू (मेरो नजरमा परेका) अस्वीकृतमा परेको पाएँ ।
बरु अलिक समय दिएर प्रारम्भिक छनोटका लागि ४–५ जना प्रारम्भिक निर्णायकहरू तोक्न सके उत्तम हुने थियो कि !
आयोजक संस्था एकेडेमीकै कुनै सदस्य निर्णायक बस्नै पर्ने ‘बिरालो बाँध्ने परम्परा’ मलाई ठीक लाग्दैन । किनकी, आयोजक स्वयम् निर्णायक भइदिएपछि बाँकी निर्णायकलाई आयोजकको इच्छाविरुद्ध जान मुस्किलै पर्छ । त्यसो नगर्न पाए महोत्सव अझै अब्बल हुने थियो कि !” हरेक साल प्रज्ञामा बुझाइएका र बुझाउन लागिएका थुप्रै कविता संयोगले आफूसम्म आइपुग्ने र सोही आधारमा यसो भनेको उनको मत छ ।
महोत्सवको उद्देश्य कविताभन्दा पनि कविको उत्थान गर्नु रहेको अक्षर काकाको मत छ । “प्रज्ञा-प्रतिष्ठानको कविता उत्सव, महोत्सवमा मूलत: सत्ता हावी हुन्छ । कविता यस्तो हुनुपर्छ भन्ने उसको दृष्टिकोण हावी होला । ‘कविताले सत्ताविरोधी चेतना राख्नु हुन्न । नारा बोक्नुहुन्न । क्लिसेमा अल्झिएर, फ्रेममा बाँधिएर सिर्जना गर्नुपर्छ भन्ने पूर्व-संरचनागत मान्यता गाँसिएला ।’ अहिले आएका आयामिक परिवर्तन, प्रयोग, उपयोग, अभिव्यक्ति कौशलसम्म प्रतियोगिता आइपुगेको छैन । ऊ आफ्नै अन्तर्विरोधमा छ । प्रज्ञा नै अप्राज्ञ छ ।”
“प्राय: छन्द कविता प्रथम हुँदैन । छन्द कविता तृतीय या सान्त्वना मात्र हुने गर्छ । छन्दलाई कोटा भाँति तृतीय या सान्त्वना पद दिलाइएको छ, त्यो पनि पछि आएर भएको हो । कोटा प्रणालीले निष्पक्ष कविता चयनमा समस्या पुर्याउँछ ।”, कवि मनोज भण्डारी भन्छन् ।
‘पञ्चायतकालमा मात्र विषय दिइने गरिएको र त्यसपछि सबै विचारहरूले स्थान पाउने गरेको’ दाबी गर्ने कुलपति गंगाप्रसाद उप्रेतीले स्वयं आफैँले उत्कृष्टताको राजपत्र अकिंत गरेका कविताहरू दोहोर्याएर फेरि पढेका छैनन् ? यदि पढेर नै ती कवितालाई पुरस्कृत गरेका हुन् भने उनी यस्ता खोस्रा दाबीहरू किन गरिरहन्छन् ? ‘भैरव (अर्याल) देखि कविता (राई)’ सम्म आउँदा सबै विचारले कहाँ स्थान पायो ? कविता पाठ गरेकै कारण अर्को ‘युद्धप्रसाद मिश्र’ समातिनु पर्ने अवस्थाको अभ्यास भइरहेको हो ? प्रतिष्ठान मार्फत ‘पञ्चायतको प्रेत’ ब्युँतिन लागेको हो ?
नेपालका पाखा र खोँचमा अनेक महाकाव्य लुकेर बसेका छन्, त्यसको खोइ सम्बोधन ? नेपाल र नेपाललाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजनाले यसको जवाफ दिनेछ भनेर आशावादी हुने बाहेक अर्को विकल्प पंक्तिकारसँग यतिखेर छैन ।
प्रतिष्ठानको सीमा र तगाराहरू :
“एकेडेमीको क्राइटएरिया छ”, कवि प्रोल्लास सिन्धुलिय भन्छन्, “त्यो हो- समसामयिक राष्ट्रियभाव झल्किनै पर्छ । राम्रा कविता तर राष्ट्रियभाव झल्कने छैन भने एकेडेमीका कर्मचारीहरूले आएका कविताबाट ३०–३२ कविता छानेर निर्णायकलाई दिन्छन्, बाँकी उनीहरूले सुरुमै फालिदिन्छन् । ‘धेरै जिल्लाको सहभागिता’ देखाउने नियतले ३०–३२ मा हालिदिए भने पनि निर्णायकले नजरअन्दाज गरिदिन्छन् । किनकी, प्राथमिकता नै राष्ट्रियभाव झल्किनेलाई दिनुपर्ने बाध्यता हुन्छ । यसर्थ पनि राम्रा कविता फालिन्छन् । अनि, आमा, माटो, देश, रूख, चरा, नदी इत्यादि भएका कवितामात्रै पुरस्कृत हुन्छन् ।”
“प्रज्ञाको कविता महोत्सव फगत एक कर्मकाण्ड हो यसले नेपाली कविताको श्रीवृद्धिमा कुनै योगदान दिँदैन बरु सत्ताइतरका विचार र मुद्दालाई खारेज गर्ने प्रयत्न गर्छ”, कवि सम्पदा रिजालको मत छ, “प्रज्ञाको कर्मकाण्डी कविता महोत्सव र यस महोत्सवले नापेका उत्कृष्ट कविताहरू हेर्दा प्रज्ञा-प्रतिष्ठान पञ्चायती व्यवस्थाकै अभ्यासहरूको निरन्तरता र तिनै भाष्यहरूको प्रवर्द्धनमा लिप्त भएको प्रतीत हुन्छ ।”
“महोत्सवले कविताको स्तरभन्दा पनि सरकारलाई असहज लाग्ने विचारलाई निषेध गरेको वा त्यस्तो विचारलाई कविताको माध्यमबाट अस्वीकार्य घोषणा गर्ने अवसरको रूपमा प्रयोग गरेको महसुस हुन्छ । अघोषित रूपमा विषय नै निर्धारण गरेर प्रतियोगिता गराउनु सुरुबाटै विचारलाई निषेध वा सीमित गराउनु हो ।” कवि विपी अस्तु भन्छन्, “अलि फरक विचार र कथ्य बोकेका कविताहरू मञ्चसम्म पुग्नै नपाउनु चाहिँ तैँले हामीले सोचेभन्दा फरक तरिकाले सोचिस्, अब बाहिरै बस् भनेर कविहरूलाई धम्काइएको पनि हो जस्तो लाग्छ ।”
“प्रज्ञा-प्रतिष्ठानले गर्ने कविता महाेत्सव एउटा चलनकाे निरन्तरता सिवाय अरु केही हाेइन । प्रतिष्ठानकाे महाेत्सव महेन्द्रीय राष्ट्रवादकाे भाष्यलाई मजबुत गर्न गरिएकाे प्रपञ्च जाे थियाे तर राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरण पछि पनि साेही भाष्यलाई मुखरित गर्ने कविताले लगातार स्थान पाउनु प्राज्ञ र त्यसका मतियारकाे गैरजिम्मेवारी हाे । फरक फरक विचार फरक मान्यता र फरक वैचारिक दृष्टिकोणका कविताले प्रतियोगितामा स्थान नै नपाउनु यसकाे सीमा रहेकाे छ ।”, कवि खेम बतासको राय छ ।
कवि भूपिनको अनुसार ‘प्राथमिक समस्या भनेको संस्थाको छद्म उद्देश्य र चयनकर्ताहरूमा छ । एक त पारदर्शिता नै छैन । र प्राय: निर्णायकहरू उत्कृष्टलाई होइन, निकटकालाई वा आफ्नो भक्तिगान गाउनेहरूलाई काखी च्याप्छन् । राजनीतिक मतलाई आधार मान्छन् । उत्कृष्ट छनौट गर्ने न्युनतम ल्याकतको अभाव छ ।’
“नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गर्ने र जनमानसले अलिकति चासोका रूपमा हेरिने एउटा कार्यक्रम हो राष्ट्रिय कविता प्रतियोगिता । यसले देशभरका नयाँ तथा युवा कविहरूलाई एउटा राम्रो मञ्च उपलब्ध गराएको महत्वपूर्ण पक्ष हो । तर यो कार्यक्रम सुरु भएदेखि यताका पदक विजेताहरूलाई नियाल्ने हो भने लगभग २५ प्रतिशत मात्र वास्तविक प्रतिभाहरू सम्मानित भएका देखिन्छन् । बाँकी कविहरू अर्को वर्षबाट गुमनाम भएको र नेपाली कविताको श्रीवृद्धिमा कुनै योगदान पुर्याउन नसकेको इतिहासले देखाउँछ ।”, लेखक मिलन संग्रौला भन्छन् ।
“०४६ सालमा प्रजातन्त्र आएपछि संविधानले नेपालकाे विविधतापूर्ण विशेषतालाई आंशिक रूपमा स्वीकारेकै हाे । भाषिक अभिव्यक्ति स्वतन्त्रतालाई पनि मानेकै हाे । यसपछिकाे २०७२ काे संविधानले त संघीयतालाई स्थापित गरेकाे छ । गणतन्त्रात्मक संविधान हाे । माैलिक हकका रूपमा भाषा र शिक्षालाई पनि संविधानले स्वीकारेकाे छ तर विडम्बना, एकेडेमीकाे कविता महाेत्सवमा त्यसको छनक पाउन सकिएकाे छैन ।”, कवि स्वपनिल स्मृतिको खेदपूर्ण मत छ ।
“महेन्द्रकालीन समयमा राज्यको नीति र राष्ट्रवादको परिभाषा जे थियो, तत्कालीन प्रज्ञाले त्यसलाई सदर गरेको हो । तर अहिले त समय बदलिसक्यो । राष्ट्रवादले सबैलाई समेट्ने राज्यको नीति छ, फरक विचारको सम्मान गर्ने व्यवस्था छ । प्रज्ञालाई चाहिँ मतलब छैन । उसले राष्ट्रवादको साँघुरो घेराभित्र बाँधिएर लेखिएकालाई मात्र कविता मान्छ, त्यस्तै कविता माग्छ र त्यस्तैलाई पुरस्कृत गर्छ ।”, कवि कुशल न्यौपानेको मत छ ।
‘प्रतिष्ठानले उत्कृष्टता दिलाएका कविताहरूमा नयाँपन, प्रयोग, आविष्कारको कुनै छनक नभेटिएको’ मत कवि जोतारे धाइवाको रहेको छ । “पछिल्ला वर्षमा कविता महोत्सवमा भाग लिनु र पुरस्कृत हुनु प्रतिष्ठाभन्दा पनि लोकलाजको विषय होला जस्तो भइसक्यो । खासमा, राजनीतिक भागबण्डाबाटै ‘प्राज्ञ’ नियुक्त हुने थलोबाट बढी आश गर्ने ठाउँ पनि देखिँदैन ।”, उनी भन्छन् ।
“प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष गर्ने प्रतियोगितामा देखिने दृश्य भने टिठलाग्दो छ ।”, कवि हेमन यात्री भन्छन्, “कतिसम्म भने आउँदो सालको प्रतियोगिताका लागि, प्रज्ञा-प्रतिष्ठानका एक वर्तमान प्राज्ञले अर्का एक कविलाई प्रथम बनाइदिन्छु भनेर वचनै दिइसकेको कुरा स्वयं कविले नै मलाई सुनाइसके ।” यस्तो अवस्थामा सुदूरका एक प्रतिभाशाली कविले एकेडेमीले गर्ने कविता प्रतियोगितामा कविता पठाएर जित्छु भन्ने कल्पनासम्म नगर्दा नै बेस हुने उनी बताउँछन् ।
“पुरस्कार पाउनेको नालीबेली हेर्दा, पुरस्कार लिन बारबार लालायित हुने पुरस्कृत कविहरूको निर्लज्जता हेर्दा कवि स्वयं कवि हुन छोडेको भान हुन्छ । कवितामा देखिएको समकालीन धारको कदर गर्न नसक्नु, मधेसी, दलित, जनजातिलाई पर्याप्त मात्रामा सहभागी हुन सक्ने वातावरण सिर्जना गर्न नसक्नु यसको अहम् दोष साबित हुन्छ ।”, कवि कृष्ण विश्वकर्मा भन्छन्, “विज्ञान र प्रविधिले संसारै मुठ्ठीमा कैद गरिसक्दा पनि प्रवासमा रहेका कविहरूलाई समेट्न नसक्नु यसको अर्को ब्लण्डर मिस्टेक हो ।”
“एक कवि ५/५ पटकसम्म भाग लिनुले के देखाउँछ ? सहभागिताको पुनरावृत्तिले नै निर्णायकहरू दबाबमा परेर पुरस्कृत गरे जस्तो देखिन्छ । एकै परिवारका ४/४ भाइ लगातार पुरस्कृत भएको इतिहास पढ्दा यसप्रति लज्जा महसुस हुन्छ । प्रज्ञाको निर्णायक राजन मुकारूङ, आहुति, सिकेलाल किन हुने सकेनन् ?”, विश्वकर्मा प्रश्न गर्छन् ।
“कवि भनेको आफैँ जन्मिने मान्छे हुन तर हाम्रो प्रज्ञा-प्रतिष्ठानले कवि जन्माउँछ । त्यहाँबाट जन्मेका कविले आफूले जन्मिँदा ल्याएको आयु बाँच्छन् तर कविता बाँचेको आजसम्म थाहा पाएको छैन ।”, कवि/गजलकार एम पी. केयरलेस भन्छन् ।
“अहिलेसम्म प्रज्ञाले बालकविताको विस्तारलाई मात्रै अवलम्बन गरेको देखिन्छ । राज्यको बजेट परेपछि प्रतिरोधी र प्रश्न गर्ने कविताले स्थान नै पाउँदैनन् ।”, गुरुङ सुशान्त भन्छन्, “त्यसैले कविता प्रतियोगिता पनि राज्यकै बेसोमती कर्मकाण्ड मात्रै बनेको छ ।”
“प्रज्ञा-प्रतिष्ठानले गर्ने महोत्सव टिप्पणी गर्न लायक नै छैन । म एकचोटि सुन्न मात्र गएको छु । नछापेको, प्रसारण नगरेको मात्र हो, म पनि `कविता´ लेख्छु । तर, एकेडेमीले कहिल्यै आकर्षित गरेन ।” लेखक एवं पत्रकार विमल आचार्य भन्छन् ।
“प्रतियोगिताले विचार फराकिलो दायरा र स्तर फराकिलो बनाउन सक्दैन भने जालझेल र तलुवा चाट्ने प्रतियोगिता भनेर लाग्ने आरोप पनि खाइरहनु पर्छ होला ।”, कवि विपी अस्तुको मत छ ।
प्रज्ञाको पुरस्कार ‘सम्मान कि लज्जा’ ?
प्रथमत: कुनै पनि पुरस्कार किन लज्जाको विषय बन्छ ? संस्था, महोत्सव, पुरस्कार र सम्मानले लेखक तथा साहित्यकारहरूलाई अपनत्वको आभास दिलाउन नसकेको अवस्थामा यस्तो हुने गर्दछ । साहित्य साझा सम्पत्ति हो । अझ उचाइमा उठेको साहित्य त सार्वकालिक र सार्वजनिक सम्पत्ति हो ।
“राष्ट्रिय स्तरमा भएको साहित्यिक संस्थाबाट आयोजित हुने प्रज्ञा-प्रतिष्ठानको कविता प्रतियोगितामा भाग लिने मेरो लोकतान्त्रिक अधिकार हो” भन्ने बाबु त्रिपाठीले ११ पल्ट कविता पठाउँदा ६ पल्ट छनौटमा परे भने दुईपल्ट पुरस्कार जिते । ‘भोलि पानी पर्ला भनेर आज छाता बोक्दिनँ’ भन्ने उनले अब कविता पठाउन छाडेको अड्कलबाजी साहित्यिक वृत्तमा भइरहेको छ । प्रसंगवश होइन नियतवश नै यहाँ उनको नाम लिइएको हो । उनी एक्लो होइनन् जो पटक-पटक कविता पठाइरहन्छन् र पुरस्कार प्राप्त गरिरहन्छन् । कसले कतिचोटि, कतिवटा पुरस्कार पायो भनेर राजकुमार बानियाँले त्यत्रो भाँति लेखेका छन्, त्यसलाई यता नदोहोर्याऔँ ।
पुरस्कार पाएकाहरूको मात्र होइन, छनौटमा नपरेकाहरूको मात्र होइन, कविता लेख्न नभ्याएका तर पठाउन मन भएकाहरूको पनि, कविता बुझ्ने तर लेख्न नसक्नेहरूको पनि एकै मतमा सहमति छ- “लबिङ वा बार्गेनिङ गरेर सर्वोत्तम, उत्तम र उम्दा हुने वर्तमान परिपाटीमा पुरस्कृत हुनलाई कविताले सामाजिक दायित्वबोध नगरे पनि हुने रहेछ, व्यक्तिगत कुण्ठा र देशप्रेमको मदमत्त रमिते नैतिकता भए पुग्ने रहेछ ।” योभन्दा लाजको पसारो अर्को के हुन सक्छ ?
“म पनि कुनै बेला लहै-लहैमा लागेर प्रतियाेगितामा भाग लिएँ । पुरस्कृत पनि भएँ । अहिले सम्झिँदा व्यर्थै गएछु जस्ताे लाग्छ ।” कवि राजु स्याङतानको यो अभिव्यक्तिले प्रज्ञाको महोत्सवको औचित्यमाथि प्रश्न गरेको छ ।
“पुरस्कार पाउँदाखेर खुसी हुनुपर्ने, गर्वानुभूति गर्नुपर्ने तर पुरस्कृत कविहरू नै मुन्टो झुकाएर हिँडिरहेको पाउँछु । ऊ ‘म पुरस्कृत हुँ’ भन्न पनि धक मानिरहेको छ । यसमा नामभन्दा बदनाम बेसी छ । खासमा अर्थ गुमाइसकेको कार्यक्रम हो यो ।” कवि हेमन यात्री भन्छन् ।
एम. पि. केयरलेस प्रश्न गर्छन्, “आज बुद्धिसागर आफूलाई कवि भन्न हिचकिचाउँछन् । यही हो त प्रज्ञाको शान ? प्रथम आएको कविको ‘प्रथम परिचय’ कवि हुनुपर्ने होइन र ?” ( बुद्धिसागर यसबारे कुनै टिप्पणी गर्न मन नभएको बताउँछन् ।)
राष्ट्रिय कविता महोत्सव खारेजीको माग र कविहरूको अनाकर्षण :
“नेपाल प्रज्ञा-प्रतिष्ठानले शक्ति र सत्ताका वरिपरि नघुम्ने पुरानै पुस्ताका साहित्यकारहरूलाई त चिन्दैन भने राजनैतिक खिचातानी र सत्ताबाट परोक्ष रहेर कर्ममा तल्लीन हुने नयाँ पुस्तालाई त झन् यसले चिन्ने कुरै आउँदैन । पाठकमा राम्रो छाप छाड्न सफल धेरैजसो लेखकहरू प्रज्ञाबाट कुनै आशा र यसको नजरमा पर्नलाई गरिने गतिविधिमा अलग रही लेखन कर्ममै विश्वास गरिरहेका छन् ।” लेखक मिलन संग्रौला भन्छन् ।
“यत्रो लामो यात्रामा दलितका दु:ख र क्रन्दनका कविताले कति ठाउँ पाए ? महिला र आदिवासीका क्रन्दनहरूले कुन स्थान पाए ? विसंगतिप्रति व्यङ्ग्य गर्ने कविताहरू किन गयल परे ? यो महोत्सव त भूपी, वैरागीहरू छायाँमा पर्ने र श्रीमान गम्भीर लेख्ने चक्रपाणिहरू पुरस्कृत हुने थलोभन्दा माथि उठ्न सकेन ।”, कवि भूपिन भन्छन्, “यही स्थितिमा चलाइरहने हो भने यसको औचित्य र प्रासंगिकता लगभग समाप्त भइसक्यो । एकाध अपवाद फरक कुरा भयो ।”
“सकिन्छ भने प्रतिष्ठानले बृहत् कवि गाेष्ठी, सिर्जनात्मक सेमिनार र पुस्तक प्रकाशनकाे काम गरे उपयुक्त हुन्थ्याे ।’ कवि खेम बतास भन्छन्, “अबका दिनमा यस्ताे नाैटंकीकाे मञ्चन हुनुभन्दा बरु यस तरिकाकाे महाेत्सवकाे असामयिक निधन गराउनु नै ठिक हाेला ।”
“उही पञ्चायतकालीन राष्ट्रवादकाे धङ्धङी आउने, उही राष्ट्रकविका कविताका लाइन सारेर ल्याएजस्ता बासी कविताकै गडगडाहट छ । यस्ताे कविता महाेत्सवकाे औचित्य बिल्कुल छैन ।”, कवि स्वप्निल स्मृति भन्छन्, “यसलाई कि बन्दै गर्नुपर्याे कि पुरै नयाँ तरिकाले साेच्नु पर्याे ।”
“विवादले घेरिएको प्रतियोगितामा कहीँ कतै कुनै वर्ष स्वच्छ मूल्यांकन नै भएछ भने पनि पछिल्ला नजीरहरूले त्यसमा शंका मात्रै जन्माउनेछ । यसै कारण यस्तो विवादित प्रतियोगितालाई निरन्तरता दिएर एकेडेमीले आफ्नो बचेखुचेको साख नष्ट नगरोस् । एकेडेमीले विविध भाषाभाषिका र साहित्यको खोज-अनुसन्धानमा आफूलाई केन्द्रित गरोस् ।” कवि जोतारे धाइवा प्रज्ञा-प्रतिष्ठानप्रति अनुरोध भाव पस्कन्छन् ।
“प्रज्ञाको नोटिस आएकै दिन यसको विरोध सुरु हुन्छ । त्यो किन भयो भन्ने कुरा प्रज्ञाले कहिल्यै छ्लफल गर्छ जस्तो पनि लाग्दैन । लेख्ने सबैले प्रज्ञाप्रति गर्व गर्न सक्ने वातावरण नै छैन, यसको औचित्यमाथि प्रश्न नउठाएर के गर्नु ?”, कवि कृष्ण विश्वकर्मा प्रश्न गर्छन् ।
गुरुङ सुशान्त यस्ता प्रतियोगिताहरूलाई खारेज गर्नुपर्ने बताउँछन् । “जिम्मेवार संस्कृतिकर्मीहरूले भने यस्ता नियोजित गतिविधिप्रति प्रतिरोध गर्नुपर्छ ।”, उनी भन्छन् ।
‘फरक मत, फरक चेतना र फरक विचारमाथि छेकबार ल्याएसम्म एकेडेमीको आलोचना भइरहने’ तर्क कवि/कथाकार बिना थिङ तामाङको पनि रहेको छ । “आलोचनाबाट जोगिन उसले निष्पक्षता अँगाल्नै पर्छ ।”, उनी भन्छिन् ।
एल. बी. क्षेत्री यद्यपि प्रज्ञाप्रति आशावादी नै छन्, “प्रज्ञा-प्रतिष्ठानको धेरैले आलोचना गर्छन् तर म संस्थालाई कुरूप भन्दिनँ । म उसको सम्मान गर्छु । तर केही छुद्रहरूको छुद्रताले गर्दा संस्था बदनाम भयो ।” यस्ता प्रतियोगिताहरूले सर्जकमा ऊर्जा थप्नेमा उनी ढुक्क छन् । (साथै, कवि डाँडा साहित्य समाज सकभर निष्पक्ष हुने प्रयासमा रहेको उनको मत छ ।)
“एकेडेमी सरकारी अनुदानमा चल्छ । त्यसैले एकेडेमीका कार्यक्रम र प्रकाशनमा एकप्रकारको मानक, र ‘मध्य’ मार्गको चयन गरिएको बुझिन्छ । कविताकै हकमा पनि विषय, शैली र कथ्यलाई पूर्ण रूपमा स्वतन्त्र छोडिदिने हो भने ‘सरकारी’ मर्म र मूल्यविधानका विपरीत पनि आइदिन्छन् । त्यसैले, ठ्याक्कै विषय नै नतोकिए पनि एउटा भावभूमि तोकिन्छ । त्यसो नहुँदा सरकारी व्यवस्था विवादमा आउने भय सायद एकेडेमीमा रहन्छ । त्यसैले एकेडेमीको कविता प्रतियोगितालाई यिनै मान्यता र सीमाभित्र हेर्नुपर्ने देखिन्छ । सबैले सोचेजस्तो परिवर्तनको मार्गमा हिँड्नलाई राज्यको एउटा निकायलाई त्यति सहज हुँदैन सायद, जति एउटा निजी संस्थालाई हुन्छ ।”, समालोचक महेश पौड्याल प्रज्ञासँग यद्यपि आशावादी नै देखिन्छन् ।
‘कुनै पनि साहित्यिक संस्थाको उद्देश्य यदि भद्दा मनसायसहित हुँदैन र भएको छैन भने त्यसको जस उसलाई दिनुपर्ने’ तर्क राख्छन् कवि मनोज विश्वकर्मा । “नवीनतम प्रतिभालाई प्रमोट गर्नका लागि साहित्यिक प्रतियोगिताहरू चाहिन्छ । यता, प्रज्ञाले कला/साहित्यको संरक्षण/सम्वर्द्धनमा खेलेको भूमिका सन्तोषजनक छ । तर ऊ आफूले आयोजना गर्ने प्रतियोगिताको विवादास्पद नतिजालाई लिएर जिम्मेवार हुनुपर्छ, न कि प्रतियोगिता गरिहालियो भनेर सन्तोष ।”, उनी थप्छन् ।
महोत्सवको विरोध गर्दै त्यहीँ छिर्न किन मरिहत्ते गर्छ कवि ?
“कविहरूलाई पनि हैरान छ । आफूले विरोध गरेको व्यवस्थामा आफैँ अटेसम्म छिर्नु छ । त्यहाँ नछिरेसम्म कवि भइँदैन भन्ने कत्रो डर छ । सकेसम्म हरेक प्रतियोगितामा सेटिङ मिलाएरै पुरस्कृत हुनु छ ।”, कवि कुशल न्यौपाने प्रतियोगी कविहरूप्रति व्यंग्य साँध्छन् ।
“प्रज्ञाको कविता महोत्सव प्रतियोगितालाई कविहरूले प्रतिष्ठा कमाउने माध्यम बनाए कि भन्ने लाग्छ मलाई । त्यही भएर एकपटक पुरस्कृत भइसक्दा पनि कैयौँ पटक फेरि उही प्रतियोगितामा भाग लिनु सायद पहिलो कविको ट्याग पाउने अभिलाषा नै हो । यसो हुँदा यो प्रतियोगिता जित्न कविता नै लेखेर भएन भने अर्को बाटोबाट पनि भनसुन हुँदैन होला भन्न सकिन्न ।”, कवि वि.पी.अस्तु कविहरूको नैतिकतामाथि प्रश्न उठाउँछन् ।
“प्रज्ञा-प्रतिष्ठान देशको एउटा आदरणीय मानक संस्था हो । त्यो संस्थाले जे बोलिदियो सोही कुरा मानक हुने अवस्था छ । यस्तो अवस्थामा ‘राम्रा राम्रा कविता छानिदिए हुन्थ्यो नि !’ भन्ने लाग्नु स्वाभाविक नै हो ।” कवि मनोज भण्डारी भन्छन्, “तर अधिकांश यहाँ चाहिँ आफ्नो कविता पुरस्कृत भएन भनेर रोइलो हुने गर्छ । यो चाहिँ एकदम फन्टुस्याइँ हो ।”
“कतिपय कविहरू एउटै प्रतियोगितामा आजीवन भिड्न चाहेर सत्यानाश पारिरहेका छन् छन् । यसरी त लेख्ने नैतिकता नै सखाप हुन्छ नि ।”, कवि मनोज विश्वकर्मा भन्छन् ।
उत्कृष्ट ३० भित्र अटाएका कविहरू आ-आफ्ना सामाजिक सञ्जालमा प्रज्ञाको गुणगान गाइहाल्न भ्याउँछन् । तर, जब उनीहरूका कविता सर्वोत्कृष्टभित्र अटाउँदैन तब उनीहरू गाली-गलौजमा उत्रन्छन् (यस्ता व्यक्तिहरूको नाम यहीँ पनि आइसकेको हुनसक्छ ।)
‘समावेशीकरणमा विश्वास राख्छु तर मलाई समावेश नगराउने समावेशीकारणमा विश्वास राख्दिनँ’ भन्ने कवि विनोदविक्रम केसीको व्यंग्य सम्झेर पंक्तिकार यतिखेर खुसुखुसु.. मुसुमुसु.. हाँसिरहेछ ।
‘पुरस्कारको राजनीति’को छिनोफानो सम्भव छैन ?
पुरस्कार वा सम्मान व्यक्तिको कर्म योगदानमा रूपान्तरण भएपछि समुदायले उसलाई सम्झन, पहिचान गर्न, वा उसको कुराको सकारात्मक असर छ है भनी प्रेरणा जगाउने उद्देश्यसाथ प्रदान गरिने कुरा हो ।
“खासमा यो कसैको कर्म प्रतिको आभारका रूपमा आउनु पर्ने होला, तर संसारभरि नै प्रसिद्ध भनिएका पुरस्कारहरू समेत निगाह वा स्याबासीका रूपमा आएका पाइन्छन् । आभार र स्याबासी फरक कुरा हुन् ।” कवि नवीन प्राचीन पुरस्कार आभारको रूपमा आइदिए यस्ता विवादहरूको छिनोफानो हुने देख्छन् ।
“हामीले हरेक व्यक्ति, चेतना वा क्षमतालाई उसको विशिष्टताका आधारमा स्वीकार्न सकेका दिनदेखि तुलना वा प्रतियोगिताको आकर्षण र त्यसका आधारमा खडा भएको सोपानतन्त्र खारेज हुनेछ । हामीले हाम्रो चेतनालाई त्यो दिशातर्फ लग्नसके कसैलाई कसैभन्दा कमजोर/खराब देखाउने राजनीतिको अन्त्य हुनेछ ।”, नवीन प्राचीनको मत छ ।
भुसको आगो :
राष्ट्रभरबाट कविहरूलाई सहभागी हुन अनुरोध गरेर प्रतिष्ठान एकै परिवारका सदस्यहरू (दुबसु क्षेत्री-२०४४ मा तेस्रो, ०४५ मा प्रथम, कृसु क्षेत्री, चक्रबहादुर सुवेदी, भरत भारद्वाज, ताराबहादुर सुवेदी र राम अविराम) लाई पुरस्कार दिलाइरहन्छ भने…
प्रज्ञा उही ‘हामीले हिमाल उठायौँ एसियाको माझमा’ जस्ता आत्मरतिले भरिपूर्ण विचारमाथि समर्थन जनाइरहन्छ भने…
राज्यको बजेट र संरक्षणका कारण राष्ट्रवादको छायाँमा मात्र रुमल्ली रहन्छ भने…
दुखेसो व्यवस्थापनको संयन्त्र या संकाय नेपाल प्रज्ञा-प्रतिष्ठान, प्रतिष्ठान बनिरहन्छ भने…
एकेडेमीको निष्पक्षतामाथि सधैँ प्रश्नचिह्न खडा भइरहनेछ । भुसको आगो सल्किरहनेछ ।
वर्गीय, क्षेत्रीय, लैंगिक, भाषिक, धार्मिक, सामाजिक अनि आर्थिक कोणबाट समाज बिच्किएको अवस्थामा संस्था आफूले त्यसमा अझ मलजल गरिरहेको धरातलीय यथार्थलाई स्वीकार्न जबसम्म आनकानी गर्छ, तबसम्म यो विवाद बल्झिरहने र उसको नैतिकतामाथि प्रश्न उठिरहने पक्कापक्की छ ।
तसर्थ, प्रज्ञा-प्रतिष्ठानले आफ्नो बक्यौता प्रतिष्ठा जोगाउन, गुमेको प्रतिष्ठा फर्काउन र जन्माउन नसकेको प्रतिष्ठा जन्माउन यो लेखको ‘निष्कर्ष’ (जो प्रारम्भमै आइसकेको छ) लाई आफ्नो नवीन यात्राको प्रारम्भमा बदलेर देखाउन सकोस् !
अस्तु !
लेखक परिचय
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।