कल्पना जोशी कल्पना जोशी कल्पना जोशी कल्पना जोशी कल्पना जोशी
भाैतिकरूपमा मलाई म जन्मेको याद नभएपनि मैले आफूलाई मानसिक, मनोवैज्ञानिक र भावनात्मकरूपमा धेरैपटक आफ्नै आँखाअगाडि जन्मिएको देखेँकी छु। अस्पतालको आइसियु वार्ड, विश्वविद्यालयका कक्षाहरू, आफन्तहरूको लास जल्दै गर्दाको मसानघाट, मुटुभित्रै राखेका मान्छेको विवाहको मण्डप थाहा छैन कति हो कति ठाँउमा मेरो जन्म मेरै अगाडि भएको छ। प्रत्येक पटकको जन्ममा रुवाइ प्राय: साझा हुनेरहेछ।
जिन्दगीमा गुनासो कसैसँग छैन् न त रहनेछ। अाजको दिनसम्म मात्रै आइपुग्दापनि मैले यत्ति कुरा त महसुस गरिसकेकी छु कि मान्छे पनि माैसमजस्तै हुन्छन्। उनीहरू आउनु र जानुमा पनि एक हिसाबले प्राकृतिक कारण नै हुन्छन्। दुईटैले केही न केही सिकाएर जान्छन्। स्वागतमा जस्तै विदाइमा सधैं मन नरमाउँन पनि सक्छ तर जिन्दगीको कथामा विविधताको स्वाद भने जरुर थपेर जान्छन्।
जिन्दगीको कहानी रोचक बनाउनमात्रै भएपनि हामीलाई समयले धेरै मान्छेसँग भेटाउँदो रहेछ, धेरै ठाँउ देखाउँदोरहेछ, धेरै परिस्थिति भोगाउँदोरहेछ। पीडा, हाँसो, आँशु, खुसी, मिलन, बिछोड केही नभएको एउटा निस्सार अनि निर्जीव कहानी पढ्न कसलाई रुचि पर्दछ र? यस्तै त हाम्रो जिन्दगी पनि हो। जन्मेदेखि मृतयुपर्यन्त एउटै ठाँउमा, उनै मान्छेहरूसँग सधैँ एकैनासको भावनात्मक सम्बन्ध लिएर बसेको जिन्दगीमा तपाईंले कति मान्छे चिन्नुभयो, कति मान्छे भेट्नुभयो, कतिसँग परिचय भयो, कतिसँग कति ढिलो र चाँडो छुट्टिनुभयो, के अनुभव बटुल्नुभयो, खुसी र पीडाबीचको अन्तर के हुन्छ कसरी जवाफ दिनुहुन्छ? जिन्दगीमा बसन्तमात्रै चाहनुभयो भने बाँकी ऋतुहरूको विशेषता कहाँ गएर सोध्नुहुन्छ?
मैले चराहरूबाट ठूलो प्रेरणा पाएकी छु। थाहा हुन्छ यहीँ धर्तीमा कतै न कतैबाट कोही न कोही गुलेली ताकेर बसेकै हुन्छ त्यहीँपनि आकाशमा स्वतन्त्र राज गर्ने हिम्मत राख्दछन्। खतरालाई उल्टो जिस्काइरहन्छन्। दुर्भाग्यवश कुनै सिकारीको निसाना लागिहाल्यो भनेपनि त्यहीँ सिकारीको खुट्टामा आएर त कहिल्यै झर्दैनन्। घाइते पखेटा लिएरै भएपनि जिद्दीपूर्ण तरिकाले संघर्षरत हुन्छन्। यही हो जिन्दगीको स्वाभिमान। स्वयं मृत्यु नभेटिँदासम्म आफूभित्रै मरिहाल्नु हुँदैन। जन्म धेरैपटक भएपनि मृत्यु एकैपटक आउँछ जब जिन्दगीदेखि हार मानिन्छ।
अाफू सपना देखेजत्तिकै खुसी र सुखी भएको दिन पनि यो कुरा भुल्न नहुनेरहेछ कुनैदिन म सपनामा पनि नसोचेको दु:खमा पर्न सक्छु त्यो स्विकार्य हुन्छ या हुँदैन? आज जेजति पाएर/ हाँसिल गरेर खुसी भएको छु भोलिको दिनमा त्यसमध्येको केही पनि रहेन भने म आफूलाई सम्हाल्न सक्छु कि सक्दिनँ? आफ्नो क्षमतामा कहिलेकाहीँ आफै प्रश्न गर्नु पनि आवश्यक पर्दोरहेछ। यो रीत हो मानवजीवनको अब दु:खका दिनहरू गए सोच्दै गर्दा असह्य पीडाका अपि, सैपालहरू मडारिनसक्छन्। कहीँ न कहीँ यो धर्ती अदृश्य शक्तिहरूको प्रयोगशाला हो कतिबेला कहानीले कुन मोड लिन्छ त्यो हाम्रै हातमा हुनुपर्ने जरुरी हुँदैन। पाठ सिकेर, आफूलाई सम्हालेर दोस्रो महायुद्धको तयारीमा रहनसक्नु हाम्रो हातमा पक्कै हुन्छ।
कसैको विदाइमा यति धेरै पनि नअात्तिनु रहेछ। समयले सबैलाई त्यो डरको अन्तिम विन्दुमा जिन्दगीको कुरुप अनुहार देखाएर जान्छ। स्वयंलाई जन्मदिने आमाबुवाको शरीर त लास भनेर आफ्नै हातले जलाएर खरानी पखालेर घर फर्किनुपर्ने दिन आउँछ भने जिन्दगीमा केही पाठ सिकाउँन र सिक्न आएका मान्छेलाई पत्थर भयो, बिर्सेर गयो भनेर गुनासो राख्नुको कुनै तुक छैन्। के थाहा उसले पनि जिन्दगीमा धेरै पाठ सिकेर केही ज्ञान बाँड्न हामीतिर आएको हुनसक्छ।
जुनदिन आफ्नो मन नदीभित्रै शताब्दि बिताएको ढुङ्गा र आफ्नो दृष्टिकोण राजमार्गजस्तै फराकिलो बनाउनँ सक्यौं सायद हामीलाई आफैसँग पनि गुनासो र पछुतो गर्ने अधिकार छैन बुझ्छाैँ होला। तलाउको पानी बन्ने कि अस्तित्व रहन्जेलसम्म नदी बनिराख्ने निर्णय आफ्नो हो। कति बगरमा पोखिएर, कति ढुङ्गामा ठोक्किएर, कति बाँध तोडेर अघि बढेको नदी कसैले अवरोध खडा गर्न खोजे बाढीको विकराल रूप लिइदिन्छ। तलाउको पानीमा एउटा बच्चाले खेल्दाखेल्दै पनि ढुङ्गाले हिर्कायो भने कति छिटै तरङ्गित भएर पहिलेको अवस्थामा अाउँनै समय लाग्छ। जिन्दगीमा यि दुवैथरिको मन र आचरण भएको मान्छेहरू भेटिनू जरुरी छ।
प्रायः छोटो अवधिको साथहरूले जिन्दगीमा लामो असर छोडेर जान्छन्। एउटा चरा रुखमा गूँड बनाएर, फुल पारेर, बचेरा उडाउँदा पनि रुखमा कहिल्यै पराकम्पन जाँदैन तर पालुवा पलाउँदै गरेको एउटा हाँगाको टुप्पोमा चरा बसेर उडोस् त धेरै बेर थर्थराउँछ त्यो हाँगा। अाैषधीजस्तै ‘एक्सपाएरि डेट’ ल्याएर आएका मान्छेहरूले पनि सिकाउँछन् हामीलाई सही समयमा, सही वस्तुको सही महत्त्व के हुन्छ भनेर।
धेरै निराश भएकोदिन म हावालाई सम्झिन्छु। कोही छैन यसको आफन्त, न त कतै पुग्नुछ न कतै फर्किनु छ तर हुन्छ जताततै। उपस्थितिको महत्त्व विशेष नरहेपनि अनुपस्थितिमा छट्पटी सबैलाई हुन्छ। कहिलेकाहीँ बिनाकारण खुसी भइदिनु, रमाइदिनु, यात्रामा अघि बढिराख्नुले पनि हामी धेरैलाई प्रेरणा दिइरहेका हुन्छौं। यस्तै बिनाकारण बहने हावामा म आफूलाई राख्दछु। थाहा छैन मेरा यि दुईचार शब्दहरू कतिले पढ्हुनुभयो कतिले हेरेर छोड्नुभयो म हावाजस्तै बहिरहेँ यतापनि। यहाँहरूबाट पाएको शुभकामना, माया, आशीर्वादले धन्यवाद यति लामो पनि हुनसक्छ भन्ने सिकायो।
लेखक परिचय
जाेशी समकालीन नेपाली साहित्यका विभिन्न विद्यामा कलम चलाउछिन् । विभिन्न स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा लेखरचनाहरु प्रकाशित गरेकी जोशी सामाजिक तथा साहित्यिक संघ सस्थामा पनि संलग्न छिन् । उनका रचनामा सामाजको विकृती विसङ्गतिप्रतिको आलोचनात्मक चेत भेटिन्छ ।