प्रिय मित्र (खुप ),
मिठो सम्झना।
एक्लै पिउँदै गरेको चियाको कप रित्तिएपछि दोहोरो औपचारिकता राख्नकै लागि भए पनि एकातिर तिमी भएको कल्पना गर्दै केही शब्द लेख्न चाहेँ।मेरा यी शब्दहरू तिमी भएको ठाउँमा पुग्छन्, पुग्दैनन् थाहा छैन। तैपनि मिठो सम्झना छ है खुप।
तिमीले चिया कम पिउन आग्रह गरेदेखि मैले चिया निकै कम पिउन थालेको छु । चियाको मात्रा कम गरेदेखि मलाई विपनामा भन्दा सपनामा तिम्रो तस्वीर झन सग्लो बनेर आउछ अनि मसँग दूधको चियामा चिनीको घोलजस्तै मिठो एहसास हुने गरी वार्तालाप गर्छ । यस्तैमा बिहान हुन्छ । म बिउँझिन्छु।बिउँझिनासाथ मलाई चियाको तलतल लागेर आउँछ किनकि म ती मेरा प्रत्येक चियाका चुस्कीसँगै राति देखेका सपनाका गाथा पुन: देख्ने कोसिस गर्छु कतै तिमी देखिन्छ्यौ कि भनेर तर तिमी देखिदैनौ र पो एक कप थप चिया पिउँछू । यसर्थ पो म चिया पारखी भएको हुँ।
सुनेको थिएँ आफूलाई मन पर्ने मान्छेलाई सपनामा देख्यो भने सिरानी उल्ट्याएर सुत्नुपर्छ, यसो गर्दा उसले पनि त्यस्तै सपना देख्छ अरे! मैले पनि तिमीलाई सपनामा एकपल्ट होइन कैयौं पटक देखेको छु । हिजो पनि तिमीलाई सदा झैँ सपनामा देखेँ।पहिला तिम्रा शरीरमा सुहाउने कपडाहरू सबै असुहाउँदा तरिकाले खुकुला भएका, गाला भित्र दबेका र आँखा गढेका देखेर तिमीलाई सोधेछु; के भयो तिमीलाई ? निकै दुब्लाइछौ ? तिम्रो उत्तर नआउँदै मेरो मोबाईलमा राखिएको बिहानको alarm बज्यो, म बिउँझेँ । यताउता हेरे तिमीलाई कतै देखिन ।आफैसँग भने ओहो ! सपना पो देखेछु । यसरी नै मैले सपनामै भए पनि तिमीसँग कैयौँ पटक भलाकुसारी गरेको छु । त्यसैले तिमीले पनि मैलेजस्तै सपना देख्छौ कि भनेर सिरानी उल्ट्याएर सुत्ने गरेको छु । तिमीले सपना देख्यौं कि देखिनौँ ? सपना नै देखिनौ कि मलाई देखिनौ ?
आजसम्म तिमी सपनामा मात्र देखियौ विपनामा कहिल्यै देखिएनौ। म प्रेमपत्र लेख्ने समयमा नजन्मिएर नै होला सायद मेरा हातहरूले मोबाईलको प्रयोग गरी इन्टरनेटको बाटो हुँदै मलाई मेरो घरको आँगनभन्दा पहिले मनाङ्गको फु देखाएँ, मेरा बा-आमाको पसिनाभन्दा पहिले भारतको बम्बई (हालको मुम्बई) मा बनेको स्टिलका थाल अनि कचौरा देखाएँ, बनारसमा बनेको कम्बल देखाएँ । हाल आएर लेक असाल (जिबुटि) अनि म्यानहाटन (Manhattan) सम्म देखाउन भ्याए तर यति कुराहररू देखाउँदासम्म खै किन हो तिमीलाई आँखा अगाडि देखाँउदै देखाएन । त्यसैले तिमी सपनामा मात्र होइन विपनामा पनि छिट्टै ऋतु झै फर्केर आऊ है।
तिमीले आफ्नो फेसबुकको प्रोफाइलमा निकै समय पहिला राखेको त्यो सेतो सर्ट, खैरो कपाल, मसिनो फ्रेमको चस्माभित्र चम्किलो आँखा, ठूलो निधारसहित शालिन अनुहारवाला तिम्रो तस्वीर नै होला मैले पहिलो पटक मन पराएको । तिमीलाई थाहा छ, त्यो फोटो मैले कति पटक हेरेँ होला ? यति पटक भन्ने त मलाई नै थाहा छैन, सायद अनगिन्ती । तिमीलाई त झन् कसरी थाहा होस् ! तिमी पो मसँग मैले जति नै बढी शब्द नेपाली शब्दकोशबाट सापटी लिएर खर्च गरी बोलाउँदा बोल्दिनौ, सायद मैले छनौट गरेका शब्दहरू तिमीलाई मन पर्दैनन् होला तर मैले पहिलोपटक मन पराएको तिम्रो उल्लिखित प्रोफाइलवाला तस्वीर मसँग निकै बोलिरहन्छ, त्यो तस्वीरसँग म निकै गुनासो गर्छु त्यसैले होला कतिबेला रिसाउँछ त कतिबेला निकै घुर्की लाउँछ।मसँग निकै झगडा गरिरहन्छ ।तिमीलाई त थाहा नै थियो कि, मलाई फकाउन आउँदैन भनेर । तिम्रो सम्झना आउँदा चित्त बुझाउनकै लागि भए पनि त्यो तस्वीरसँग बोल्ने बाटो चाहिँ बन्द नगरिदिनु ल !
साहित्यमा समयको वेदना समेटिएको हुन्छ भन्ने थाहा पाएदेखि मैले पनि बेलाबेला कलम चलाउँछु । मेरा यी लेखिएका शब्दहरू पनि त्यही वेदनाका सशक्त अभिव्यक्ति हुन् । मलाई भाषाशास्त्रका चिच्याहटलाग्दा शब्दहरू भएर होला ती तमाम शब्दहरू निकै किमती हुन्छन् जस्तो लाग्छ । कहिलेकाहीँ म आफैसँग निकैबेर शाब्दिक कुरा गर्छु, ती शाब्दिक कुराहरूलाई आवाज बनाई मस्तिष्क झञ्जामा परिणत गराउँदछु र आफै बेलाबेला सुन्छु । तिमीले त अनुभव गरेकी छैनौ होला कि एक्लोपन कति निकै फराकिलो हुन्छ भनेर । मैले अनुभव गरेको छु कि कतिबेला तिमीले कहिले शिक्षक झैँ प्रेरणा दिएको, कहिले अभिभावक झैँ सम्झाएको, कहिले साथी झैँ छक्क पारेको त कहिले प्रेमी झैँ भावुक बनाएको सम्झिन्छु र कहिलेकाहीँ आफैले आफैसँग सोध्छु कि यी सबै सम्बन्ध मिसिएको तिमीसँगको नातालाई म के भनेर सम्बोधन गरूँ भनेर।
कहिलेकाहीँ तिमीलाई सम्झिदासम्झिदै आफ्नो क्यानभास अगाडि राखेर त्यही क्यानभासमाथि आफ्ना अबोध औलाहरू चलाउँछु । कहिले कविता लेख्छु त कहिले लेख् । लेख्दालेख्दै कहिले मेरा हरफहरू बीच बाटोमै हराउँदछन् त कहिले खै कुनतर्फ मोडिन्छन् । त्यसैले अचेल म मेरा शाब्दिक हरफहरू त्यस्ता मात्र लेख्ने गर्छु कि, कुन हरफ पढ्दा तिम्रो अनुहारमा कस्तो भाव आउँछ भन्ने कुरा आफै महसुस गर्छु किनकि मलाई तिम्रो अनुहारको प्रत्यक्ष भाव हेर्न मन छ, त्यसैले तिमी छिट्टै ऋतु झै फर्केर आऊ है।
यसरी लेख्दै गर्दा तिमीसँग अनि मेरो कम्प्युटरको किबोर्डसँग मेरा औँलाहरूको प्रेम बसिसकेछ । त्यसैले होला आजकल तिमी नदेखिँदा पनि तिम्रो झल्को आइरहन्छ। किबोर्डसँग औलाहरुको प्रेम बसिसकेपछि आँखाले नहेरे पनि औँलाहरूले आफै टाइप गरिदिँदा रहेछन् । यो कुरा मलाईभन्दा बढी त तिमीलाई थाहा छ । एवम् प्रकारले तिमीलाई पात्र बनाएर जब म लेख्न थाल्छु नि आँखाले नहेरेरै मेरा औँलाहरूले आफै टाइप गरिदिन्छन् । लेख्दिनँ भन्दाभन्दै तिमीलाई बोलेर भन्न नसकेको कुरो मेरा औँलाहरूले लेखिदिन्छन् । मलाई जबर्जस्ती कुनै पनि कुरा मन नपर्ने भएता पनि पहिलोपटक मेरा औँलाहरूको यो जबर्जस्ती निकै मन पर्यो।
यस्तै जबरजस्ती गर्दै गरेका मेरा औँलाहरूले प्रेम लेखिरहँदा धेरै लामो समयपछि मेरो मोबाईलमा मायालु स्वरको घण्टी बज्यो । त्यो स्वरपछाडिको मनसाय बुझ्न सायद गाह्रो थिएन मलाई । तर पनि यति धेरै लामो समयसम्म त्यो स्वर नबज्नुमा केले रोकावट ल्याएछ कुन्नि ? तिमीलाई यो प्रश्न सोध्न मन हुँदाहुँदै पनि सोध्न सकिन किनकि त्यसको अर्को दिन तिम्रो जन्मदिन भएर होला त्यो घण्टी बज्दाको समयमा साँच्चिकै म तिमीलाई थाहै नदिइ तिम्रो उमेर लेख्दै थिए । मैले तिमीलाई तिम्रो जन्मदिनमा केही समयको समिकरण सहितका शब्दहरु उपहारमा दिने प्रयास गर्दै थिए । त् यो शब्द समिकरण सहितको उपहार तिमीलाई कस्तो लाग्यो कुन्नि ? ‘रात गर्भिणी आमा हो नपत्याए हेर भोली बिहान जन्मिन्छ’ भनेजस्तै अर्को दिन तिम्रो विशेष दिनले जन्म लियो । मैले तिमीलाई दिने उपहार तिम्रो जन्मदिन आउनु दुई घण्टा अगाडि नै पठाइसकेको थिए।तिमीलाई शुभकामना सन्देश पठाइसकेको भएर होला मैले थप कुनै प्रतिक्रिया जनाइनँ । तर पनि तिम्रो कुनै जवाफ पाइनँ । तिमी त आफूले एउटा मेसेज पठाएर त्यसको जवाफ आयो कि आएन भनी १० औं पटक हेर्थ्यौ अरे ! मैले त तिमीलाई हिसाबै नराखी मेसेज पठाएको थिएँ, तिनीहरूको जवाफ आयो आएन भनि मैले कति पटक हेरे हुँला ?
आजभोलि गर्मीको समय भएर होला मैले दिनभर निकै गर्मी महसुस गरेँ । छिनछिनमा परिरहने पानीले पनि मलाई चिसोको अनुभुति गराउँन सकेन । जतिसुकै गर्मी भए पनि बादल पग्लिएर आकाशबाट बर्सिएको पानी चिसो हुन्छ भन्ने कुरा बिर्सिएँछु ।त्यसैले होला म त्यही चिसो पानीमा रुझिरहेँ । चिसो लाग्ला भन्ने कुराको ख्यालै राखिनछु ।आखिर चिसो लाग्दो पो रहेछ ।यस्तो खालको चिसो मैले यसैपालि अनुभव गर्न पाएँ । मलाई प्राय: कुनै कुरा पनि एकतर्फी रुपमै भएतापनि कुनै न कुनै माध्यमले तिमीलाई नभनी चित्त बुझ्दैन । त्यसैले मैले अनुभव गरिसकेको भएर यो कुरा पनि तिमीलाई सेयर गर्न चाहेँ । तिमी यसरी चिसो झरीमा कहिल्यै नरुझ्नू ल । रुझे पनि मनतातो झरीमा रुझ्नु, यसो गर्दा चिसो लाग्दैन तिमीलाई ।
यस्तैयस्तैमा दिन बितेको पत्तै पाइनँ । राती सदाझैँ अबेरसम्म तिमीसँग एकतर्फी कुरा गरेछु, बिहान भएको पत्तै पाइनँ ।आँ खा खोल्दा त बिहानको सात नै पो बजिसकेछ । मेरो कोठामा रहेको झ्यालबाट घामको पहेँलो थोपासँगै उज्यालो अटाइनअटाई मेरो कोठामा आइरहेको थियो । तर पनि मैले आधा उज्यालो मात्र देखेँ । किनकि, मेरो सामु तिमी थिइनौँ ।मलाई धित मरुन्जेल तिमीलाई हेर्नुछ। त्यसैले मेरो अगाडि झुल्किने गरि तिमी छिट्टै ऋतु झै फर्केर आऊ है ।
सुरुसुरुमा तिमीसँग कुरा गर्दा एकखालको रहर मात्र हो जस्तो लाग्थ्यो । तर, थाहै पाइन मैले कि तिमी त कुन बेला मेरो आदत पो बनिसकिछौ । त्यसैले त तिमीलाई भुल्न हैन सम्झिन ज्यादा मज्जा आउँछ । अनि तिमीलाई सम्झिन्छु र निकै खुसी हुन्छु ।
कतै कोही मुसुक्क हाँस्यो भने तिम्रो झझल्को आउँछ।तिमी नआए पनि तिम्रो यादको उपस्थितिले मनमा एक प्रकारको उत्साह जगाउँछ र त कसैले देख्लान् कि भनेर लुकीलुकी एक्लै हाँस्छु । आजकल मलाई निन्द्रासँग शब्द साटेर रातभरि लेखेका हरेक रचनाहरूमा होस् या रत्नपार्कको आकाशे पुलमा सामान किन्ने बेलामा होस् तिम्रो सम्झना आउँछ । तर निकै दिन भो, तिमीलाई नदेखेको । तर पनि नभेटेकोजस्तो कहिले लाग्दैन, किनकि हृदयमा बसेको मान्छे सधैँ हृदयमै हुँदो रहेछ । त्यसैले सम्झिन्छु कि वास्तविक संसारमा कतै मायाको देश हुन्थ्यो भने त्यो देशको राजकुमारी तिमी हुन्थ्यौ होला ।
तिमीले पनि सुनेकी छ्यौ होला; ‘फकाउने मान्छे भएसम्म जति रिसाए पनि कुनै फरक पर्दैन अरे !’ तर घरमा बसिरहँदा ‘खाजा खायौ ? खानुपर्दैन ? भन्ने सम्म सुन्न नपाएर भोकै दुब्लाएछु ।औपचारिक भेट त तिम्रो र मेरो सायद आजसम्म कहिल्यै भएन भन्दा फरक नपर्ला । तर जब म आफ्नो मोबाईल हेर्छु, फेसबुक लगइन गर्छु अनि यस्तै, यस्तै…। तब एउटा पात्रले निकै मलाई निकै सताउँछ । जसको ट्याग तिमीले नै भिरेकी छ्यौ। लाग्दैछ कि समयसँगै माया घटेर हैन बढेर पो जाँदो रहेछ ।
तिमीले त मैले लेखेका शब्द, चिठी-पत्र च्याती फ्यँकिसक्यौ कि ? तीनको भाव शब्द-शब्द सबै लेख्नेलाई मात्र थाहा हुन्छ । तिमीलाई त सुन्दा कति मिठो लाग्छ होला है सारङ्गीको धुन ? तर कति गाह्रो हुन्छ त्यो त बजाउनेलाई मात्र थाहा हुन्छ हुनसक्छ, यो कुरो मलाई नै थाहा नभएको पो हो कि ? तसर्थ मलाई नै थाहा नभएको कुरा तिमीलाई कसरी विश्वास दिलाउन सकूँ ?
मैले तिमीलाई निकै सताए, तिम्रो उत्तम समय अलमलाए, तिम्रो ध्यान खलबलाए त्यसको लागि साँच्चिकै क्षमा माग्छु । तर एउटा कुरा भन्छु; मैले जानीजानी त्यसो गरेको होइन । केवल “ढिलो गरे कतिपय भोगाइ र अनुभव सम्झनामा समेत नरहने गरि मेटिएर जालान् कि” भनेर मात्र हो । तिमीलाई म अनि मैले लेखेका अक्षरहरू काँचा नै लाग्छन् होला । मैले लेखेका अक्षरहरू तिमीले काँचा नै माने पनि वास्तवमा ती सबै साँचा हुन् । ती कसैले भनेअनुसार, मैले भोगेअनुसार अनि तिमीले खोजेअनुसार लेखिएका होइनन् । यी त केवल मात्र मैले बाँचेअनुसार लेखेको हुँ । मलाई बनाएर लेखेन कहिल्यै आउँदैन । आज केवल यतिसम्म भन्छु कि, त्यो बाटो भई नहिँड्नु तिमी जहाँ मेरा यादहरुले तिमीलाई बिनासित्ति रुवाई देलान् !
कुनै मोडमा अज्ञात व्यक्तिहरूका साथसाथै साच्चिकै वास्तविक व्यक्तिको यथार्थलाई पनि आधार बनाउँदा अनि बनाएर लेख्दा त्यसले एक बेग्लै खालको आनन्द महसुस गराउँदो रहेछ । मलाई पनि यस्तै महसुस गरायो तिमीलाई पात्र बनाएर लेख्दा । त्यसैले मैले पनि मेरा प्रत्येक लेख रचनाहरूमा तिमीलाई कुनै काल्पनिक पात्रको रूपमा पक्कै नलिई साँच्चिकै वास्तविक पात्रको रूपमा प्रस्तुत गरेको हुँ । तिमी मेरो क्यानभासमा शब्द बनी आएको पात्र नै भएता पनि यी सबै कुराहरू मलाई तिमीले नै बुझ्ने बनायौ । त्यसै सिकाइको माध्यमबाट मैले मेरो विवेकले भ्याएसम्म सिके । सिकेकै दर्साएँ पनि । तिमीसँग मेरो कुनै गुनासो छैन । मैले तिमीलाई पात्र बनाएर त शब्द खेलाउन सिकेको हुँ, यिनै शब्दसँग रमाउन सिकेको हुँ । कल्पना गर्न अनि सपना देख्न सिकेको हुँ । सपनाको दुनियाँमा केही पल भए पनि घुम्न सिकेको हुँ । आज ती पलहरु मेरा स्मृतिमा ताजै छन्।तिमीसँग मेरो कुनै गुनासो छैन । बरू तिमी मेरो लागि एउटा मुख्य सिकाइ सिकाउने गुरुको रुपमा आयौ । सूर्यमुखीको सुर्यसंग अटुट सम्बन्ध भएर नै होला सदैव सूर्यलाई नमन गरिरहेको हुन्छ। ठिक त्यसै प्रकारले म पनि तिमीलाई नमन गर्दछु ।
धेरै लेख्न मन थियो तर तिमीसँग पढ्न समयको पाबन्दी पनि त हुन सक्छ अनि मलाई एकोहोरो धेरै लेखिरहनु उचित नहुन पनि ।तैपनि मलाई सधैँ हेरिरहुँ लाग्ने, हेल्लो के छ खबर ? प्रश्नवाचक आवाजसहितको तिम्रो तस्वीर जसलाई म निकै बेर घोरिएर हेरिरहन्छु मानौ कि जाडोयाममा चिसो पानीले नुहाउनु अघि करिब 10 मिनेटसम्म त्यो चिसो बाल्टिनको पानी घुरेजस्तै । किनकि त्यो आवाजसहितको तिम्रो तस्वीरले म कहिल्यै पनि अघाइनँ । यस प्रकारले हेर्दा कहिलेकाँही त लाग्छ हामीमध्ये कोहि कतै छुटेजस्तो त्यसैले तिमी छिट्टै ऋतु झै फर्केर आऊ है खुप ।
तिम्रो आवाजसँग खुप प्रेम गर्ने
चियाप्रेमी
लेखक परिचय
नेपाल सरकारको निजामती सेवामा कार्यरत जोशी साहित्यका विभिन्न विद्या तथा अनुसन्धानात्मक लेखहरूमा कलम चलाउने गर्दछन् ।