महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनको अन्तिम दिनहरूमा आफ्ना साथी, हरि श्रेष्ठलाई लेखेका चिठ्ठी ।
हरि श्रेष्ठजी,
मेरो अगाडि मृत्युको भयंकर रूप खडा भसकेको अहिले छ । कृत्रिम शरीर धारण गर्दैछु । आकाशका तारा मण्डल छुन खोज्छु, सक्तिनँ । मैले आफूलाई शान्ति दिन सकिनँ । म उठ्न सके आफै पनि आत्म हत्या गर्ने थिएँ, अनि मेरा बाल बच्चालाई पनि…… । म यस दुनियाँलाई बोझ र चिँता दिन चाहन्न । अरूले मलाई बुध्दिजीवी भने तापनि म आफ्नो निमित्त मूर्ख भएँ, अन्धो भएँ । म त्यो ज्योतितिर ढल्कन खोज्दछु, तर अन्धकारले मलाई बोलाइरहन्छ । म यो असह्य वेदना खप्न सक्तिनँ । पोटासियम साइनेड कसैले दिए म उसलाई आफ्नो जीवनको सच्चा साथी संझने थिएँ । म अपराधी हुँ; त्यसैले म अपराध मेट्न चाहन्छु, कसैले सके मेरा प्रकाशनका नाम पनि । म बिलिन हुन चाहन्छु मरु भूमिमा एक जल कणझैँ अब । कसैले मलाई नचिन्हुन् ।
एक साथी
लक्ष्मी प्रसाद