अघि नेपाल देश घना जङ्गलले ढाकिएको थियो। मानिसहरू कम थिए, ठाउँठाउँमा दानवहरू बस्दथे। तिनीहरू मानिसको मासु खान्थे। वृन्दावन नामको एक ठाउँको छेउमा स्याङ्ग्री नाम गरेकी एउटी बूढी आइमाई बस्थी। ऊसँग दस बर्ष पुग्न आँटेको एउटा नाति थियो। उनिहरू दुवै जना एउटा टुँगमा बस्दथे। टुँगमा चढ्न-ओर्लन एउटा डोरीको भर्याङ राखिएको थियो। डोरीको टुप्पो रूखका टुप्पामा बाँधिएको थियो। उनिहरू टुँगमा चढ्न वा ओर्लनासाथ भर्याङ उँभो तानेर टुँगमा राख्ने गर्दथे।
एक दिन उनिहरू बसेको टुँगका फेदमा आई एउटी बूढी दानवीले आगो मागी। स्याङ्ग्री बूढीले आगो दिएँ भने मेरो नातिलाई यस बूढी दानवीले देख्छे र खाइदिन्छे भन्ठानेर टँगमा केको आगो हुन्छ? भनेर त्यसलाई फर्काइदिई। त्यो दानवी भाङ्ग्राको लुगा बुन्न सिपालु थिई।
अर्को दिन स्याङ्ग्री बूढीलाई कहिँ जाने काम पर्यो। नातिलाई टुँगमा एक्लै छोडेर ऊ भर्याङ उँभो तान्न लगाई आफ्नो काममा हिँडी। नाति केटो कोइला टोक्दै टुँगमा एक्लै बसिरह्यो। एकैछिनपछि हिजोकी बूढी दानवी त्यहाँ आएर त्यस केटोलाई एउटा राम्रो युँ देखाउँदै भन्न थाली – “भर्याङ एक पल्ट झारिदेउ। म तिमीलाई यो युँ दिन्छु।”
युँका लोभमा परेर त्यस केटाले तुरुन्तै भर्याङ झारिदियो। बूढी दानवी भर्याङ चढेर माथि उक्ली केटोको हातखुट्टा बाँधेर एउटा बोरामा हाली आफ्नो घरतिर लागी। घरमा लगेर बूढीले केटोलाई थुक्न लगाई। केटोले थुकिदियो। थुकमा कालो रङ निस्क्यो। अहिले त केटो दुब्लै रहेछ भन्ने विचार गरि बलियो पारेर मात्र खानुपर्छ भनेर बूढीले बोराभित्र हालेर धुरीमा झुन्ड्याई। बूढीले यस्तो काम गरेको एउटा कागले देखिरहेको थियो।
यता स्याङ्ग्री बूढी घर फर्की। साङ्लोको भर्याङ तुर्लुङ्ङ झुन्डिरहेको देखेर उसको मनमा चिसो पस्यो। हतारहतार टुँगमा चढेर हेर्दा त उसको नाति त्यहाँ रहेनछ। कति खोज्दा पनि उसले आफ्नो नातिलाई भेट्टाउन सकिन। कतिपल्ट डाक्दा पनि कतैबाट कुनै उत्तर आएन। नातिको सुर्ताले बिचरी बूढी एकपल्ट मुर्च्छा पनि परी। पछि बूढीले शङ्का गरी – मेरो नातिलाई निश्चय पनि बूढी दानवीले खाइछ। त्यसै पिरले गर्दा स्याङ्ग्री बूढीले खान पनि छोडिदिई। रातदिन रुँदैकराउँदै खरानी छरेर बूढी दानवीलाई सराप्न लागी।
यसरी रातदिन त्यो स्याङ्ग्री बूढी विलाप गर्न थालेकी चाल पाएर बूढी दानवीले केटोमाथि कुकर्म गरेको देख्ने त्यहाँ आएर “काँ-काँ” गर्दै कराउन थाल्यो। त्यसले बूढीलाई भन्यो – “शोक गर्नु पर्दैन, तिम्रो नाति मरेको छैन। बूढी दानवीले आफ्ना घरका धुरीमा धोक्रोमा हाली त्यस केटोलाई झुन्ड्याइराखेकी छ। म उसलाई बचाउने उपाय गर्नेछु।” यति भनेर काग भुर्र उडेर गयो।
एकछिनसम्म त स्याङ्ग्री बूढीले कागले भनेको कुरा हो कि भन्ठानी। तर, फेरि काग जाबाले भनेको कुरो हो वा होइन भनी फेरि विलाप गर्न लागी। स्याङ्ग्री बूढीको विलाप सुनेर त्यहाँ फेरि एउटा न्याउरी आइपुग्यो। त्यसले भन्यो -“किन यति बिघ्न शोक गरेकी। तिम्रो नाति मरेको छैन। यो सब कुरा अघि आउने कागलाई पूरा थाहा छ। हामी सल्लाह गरेर तिम्रो नातिलाई बचाउने उपाय गर्नेछौँ।” यस्तो सान्त्वना दिएर न्याउरी फर्क्यो।
तर, केही गरे पनि बूढीले आफ्नो चित्त बुझाउन सकिन। ऊ फेरि विलाप गर्न लागी। त्यो देखेर त्यहाँ एउटा सानो मुसो पनि आइपुग्यो। ऊ बूढीलाई शान्तिपूर्ण वचन सुनाएर फर्क्यो। त्यसपछि एउटा कुखुराको पोथी पनि त्यहाँ आई र स्याङ्ग्री बूढीलाई सम्झाउन थाली -“तिमी मानिस भएर हामी सबै पशुपक्षीहरूले दिएको सल्लाह मान्दैनौ। मानिसहरू हामी पशुपक्षीहरूलाई प्यारो त गर्छन्, तर मनमा एउटा स्वार्थ राखेर। अर्थात बलियो भएपछि हामीलाई मारेर खान्छन्, नभए पनि इच्छा हुनासाथ खतम गरिहाल्छन्। हाम्रो जीवन मानिसहरूका निमित्त एउटा खेलजस्तो छ। हामी पशुपक्षीहरू मानवजातिलाई मालिकका रूपमा देख्तछौँ। उनिहरूले हामीहरूलाई जतिसुकै निष्ठुर व्यवहार गरे पनि हामी उनिहरूमाथि बदला कहिले लिँदैनौँ। जुनसुकै मानिसलाई पनि कुनै आपद् आइलागेछ भने हामी पशुपक्षीहरू आफ्नो शक्तिले भ्याएसम्म मद्दत गरेर उसको उपकार गर्दछौँ।” पोथी भन्दै गई -“आज तिमीलाई आपद् आइलागेको छ। नाति हराएको छ। तिम्रो विलाप हामीहरूले सुन्यौँ। अब तिम्रो उपकार गर्नलाई हामी काग, न्याउरी, मुसो र म भई एउटा सभा गर्दछौँ। शोक नगर। कुन तरिकाले हुन्छ -तिम्रो नातिलाई बूढी दानवीको पन्जाबाट मुक्त गराई हामी तिम्रा काखमा सुबिस्तासाथ ल्याई राखिदिनेछौँ।”
पोथीको यस्तो आश्वासन पाएर स्याङ्ग्री बूढी खुशी भई । त्यसपछि कागको सभापतित्वमा न्याउरी, मुसो र पोथीको सभा बस्यो । पोथीले स्याङ्ग्री बूढीको नातिलाई बूढी दानवीको पन्जाबाट मुक्त गराउने उपायको प्रस्ताव राखी ।
न्याउरी र मुसो दुवैले एक्कै स्वरले स्याङ्ग्री बूढीको उपकार गर्नैपर्छ भनी पोथीको प्रस्तावलाई जोडसित अनुमोदन गरे ।
तर कुन युक्तिले उपकार गर्ने भनी पोथीले सोधी । सभापति कागले जुरुक्क उठी ‘म एउटा युक्ति निकाल्छु, त्यसमा भला पञ्चहरूको सम्मति मिलेछ भने त्यसैबमोजिम गर्नेछु’ भन्ने आशय प्रकट गर्यो । तर भला पञ्चहरूले युक्ति के रहेछ सुनौँ र विचार गरौँ भने । कागले भन्यो- “बूढी दानवी दिनहुँ तान बुनेर बस्ने गर्दछे । म त्यसलाई गीत गाएर अल्मल्याउन जान्छु । अल्मलिएको मौका पारी मुसोले धुरीमा चढेर केटो झुन्ड्याइराखेको धोक्राको डोरी चटचट काटिदिनुु । स्याङ्ग्री बूढीले नाति बोकी घरतिर भाग्नु । पोथीले बीच बाटोमा बसी माटो कोट्याएर धुलो फरफराउँदो पारी ठिक्क गरेर बस्नु । मेरो पछिपछि बूढी दानवी आएका बखतमा पोथीले त्यसका आँखमा धुलो पारिदिनु । ऊ आँखा माड्दै मेरो पछिपछि हिँडेका बेलामा म अघि गीत गाउँदा सर्त राखेबमोजिम उसँग आँखा, हात, खुट्टा माग्नेछु । त्यस बेला न्याउरीले फुत्त निस्केर ‘तिम्रा आँखाको कसिङ्गर निकालिदिन्छु’ भनी बूढी दानवीको दुबै आँखा निकालिदिनु । ऊ अन्धी हुन्छे । म हातखुट्टा माग्न छाड्दिन । अनि न्याउरीले अन्धी दानवीका हातखुट्टा आफ्ना दाँतले काटिदिनु र ऊ लड्छे । यसरी स्याङ्ग्री बूढीको उपकार हुन्छ ।”
सभापति कागको युक्ति सबैलाई राम्रो लाग्यो र सबैले सर्वसम्मतिले त्यसलाई स्विकार गरी त्यसैबमोजिम काम गर्ने भनेर दिन तोकेर स्याङ्ग्री बूढीलाई पनि खबर गर्ने राय मिलाए । सभा सकिएपछि काग, न्याउरी, मुसो र पोथी- सबै स्याङ्ग्री बूढीका टुँगमा गए । उनीहरूले राय मिलाएको सबै कुरो सुनाइदिए । बुढिया खूब खुशी भई र तोकिएको दिन नातिलाई भगाएर ल्याउने काम गर्न तयार परी ।
तोकिएको दिन आइपुग्यो । बूढी दानवी तान बुन्दै थिई । तानको गुरुसिङमा बसेर काग गीत गाउन थाल्यो । तान बुनिरहेका बेलामा कागको गीत सुनेर बूढी खुशी भई । गीत सकिएपछि फेरि एकपल्ट गाऊ भनेर बूढी राक्ष्सनीले कागलाई अनुरोध गरी । कागले फेरि गीत गाउनलाई कुनै न कुनै सर्त राख्नुपर्छ भन्यो । बूढी दानवीले भनी- “एउटा मानिसको बच्चा पालेर राखेकी छु । त्यसलाई मारी त्यसका आँखा हात र खुट्टा दिउँला ।” कागले हुन्छ भनेर घरीघरी मोटो र घरीघरी पातलो स्वरमा ‘क्रोक-क्रोक-क्रोक, काँ-काँ, काक-काक, काआक-काआक’ गर्दै किसिमकिसिमका भाका हाल्दै गीत गाइदियो । बूढी दानवी गजब परेर अल्मलिइरही ।
त्यसै बीचमा मुसोले धुरीमा पसेर धोक्राको डोरी काटिदियो । स्याङ्ग्रीले नाति बोकेर घर पुर्याई । बूढी दानवीलाई वाजखामै थिएन ।
गीत सकिएपछि कागले अघिको सर्तबमोजिम आँखा, हात र खुट्टा देऊ भनी बूढी दानवीसँग माग्यो । बूढी ‘बस्दै गर, त्यो केटा मारेर ल्याइदिन्छु’ भनी जुरुक्क उठी र धुरीमा चढी । तर, त्यहाँ केटो लुकाएको धोक्रो थिएन । बूढी आत्तिँदै आँगनमा ओर्लेर आई र यताउति दगुर्न थाली । कागले ‘किन आत्तिएको?’ भनी प्रश्न गर्दा बूढी दानवीले भनी- “लुकाइराखेको केटो त हराएछ । मार्न पाइएन ।” कागले भन्यो- “त्यसो भए म जताजता उड्छु उतैउतै मेरा पछिपछि लागेर आउनु, हामी त्यसलाई भेट्टाउँला ।” कागका कुरा पत्याएर बूढी दानवी त्यसैका पछि लागी ।
बीच बाटोमा पोथी बसिरहेको देखेर काग एकछिन त्यहाँ थामियो । बूढी राक्षसनी पनि पोथीको सामुन्ने उभिई । पोथीले ‘को-को-को-को’ गरेर पखेटाले भ्याएजति माटो र धुलो बूढी दानवीको आँखाभरि हालिदिई र उडेर गई । बूढी दानवी दुवै हातले आँखा माड्दै थिई, कागले अघिको सल्लाहबमोजिम आँखा, हात र खुट्टा कहिले दिने भनेर उसलाई सोध्यो । त्यसै बेला न्याउरीले फुत्त निस्केर “तिम्रा आँखाबाट कसिङ्गर निकाल्ने ज्ञान मसँग छ” भन्दै बूढी दानवीका दुवै आँखाका गेडी निकालिदियो । ऊ अन्धी भई । कागले सल्लाहबमोजिमका आँखा भेट्टायो । फेरि हातखुट्टा त पाउनु नै थियो । त्यो पनि तत्कालै चाहन्छु भन्दा न्याउरीले आफ्ना तिखा दाँतले बूढीको हातखुट्टा चटचट काटिदियो । बूढी दानवीको प्राण गयो । यस्ता प्रकारले ती पशुपक्षीहरूले मदत गरेर स्याङ्ग्री बूढीको नातिलाई राक्षसनीका हातबाट फुत्काइदिए । साझा प्रकाशनद्वारा वि. सं. २०२१मा प्रकाशित पुस्तक किरात दन्त्यकथाबाट साभार । संकलन र अनुवाद: इमानसिँह चेम्जोङ
लेखक परिचय
इमानसिंह चेम्जोङ (१९६१-२०३३) इतिहासकार, साहित्यकार, लिपिकार, भाषावेत्ता र दर्शनविद हुन् । आजीवन किराँत भाषा, संस्कृति, साहित्य, कला, दर्शनको उत्थानमा समर्पित चेम्जोङ युगपुरुष मानिन्छन् ।