विश्वकै सबैभन्दा ठूलो साहित्यिक आन्दोलन वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा २०२३ को जुलाईमा कोलम्बिया र भेनेजुयलामामा हुने तय भएको छ । विश्वका १५० देशका कविहरूसँग राष्ट्रियस्तरको समन्वय रहेको यस संस्थासँग विभिन्न देशका साहित्यिक महोत्सव पनि जोडिएका छन् । यसका अन्तराष्ट्रिय संयोजक फर्नान्डो रेन्डनले मानवताको पक्षमा सशक्त हस्तक्षेप आवश्यक परेकाले संसारभरिका कविहरूलाई यस आन्दोलनमा जोडिन आह्वान गरेका छन् । यसले महसभामा छलफल गरिने एजेण्डाका लागि २०२३ को जनवरीमा अफ्रिकी कङ्ग्रेस, फेब्रुअरीमा एसिया कङ्ग्रेस, मार्चमा युरोप कङ्ग्रेस र अप्रिलमा अमेरिका कङ्ग्रेसको आयोजना गर्ने समेत तय गरेको संस्थाका अन्तराष्ट्रिय समिति सदस्य केशव सिग्देलले जानकारी दिए । संसारभरि कवितामार्फत् मानव गरिमाको वकालत गर्ने उदेश्यले वर्ल्ड पोयट्री मुभमेन्टको स्थापना सन् २०११ मा भएको हो । यसको मुख्यालय कोलम्बियामा रहेको छ ।