पछिल्लो समय ‘आर्टमाण्डु’ले बजारमा ल्याएको गीत तीनपाते चर्चाको सिखरमा पुग्न सफल भयो । खासगरी तीनपातेमा प्रस्तुत इलामको परिवेश अनि त्यसमा देखाईएको कथा वस्तुलाई प्रेरणाको रूपमा लिने दर्शक स्रोता अनगिन्ती भेटिन्छन् । हर्क साउदको शब्दमा सुजन चाँपागाई संगित र स्वर रहेको यो गीतमा विद्या तिवारीले स्वरमा साथ दिनुभएको छ भने मिलन खत्री र अनु काफ्ले मुख्य कलाकारको भूमिकामा रहनु भएको छ । आज हामिले सोही तीनपातेका नायक मिलन खत्रीसंग तीनपातेबारे नालिवेली केलाउने प्रयास गरेका छौं । प्रस्तुत छ तीनपातेका नायक मिलन खत्रीसंग शब्दसोपानका प्रधान सम्पादक टिका ढुंगानाले गर्नु भएको कुराकानी :
पछिल्लो समय तीनपाते चर्चाको शिखरमा अर्थात वोलिचालीको भाषामा भाईरल भयो । सुरूवातमा त यहाँ लगायत यहाँको टीमलाई बधाई दिन चाहान्छौँ ।
धन्यवाद । सुरूमा त तपाईले यो भाईरल भन्ने संदर्भ कोट्याउनु भयो । खासमा अहिलेको समयमा जुनसुकै कुरा पनि भाईरल हुन सक्छ चाहे त्यो राम्रो या नराम्रो कुरा नै किन नहोस । भाईरल भन्दा पनि खासमा यो गीत चाँहि दर्शक स्रोताले एकदमै रूचाई दिनु भएको मन पराई दिनु भएको छ भन्ने लाग्छ ।
खासगरी तीनपाते भन्ने बित्तिकै चियाको संदर्भ जोडिन्छ तीनपाते चिया भन्ने चलन जुन छ नी । के यो तीनपाते गीतको परिवेश इलाम भएको कारण तीनपाते भयो या अरू कुनै दार्शनिक कारण छ ?
यो तीनपातेको संदर्भमा लामो कथा छ । तर ठ्याक्कै भन्नु पर्दा जुन रचनाकारले रचना गर्नु भएको छ, निर्देशक लगायत हाम्रो टीमले जुन ‘प्लट’ र ‘थिम’ बनाउनु भएको यो सबै संदर्भलाई जोडेर भन्ने हो भने तीनपाते भनेको एउटा ‘राईट टाइमिङ’ अर्थात सहि समय हो । हामिले देखाएको जुन माया पिरती छ जुन व्यवसाय छ त्यसको सहि समय आउँछ । जस्तो की चियामा मुना पलाउँछ त्यसलाई तर त्यसलाई जुनसुकै समयमा टिप्न सकिदैँन अर्थात मिल्दैन । जब दुई पात एक सुईरो आँउछ त्यो नै चिया टिप्ने सहि समय हो, त्यसरी नै हाम्रो युवाहरूको पनि युवा समय तीनपाते समय हो जुन केही गर्न चाहनेहरूले काम सुरू गर्ने सहि समय युवाअवस्था नै हो । त्यसै गरी माया पिरती लगाउने पनि एउटा समय हुन्छ जुन समयमा नै गर्न पर्छ पनि भन्न खोजेको हो ।
याे अर्न्तवार्ता हेरी सकेपछि जुन तीनपात भनेको चिया भन्दा बाहिर पनि हुन्छ भन्ने बुझ्न सकिन्छ ?
हो, हो, जुन हामीले देखाएको व्यवसाय छ त्यसमा इलामको परिवोश छ ती सबैसंग जोडेर हेर्दा इलामको सबै परिवेश लाई तीनपाते भन्न खोजिएको हो । यममा चिया मात्र पर्दैन । हामीले युवा साथिहरूलाई चियालाई हेरेर जीवनको तीनपात कसरी छुट्याउने भन्ने कुरा पनि बुझाउने कोशिस गरेका हौँ ।
जस्तो की यो गीतको अवधारणा ल्याउँदै गर्दा, गीत बनाउँदै गर्दा र गीत बजारमा आईसके पछिको अवस्थालाई कसरी फ्युजन गर्न सकिन्छ ?
अरू गीतहरू बन्दा त्यसको म्युजिक भिडियो बन्दा जसरी बन्छ नी यो गीत त्यसरी बनेको हैन । किन भने त्यसको ‘ट्रेन्ड’ जसरी चलिराखेको थियो त्यो भन्दा छुट्टै तरिकाले वन्यो । जस्तो की अहिले साधारण तय गीतहरू गीतको शब्द, संगितसम्बन्धी सबै कुरा सकिएपछि मात्र गीतको म्युजिक भिडियो बन्छ । तर हाम्रो चाँही कस्तो भयो भने, हाम्रो टीमका साथिहरू बीचमा खासगरी बिदेशिने साथिहरूको संदर्भमा किन बिदेश गईराख्ने ? यही देशमै केही गर्न सकिन्छ भन्ने बारे छलफल हुन्थ्यो । अब यो कुरालाई बुझाउने माध्यमहरूमा सबै भन्दा प्रभावकारी माध्यम गीत संगीत हुन सक्छ भन्ने लाग्यो । त्यसपछि हामिले ‘प्लट’हरू खोज्न थाल्यौँ र सबै ‘प्लट’हरू देखाईसके पछि मात्र शब्द तयार भएको हो । त्यसरी गीत तयार भएपछि बजारमा आएको हो ।
तपाईहरूले जसरी एउटा थिम बनाउनु भयो यो बजारमा गए पछि यति धेरै प्रभावकारी भएर जान्छ भन्ने अनुमान थियो ?
जस्तो की हामिले दिने संन्देशमा एकदमै ‘क्लियर’ थियौँ । दिन खोजेको यो हो भन्नेमा कुनै ‘कन्फ्युजन’ थिएन तर कतिपय कुरा बनाउदै जाँदा, काम गर्दै जाँदा ‘प्युरीफाईड’ हुँदै गयो । यसलाई आम दर्शकले यसलाई स्विकार गर्दिनु भयो ।
जसरी तीनपाते हेरी सकेपछि यूवाहरूको सोच्ने साथै कतिपयको त जीवनमा नै परिवर्तन आएका घटनाहरू सुन्न पाउछौँ, यो गीतले मिलनको जीवनमा चाहिँ कस्तो प्रभाव पार्यो या भनौं तीनपाते अगाडीको मिलन र अहिलेको मिलनमा के फरक छ ?
(हाँसो) पहिचानको हिसाबले त धेरै प्रभाव पार्यो नै । म पहिले पनि थिएटरमा अभिनय गर्थे । तर अहिले गीतमा आईसकेपछि थिएटर बाहिरका दर्शकहरू समक्ष पनि पुग्ने अवसर जुर्यो । जसले गर्दा मिलनमा अरू पनि संभावना रहेछन् भन्ने बुझ्न सजिलो भायो साथै नयाँ काम राम्रो गर्न प्रेसर पनि फिल हुन्छ ।
एक सिक्काका दुई पाटा भए जस्तो यसकाे गीत भिडियो एक अर्काका परिपुरक छन भिडियोमा छुर्पी व्यवसायलाई छनोट गरिएको छ , इलाममा यो बाहेक अन्य धेरै व्यवसायहरू छन् तर यसलाई नै किन छनोट गर्नु पर्यो ?
हामीले हेरी राखेको गीतहरूमा या भनौंँ फिल्म हरूमा बढी बिदेशी कुराहरूको कपी गरेको पाउँछौँ । हाम्रो माटोको सुगन्ध त्यहाँ पाउदैनौँ । त्यो हुँदा हामीले त्यही कुरालाई फलो नगरेर माटोको सुगन्ध खोजेका हौँ । तपाईँले जुन व्यवसाय छनौटको कुरा गर्नु भएको छ, म आफैँ पनि एउटा व्यवसायी भएको हिसाबले (छुर्पी लगायतको व्यवसायसंग सम्बन्धित छु ) अनि जसरी इलामलाई बाहिरबाट हेर्दा हरियाली छ, चिया खेती छ भनिएता पनि बहुसंख्यक मानिसहरूको घरमा गाई पालन गरिएको छ । बाहिरबाट जे देखिए पनि भित्री रूपमा त दुधकै कथा छ नि त । त्यही भएर हामीलाई दुग्ध व्यवसायले बढी आकर्षण गरेको हो ।
गीतमा व्यवसाय र प्रेम जोडिएको छ । व्यवसायको शाब्दीक अर्थ व्यस्त रहनु भन्ने हुन्छ । व्यवसाय र प्रेम कसरी संँगै लान सकिन्छ होला ?
मलाई लाग्छ जसरी भिडियोमा देखाएका छौँ नी, ‘ग्रोन् टुकेदर’ । जस्तो की हाम्रो समाजमा एउटा विकृतिको रूपमा आयो धनी केटा, जागिरे या त विदशमा कमाई गर्नेसंग बिवाह गर्ने भन्ने । यदि जस्तो छौँ त्यही अवस्थामा मिलेर गर्न सके व्यवसायमा प्रेमको ‘फ्युजन’ हुन सके अझ बढ्न सहज होला भन्ने मलाई लाग्छ । अर्को कुरा हामीलाई हिरो भन्ने बित्तिकै अर्कै धर्तीबाट आएको हामीले समाजमा देखि राखेको भन्दा खत्रा चिज हिरोमा देख्छौँ । यो बुझाईले फगत मनोरञ्जन दिन्छ । यो धारणालाई परिवर्तन गरेर हाम्रै समाजमा भएका यस्ता हिरोहरूलाई ‘आईडल’ मानेर अघि बढ्ने हो भने देशको व्यवसायिकता र सामाजिक सोचलाई परिवर्तन गर्न सकिन्छ ।
एउटा व्यवसायी मिलन हिरोको रूपमा आएको छ । यस्ता हिरोहरू समाजमा धेरै छन् । पर्दामा नआएका ती हिरोहरूलाई के भन्न चाहनुहुन्छ ?
अब जुन हिसाबले मलाई हिरो भनेर सम्बोधन गर्नु भयो म ‘सक्सेस’को हिसावले त्यति माथि पुगेको छैन । म एउटा पात्र मात्र हुँ तर पनि हामी आफैँ केही न केहीमा हिरो छौँ नै । त्यसमा सबै खिचिने या पर्दामा आउने भन्ने त संभव नहोला तर जहाँ बसेर समाजलाई केही दिइ राख्नु भएकाे छ उहाँहरूलाई सम्मान छ ।
इलाममा बसेर व्यवसाय गर्दै गीत बनाउँदै, अभिनय गर्दै गर्दा यदि म काठमाडौँमा भएका भए अझ गर्न सक्ने थिए भन्ने सोच आउँछ की आउँदैन ?
खासमा मोफसल र केन्द्रको दुरी अझै पनि जिरो भएको त छैन । तर पनि प्रविधीको हिसाबले अन्य हिसाबले कहाँ बसिन्छ ले कम नै प्रभाव पार्छ जस्तो मलाई लाग्छ । कहाँ बसिन्छ भन्दा पनि के गरिन्छ र कस्तो गरिन्छ त्यो चाँही मुख्य कुरा हो ।
तपाईँ पहिले थिएटरमा देखिनु हुन्थ्यो, अहिले पर्दामा देखिनु हुन्छ यी दुईबीच कुन सहज छ ?
मुख्य कुरा छ पर्दामा आए पनि, थिएटर आए पनि जान्नु पर्ने भनेको अभिनय हो । सिकाईको हिसाबले थिएटरमा अभिनय सिक्न चाहनेको लागि एकदमै उपयुक्त स्थान हो । नाटकमा गरेको अभिनय र अनुभवले अहिले गीतमा काम गर्न सहज बनाएको छ । नाटकमा लाईभ दर्शक संगै हुने भएकोले केही असहज छ तर गर्दा गर्दै दर्शकको प्रतिक्रिया प्रत्यक्ष रूपमै थाहा पाईन्छ तर भिडियोमा रेर्कड हुने हुदाँ काम गर्न सहज हुन्छ तर फिड्ब्याक भने पछाडि मात्रै थाहा हुन्छ ।
यो अन्तर्वाता पढिरहने दर्शकलाई तीनपाते गर्दै गर्दा घटेको रोचक साथै र्दशकलाई सुनाउनु पर्दा कुन घटना सुनाउनु हुन्छ ?
मलाई एउटा घटना जुन यो गितको सिनमा बिवाहको सिन छ, जुन सिनको लागि एउटा घरमा त्यहाँको बुवा आमालाई भनेर पुरा साच्चै बिहेको तामझाम गरेर गेटहरू बनाएर, कसार समेत तयार पार्यौँ । अनि त्यस पछाडी सुटिङको समयमा गाउँलेहरू आउनु भयो र रत्यौली खेल्नु भयो । कतिपय चाँही बिवाह मै आएको जस्तो गरी आउनु भयो, के छ कसो छ बेहुला बेहुली कता ? भने सोध्ने गर्दा मलाई आफ्नै विवाह भएको अनुभूति भएको थियो जुन कुरा अविस्मरणीय घटना हो ।
अन्तमा तीनपाते हेर्नुहुने दर्शक स्रोतालाई के भन्न चाहनुहुन्छ ?
दर्शकहरूलाई त एकदमै धन्यवाद छ । हामीले गरेको कामलाई एकदमै मनपराईदिनु भयो । अब हामीले गर्ने अरू कामहरूलाई पनि यसरी नै हेरीदिनु होला प्रतिक्रिया दिनुहोला । हृदय देखिनै धन्यवाद भन्न चाहन्छु ।