१. कविता सङ्ग्रह मन बल्झिन्छ भर्खरै सार्वजनिक भयो, तपाईँलाई प्रथमतः बधाई ! यस सङ्ग्रहमा सङ्ग्रहित कविताहरू कति समयमा लेखिसक्नुभयो ? लेखन अनुभवबारे बताइदिनुहोस् न ।
शब्दसोपानप्रति हार्दिक धन्यवाद । यस कविता सङ्ग्रहमा भएका कविता दुई काल खण्डमा लेखिएका छन् । मैले कविता लेख्न सुरु गरेको म कक्षा ६ मा पढ्दाको बेला हो । सामाजिक संस्था, सूर्या फाउण्डेशनले आयोजना गरेको शिविरमा भाग लिन म होजाई, असम गएको थिएँ । त्यो शिविरमा एक दिन स्वःरचित कविता लेखनको प्रतियोगिता भयो । प्रतियोगिता अघि कविता लेख्ने विधि पनि सिकाएका थिए । पहिलो चोटि मैले कविता ‘आमा’ शीर्षकमा लेखे’थेँ । आमा र गुरुजनको आशीर्वादको फलस्वरूप मैले कविता लेख्न छाडिनँ । कक्षा नौ र दसमा धेरै कविता लेखेँ । कक्षा दसपश्चात् म पढाइ एवं करियर बनाउन दिल्ली पसेँ । दिल्ली आएपछि मेरो कविता लेखनमा विराम लाग्यो । पुनः मैले २०१८ बाट आरम्भ गरेँ । कोरोनाले गरेको लकडाउनको समयको लाभ लिँदै मैले धेरै कविता लेखेँ । यसरी मैले दुई काल खण्डमा लेखिएका कविता यस सङ्ग्रहमा समावेश छन् ।
२. तपाईँको विचारमा मन बल्झिन्छले कुन परिवेश र समयको चित्रण गरेको छ ? या फरकफरक परिवेश र समय ?
यो सङ्ग्रहमा खासै कुरा गर्दा मैले देखेको, अनुभव गरेको अनि समाज र छेउछाउमा घटेको घटनालाई कवितामा जीवन्त राख्ने प्रयास गरेको हुँ । विद्यार्थी जीवन, यौवनावस्थाका भावना, परदेश लागेपछि घर एवं बचपनको याद र देशप्रेमले ओतप्रोत कविता विद्यार्थी जीवनदेखि हालसम्म लेखिएका कविता छन् । अनुभव गरेका कुरालाई कल्पनाको डोरीले बाँधेर कविताको रूप दिने प्रयास गरेको छु ।
३. मन बल्झिन्छबाट तपाईँले कस्तो अपेक्षा राख्नुभएको छ ? प्रतिक्रिया कस्ता आइरहेका छन् ? कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मैले मेरा कवितालाई सङ्ग्रह गरेर पुस्तकको रूप दिएँ । पाठकले कविता पढेर आफ्नो इच्छा व कविताको उचाइअनुसार प्रतिक्रिया दिन स्वतन्त्र हुनुहुन्छ । पाठकबाट मैले खासै सकारात्मक या नकारात्मक प्रतिक्रिया पाउनैपर्छ भन्ने आशा राखेको छैन तर सबैले पढून् अनि सुझाव दिऊन् भन्ने मेरो अपेक्षा छ । कोरोना लकडाउनले गर्दा भौतिक उपस्थितिमा विमोचन गर्न मिलेन । अनलाइन विमोचन गर्नाले पुस्तक पाठक वर्गमा व्यापकताले पुगेको छैन । पाउनेहरूले प्रशंसा गरिराख्नुभएको छ । पाठक वर्गले यो पुस्तकलाई माया गर्दिनुभयो भने मलाई भविष्यमा अन्य पुस्तक सृजना गर्न सम्बल प्राप्त हुनेछ । पुस्तकको सृजना गर्नु भनेको पनि सन्तान जन्माउनु समान हो । जसरी आफ्नो सन्तानको असाध्यै माया हुन्छ त्यसरी नै आफूले सृजना गरेको पुस्तकको माया धेरै हुनाले मन सन्तुष्ट भएको छ ।
४. स्वानुभूतिबाहेक तपाईँका लेखनका स्रोतहरू के-के हुन् ?
एक त स्वःप्रेरणाले जीवनमा केही विशेष गर्ने इच्छा, अर्को, मित्रमण्डलीमा साहित्यिक रुझान् राख्नेहरू हुनु अनि जीवनका तिता-मिठा कुरा लेखेर व्यक्त गर्ने रुचि हुनु नै मेरा लेखनका स्रोत हुन् ।
५. ‘कवि’ भन्नाले के बुझ्नुहुन्छ ? तपाईँको विचारमा कविता कस्तो हुनुपर्छ ?
यसलाई चैँ म व्यक्तिगत रूपमा भन्न चाहन्छु । भावना, विचार, अनि केही वस्तुलाई कुनै पनि सामान्य जनले आफ्नो अभिव्यक्ति दिइराखेका हुन्छन् । सामान्य जनको अभिव्यक्ति भन्दा भिन्न एवं सबैको मन छुनेगरी साहित्यिक शैलीमा विचारलाई प्रकाशमान गर्नु नै ‘कवि’ हो । कविता कस्तो हुनुपर्छ भन्ने त सायद आफ्नो कविता लेख्ने कविले मात्र स्पष्टता दिन सक्छ । मेरो मतमा- कविता सरल, सहज र कविताको आशय पाठकसम्म पुग्ने शैली र भाषामा लेख्नुपर्छ ।
६. कविता सङ्ग्रह भर्खरै प्रकाशित गर्नुभयो । तपाईँ कथा लेखनमा पनि सक्रिय हुनुहुन्छ ? कविता र कथामा लेख्न कुन सजिलो ठान्नुहुन्छ ? कुन विधा बढी मनपराउनुहुन्छ ?
हजुर ! म कथा पनि लेख्छु । मलाई कथा लेख्न सजिलो लाग्छ । किनभने कविताको नियम र शैलीले कलमलाई बाँधेको हुन्छ । धेरै शब्दमा विशाल भावनालाई समेट्नु परेको हुन्छ । कथाको कुरा गर्दा यसको पनि आफ्नै शैली र विधि त हुन्छ तर पनि कविता जस्तो कलमलाई बाँधेको हुँदैन । लेख्नचाहिँ म दुवै विधा मन पराउँछु ।
७. लेखनका लागि प्रेरणा के या कोबाट प्राप्त गर्नुभयो ?
सूर्या फाउण्डेशनले बाटो देखाइदियो । त्यही बाटोमा कलम चलाई राखेको छु । कुनै व्यक्ति विशेष चैँ अझसम्म प्रेरणा स्रोत बनाएको छुइनँ । भविष्यमा अवश्य नै मलाई मन पर्ने स्रष्टालाई प्रेरणास्रोत मान्छु होला ।
८. तपाईँले लेख्नुभएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? त्यो रचना उपलब्ध हुन सक्ला ?
दुर्भाग्यवश मेरो सुरूवातमा लेखेको डायरी हरायो । त्यसमा लगभग २० वटा जति कविता अनि ४, ५ बालकथा थिए । ती कविता यो सङ्ग्रहलाई टेका दिने सुरुमा लेखिएका रचना थिए । डायरी हराउनु मेरो दुर्भाग्य हो । मलाई नै अहिले ती कविता हेर्न, पढ्न मन लाग्छ तर डायरी हराएर उपलब्ध छैनन् ।
९. लेखन सुरु गरेदेखि निरन्तर रूपमा लेख्दै आइरहनुभएको छ ? या कारणवश लेखनबाट लामो समयसम्म टाढा रहनुपरेको सम्झन सक्नुहुन्छ ?
म अहिले निरन्तर रूपमा लेखिराखेको छु । कहिलेकाहीँ लेख्न समय नपाउँदा या लेख्न केही विषय नहुँदा रिक्तता महसुस लाग्छ । लेख्ने कला पो हराए जस्तो लाग्छ । ठूलै कारणले लेख्नमा वञ्चित हुनु एउटा कुरा हो नभए म निरन्तर लेख्न रुचाउँछु ।
१०. तपाईँका अधिकांश कविताहरू अनुप्रासयुक्त, छन्दोबद्ध रहेका छन् । केही कविहरू भन्दै आइरहेका छन् कि कविता लेख्दा अनुप्रास र छन्दलाई अँगालेर लेख्नु भनेको नियमको बन्धक हुनु हो, पुरानै शैलीलाई पछ्याउनु हो । यसबारे तपाईँको राय के होला ?
विचारलाई सामान्य रूपमा लेखिदिँदा पढ्नेलाई आनन्द आउँदैन अनि कविताको ढाँचामा देखिँदैन । कविता भनेको नै विचार र तालले मिलेर बनिएको हुन्छ । त्यसलाई वार्तालाप स्वरूपबिना अनुप्रास र लयमा लेख्दा कविताको रूप आएन भने कविता न भनेर अर्कै विधा भन्नु पर्यो । अनुप्रास र छन्द त कविताको प्राण हो । कविताको प्राणलाई नै निकाले पछि कविता त मरी हाल्छ नि । अरूले के भन्छन् भनेर समय समय नष्ट गर्नुभन्दा कविताको ढाँचा बुझेर लेखनलाई कवितापन दिने प्रयास गर्नु पर्छ । अनि अर्को कुरा कालजयी कविता सबै अनुप्रास न छन्दले लिपेको हुन्छ । सबैलाई कण्ठस्थ भइराखेको हुन्छ ।
११. नेपालको वर्तमान साहित्यिक अवस्थालाई कसरी नियाल्नुहुन्छ ?
म साहित्यमा प्रवेशको गरेको नूतन युवा साहित्यप्रेमी हुँ । मैले नेपालको साहित्यिक समुद्रमा गोता लगाउनु अझै छ । तर एउटा कुरा चैँ भन्नु चाहन्छु- नेपाल, नेपाली साहित्यको गढ हो । म भारतीय नेपालीभाषी भएर यो चाहिँ अनुभव गरेको छु कि दुवै देशको सांस्कृतिक, धार्मिक, मौसम, जातीयता एक समान हुनाले साहित्यमा पनि समानता देखिन्छ । संस्कृत भाषा दुबै हिन्दी र नेपाली भाषाको मातृभाषा हुने भएर पनि शब्द एकै छन् । यो दुवै देशमा बस्ने हामी जस्ता नेपालीभाषीका लागि नेपाली साहित्यमा प्रवेश गर्न सहज दिने सकारात्मक पहलू हो ।
१२. तपाईँ मणिपुरमा रहेर नेपाली साहित्य लेखन गर्दै हुनुहुन्छ । नेपालबाहिर रहेर नेपाली साहित्य सिर्जना गर्नुका चुनौतीहरू केके पाउनुभएको छ ?
म मणिपुरको वासिन्दा भए पनि जागिरको कारण नयाँ दिल्लीमा गत १४ वर्षदेखि कार्यरत छु । चुनौतीमा गरेको कार्य नै ऐतिहासिक र सन्तोषजनक हुन्छ । यो स्वाभाविक हो कि आज अङ्ग्रेजी अनि स्थानीय भाषाले गर्दा हामीले नेपाली बोल्दा दैनिक जीवनमा उपयोग हुने शब्दहरू अङ्ग्रेजीका प्रयोग हुँदैछन् । यसले नेपाली शब्दकोशलाई क्षति पुर्याएको छ । झन् परदेश लागे पछि आफ्नो मातृभाषाबाट टाढिने सम्भावना धेरै हुन्छ । साहित्य सृजना गर्दा दिनै बोल्ने भाषाले प्रभावित पार्नु स्वाभाविक हो । यस्तो परिवेशमा साहित्यिक भाषालाई जीवन्त राख्नु नवसाहित्यकारलाई चुनौतीपूर्ण कार्य हो । यही चुनौतीलाई स्विकारेर म पनि प्रयासरत छु ।
१३. भारतमा, खासगरी मणिपुरमा नेपाली भाषा र साहित्यको अवस्थालाई कसरी वर्णन गर्नुहुन्छ ?
मणिपुर भारतको उत्तर-पूर्वीमा स्थित वर्मा देशको सीमान्त राज्य हो जहाँ अनेक सम्प्रदाय, भाषा, वर्ण, भेषभूषा, जन-जातिले बसोबास गर्छन् । यो प्राकृतिक सुन्दर एवं रमणीय राज्यमा नेपाली भाषी पनि आफ्नै समाज, धर्म-संस्कृति एवं कलाले सम्पन्न भएर बसेका छन् । २०११ को भारतीय जनगणनाअनुसार नेपाली भाषीको जनसङ्ख्या लगभग ६० हजार थियो । यो जनसङ्ख्या अनि यहाँको शिक्षा प्रणालीमा अङ्ग्रेजीको अधिक चलनअनुसार नेपाली भाषामा युवाको रुझान् सन्तोषजनक छ । भारतीय साहित्यलाई सन् १८९३ मा ‘मणिपुरका लडाइँको सवाई’ लेखेर जाने तुलाचन आले नै नेपाली साहित्यलाई भारतमा श्रीगणेश गर्ने हुन् । नेपाली साहित्य परिषद्, मणिपुर साहित्यिक संस्था र अन्य अनेक नेपाली भाषी पत्रिकाले नेपाली साहित्यको संवर्धन गरी आइराखेको छन् । अहिलेको नयाँ पीढीमा कविता, गजल, मुक्तक, कथा, निबन्ध, आदि लेख्नेको खाँचो छैन । मणिपुरेली नेपालीको लोक-संस्कृति धनवान् हुने भएर पनि साहित्य प्रति पनि पुरानो पुस्तासहित नयाँ पीढीमा यसको प्रभाव देखिइराखेको छ । लेखकहरूको कमी छैन तर यहाँ पुस्तक प्रकाशित भए पछि पुस्तक बजारको अभाव छ जसले गर्दा लेखकहरू पुस्तक प्रकाशित गर्न डराउँछन् ।
लेखकसँग सम्पर्क वा पुस्तक प्राप्त गर्नका लागि: Email: rohitsuryafnd@gmail.com
WhatsApp: +918882524896
Facebook: https://www.facebook.com/rohitsuryafnd
प्रश्नोत्तर वार्तालाप अतिनै राम्रो साथै ज्ञानवर्धक। नवकवि लाई उज्ज्वल भविष्य को शुभकामना।।