दृश्य :पागलखाना साङ्केतिक छ ।
समय:दिउँसो ।
मञ्च :रिक्त ।
प्रवेश(१): साहित्य क्रोधित भएर कराउँदै प्रवेशिन्छ।
साहित्य:रिसाउँछु, म रिसाउँछु। हराएको छु र रिसाउँछु ।धेरैलाई बिझाउँछु। बिझिएको छु र बिझाउँछु । (केही खोजेर) खोइ कहाँ छ ? कहाँ छ? हरायो? उफ्! कसरी हरायो? किन हरायो ? म छु भने तिमी किन हाराउँछौ ? खोइ कहाँ छौ तिमी? मदेखि किन टाढाछौ अचेल? नम्रता मेरो गहना हो तिमी हुँदा। क्रोध मेरो बहाना हो तिमी नहुँदा । रिसाउँछु । रिसाउँछु । एकरिसाउँछु । दुई रिसाउँछु । तीन रिसाउँछु । खोइ ? खोइ? खोइ ?
(केही खोजेको अभिनयमा मञ्चको दाहिने कुनामा स्तम्भित हुन्छ)
प्रवेश(२): विज्ञान हाँस्दै प्रवेशिन्छ।
विज्ञान: हा ….हा …हा..आविष्कार गर्छु । गर्छु म । रोक्नलाई आविष्कार गर्नु छ । (दर्शकवर्गतर्फ) तपाईंहरूलाई विश्वास भएन ? तर विश्वास गर्नुहोस्। म आविष्कार गर्छु । हो। पतनको आविष्कार गर्नसक्छु भने उत्थानको किन गर्न सक्दिनँ। किन?
(त्यही अभिनयमा मञ्चको देब्रे कुनामा स्तम्भित हुन्छ)
प्रवेश(३):प्रतिभा ठुस्किएर प्रवेशिन्छ।
प्रतिभा:मन किन दुख्दैन ? दुख्नुकै लागि त छ मन । सायद दुखाउनेहरूका मनहरू हुँदैनन् र हुनेहरूका मनहरू दुखाउँछन्।मेरो पनि मन दुखेको छ र म ठुस्किएको छु। ठुस्किन्छु ।केही भयो ? ठुस्किन्छु। किनभने पक्षपात देखेको छु । हो,पक्षपात ।
(त्यही अभिनयमा साहित्यअघि स्तम्भित हुन्छ)
प्रवेश(४):शिक्षा चिन्तित भएर प्रवेशिन्छ।
शिक्षा :किन नसोच्नु ? किन चिन्तित नहुनु ? चिन्ता त हुन्छ नै । खोइ कहाँ छ ? कहाँ छ त्यो ? म खोजेको खोजेकै छु । तर पाएको छुइनँ र चिन्तित छु । किन हराउँदैछ ? किन घट्दैछ छ त्यो ? किन ?
(स्तम्भित हुन्छ विज्ञानअघि)
प्रवेश(५):सरकार रुँदै आउँछ।
सरकार: हुँ…हुँ…हु...(स्वाँक्क) उफ् ! रुनु पर्दैछ आज। कारण मैले पाउन सकिनँ उसलाई। तर मलाई चाहिएको छ उसको उपस्थिति । हो चाहिएको छ। ऊबिना म उभिनु सक्दिनँ। उसको आवश्यकता छ मलाई । (साहित्यसित) भन ,तिमी मेरो पक्षमा छौ ?(साहित्य मौन रहन्छ) ए ! छैनौ ?(प्रतिभासित) सायद तिमीले त मलाई साथ दिन्छौ होला? (प्रतिभा मौन रहन्छ) तिमीले पनि नदिने? (विज्ञानसित) तिम्रो साथ चाहिएको छ। (विज्ञान मौन रहन्छ) ए ! तिमी पनि विरोधी हौ ?(शिक्षासित) तिमी त अवश्यै मेरो पक्षमा छौ । (शिक्षा मौन रहन्छ) तिमी पनि मेरो विरोधी ? उफ् ! अब म के गरूँ? (रुन्छ अनि रुँदारुँदै स्तम्भित हुन्छ)
(प्रकाशपुञ्ज रातिएर मधुरिन्छ। मञ्चमा साँझ डुब्न लागेको घामका राता किरणहरू छरिएझैँ हुन्छ । यत्तिमा प्रेक्षागृह भएर दुई व्यक्ति मञ्चतर्फ आउँछन् कुरा गर्दै । )
शोधार्थी : तर सर, तपाईँले अनुमति दिनुभयो भने मात्र त्यो सम्भव छ।
अधीक्षक : अनुमति त दिन्छु। तर बदनाम नहोस्।
शोधार्थी : यस्तो काममा बदनाम ? सर ,यो एउटा शोधकार्य हो। यो शोधकार्यमा तपाईँको साथ चाहिन्छ मलाई। तपाईँकै मद्दतबाट म यो कार्य पूरा गर्न सक्छु । यो कार्यको सफलतामा म तपाईँप्रति कृतज्ञ हुनेछु । यसको सफलतामा मेरो मात्र होइन तपाईँको पनि नाम हुनेछ सर।
अधीक्षक :ठीक छ ,ठीक छ । अनुमति छ। तपाईँ आफ्नो काम गर्नुहोस् । तर अति शीघ्र । कारण मसित समय कम्ति छ । आउनुहोस्। (केही अघि बढेपछि)यही हो पागलखाना अनि यिनीहरू (साहित्य,विज्ञान,शिक्षा,प्रतिभा,सरकारतर्फ इङ्गित गरेर)सबै पागल हुन्।
(अधीक्षक र शोधार्थी स्तम्भित हुन्छन्। मञ्चमा स्तम्भित पागलहरू चल्न थाल्छन्। आ-आफ्ना अभिनयमा रहेका पागलहरू एक अर्कासित ठोकिएपछि एक साथ कहालिन्छन् र मञ्चबाट भाग्छ्न्। मञ्च खाली भएपछि कुरा गर्दै अधीक्षक र शोधार्थी मञ्चमा चढ्छन्। )
अधीक्षक: म यही पागलखानाको अधीक्षक हुँ। तपाईँ एकजना शोधार्थी हुनुहुन्छ रे। पागलखानामाथि शोधकार्य गर्नु हुँदै रहेछ। तपाईँको विषय नै अप्ठ्यारो रहेछ । पागलहरूमाथि शोधकार्य ? अचम्म !
(साहित्यको प्रवेश केही हराएको खोज्दै)
शोधार्थी: हजुर, म एकजना शोधार्थी हुँ। पागलहरुको बारेमा अनुसन्धान गर्दैछु । विषय निश्चय अनौठो लाग्ला,सर । तर म आवश्यक देख्छु । सर, तपाईँले मलाई अनुमति दिनुभयो। त्यसको निम्ति आभारी छु । त अब म काम सुरु गरूँ?
अधीक्षक: गर्नुहोस्। म आउँदै छु। (प्रस्थान)
शोधार्थी: (साहित्यतर्फ जाँदै) पहिला ऊबाट सुरु गर्छु।
(साहित्य भुईँमा केही खोजिरहेछ)
साहित्य: खोइ कहाँ छ? कहाँ छ ?
शोधार्थी: तिमी को हौ ?
साहित्य: (डराएर) तिमी को हौ ?
शोधार्थी: म ? म एकजना शोधार्थी हुँ।
साहित्य:कस्तो शोधार्थी ?
शोधार्थी: खोजी गर्ने मान्छे ।
साहित्य: (हाँसेर) हा… हा…हा… तिमीले पनि खोज्दै छौ मैले जस्तो हराएर?
शोधार्थी: हो, म पनि खोजी गर्दै छु ।
साहित्य : तर कसको खोजी ?
साहित्य: तिम्रो खोजी।
शोधार्थी: मेरो खोजी ? किन?
शोधार्थी: म तिम्रो दु:ख-सुख,हाँसो-रोदन सबै बुझ्न चाहन्छु।
साहित्य: तिमी साँच्चै मलाई बुझ्न चाहन्छौ ?
शोधार्थी: हो,म तिमीलाई बुझ्न चाहन्छु। पढ्न चाहन्छु।
साहित्य: पक्का ?
शोधार्थी: पक्का।
साहित्य: (एक्कासि शोधार्थीलाई अँगालेर खुसी हुँदै ) पाएँ । पाएँ। पाएँ। मैले हराएको पाएँ। अब म तिमीलाई छोड्दिनँ । छोड्दिनँ। हो म छोड्दिनँ ।
शोधार्थी: अरे ! के गरेको ? छोड मलाई छोड।
साहित्य: छोड्दिनँ ।
(अधीक्षकको प्रवेश)
अधीक्षक:(हातको रोलले साहित्यलई हिर्काएर ) छोड उसलाई । छोड भन्दै छु । छोड।
साहित्य: ऐया ! किन हिर्काउँछौ मलाई ? म उसलाई छोड्दिनँ।
अधीक्षक: तिमीले खोजेको ऊ होइन ।
साहित्य: हँ ! मैले खोजेको ऊ होइन अरे ? मतलब मैले हराएको मान्छे ऊ होइन ?
अधीक्षक: हो। ऊ होइन।
(साहित्यले छोड्छ शोधार्थीलाई )
साहित्य: ए ! त्यसो भए कहाँ छ ऊ ?(खोज्न थाल्छ ) खोइ कहाँ हरायो ?
शोधार्थी: सुन,तिमी को हौ?
साहित्य:म ? किन चाहियो ?
शोधार्थी:म तिम्रो अध्ययन गर्न चाहन्छु।
साहित्य:तिमी साँच्चै मेरो अध्ययन गर्छौ ?
शोधार्थी: हो। भन तिम्रो नाम के हो ?
साहित्य: साहित्य ।
शोधार्थी: साहित्य ?
साहित्य: हो, म साहित्य हुँ।
शोधार्थी: तर तिमीले के खोजिरहेछौ ?
साहित्य: पाठक।
शोधार्थी: पाठक ?
साहित्य: हो पाठक। पाठक नपाएर म दु:खी छु। एक्लो छु । आफ्नो दु:ख र एक्लोपन हटाउन म पाठक खोज्दै छु।
शोधार्थी: पाठक खोज्दै छौ ?
साहित्य:(रिसाएर) हो, म पाठक खोज्दैछु। मलाई पाठक चाहिएको छ । पाठक।
शोधार्थी: साहित्य,तिमी किन रिसाउँछौ ? नरिसाऊ । तिम्रो पाठक धेरै छन् ।
साहित्य: झूट ! झूट ! झूट !
शोधार्थी: होइन साहित्य,म साँचो भन्दैछु ।
साहित्य: यो सान्त्वना हो। साँचो होइन । यो सिद्धान्त हो। व्यावहारिकता होइन।
शोधार्थी: होइन साहित्य, म साँचो भन्दै छु ।
साहित्य: साँचो हो भने मैले किन पुस्तक पसलमा पाठकलाई पर्खिनु पर्छ ? साँचो हो भने मलाई किन मुसाले टोक्छ ? मलाई किन माउले छेड पार्छ ? किन ? किन ? भन,मेरो अध्ययन किन साँघुरिँदै छ ? सीमित हुँदैछ ?(शोधार्थीलाई समातेर) किन ? भन। भन । भन ।
अधीक्षक: साहित्य,तिमी आवेशमा बोल्दै छौ । छोड उसलाई।
साहित्य: म आवेशमा होइन होसमा बोल्दै छु। (शोधार्थीलाई छोड़छ)
अधीक्षक: चुप् ! भित्र जाऊ तिमी । जाऊ।
शोधार्थी: तर सर,म अझै कुरा गर्न चाहन्छु ऊसित ।
अधीक्षक: जाऊ भन्दै छु। जाऊ तिमी।
साहित्य:(हाँसेर ) हा…हा…हा… नकारात्मक उत्तर ! हा…हा…(पुन: खोज्दै) खोइ ? कहाँ छ पाठक ? कहाँ छ ? कहाँ छ? कहाँ छ ? (प्रस्थान गर्छ)
शोधार्थी: तर सर ,मेरो कुरा पूरा भएन । म ऊसित अझ कुरा गर्न चाहन्छु ।
अधीक्षक: साहित्यलई धेरै दिक्क पार्नु हुँदैन। उसलाई आराम चाहिएको छ।
शोधार्थी: आराम होइन सर। पाठक । उसलाई पाठक चाहिएको छ । म अझै उसलाई बुझ्न चाहन्थेँ ।
अधीक्षक: शोधार्थी,तपाईँ किन यस्तो अप्ठ्यारो काम गर्नुहुन्छ ?
शोधार्थी: यो अप्ठ्यारो काम होइन तर चेतना जगाउने काम हो सर ।
अधीक्षक: चेतना जगाउने काम ? तर यो पागलखानामा चेतना जगाएर के लाभ ?
शोधार्थी: मैले पागलखानाको निम्ति होइन । तर मान्छेको निम्ति चेतना जगाउने काम गर्दैछु अनि चेतना जगाउने कामबाट हानि होइन लाभै हुन्छ ।
अधीक्षक: यो त तपाईँको सोचाइ हो । तर सबैले कहाँ मान्लान् र ?
(शिक्षाको प्रवेश चुपचाप )
शोधार्थी:मनाउने युग होइन यो । तर आफैले बुझ्नु पर्ने युग हो। बुझ्नेले बुझ्छन् । नबुझ्नेले विकासलाई मार्छन्। सर,अब म उसलाई(शिक्षालाई देखेर) केही सोध्न चाहन्छु ।
अधीक्षक: सोध्नुहोस्।
(शोधार्थी शिक्षाको छेउमा जान्छ। शिक्षा चल्नथाल्छ । केही खोज्नथाल्छ।)
शिक्षा : अरे ! घट्यो ! घट्यो ! फेरि घट्यो ! ला Ý Ý Ý Ýहरायो !!
शोधार्थी : के घट्यो ? के हरायो ?
शिक्षा: हँ ! उ: हेर त । घट्यो ! हरायो !
शोधार्थी: तर के ?
शिक्षा : तर के ? थाहा छैन तिमीलाई ?
शोधार्थी: अहँ ।
शिक्षा: तिमी को हौ ?
शोधार्थी: म एकजना अनुसन्धान गर्ने व्यक्ति !
शिक्षा: केको अनुसन्धान गर्छौ ?
शोधार्थी: यो पागलखानामा कस्ता प्राणीहरू छन् ? म उनीहरूकै विषयमा अनुसन्धान गर्दैछु।
शिक्षा: पागलखाना ? (हाँस्छ) हा…हा…हा…(एक्कासि)तिमीले ठिक भन्यौ।यो पागलखाना हो । पागलखाना!!! यो पागलखानामा केही खोज्ने पनि पागल हो । तिमी पनि पागल ! तिमी पागल !! हा…हा…हा…तिमी पागल हौ । हा…हा…हा….।
अधीक्षक: चुप् ! चुप् ! चुप् ! (शिक्षा हाँस्दा-हाँस्दै रोकिन्छ ) दाँत नदेखा ।
शोधार्थी: सर, हाँस्नु दिनुहोस् । हाँस्नु, हाँस्नु, फेरि हाँस्नु ।हाँस तिमी ।
शिक्षा:(हाँस्छ) हा…हा…(डरले रोकिन्छ) होस् हाँस्दिनँ। उसले कुट्छ ।
शोधार्थी: कुट्दैन ।
शिक्षा: होस् नाइँ !
शोधार्थी: तिम्रो नाम के हो ?
शिक्षा: होस् बताउँदिनँ ।
शोधार्थी: किन ?
शिक्षा:(अधीक्षकलाई देखाउँदै) उसले कुट्छ ।
अधीक्षक: के अरे ! मैले कुट्छु अरे ?
शिक्षा: अन्त के त ! अगि साहित्यलाई त कुट्यौ ।
शोधार्थी: होइन नडराऊ । उहाँले त तिमीलाई माया गर्नुहुन्छ । ल भन तिम्रो नाम के हो ?
शिक्षा: भन्नु ?
अधीक्षक: भन् ,भन् ।
शोधार्थी: नडराइकन भन । तिम्रो नाम के हो ?
शिक्षा: शिक्षा ! मेरो नाम शिक्षा हो ।
शोधार्थी: तिम्रो नाम शिक्षा हो ?(शिक्षा सकारात्मक शिर हल्लाउँछ) तर तिमीले अघि के खोजेको ?
शिक्षा: उसलाई खोजेको ?
शोधार्थी: कसलाई ?
शिक्षा: जो घट्यो उसैलाई ।
शोधार्थी: को घट्यो ?
शिक्षा: जो हरायो ।
शोधार्थी: को घट्यो ? को हरायो ?
शिक्षा :स्तर ! स्तर घटेको छ । स्तर हराएको छ । यसैले उसलाई खोज्दै छु ।
शोधार्थी: तिमीलाई स्तर चाहिएको छ ?
शिक्षा : हो । मलाई स्तर चाहिएको छ । स्तरबिना मेरो मूल्य छैन । यसर्थ म पागलखानामा बेमूल्य छु । स्तर मेरो शिरको मुकुट हो । तर त्यो खोसिएको छ ।
शोधार्थी: स्तर तिम्रो शिरको मुकुट हो ? खोसिएको छ ? कसले खोस्यो तिम्रो मुकुट ?
शिक्षा:(चिच्याएर) व्यवस्थाले Ý Ý Ý Ý ! (आवाज प्रतिध्वनित हुन्छ )
शोधार्थी: व्यवस्थाले ?
शिक्षा: हो व्यवस्थाले मेरो मुकुट खोस्यो । आज म मुकुटबिनाको राजा भएको छु यो पागलखानामा । मलाई मेरो मुकुट चाहिन्छ । मलाई मेरो मुकुट ल्याइदेऊ । मलाई मेरो स्तर ल्याइदेऊ । मलाई मेरो मुकुट ल्याइदेऊ (भनी शोधार्थीको खुट्टा समातेर रुन्छ)
शोधार्थी: अरे ! उठ । यो के गरेको ? छोड मेरो खुट्टा । छोड ।
शिक्षा: म छोडदिनँ । पहिला मलाई मेरो स्तर ल्याइदेऊ ।
अधीक्षक: एइ ! छोड् । छोड् । (हिर्काउँछ शिक्षालाई)
शिक्षा: ऐया ! !!
शोधार्थी: सर,नहिर्काउनुहोस् । मायाले जित्नुहोस् मनलाई । तर डरले होइन ।
(शिक्षालाई उठाउँछ)
अधीक्षक: मायाको जमाना छैन अहिले । यो पागलखानामा मायाको भाषा बुझ्दैनन् कसैले पनि । डर र प्रहारको भाषा बुझ्ने मात्र छन् यहाँ ।
शोधार्थी: गलत धारणा । प्रहारले प्रतिशोध जन्माउँछ । तर मायाले सभ्यता ।शिक्षा व्यवस्थाद्वारा दबिएको बुझिन्छ। त्यहीमाथि अझ उसलाई दबाउनु उचित छैन सर ।
अधीक्षक: तपाईँ यहाँ शोधकार्य गर्नु आउनुभएको हो कि मलाई उपदेश दिनु ?
शोधार्थी: माफ गर्नुहोला सर। म यहाँ शोधकार्य नै गर्नु आएको हुँ ।
अधीक्षक: त्यसो भए चुपचाप आफ्नो काम गरेर जानुहोस् छिटो।(शिक्षासित) तँ जा भित्र ।
जा । (शिक्षा जान्छ ।)
शोधार्थी: तर सर,उसलाई अझै धेरै कुरा सोध्नु छ ।
(प्रतिभाको प्रवेश)
अधीक्षक: अब जे सोध्नु छ यसलाई सोधिहाल्नुहोस् ।
(यत्तिमा नेपथ्यबाट “सर” भनेर बोलाएको आवाज आउँछ)
अधीक्षक: Excuse me, म आउँदै छु । (प्रस्थान गर्छ)
शोधार्थी : हुन्छ। (प्रतिभा भएकोमा जान्छ।)
प्रतिभा: कस्तो दुनियाँ ? जहाँ मेरो कोही हराएको छ । कारण पक्षपात छ ।
शोधार्थी : तिमी को हौ ?
प्रतिभा: तिमीलाई किन चाहियो ?
शोधार्थी: कारण मलाई तिम्रो बारेमा केही लेख्नु छ ।
प्रतिभा: तिमी लेखक हौ ?
शोधार्थी: म शोधार्थी हुँ । म तिम्रो बारेमा जान्न चाहन्छु। तिमीबाट केही सुनेर लेख्न चाहन्छु ।
प्रतिभा : तिमी मबाट के सुन्न चाहन्छौ ?
शोधार्थी : तिम्रो कथा ।
प्रतिभा : मसित कथा छैन। व्यथा छ । तिमी मेरो व्यथा सुन्न चाहन्छौ ?
शोधार्थी: तिम्रो व्यथा नै कथा हो भने सुनाऊ ।
प्रतिभा: म ठुस्किएको छु ।
शोधार्थी: किन ?
प्रतिभा: कारण मेरो मन दुखेको छ ।
शोधार्थी : तर तिम्रो मन किन दुख्यो ?
प्रतिभा: मन नहुनेहरूले दुखाए मेरो मन ।
शोधार्थी: तर किन ?
प्रतिभा: कारण पक्षपात भयो ।
शोधार्थी: कसरी ?
प्रतिभा: कारण ठिक मूल्याङ्कन भएन ।
शोधार्थी: मूल्याङ्कन ?
प्रतिभा: हो,मूल्याङ्कन भएन ।
शोधार्थी: तर किन ?
प्रतिभा: कारण मेरो क्षेत्रको हनन भयो । मेरो स्कोप खोसियो ।
शोधार्थी: कसरी ?
प्रतिभा : म गरिब छु यसैले ।
शोधार्थी: तर तिम्रो स्कोप कसले खोस्यो ?
प्रतिभा: रुपियाँले ।
शोधार्थी: तर तिमीले आफ्नो परिचय दिएनौ त ? तिमी को हौ ?
प्रतिभा: म प्रतिभा हुँ ।
शोधार्थी: तिमी प्रतिभा हौ ?
प्रतिभा: हो म प्रतिभा हुँ । तर मूल्यहीन छु । मेरो कलाको कदर छैन । कारण म रुपियाँहीन छु । मेरो सत्कार छैन । कारण म स्कोपहीन छु । मेरो यो पागलखानामा अवमूल्यन भएको छ । मैले मूल्याङ्कन हराएको छु । तिमी भन मेरो मूल्याङ्कन कहाँ छ ? देख्यौ उसलाई ?
शोधार्थी: हेर प्रतिभा,तिमी उदास नबन। तिमीमा लगनशीलता र आशावादिता सधैँ रहनुपर्छ अनि हुनुपर्छ तिमीबाट सङ्घर्ष । तब मात्रै पाइन्छ मूल्याङ्कन यो पागलखानामा ।
प्रतिभा: लगनशीलता छ । तर सहायता गर्ने छैन । आशावादिता छ । तर मेरो क्षेत्र खन्नेहरू छन् । धेरै सङ्घर्ष गरेँ । तर पक्षपात भयो ।
(अधीक्षकको प्रवेश)
शोधार्थी: निराशावादको पूजा गरेर मूल्याङ्कनको प्रसाद थाप्न सकिँदैन यहाँ । निराशाबाट पतन जन्मिन्छ । यसर्थ प्रतिभा,निराश नबन । तिम्रो मूल्याङ्कन हुनेछ अवश्यै ।
प्रतिभा: तर कहिले ? कहिले ? भन गरिब प्रतिभाको मूल्याङ्कन कहिले हुनेछ ? भन । भन।
(शोधार्थीको बाहु समातेर) जवाफ देऊ,जवाफ देऊ । मलाई मेरो मूल्याङ्कन देऊ । मलाई मेरो स्कोप देऊ। भन,भन,भन।
शोधार्थी: अरे ! पहिला मलाई छोड ।
अधीक्षक: एइ ! के गरेको ? छोड् । छोड् । (हिर्काउँछ प्रतिभालाई)
प्रतिभा :ऐया!(डरले छोड्छ शोधार्थीलाई) नहिर्काऊ । नहिर्काऊ ।
अधीक्षक:बात मार्नु जान्दैनस् ?
प्रतिभा:मूल्याङ्कन खोज्नु पनि पाउँदैन ?
अधीक्षक:चुप् ! मूल्याङ्कन खोज्छस् ? मूल्याङ्कन उसको गोजीमा छ र माग्छस् ? जा। भित्र जा ।
प्रतिभा:ठुस्किनु पनि पाउँदैन यो पागलखानामा ।
अधीक्षक: के अरे ?(प्रतिभा भाग्छ अनि शोधार्थीसित) देख्नुभयो तपाँको मायाको नतिजा ?
(विज्ञानको मौन प्रवेश)
शोधार्थी: यो मायाको नतिजा होइन । तर मायाको अभाव हो,सर ।
अधीक्षक:(विज्ञानतर्फ इसारा गर्दै)अब यसबाट पनि तपाईँको मायालाई जाँच गराउनुहोस् ।
I (शोधार्थी चुपचाप विज्ञानछेउ जान्छ)
विज्ञान: (हाँसेर) हा…हा…हा… म गरेरै छोड्छु ।
शोधार्थी:के ?
(अधीक्षक भित्र जान्छ)
विज्ञान: (फर्केर हेर्छ) तिमी को हौ ?
शोधार्थी: म शोधार्थी । तिमी ?
विज्ञान: तिमीलाई मेरो परिचय किन चाहियो ?
शोधार्थी: म तिमीलाई बुझ्न चाहन्छु ।
विज्ञान: मलाई बुझेर दोष लगाउनु चाहन्छौ ?
शोधार्थी : दोष ? तिमीमाथि ? किन ?
विज्ञान: कारण ममाथि पतन गराउने दोष लागेको छ ।
शोधार्थी: पतन ?
विज्ञान: मैले पतन गराएको छु अरे ! मैले युद्धहरु गराएर ध्वंस गराएको छु अरे यो दुनियाँलाई ।
शोधार्थी: तिमी को हौ ?
विज्ञान: म विज्ञान हुँ ।
शोधार्थी: तिमी विज्ञान हौ ?
विज्ञान: हो, म विज्ञान हुँ । तर यो विश्वमा भएको पतन,अवनति,युद्ध,हिंसा,अशान्तिको दोष ममाथि छ ।
शोधार्थी: तिम्रो दोष अवश्यै छ ।
विज्ञान: तिमी पनि मलाई दोष लगाउँछौ ?
शोधार्थी: तिमीले बन्दुक,बम,बुलेट,ट्याङ्क,रकेटलञ्चर,मिजाइल्स आदि अनेकौँ अत्याधुनिक हतियारहरू बनाएर डर देखाएको छौ यो विश्वलाई ।आतङ्कित पारेको छौ यो दुनियाँलाई ।
विज्ञान: तर मैले शान्तिको लागि त्यसो गरेको थिएँ । अशान्तिको लागि होइन ।
शोधार्थी : तर दोषी तिमी भयौ ।
विज्ञान: दोष मेरो होइन। मान्छेको हो ।
शोधार्थी: नाना थरीका टी॰ भी॰, विडियो, सेटेलाइट च्यानल, कम्प्युटर आदि आविष्कार गरेर तिमीले मान्छेको सभ्यताको गति बढायौ । जसले मान्छेको फुर्सदको हत्या ग-यो । भक्ति भावलाई घटायो ।
विज्ञान: तर मैले मान्छेको मनोरञ्जन र सुबिधाको लागि त्यसो गरेको थिएँ ।
शोधार्थी:तिमीले ड्रग्स बनाएर आजको युवा जमातलाई नपुंसक बनायौ जवानीमै ।
विज्ञान: तर मैले मान्छेको बिमारी जाती पार्नुलाई त्यसो गरेको थिएँ । यसमा मेरो दोष छैन । मैले आविष्कार गरेको चीजलाई मान्छेले दुरुपयोग गर्छ भने त्यसको दोष मलाई दिनु हुँदैन । तिमी जाऊ । मलाई बाधा नदेऊ ।
शोधार्थी: बाधा ?
विज्ञान: हो बाधा । तिमीले मेरो आविष्कार गर्ने काममा बाधा दिँदैछौ ।
(अधीक्षकको प्रवेश)
शोधार्थी: केको आविष्कार ?
विज्ञान: ममाथि अशान्ति निर्माण गरेको आरोप छ । यसर्थ म शान्तिलाई आविष्कार गरेर मेरो निधारबाट आरोप पखाल्नु चाहन्छु ।
शोधार्थी: झूट !
विज्ञान: केको झूट ? तिमी जाऊ । मलाई मेरो काम गर्नु देऊ ।
शोधार्थी: तर विज्ञान,तिमीलाई धेरै कुरा सोध्नु छ ।
विज्ञान: जा तँ। जा तँ ।
(विज्ञानले शोधार्थीलाई ठेल्न थाल्छ । यत्तिमा अधीक्षकले विज्ञानलाई समात्छ )
अधीक्षक: विज्ञान,तँ आवेशमा नआइज़ । भित्र जा । जा भित्र ।
शोधार्थी: तर सर,………
अधीक्षक: चुप लाग्नुहोस् तपाईँ । जा भन्दैछु ।
विज्ञान: यो पागलखानामा आविष्कार गर्न पनि पाउँदैन । अन्त कहाँ हुन्छ शान्ति ?
(प्रस्थान गर्छ)
शोधार्थी: तर सर मेरो कुरा पूरा भएन ।
(दुवै हातले मुख छोपेर सरकारको प्रवेश)
अधीक्षक:तपाईँको कुरा त्योसित (सरकारलाई देखाएर) पूरा गर्नुहोस् । (प्रस्थान)
(शोधार्थी चुपचाप गएर सरकारछेउ पुग्छ )
सरकार: (रुँदै) अब म के गरूँ ? पाइनँ मैले उसलाई । तर ऊबिना म उभिन सक्दिनँ । (रुन्छ)
शोधार्थी: तिमी किन रुँदैछौ ?
सरकार: अरे को हो ? को हौ तिमी ?
शोधार्थी: म एक शोधार्थी । तिमी को हौ ?
सरकार: म सरकार हुँ ।
शोधार्थी: सरकार ?
सरकार: हो म सरकार हुँ,जसले देश चलाउँछ ।
शोधार्थी: तर तिमी किन रुँदैछौ ?
सरकार: कारण आजसम्म मैले उसलाई पाउन सकिनँ ।
शोधार्थी: कसलाई ?
सरकार: बहुमतलाई ।
शोधार्थी: बहुमतलाई ?
सरकार: हो बहुमतलाई। कारण मतदानपछि गठन हुनुलाई मलाई बहुमत चाहिन्छ । तर मैले त्यो बहुमत पाइनँ ।
शोधार्थी: तर तिमी किन रुँदै थियौ ?
सरकार: कारण मलाई चिन्ता भयो अर्को चुनाउ हुने । एउटा चुनाउ सकिएपछि लगत्तै फेरि अर्को चुनाउ भयो भने मेरो देशको अर्थ व्यवस्थामा छेड पर्न सक्छ र रुपियाँ चुहुनु सक्छ त्यहाँबाट। रुपियाँ चुह्यो भने देश गरिब हुन्छ । देश गरिब भयो भने जनताले दु:ख पाउँछन् । जनताले दु:ख पाए भने देश कमजोर हुन्छ । देश कमजोर भयो भने अरूले हस्तक्षेप गर्न सक्छ। र म चिन्तित भएर रुँदैछु ।
शोधार्थी: रोएर समाधान निस्किन्छ र ?
सरकार: निस्किँदैन ।तर मेरो आँखाको आँसुलाई देखेर देशको स्थितिलाई बुझोस् देशवासीले । अब घरीघरी चुनाउ गरेर करोडौँ रुपियाँ बरबाद गर्न सक्दिनँ । घरीघरीको चुनाउमा म जनहत्या भएको हेर्न सक्दिनँ ।
शोधार्थी: तर सरकार,दोष तिम्रो पनि छ ।
सरकार: कसरी ?
शोधार्थी: कारण तिमीभित्र दुई वटा मात्र राजनैतिक दल छैनन् । तर अनगिन्ती राजनैतिक दलहरू छन् ।
सरकार: तर यसमा मेरो के दोष ?
शोधार्थी: धेरै राजनैतिक दलहरू हुनुको कारणले नै आज तिमी चिन्तित हुनु पर्दैछ ।
सरकार: कसरी ?
शोधार्थी: कारण तिम्रो बहुमत यी दलहरूमाझ बाँडिएको छ । यसर्थ गठित हुनु सकेको छैनौ । सिद्धान्त नै नमिल्ने दलहरूमाझ मेलमिलाप हुनु साह्रो छ । मेलमिलाप भए पनि त्यो स्थायी हुनसक्छ भन्ने सम्भावना छैन । स्थायी भएन भने तिमी फेरि विघटित हुनेछौ । दुई वटा मात्र राजनैतिक दल भएका भए आज तिमीले यसरी बहुमत खोज्नु पर्ने थिएन । तिमी विघटित हुन सक्छौ बहुमत नपाएर ।
सरकार: त्यसैकारण त म चिन्तित छु । म देशको नागरिकको मतदानको अवमूल्यन भएको हेर्न सक्दिनँ । यसर्थ मलाई बहुमत चाहिन्छ । म बनिनु चाहन्छु । भत्किनु होइन । म मेरो अवधि पूरा गर्न चाहन्छु । मध्यावधि चुनाउ चाहँदिनँ । घरीघरीको चुनाउले अर्थ-व्यवस्थाको शरीर टुक्रिन्छ । म देशलाई बचाउनु चाहन्छु ।
शोधार्थी: त्यसो भए अब तिमी के गर्छौ ?
सरकार: म के गर्न सक्छु र ? मलाई त बहुमत चाहिन्छ । म त समस्त राजनैतिक दलहरूमाझ एकता भएको हेर्न चाहन्छु ।
शोधार्थी: तर पूर्व,पश्चिम,उत्तर,दक्षिण जोडिन सक्छन् र ?
सरकार: देशको निम्ति,देशवासीको निम्ति आवश्यकता परे जोडिनु जरुरी छ । दिशालाई हेरेर हुँदैन। देशलाई हेर्नुपर्छ । सिद्धान्तलाई हेरेर हुँदैन । देशवासीको सपनालाई हेर्नुपर्छ । देशको अर्थ-व्यवस्थालाई हेर्नुपर्छ । विकासलाई हेर्नुपर्छ ।
शोधार्थी: तर सबै दल आ-आफ्ना सिद्धान्तहरूभित्र बस्न चाहन्छन् भने कसरी गठित हुनु सक्छौ तिमी ?
सरकार: दलको सिद्धान्तभन्दा ठूलो देशको सुरक्षा र विकास हो । यसलाई बुझ्नुपर्छ सबैले ।
(यत्तिमा अधीक्षकको प्रवेश)
अधीक्षक: शोधार्थी,समय पूरा भयो। अब तपाईँ जानुहोस्। सरकार,तँ जा भित्र। जा।
सरकार: म चिन्तित छु। धेरै चिन्तित छु । (प्रस्थान)
शोधार्थी: सर,मेरो शोधकार्य पूरा भएको छैन । म फेरि आउन चाहन्छु । तपाईँको अनुमति चाहिन्छ फेरि ।
अधीक्षक: माफ गर्नुहोला । म घरीघरी अनुमति दिन सक्दिनँ ।
शोधार्थी: किन ?
अधीक्षक: कारण पागलखानाका पागलहरू झन पागल हुन सक्छन् ।
शोधार्थी: कसरी ?
अधीक्षक: तपाईँका उत्तेजित पार्ने कुरा सुनेर ।
शोधार्थी: तपाईँले मलाई दोष लगाउनु हुँदैछ ।
अधीक्षक: तपाईँको मायाले बिगार्ने रहेछ यहाँका पागलहरूलाई । अब तपाईँ जानुहोस् । मलाई अब आफ्नो काम गर्नु दिनुहोस्। जानुहोस्। म पनि गएँ ।
(प्रस्थान)
शोधार्थी: कस्तो पागलखाना ?कस्तो अधीक्षक ? त्रास देखाएर शासन गर्नु भन्छ मायाले जित्ने इलाकामा पनि ।
(शोधार्थी मञ्चबाट ओर्लिन्छ। मध्य प्रेक्षागृहमा आइपुग्दा अचानक नेपथ्यमा हाहाकार मच्चिन्छ। फर्किएर हेर्छ मञ्चतर्फ अनि त्यही अभिनयमा अचल हुन्छ । यत्तिमा विज्ञान रक्ताम्मे भएर भाग्दै मञ्चमा आइपुग्छ। भुईँमा लड्छ । त्यसपछि साहित्य,शिक्षा,र प्रतिभा हातमा छड लिएर आउँछन्। विज्ञानलाई प्रहार गर्न खोज्दा )
विज्ञान: मलाई नहिर्काऊ। म निर्दोष छु । म त विज्ञान हुँ । म त आविष्कार गर्छु । मलाई नहिर्काऊ ।
शिक्षा: चुप् ! तैँले गर्दा मेरो स्तर हरायो । कारण तैँले शिक्षार्थीहरूको समय बरबाद गरिस् । तैँले !
विज्ञान: होइन। यो भूल धारणा हो ।
साहित्य: चुप् ! तैँले मेरो पाठकलाई खोसिस् । मेरो पाठकलाई भुलाइस् । तैँले !
विज्ञान: होइन। यो भूल धारणा हो ।
प्रतिभा: चुप् ! तैँले मेरो स्कोप मारिस् । तैँले गर्दा मान्छेको स्वाद बिग्रियो र मेरो मूल्याङ्कन भएन । तैँले गर्दा !
विज्ञान: होइन। यो भूल धारणा हो । मेरो दोष छैन । दोष त मान्छेको छ । मान्छेको ।
शिक्षा+साहित्य+प्रतिभा: (एक साथ) चुप् ! (त्यसपछि विज्ञानलाई कुट्छन्)
विज्ञान: ऐया ! ऐया ! बचाऊ ÷÷÷ ! (कराउँछ)
(यत्तिबेला प्रेक्षागृहबाट शोधार्थी कराउँछ )
शोधार्थी:अरे ! अरे ! के गरेको ? नहिर्काऊ उसलाई । नहिर्काऊ । (भन्दै दौडेर मञ्चमा जान्छ । मञ्चमा पुगेपछि) नहिर्काऊ भन्दैछु । रोक । रोक। यो गलत काम हो ।
(शिक्षा,साहित्य,र प्रतिभाले प्रहार गर्न बन्द गर्छन्)
साहित्य: यो दोषी छ ।
शोधार्थी: दोषी ऊ छैन । दोष मान्छेको छ । तिमी साहित्य हौ । मान्छेको सभ्यताको चिन्ह हौ। तिमी यसरी क्रोधित हुनु उचित छैन । साहित्य बिग्रिनु उचित छैन । तिमी बिग्रियौ भने मान्छेको सभ्यता मर्छ ।
साहित्य: तर मेरो पाठक खोइ ?
शिक्षा: दोष यसकै छ ।
शोधार्थी: होइन। दोष उसको छैन। यो तिम्रो भूल धारणा हो । तिमी त शिक्षा हौ । मान्छेको ज्ञान हौ तिमी ।तिमी यसरी बिग्रिनु हुँदैन । तिमी बिग्रियौ भने अन्धकार हुन्छ यो संसार ।
शिक्षा: तर मेरो स्तर खोइ ?
प्रतिभा: दोष यसकै छ।
शोधार्थी: होइन । तिमी पनि उसैलाई दोष दिन्छौ ? हेर,तिमी त प्रतिभा हौ । मान्छेको कला हौ तिमी । तिमी यसरी भ्रष्ट हुनु हुँदैन । तिमी बिग्रियौ भने कलाको हत्या हुन्छ ।
प्रतिभा: तर मेरो स्कोप खोइ ?
विज्ञान: तिमीहरू मलाई दोष नदेऊ । म त विज्ञान हुँ । म शान्तिको पक्षमा छु । तर मान्छेले मेरो दुरुपयोग गर्छ भने यसमा मेरो के दोष ? बुझ्ने कोसिस गर।
(भुईँबाट उठ्छ विज्ञान । यत्तिमा अधीक्षकको प्रवेश)
अधीक्षक:के हुँदैछ ? अरे ! शोधार्थी,तपाईँ अझै जानुभएको छैन ?(साहित्य,शिक्षा,प्रतिभा र विज्ञानसित ) तँहरू विद्रोह गर्ने पनि भइस् ? तँहरू जा यहाँबाट। जा। यहाँ किन आइस् ? जा । नत्र ठिक हुने छैन । जा भित्र। (साहित्य,शिक्षा,प्रतिभा जान्छन्।पछि-पछि घाइते विज्ञान पनि जान्छ अनि त्यसपछि) तपाईँ शोधार्थी हो कि आन्दोलनकारी ?
शोधार्थी: म शोधार्थी हुँ।
अधीक्षक: शोधार्थी हो भने यिनीहरूलाई किन चम्काउनु भयो ?
शोधार्थी: हेर्नुहोस्,यसमा मेरो दोष छैन। विज्ञानलाई प्रहार गरे उनीहरूले । मैले त छुट्याएर सम्झाउने कोसिस मात्र गरेँ ।
अधीक्षक: भयो भयो । अब तपाईँ जानुहोस । यहाँ फेरि आउने दुस्साहस नगर्नुहोस् ।
(शोधार्थी अधीक्षकलाई हेरेर दुई-चार पाइला हिँडेपछि अधीक्षक पनि जान्छ )
शोधार्थी:(मञ्चबाट ओर्लँदै) साँच्चै यो दुनियाँ, यो संसार एउटा पागलखाना रहेछ । यो पागलखानाका पागलहरू हौँ हामी । (दर्शकवर्गलाई) तपाईँहरू सबै पागल। म पनि पागल। हो,हामी सबै पागल। हामी पागल होइनौँ भने हाम्रो सभ्यता किन यस्तो छ ? हामी पागल हाइनौँ भने हाम्रो साहित्य किन यस्तो छ ? हामी पागल हाइनौँभने हाम्रो शिक्षा किन यस्तो छ ? हामी पागल हाइनौँ भने हाम्रो प्रतिभा किन यस्तो छ ? हामी पागल हाइनौँ भने हाम्रो विज्ञान किन यस्तो छ ? हामी पागल हाइनौँ भने हाम्रो सरकार किन यस्तो छ ?यसैले यो दुनियाँ एउटा पगलखाना हो । हामी हौँ पागल (हाँस्छ) हा…हा…हा.. .हामी पागल हौँ ..हो पागल…पागल
…हा…हा…हा… पा…ग…ल…..हा…हा….हा….।
(शोधार्थी हाँस्दै-हाँस्दै प्रेक्षागृहबाट बाहिरिन्छ ।)
समाप्त
लेखक परिचय
दार्जीलिङका साहित्यकार राजु प्रधान “हिमांशु” कथा, कविता, नाटक, समीक्षा र निबन्ध विधामा कलम चलाउँछन् । चालीसको दशकदेखि निरन्तर लेखनमा सक्रिय हिमांशुका, यो निगूढ़ कुरा होइन, अभ्यन्तर, अन्वेषण, मुखुन्डो लगाएको मन, ओम शान्ति, निफन-नाफन, काल-निर्णय, नि:शब्द शब्द-शिखा, प्रेक्षण-सर्वेक्षण, चिन्तन-विचिन्तन, अवसान, शान्ति-दर्शन, कालान्तर-कालान्तर, विचारको आयतन, रङ्गहरूको खेल, एउटा महायज्ञपछि, तिरस्कृतहरू ! बहिष्कृतहरू, विलोकन उनका प्रकाशित कृतिहरू हुन् ।
मो.न. : ९४३४१५१११७
ईमेल : rajuhimanshu274@gmail.com
पुरस्कार /सम्मान :
१.सन् १९८०-मा कथा प्रतियोगितामा प्रथम पुरस्कार
२. सन् १९८२मा जिल्लाव्यापी कविता प्रतियोगितामा प्रथम पुरस्कार
३. सन् १९८२मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार
४. सन् १९८४मा एकाङ्की प्रतियोगितामा प्रथम पुरस्कार
५. सन् १९८७मा कवितामा स्रष्टा पुरस्कार
६. सन् १९९४मा जिल्लाव्यापी एकाङ्की प्रतियोगितामा सर्वश्रेष्ठ एकाङ्की, सर्वश्रेष्ठ एकाङ्कीकार, र सर्वश्रेष्ठ निर्देशकका पुरस्कारहरू
७. सन् १९९५मा नाटकमा इलाहावाद नाट्य संघको अध्यक्ष पुरस्कार
८. सन् १९९८मा सर्वश्रेष्ठ प्रयोगात्मक नाटकका निम्ति हिमालयन थिएटर अवार्ड
९. सन् १९९९-२०००को अखिल भारतीय रेडियो नाटकलेखनमा प्रथम पुरस्कार
१०. सन् २००१मा नाटकमा दियालो पुरस्कार
११. सन् २०१७मा “शान्ति दर्शन” (रेडियो नाटकसङ्ग्रह) का निम्ति प्रथम डी. के. श्रेष्ठ स्मृति साहित्य पुरस्कार
१२.लघु चलचित्र “कुहिरो The Outsider” को अभिनयका निम्ति रोममा सञ्चालित प्रिज़माबाट बेस्ट लिडिङ एक्टर अवार्ड, सन् २०१८