कृति अधिकारी कृति अधिकारी कृति अधिकारी कृति अधिकारी
हामीलाई त के हुन्छ ! एक दुई दिन थुन्छ, फाइन तिराउँछ सक्कियो, पछी तपाईँलाई कसैले फलो गरिरहेको हुन सक्छ, तपाईँको ठाउँ थाहा हुन्छ अनि तपाईँसँग जे पनि हुन सक्छ । त्यो बेला त्यो पुलिस ले के गर्छ ?
दिन: २०७३ साल कार्तिक १८ गते, बिहीबार
समय: दिउँसो दुईदेखि सभा तीन बजेबीच
स्वठः वरीपरी ट्याक्सी खोज्न म र मसँगै काम गर्ने मेरी साथी वर्षा कुदिरहेका थियौँ । हामीलाई स्वठःबाट दुई कार्टुन किताब जावलाखेल भन्दा सात सय मिटर जति पर स्थित हाम्रो अफिसमा पुर्याउँनु थियो । गूगल म्याप हेर्ने हो भने स्वोठ: र हाम्रो अफिससम्म ठ्याक्क दुई दसमलव तिन किलोमीटरको दूरी छ । सुरुमा भेटाएको ट्याक्सीवाला दाइले त्यति दूरीमा आफ्नो बोलको भाडा तीन सय रुपैयाँ तोके । हामी दुवै जना तर्सियौँ ! मिटरमा जाने हो भने एक सय रुपैयाँको आसपास आउने रकमलाई दाजुले सिधै तीन गुना बढाएर भन्नु भयो । हामीले अनि ‘मिटरमा जाउँ न’ नभनेको त होइन तर वहाँले मिटर त ‘हुन्न’ भन्ने अर्थ लाउनुभयो । हुन त ट्राफिक पुलिसले नि सुबिधा दिएको छ- ट्याक्सी मिटरमा जान नमाने ट्याक्सी नम्बर एस्एम्एस् गरे अथवा ट्राफिक पुलिसको नम्बरमा फोन गरेर भनिदिए त्यो चालकलाई कारवाही हुनेछ । तर खै के ले रोक्यो हामीलाई यी सबै कुरा थाहा भएर पनि हामीले ति हाम्रो बुवाको उमेरका चालकलाई केही गर्न चाहेनौँ । बरु हामी हिँड्यौँ, अरु कुनै ट्याक्सी पो पाइहालिन्छ कि भनेर । कोही त होला नि इमान्दार जो कसैलाई नठगीकन खुरुक्क मिटरमा हिँडोस् ।
म हतपति ट्याक्सी चड्दै नचड्ने मान्छे हुँ । यद्यपी मैले दुई पटक मिटरमा जान मान्नु हुने ट्याक्सी चालकहरू भेटाएको छु, त्यसैले म अलिकति आशावादी थिएँ । तर, वर्षा र म यस्तो अप्ठ्यारो अवस्थामा पहिला पनि परिसकेको अनुभव रहेको छ । अघिल्लो हप्ताको बिहिवार, साँझ साढे पाँच बजे यलमाया केन्द्र, पाटन ढोकाबाट ट्याक्सी खोज्न हिँडेका मान्छे बीस मिनेटमा बल्ल एउटा जान मान्ने भेटायौँ । तर मिटरमा चाहिँ हैन । मिटरमा त पाटन ढोका भित्रको ट्याक्सी स्ट्याण्डमा बसेका पनि नजाने रे ! भक्कु बार्गेन गरेर भाडा कम गरे पछी बल्ल हामीले त्यो ट्याक्सी लिने भयौँ । हामीले उक्त ट्याक्सी चालकलाई बिनम्र पूर्वक “दाइ, हामीलाई यसरी तपाईँले ठगिरहँदा तपाईँलाई पुलिसमा रिपोर्ट गर्न पनि सक्छौँ अथवा हामी नै पनि त साधारण पोशाकमा प्रहरी हुन सक्छौँ” भनिरहँदा वहाँ त जँगिदै “तपाईँलाई ट्याक्सी चाइएकै हो भने चुपचाप बस्नुस् हैन भने ओर्लिनुस्, ओर्लिहाल्नुस् । यस्तो कचकच सुनेर म चलाउँन सक्दिन” पो भन्न थाल्नु भो ! लौ जा ! त्यसबेला त, बल्लबल्ल भेट्टाको ट्याक्सी नि जाने भो भन्ने डरले “लु न त दाइ हामी केही नबोल्ने” भनेर मनाएका थियौँ । अहो, त्यति सारो भाउ त आजकलका प्रेमीहरू पनि खान्नन् होला !
स्वठ:मा हामी अझै ट्याक्सी खोजि नै रहेका थियौँ । कति खालि थिएनन्, कति मिटरमा नजाने त कतिलाई बाटो ‘वान वे’ भएर समस्या भयो रे ! लौ भएन, बरु नागबहाल तिर पो पाइन्छ कि भनेर उता तिर हिँड्यौँ। नभन्दै भेटियो- त्यो पनि अर्को मान्छे ओर्लेर पैसा तिर्दै गरेको ट्याक्सी । हामीले पहिले नै सल्लाह गरिसकेका थियौँ यदि नमानेमा ट्राफिक पुलिसलाई खबर गरिदिन्छम् भन्ने भनेर । उता वर्षा कुरा गर्दै गर्दा मैले ट्याक्सीको नम्बर टिपें । त्यो ट्याक्सी चालक दाइले पनि त्यही तीन सय भाडा भन्नु भयो । हामीले फेरी त्यहीँ मिटर र मिटरको पैसाको कुरा निकाल्यौँ । कुरो मिलेन । मेरो पालि मैले नि भनिदिएँ “दाइ, तपाईँको ट्याक्सीको नम्बर हामीसँग छ, मिटरमा नगए हामी पुलिसलाई खबर गर्न सक्छौँ नि फेरी” । दाइको त्यो बेलाको जवाफ- “जे गर्नु छ गर्नुस्, एस्एम्एस् गर्नुहुन्छ- गर्नुस्, म त मिटरमा जान्न” । के गर्नु हामीलाई जानै थियो, कुरो भाडा मिलाउने भयो- दुई सय रुपैयाँ । हामी ट्याक्सीमा चढीसके पछी त्यो चालक दाइले रुखो स्वरमा भन्नु भयो- “सुरु मै भाडा मिलाएको भए भै हाल्थ्यो नि, पुलिसको कुरा किन ल्याउँनुहुन्छ । अहिले ल्याउनुभयो, अब नल्याउँनुस् । हामीलाई त के हुन्छ ! एक दुई दिन थुन्छ, फाइन तिराउँछ सक्कियो, पछी तपाईँलाई कसैले फलो गरिरहेको हुन सक्छ, तपाईँको ठाउँ थाहा हुन्छ अनि तपाईँसँग जे पनि हुन सक्छ । त्यो बेला त्यो पुलिस ले के गर्छ ?” अहो ! सिधै धम्कि । मान्छे पनि हेर्दाखेरि मास्क र कालो चस्मा लगाको ठ्याक्क गुण्डा जस्तै देखिने । वर्षालाई चाहिँ कतै त्योसँग जाँदा केही खतरा त हुन्न भन्ने डर लागिसकेको थियो । मलाई भने हामी दुई जना छौं, केही भइपरी आए पनि दुई चार मुक्का लात त हान्न सक्छौं भन्ने हिम्मत थियो । तर पनि मनमा हल्का चिसो त पस्यो त्यति भने पछी । त्यँही भएर त्यो ट्याक्सी नम्बर इशा दी लाई एस्एम्एस् गरिदिएँ “जस्ट इन् केस्” लेखेर ।
यो कथा हाम्रो मात्र त हैन होला । वर्षा भन्छिन् “हामी केटीहरू, त्यसमाथि बच्चा जस्तो नि देख्छ अनि ठग्न खोज्छ” । मलाई पनि त्यस्तै लाग्छ । त्यो धम्कि दिने दाइलाई हाम्रो सट्टा अरु कोही केटा मान्छेले पुलिसको कुरा गरेको भए हामीलाई दिए जसरी धम्कि पक्कै दिदैन थिए । यहाँ त नियम मिच्नेलाई हैन बरु नियम मान्नेलाई पो समस्या पर्ने भयो । कथमकदाचित मैले चिताए जस्तै यो लेख त्यो दाइ सम्म पुग्यो भने, म के भन्न चाहन्छु भने “दाइ, तपाईँको रिपोर्ट त हामी गर्छौँ नै पक्कै । अनि त्यसपछि हामीलाई केही भइहालेमा तपाईँ नै जिम्मेवार हुनुहुने छ है । अर्को चोटी यो ‘हामी’ अरु कोही पनि हुन सक्छ । आफ्नो काम इमान्दारिता पूर्वक गर्नुहोस् र यस्तो लैँगिक मतभेदको वक्तव्य दिने काम नगर्नु होला” ।
साँच्ची, अनि हाँस्यास्पद कुरा के भयो भने, पछी त्यही दाइ थिए जो साझा पेट्रोल पम्पमा लिटरको एक रुपैयाँ ठग्यो भनेर हामीसँग गुनासो पोख्दै थिए ।
लेखक परिचय
वर्ड वारियर्स नामक स्पोकन वर्ड कविता समूहको सदस्यको रूपमा आफूलाई चिनाउने कृतिलाई कविता लेख्न र प्रस्तुत गर्न मनपर्छ । कृति कवितामा मात्र नभएर आख्यानमा पनि उत्तिकै दखल राख्छिन् ।