मञ्जु काँचुली
(रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट रेकर्डको माध्यमबाट प्रसारित गरिन्छ ।)
प्रेमी-प्रेयसी, हामी हाम्रो हनिमून चन्द्रमामा यसरी मनाइरहेछौँ । हामी भर्खरै चन्द्रमामा अवतरित रकेटबाट ओर्लिएका छौँ । तिमी धेरै थाक्यौ होला । यतिखेर तिमीलाई कस्तो लागिरहेछ ? रकेटबाट यस चन्द्रमाको भूमिमा ओर्लंदा हवाईजहाजबाट कतै ओर्लिएजस्तो लागेन ? के तिमीलाई रमाइलो लागिरहेछ ?
प्रेमिका- रमाइलो लागेको छ तर……
– तर के ……..? मेरो यति खर्चिलो र बहुमूल्य हनिमूनलाई पनि तिमी शङ्का गर्न र नाक खुम्च्याउन खोजिरहेकी छौ कि क्या हो ?
– त्यसो भन्न खोजेकी होइन मैले प्रिय । त्यस्तो शङ्का त नगर न । तर यहाँ मानव मूल्यका वस्तुहरू पाइन्नन् नि ।
– तिम्रो भनाइको लक्ष्य भोग विलासका सामानहरू ?
– हो मैले त्यही भन्न खोजेकी । रेशमी कपडा, सुनचाँदीका धागोले बनेको लगाउने लुगाहरू, के यहाँ पाइन्छन् र ? यहाँ ठूलाठूला होटल, क्यासिनो, मनोरञ्जन र उच्चस्तरीय डिनर पनि त हुँदैनन् नि ! मञ्जु काँचुली
– म तिमीलाई रुपियाँ पैसाको वर्षा गराइदिन्छु तिमी पूर्णरूपमा मेरी मात्र त होऊन । पहिले त हामी यस चन्द्रलोकमा हनिमून मनाउँछौँ । पृथ्वीमा फर्केपछि मेरो सबै धन तिम्रो हो ।
– उसोभए मैले बाचा खाएँ म तिम्री मात्र हुन्छु तर मेरा अरू साथीहरू पनि छन् पृथ्वीमा । तिनीहरू हरदम मै सँगसँगै हुनेछन् । तिमीले तिनीहरू उपर शङ्का र ईर्ष्या नगर्नु है ?
– तिमीले के त्यस्तो कुरा गरेकी । के म तिमीलाई विश्वास गर्दिन र ?
– मानिलेउ हाम्रो अहिले यही क्षण, यहीँ विवाह भयो रे । अनि हनिमून कहिले सुरु गर्ने ?
– यही त हो हनिमून । अब सुरु भै हाल्यो नि । त्यो विवाहपछिको हनिमून त के अनौठो कुरो भयो र ? सबैले मनाउँछन् नि । हामी चाहिँ हनिमून पछि विवाह गर्दैछौँ हगि ?
– भइहाल्छ नि तर विवाह चाहिँ कहिले र ? अनि साथमा तिमीले विशेष केके ल्याएका छौ नि ?
– त्यो पनि भइहाल्छ नि । खानाका लागि चाहिँ क्याप्सुल फुड ल्याएको छु, हुन्न र ? मञ्जु काँचुली
– नाइँ त्यस्तो क्याप्सुल खाएर मनोरञ्जन लिन सक्तिन म त । बरू हाम्रो साथमा काम गर्नका लागि रोबोटहरू ल्याएका छैनौँ ?
– खानेकुराको पनि बन्दोवस्त गरेको छु । काम गर्न रोबोट पनि ल्याएको छु । रकेटको पछाडिपट्टकिो सानो ढोकाबाट ओर्लेर रोबोटहरू ऊ त्यहाँ पर कुनामा उभिइरहेका छन्, हेर त । उनीहरूले हाम्रो लागि सबै काम गरिहाल्छन् नि हुन्न र ? तर सामान र बनाउने फर्मुला चाहिँ हामीले नै त्यसभित्र इनपुट गर्नुपर्छ । मैले त्यो गरिसकेको छु । हाम्रो खाने खाना पनि रोबोटहरूले गरेको कलाको नै प्रयोग हुनेछ । विज्ञान र कलाको सम्मिश्रणको आनन्द मनग्य लेऊ प्यारी !
– एकचोटी एउटा साथीको साथमा म कुनै रेस्टुरेन्टमा थिएँ । मेनुमा एउटा अनौठो परिकार देखेँ र मैले आफ्नो च्वाइस त्यही बनाएँ । पछि खाना आइपुगेपछि खान खोजेको त खानै सकिनँ । मेरो स्वादको विपरित मात्र होइन, घरघोर प्रतिपक्षी नै बनेछ त्यो खाना मेरो लागि । मैले त्यो खानासित सम्झौता नै गर्न सकिनँ ।
– मलाई भेट्नुभन्दा अघिका कुरा होलान्, होइन ? रोबोटले कसरी खानाको सिर्जना गर्छ भनी सोच्छ्यौ तिमी ? कम्प्युटरले कसरी कलाको सिर्जना गर्छ ? कसरी सङ्गीतको सिर्जना गर्छ ? प्रश्नको जवाफ सजिलै छ । त्यसैगरी रोबोटले पनि खानाको सिर्जना गर्छ ।
रकेट-प्रियवर र प्रेयसी जोडाबन्धु !, तिमीहरू गरिब मुलुकका धनी मानिस कहलिएकाहरू मभित्र बसेर शयर गर्दै यस चन्द्रमामा ओर्लिएका छौ, होइन ? म निःसन्देह विज्ञानको आविस्कार हुँ । केवल धनी व्यक्तिका लागि क्रिडा गर्ने सामान वा खेलौना चाहिँ होइन । मलाई सम्पूर्ण मानवजातिको रक्षा र भलाईका लागि प्रयोग गर, नत्रभने ममा यति ठूलो शक्ति छ, जसले गर्दा सम्पूर्ण पृथ्वी मैले ध्वस्त गर्न सक्ने सम्भावना छ । मानजातिका कुरा त त्यसमा गौण अवस्थामा आउँछ ।
– प्रिय मलाई रिँगटा लाग्दैछ । रकेटको कुरा सुनेर त मेरो नउनाडी नै गलेर आयो । मलाई वाक्वाकी लागिरहेछ । मलाई मनपर्ने ग्लुकोज किन ल्याएनौ ?
– क्याप्सुल छ मसँग । त्यही एउटा लेऊ । त्यसले ग्लुकोजको काम गर्छ । तिमीलाई डिहाइडे्रसन भएको जस्तो छ । ऊ त्यहाँ पर ढुङ्गै ढुङ्गाको बीच एउटा ठूलो पोखरी देखिएको छ । हामी त्यही जाऔँ, हिँड । त्यही चाहेजति मनग्गे पानी पिउनू । हिँड ।
– यदि हामी फर्कन ढिलो गर्यौँ भने त त्यो आफ्नो ठीक समय भएपछि पृथ्वीको गन्तव्यतिर उडेर प्रस्थान गर्यो भने नि ! हामी त हनिमूनमै यहीँ मर्छौँ
– के रिमोट मेरो हातमा छैन र ?
रकेट- हैन, तिमीहरू किन जवाफ दिँदैनौँ हँ ? के तिमीहरू म रकेटबाट पृथ्वीमा भएको बालीनाली, पहाड चट्टान, नदीनाला, वनजङ्गलको वैज्ञानिक र प्राकृतिक अवस्था हेर्न आएका हौ ?
प्रेमी र प्रेमिका-(एकै स्वरमा) होइन ।
– के तिमीहरू कुनै अनुसन्धानको सिलसिलामा तल र माथिको अनि वरिपरिको निरीक्षण गर्न आएका हौ ? आँकडा निकाल्न आएका हौ ?
– होइन, हामीले त्यसका लागि त्यस्ता उपकरण नै ल्याएका छैनौँ ।
– उसो भए के विश्वमा पृथ्वीका कुनकुन ठाउँमा आणविक भट्टीहरू, हातहतियार उत्पादन गृहहरू र ठूलाठूला प्रयोगशालाहरू छन् भनेर गोप्यरूपले जासूसी गर्न आएका हौ त ?
– होइन, होइन ।
चन्द्रमा-अहिले तिमीहरू मेरो शरीरको अङ्गअङ्गमा यात्रा गर्दैछौ । तिमीहरूको र तिमीहरू आएका यानको बीचको वार्तालाप मैले पूरै सुनेँ । उसो भए तिमीहरूको आगमनको उद्देश्य के हो त ?
प्रेमी र प्रेमिका-(दुवैजना एकै पटक) हामी हनिमून मनाउन आएका हाँै तर हाम्रो विवाह भइरसकेको छैन । ग्रिन हाउस ग्याँसको असरले गर्दा पृथ्वी तात्तिदै गइरहेको छ । प्रदूषण बढ्दै गइरहेछ । हामी बस्ने भूमि पनि भूइँचालोको निसानामा परिसकेको छ ।
– तिमीहरू को हौ ? उसो भए तिमीहरू म चन्द्रमाको शीतल ताप्न आएका ? त्यति राम्रो हराभरा भूमि प्रकृतिले दिएको वरदान स्वरूप नदीनाला, पहाड, जङ्गल, बोटविरुवा, वन्यजन्तु, हिमाल, मठमन्दिर, गुम्बा, गुरुद्वार, गिरीजाघर, मस्जिद आदिले सुसज्जित भूमि छोडेर यो चट्टानले भरिएको ठाउँमा के खोज्न आएका । हराएको छ माया प्रिती ! तिमीहरूको यहीँ कहीँ ? आखिर तिमीहरू हौ को ?
– हामी विश्वको गरिब देशका धनी मानिस हौँ, जुन कुरा तिमी राम्ररी जान्दछौ । यहाँ आउनुको हाम्रो मुख्य उद्देश्य हनिमून हो ।
– के पृथ्वीमा तिमीहरूले त्यस्तो कुनै ठाउँ नै भेटेनौ र ?
– पृथ्वीमा सुरक्षा छैन । शान्ति र मेलजुल छैन । परस्परमा अपनत्व छैन । अमनचयन छैन । रासायनिक प्रतिक्रिया र विकिरणको प्रदूषण छ । बाढी, पहिरो, हत्याहिंसा, अनिकाल, क्षयरोग केके हुन् केके । सुन्दै र देख्दै वाक्कदिक्क लागिसक्यो ।
– उसो भए तिमीहरू मकहाँ अमनचयनका लागि आएका ? सुनेको र देखेको पनि छु मैले । आफ्नो स्थानको स्थिति सम्हाल्न नसकेर एकले अर्कालाई दोषारोपण गर्दै आफ्नो भूमिलाई नै बिर्सेर अन्त सुविधा भोग्न जाने गर्छन् रे । वाध्यताको निहुमा कति त विदेशिन्छन् रे । तिमीहरू हेर त । देख्दैनौ ? यस भूमण्डलमा हामी त कसरी मिलेर बसेका छौँ । छैनौँ त ? सूर्य, पृथ्वी र चन्द्रमाको बीच के कहिले कसैले एकले अर्कालाई सानो धक्कासम्म पनि दिएका छन् त ? हामी त सम्बन्धको दूरीलाई सीमित राख्ने गर्छौ । के यो सबै हामी ग्रह, नक्षत्रको बारेका कुराहरू तिमीहरूलाई आइन्स्टाइन् नामका एक वैज्ञानिकले धेरै वर्षअघि बताएका होइनन् र ? हामी सबै ग्रह, नक्षत्र कसरी कति धेरै मिलेर बसेका छौँ । तिमीहरू त अनेक किसिमका नीति नियम बनाउँछौ । गृहनीति, छिमेकी राष्ट्रनीति परराष्ट्रनीति, पार्टीनीति आदि । तर तिमीहरूमा आफैँले बनाएका नीतिलाई पालना गर्ने क्षमता र चासो छैन । तिमीहरू एक अर्काका मेलमिलापको सट्टा थिचोमिचो गर्छौ । तिमीहरू पृथ्वीमा बसेर बुजु्रक बनेर हामी ग्रह नक्षत्रबारे अध्ययन गर्ने गर्छौ । हाम्रा बारेमा धेरै कुरा त निल आर्मस्ट्रङले भने होलान् नि तिमीहरूलाई ।
– भो भो, धेरै कुरा गर्नु पर्दैन । तिमीहरू पनि त एकले अर्कालाई छेकेर हस्तक्षेप गर्दै ग्रहण पार्ने गर्छौ नि । तिमीहरूको मूक र कपटीचालको प्रतिस्पर्धा त हामी पृथ्वीवासीले भोग्नुपर्ने हुन्छ नि । यी मेरो घाँटीको पछाडि ठूलो कालो टाटो देख्छौ ? त्यो पृथ्वीमा लागेको सूर्यग्रहणको परिणाम हो, जतिबेला म मेरी आमाको गर्भमा थिएँ । अहिलेसम्म यो निसानी बोकेर हिँड्नु परिरहेछ ।
– हाम्रा गतिविधिको र हामीहरूले तिमीहरूका जीवनदशामा कसरी सकारात्मक र नकारात्मक असर पारिराखेका छौँ भनेर तिमीहरूलाई तिमीहरूका गणित र फलित ज्योतिषहरूले पनि त भन्ने गर्छन् होलान् नि । के हामी तिमीहरूका क्रिडास्थल हौँ ? हामीमा टेक्ने तिमीहरूको यत्रो दुस्साहस कसरी भयो ? आफ्नो पृथ्वीलाई व्यवस्था गर्न नसक्नेले हाम्रो के खोजी गर्छौ ? पहिले हाम्रो सिको सिकेर परिवार मिलेर बस्ने गर । भाइचारामा मेलमिलापले दिन गुजारा गर्ने गर । एकले अर्कालाई थिचोमिचो नगर । तिमीहरूको राज्यमा त्यसै अमनचयन आउनसक्छ । मेलमिलाप विना नै ? तिमीहरूले पृथ्वीमै पनि वृक्ष, कीटपतङ्ग, नदीनाला, वन्यजन्तु, पहाड, चट्टान, हिमाल, मैदान आदि कसरी मिलेर बसेका छन् । कति सन्तुष्ट र शान्ति छ यहाँ ।
– प्रिय, मलाई भोक लाग्यो । यो बूढो चन्द्रमाको कुरा विन्ति छ तिमी नसुन । रोबोटलाई सङ्केतको स्विच थिचिदेउ न, ता कि मलाई उसले सिर्जना गरेको सर्वत बनाइदेओस् ।
– तिम्रो प्यास मेटाउने म छँदैछु नि यहाँ । बरू भन, रोबोटको सिर्जनामा त अनन्त सर्वत्र छन् । फर्मुला त हाम्रै हो । हाम्रै सङ्केतमा मिलाउने काम मात्र उसको हो । कुन चाहिँको लागि अर्डर दिने ?
– र्यान्डम तरिकाले कुनै वटम थिच न । एउटा न एउटा सर्वत त आइहाल्ला नि । मलाई त सर्वत भनेपछि सबैखाले मीठो लाग्ने गर्छ ।
– (दगुरेर रोबोटको नजिकै पुगेर) ल थिचेँ । ऊ सर्वत प्लास्टिकको गिलासमा निस्किहाल्यो नि । आऊ यता । पिऊ प्यारी पिऊ ।
– तिमी पनि पिऊ न प्यारा ।
– पहिले तिमी पिऊ न प्यारी । हुन्छ हामीसँगै पिऔँ ।
– ओ हो यो त खानै नसकिने रहेछ । एक घुट्को मै मलाई त वान्ता आउलाजस्तो हुन लाग्यो ।
रोबोट-तिमीहरूको सिर्जना हुँ म अवश्य तर तिमीहरूले नै मेरो प्रयोग गर्न जानेनौ । हा…..हा…..हा….हा ।
– खै त म अलिकति जिभ्रोमा स्वाद लिएर हेर्छु ।
(प्रेमिकाको गिलासबाट अतिकति स्वाद लिँदै) ए यो त तेलमा नून मिलाएको पो रहेछ ।
– प्रिय तिम्रो च्वाइस राम्रो भएन । यस्तो पनि सर्वत हुन्छ ।
– यहाँ त सबै प्रकारको छ । सम्भव भए जति सबै झोल पदार्थ सबै किसिमका ठोस पदार्थमा मिसाएर सिर्जना गरिन्छ । हामीलाई संयोगले नराम्रो चाहिँ परेछ ।
रोबोट- म सर्वसम्पन्न छु । जे चाहन्छौ त्यही खाने वा पिउने चीज दिन सक्छु म । तर तिमीहरू नै मबाट आफूले चाहेको चीज लिन सक्दैनौ त म के गरुँ । तिमीहरू जस्ताको र म जस्ताको सम्बन्धको बीचमा एउटा गहिरो खाडल छ । जबसम्म त्यो पुरिँदैन तिमीहरूले हामीजस्तालाई कहिले पनि बुझ्न सक्दैनौ ।
– खै त्यो मिलाउन त मलाई आउँदैन । कुनै बटन थिचेर सर्वतको धाराबाट गिलास लिन मात्र आउँछ । शायद रोबोटभित्रको माइक्रो चिप्सले गलत सङ्केत पायो । त्यसभित्रको म्याग्नेटिक कन्डक्टरले त्यसैअनुसार काम गर्यो होला ।
रोबोट- म आफ्नो वकालत आफैँ गर्न सक्छु । मेसिनले पनि कहीँ गलत काम गर्छ ? उसो भए पृथ्वीमा विदेशी राष्ट्रले पृथ्वीको अविकसित स्थलको अस्पतालमा विकसित उपकरण पठाएजस्तै भएछ । होइन त ? हा…..हा…..हा…..हा….. । माल पाएर पनि चाल नपाएकाहरू । बाथरुमको सामान भान्छामा प्रयोग गर्नेहरू । हा…..हा…..
-रोबोटको यस्तो हेपाहा बोली म सुन्न सक्तिन प्रिय । मलाई सबै सुविधा पुर्याउन नसक्ने भए किन यहाँ ल्याएको त तिमीले ?
– बरू गीत सुनेर मनोरञ्जन लिँदै मन बहलाउन प्यारी एकैछिन भए पनि । कहिले त गीत पनि मीठो सर्वतभन्दा पनि मीठो हुन्छ ।
(गीत गुञ्जेको आवाज सुनिन्छ ः ‘मै वारिस कर्दू पैसेकी जो तु हो जाए मेरी ।’)
– प्रिय तिमी के सोच्दैछौ ? आफू आएको रकेटले पनि देखिनसक्ने हामीलाई ! रोबोटले पनि गिज्याउने हामीलाई । किन होला यस्तो भएको ? के संसारका सबै मानिस मात्र होइन निर्जीव वस्तु पनि कुकुरजस्तै झगडालु हुन्छन् ? नयाँ कोही देखा पर्यो कि त्यसलाई देखिनसहेर धपाउन खोज्छन् ? त्यति विशाल ठानिएका ग्रह नक्षत्र पनि कति साँघुरा विचारका हुँदा रहेछन् ।
– यिनीहरू त्यस्ता होइनन् प्यारी । हामीले यहाँ टेकेको यिनीहरूलाई चित्त बुझेको छैन ।
– मलाई असाध्यै तीर्खा लाग्यो । जाऊँ न परसम्म । के त्यो पानी हो प्रिय ?
– अनि के त मृग तृष्णा ?
– होइन, होइन । साँच्चिकै पानी पिउन पाइन्छ कि भनेकी पो त ।
– अनि के त पानी पनि ख्याल ख्यालको हुन्छ ?
– अनि खाना पनि प्रयोगशील र सिर्जनात्मक भनेर त्यही सर्वतजस्तै दियो भने के गर्ने नि ? पृथ्वीमा पढेका कुनैकुनै साहित्यिक किताबजस्तै ।
– क्याप्सुल खाने । हामी त थाकेर खुट्टाले हिँड्न पनि नसक्ने भयौ हगि ? (दुवै जना बालुवा र ढुङ्गामा घस्रीघस्री परपरसम्म पुग्छन् । पसिना र थकाईले शरीर मैलो र निथ्रुक्क भइसक्छ ।)
– क्याप्सुलले पानीको तीर्खा त मेट्दैन नि प्रिय । अब त बरू मर्ने क्याप्सुल निल्न पाए पनि हुने । दुवैजना एकैचोटि एकै ठाऊँमा । चन्द्रमामा !
– त्यति धेरै निरास किन भएकी ? यस्तो निरास भइयो भने त न त मनोरञ्जन गर्न सकिन्छ, न त पृथ्वीमा व्यापार नै । कोही उद्धार गर्न त आउला नि । हाम्रो हालतको एकएक अवस्था तल पृथ्वीमा राडारले सङ्केत चिन्हमा रिपोर्टिङ गरिरहेको छ । पृथ्वीको प्रयोगशाला कक्षमा कम्प्युटरको पर्दामा वैज्ञानिकहरूले र हाम्रा परिवारले हाम्रा क्रियाकलाप हेरिरहेछन् । अर्को त्यो राडारले सङ्केतको पनि पर्वाह छुट्टै स्क्रिनमा गरिरहेछ होला । मञ्जु काँचुली
– गरिब देशका धनी कहलिएका तिमीले पृथ्वीमा छँदा कहिले गरिब भूमिका गरिब मानिसलाई अनिकालमा उद्धार गरेका छौ र ? अब हामीलाई कसैले पनि उद्धार गर्ने छैन । हामी भोक प्यासले यहीँ मर्नेछौँ । हाम्रो आखिरी अन्त्य यहीँ हुनेछ ।
– अर्को रकेट आउने छ प्यारी । त्यसरी नडराऊ । हिम्मत नहार ।
– अब आउने रकेट ?
– हो अब आउने रकेटले हामीलाई उद्धार गर्नेछ ।
– अब आउने रकेट गरिब भूमिको गरिब मानिसको हुनेछ भन्ने के तिमीलाई त्यति पनि थाहा छैन प्रिय ? उनीहरूले गरिब मुलुकका हामीजस्ता धनीलाई कहिल्यै पनि उद्धार गर्ने छैनन् ।
– के उनीहरूमा मानवता हुँदैहुँदैन र ? ज्यान त सबैको बराबर नै हो नि । हेर त तल पृथ्वी ढपक्कै ग्रहणले ढाकेको छ ।
– त्यो एकैछिन हो, पछि त उज्यालो भै हाल्छ नि । तिमी मानवताका कुरा गर्छौ । के तिमीले बिर्सियौ ? पृथ्वीमा हामी सबै एकैचोटि पटकपटक भेडा भइसकेका होइनौँ ? मञ्जु काँचुली
– त्यो पृथ्वीको उज्यालो त आयातित उज्यालो त हो नि । हामीले यहाँ चन्द्रमामा मानिस छन् रे भन्ने सुनेका थियौं । त्यतिबेला मानिसको अनुहार र व्यवहार हेर्न भेडाभेडी भएका हामी कति धेरै लालायित थियौँ ! जहाँ हेर्यो उतै आफूजस्तै अरू भेडाभेडीहरू मात्र । दिक्क लागेर हामी हनिमूनको अवसर पारेर मानव नश्ल खोज्न पनि त यहाँ आएका हौँ नि । हैनौँ त ? के हामी हनिमूनको मनोरञ्जन गर्न मात्र आएका हौँ त ?
– ऊ हेर त प्रिय !, हामीलाई लिएर आउने रकेट पनि पृथ्वीतिर कुद्यो । यसको समय भइसकेछ । हामी त यहीँ फस्यौँ । अब कसरी फर्कने ? आकाशगङ्गासहितको यो ब्रहृमाण्डमा म अस्पष्ट आवाज सुन्दैछु । यत्रो वर्षसम्म पनि पृथ्वीमा मानिसले किन यी आवाज निक्र्यौल गर्न सकेनन् ? मञ्जु काँचुली
– यहाँ प्रत्येक अणुभित्रका इलेक्ट्रोन र प्रोटोन कुराकानी गरिरहेका वर्तमान समयकै आवाज होला । तिमी त्यस्तो आवाज सुनेर नडराऊ प्यारी । समय सिद्धिएपछि मैले रिमोट थिच्नै परेन । पहिले छोटो टाइमिङ राखेको थिएँ, पछि परिवर्तन गरुँला भनेर । यदि चन्द्रमामा निक्कैबेर बस्नै सकिँदैन कि भन्ने अलिकति त्रास पनि थियो ममा । मैले रिमोटबाट टाइमिङ परिवर्तन गर्नै बिर्सिएँछु । तिमी रोक भन्दिहौली तर म रोक्न सक्तिन त्यसलाई । त्यसको गति अत्यन्त तीब्र छ र गन्तव्य पनि निश्चित छ । मञ्जु काँचुली
– अब हामी हाम्रा भोकप्यास र मानिसको अनुहार हेर्ने इच्छा एउटाले अर्कालाई आत्मसात गरेर मात्र पुर्याउन सक्छौँ । केवल आत्मसात । बस, केवल आत्मसात् । एक-अर्कामा समाहित भएर मात्र तीर्खा मेट्न सक्छौँ ।
– अब म के गरुँ । के त्यो पानी होइन ? मृगतृष्णा पो रहेछ ? के पानी यहाँ केवल मृगतृष्णा पार गरेपछि मात्र भेटिन्छ त ? मलाई बचाऊ । हेर त पर त्यता प्रिय । म निल आर्मस्ट्रङ्गको छायाँले कसैलाई माया गरेर अँगालो मारेको देख्दैछु । आज आएर यहाँ म यो अवशेष छायाँ किन देख्दैछु । म यो के देख्दैछु ।
– यस ब्रहृमाण्डमा सबै घटित अस्तित्व, आवाज, दृश्य आदि कुनै न कुनै रूपमा उपर्युक्त स्थानमा अवस्थित हुने गर्छन् । छोडिदेऊ यस्ता कुराहरू । तिमी त्यसरी छरिने प्रयास नगर । आफैँमा सङ्कलित होऊ ।
बरू हामी पनि एक-अर्कालाई माया गरेको ध्यानमग्न भएर कल्पना गरौँ । अब तिमी यो बालुवाको मैदानलाई ओछ्यान बनाऊ र यसमा उत्तानो परेर लम्पार पर । म तिमीमाथि घोप्टोपरेर ढल्छु । हाम्रा एस्ट्रोजन र एन्ड्रोजन हर्मोनहरू रसाउने छन् र त्यही रसाएको रसायन पानी एकअर्काको शरीरले पिएर हामी सन्तुष्ट हुनेछौँ । यो अचम्मको अकल्पनीय हनिमूनमा अर्को विकल्प छैन । तै हाम्रो शरीरमा रसायन तìव त प्रसस्तै छ । अब एकअर्काको शरीरबाट त्यहीँ रसायन पिऔँ हुन्न ??
– हुन्छ ।…त्यतिबखत म प्रकृतिले दिएको पृथ्वीको पानीको कल्पना गरिरहन्छु है प्रिय ? मेरा अक्सिजन ब्यागको अक्सिजन सिद्धिन लाग्यो । मञ्जु काँचुली
– हुन्छ प्यारी । म चाहिँ पहिलेपहिले हाम्रो पहिलो भेट हुँदा पृथ्वीमा देख्न पाइएको मानिसको कल्पना गरिरहन्छु है ? मेरो पनि अक्सिजन सिद्धिन लाग्यो । (हुरीबतासले ल्याएको बबण्डर माथिमाथि उठ्न थाल्छ । परबाट सानो आकारमा अर्को रकेट उनीहरूतिर लक्षित गर्दै उडिरहेको देखापर्छ ।)
यस दुखद घडीमा तिमी आत्तिएर नरोइदेऊ नि फेरि । तिम्रो आँसुको दृश्यले मेरो हर्मोन रसाउँनै बन्द हुनेछ र म त्यतिबेला नालायक हुनेछु जुन तिमीले पनि भोग्नुपर्नेछ । मञ्जु काँचुली
-प्रिय !, बरू यो रकेट हामीलाई उद्धार गर्न आएको भए पनि, अरू नै कुनै काम विशेषले आएको भए पनि हाम्रो हनिमून सिध्याएर यसैद्वारा पृथ्वीमा फर्कौ न । हाम्रा धन, सीप र श्रम त्यही माटोमा लगाऔँ न । मिलेर बस्यौँ, बाँडेर खायौँ अनि आत्मनिर्भर हुँदै एकले अर्कालाई भरोसा दियौँ भने त हामी फेरि मानिस बनिहाल्ने छौं नि । त्यसै गरौँ न है ?
-हुन्छ त हुन्छ, त्यसै गरौँ । मञ्जु काँचुली
(आकाशमा सानो देखिएको रकेट र वरपर आफ्नो भयङ्कर आवाज छर्दै एकैछिनमा जमिनमा अवतरण गर्दै गरेको नेपथ्यमा सुनिन्छ । दुवै जना उतैतिर लक्ष्य गर्दै उत्सुकता र आकाङ्क्षाले हेर्न थाल्दछन् । एकछिनसम्म हेरिरहन्छन् ।) मञ्जु काँचुली
मधुपर्कको २०६८ असोज अंकबाट साभार
लेखक परिचय
नेपाली साहित्यकी मूर्धन्य व्यक्तित्व मञ्जु तिवारी काँचुलीका किरणका छालहरू, मेरो जीवन मेरो जगत, टु सिस्टर्स, पलकभित्र पलकबाहिर, केही माया केही परिधि, मञ्जु काँचुलीका कथा, विश्वामित्रको सुहागरात, आकाश विभाजित छ आदि कृतिहरू प्रकाशित छन् । उनी लक्ष्मी पदक (२०१७), रत्नश्री स्वर्णपदक (२०३६), व्यथित काव्य पुरस्कार (२०५०), गुरुवाचार्यकथा पुरस्कार (२०३१), लेडी अफ द मन्थ नारी मञ्च (२०५०), सर्वश्रेष्ठ साहित्यकार, रङ्गमञ्च (२०५२), दीपा जनमत पुरस्कार, महेन्द्रसिंह कार्की पुरस्कार, गोपालप्रसाद रिमाल सम्मान लगायतका सम्मान र पुरस्कारबाट विभूषित छिन् ।
प्रतिक्रियाहरु 1