राजनीति बेहाल छ नीति भाजक बनोस् न बरु
प्रगति फलाउन विकृतिको नाशक बनोस् न बरु
भ्रष्टाचार बाफिएर अशान्तिको हुस्सु नउडोस् बाक्लो
शासित मगज अब सचेत शासक बनोस् न बरु
फलामले फलाम काटेझैँ मायाले माया काट्छ कहिले ?
वेदनाको कीटाणु पखाल्न घातक बनोस् न बरु
अति चञ्चले मन यो एकैछिन पनि थपक्क बस्दैन
मायाभित्र पसेर भित्रभित्रै साधक बनोस् न बरु
वियोगमा तप्प आँसु खसाल्न पनि नदिने समय छ
बेस्सरी दुखाएर एकैछिन मादक बनोस् न बरु
जेसुकै होस्,कसैले नभनेपछि तैँले नै भनिदे है “राजु”
रगत चुसुवा कति बन्छ अराजक बनोस् न बरु
लेखक परिचय
दार्जीलिङका साहित्यकार राजु प्रधान “हिमांशु” कथा, कविता, नाटक, समीक्षा र निबन्ध विधामा कलम चलाउँछन् । चालीसको दशकदेखि निरन्तर लेखनमा सक्रिय हिमांशुका, यो निगूढ़ कुरा होइन, अभ्यन्तर, अन्वेषण, मुखुन्डो लगाएको मन, ओम शान्ति, निफन-नाफन, काल-निर्णय, नि:शब्द शब्द-शिखा, प्रेक्षण-सर्वेक्षण, चिन्तन-विचिन्तन, अवसान, शान्ति-दर्शन, कालान्तर-कालान्तर, विचारको आयतन, रङ्गहरूको खेल, एउटा महायज्ञपछि, तिरस्कृतहरू ! बहिष्कृतहरू, विलोकन उनका प्रकाशित कृतिहरू हुन् ।
मो.न. : ९४३४१५१११७
ईमेल : rajuhimanshu274@gmail.com
पुरस्कार /सम्मान :
१.सन् १९८०-मा कथा प्रतियोगितामा प्रथम पुरस्कार
२. सन् १९८२मा जिल्लाव्यापी कविता प्रतियोगितामा प्रथम पुरस्कार
३. सन् १९८२मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार
४. सन् १९८४मा एकाङ्की प्रतियोगितामा प्रथम पुरस्कार
५. सन् १९८७मा कवितामा स्रष्टा पुरस्कार
६. सन् १९९४मा जिल्लाव्यापी एकाङ्की प्रतियोगितामा सर्वश्रेष्ठ एकाङ्की, सर्वश्रेष्ठ एकाङ्कीकार, र सर्वश्रेष्ठ निर्देशकका पुरस्कारहरू
७. सन् १९९५मा नाटकमा इलाहावाद नाट्य संघको अध्यक्ष पुरस्कार
८. सन् १९९८मा सर्वश्रेष्ठ प्रयोगात्मक नाटकका निम्ति हिमालयन थिएटर अवार्ड
९. सन् १९९९-२०००को अखिल भारतीय रेडियो नाटकलेखनमा प्रथम पुरस्कार
१०. सन् २००१मा नाटकमा दियालो पुरस्कार
११. सन् २०१७मा “शान्ति दर्शन” (रेडियो नाटकसङ्ग्रह) का निम्ति प्रथम डी. के. श्रेष्ठ स्मृति साहित्य पुरस्कार
१२.लघु चलचित्र “कुहिरो The Outsider” को अभिनयका निम्ति रोममा सञ्चालित प्रिज़माबाट बेस्ट लिडिङ एक्टर अवार्ड, सन् २०१८