पचासको दशकमा लेखिएका कविताहरूलाई फालेलुङ र काबेली बजार नामक कविता सङ्ग्रहबाट पाठकसमक्ष ल्याएपछि प्रशंसा र चर्चा बटुलेका धरानका सन्तोष थेवे सशक्त समकालीन कवि मानिन्छन् । ४० को दशकदेखि साहित्य साधनामा व्यस्त थेवे रंगमञ्च र शिक्षणमा पनि संलग्न छन् । कवि थेवेसँग शब्दसोपानले गरेको संक्षिप्त कुराकानी र उनका दुई कविता यहाँ प्रस्तुत गरिएको छ:
१.आजकल केमा व्यस्त हुनुहुन्छ ?
सामान्य पढाइलेखाइमा दिनहरू बितिरहेछन् । पढाइको हकमा केही हिन्दी र अङ्ग्रेजीमा लेखिएका साहित्यिक किताबहरू बढी पढिरहेको छु भने सँगसँगै आफैँ पनि छोटा प्रेमिल कविताहरू लेखिरहेछु ।
२.पहिलो कृति फालेलुङ र काबेली बजारको दोस्रो संस्करण पनि पाठकसम्म पुर्याइसक्नुभएको छ, प्रतिक्रियाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
त्यति सन्तुष्ट छैन । प्रकाशन र वितरणमा सन्तुलन नमिलेर उक्त कृति अझै पनि बजार भएर पाठकसम्म मनग्गे पुग्न सकेको छैन । यद्यपि त्यो नयाँ अनुहार र नयाँ उपस्थितिको यश आजसम्म खाइरहेकै छु । तिनीहरूले लेखिरहने थप उर्जा दिइरहेकै छन् । यस मानेमा फेरि सन्तुष्ट पनि छु ।
३.तपाईँ चालीसको दशकदेखि कविता लेखनमा सक्रिय हुनुहुन्छ, समग्रमा तीन दशकअघिका र अहिलेका नेपाली कवितामा कस्तो फरक पाउनुहुन्छ ?
उहिले प्रविधिको पहुँच सिमित थियो । थोरै लेखिन्थ्यो, धेरै भनिन्थ्यो । अहिले कला साहित्यमा एकदमै ठूलो भिड्भाड छ । भिडको आवाज सुन्न र बुझ्न कठिन हुँदै गएको महशुस गर्छु । अर्कोतिर अहिले भन्ने कुरा नै पो सकिँदै गएको हो कि जस्तो पनि लाग्छ । घुमाइफिराइ सबैले एउटै कुरा भने झैँ लाग्छ । थाहा छैन यति ठूलो भिड कुन गन्तव्यमा गएर कुन परिणतिमा अडिन्छ । तर पनि अब्बल सर्जकहरू भने सधैँ हिजो र आज पनि मेरो मनगढन्ते चिन्ताबाट उन्मुक्त छन् ।
४.तपाईँका कवितामा के लेखिन्छन् र किन लेख्नुहुन्छ ?
म कवितामा कलाको माध्यमबाट सौन्दर्य खोज्छु । मेरा लागि मुद्दाहरूभन्दा सौन्दर्य विशेष हो । मेरा कविताले कुनै वाद नारा बोल्दैनन् । मेरो कविताहरू समाज परिवर्तनका जिम्मेवारीबाट पर छन् । मलाई कविताले पाठकहरूको मन जिते पुग्यो जस्तो लाग्छ । मलाइ जब जब मेरो कविताचेतले लेख् भनेर घच्घच्याउँछ । म दायाँबायाँ केही नसम्झी लेख्छु । लेखेपछि एकखालको सन्तुष्टि पाउँछु । अरू केहिले होइन आजसम्म यही सन्तुष्टिले यहाँसम्म आइपुगेको छु ।
५.तपाईँको विचारमा कविताको मूलतत्व के होला ? बताइदिनुहोस् न ।
कविताको पनि आफ्नै कथ्य, भाष्य र लय छन् । कविताले शब्द र अर्थहरूको मितव्ययिता खोज्छ । कविताले जहिले पनि थोरैमा धेरै भन्ने हो । त्यसैले कवितामा सिमिली, मेटाफर, मिथ, रिदम आदिको विशेष भुमिका हुन्छ । कुरा जेजस्तो भए नि कविताले अन्ततोगत्वा पाठकको मन जित्न सक्नुपर्छ ।
६.तपाईँ रंगमञ्च, शिक्षण र साहित्य सिर्जनामा संलग्न हुनुहुन्छ, यी तीन क्षेत्रबीच कस्तो सामञ्जस्यता पाउनुहुन्छ ? सबैभन्दा बढी कुन क्षेत्रमा रमाउनुहुन्छ ?
शिक्षण मेरो पेशा हो । कविता र रंगमञ्च मेरो शौख हो । पेशाले मलाई आर्थिक रूपमा बचायो र मैले बचेको समय कविता र रंगमञ्चमा दिन पाएँ । कविता रंगमञ्चमा पदार्पण गर्यो भने यसले जिवनलाई पिँधबाट उठाएर उत्कर्षमा पुर्याउँछ । कविताले भन्न बाँकी जीवनका रहस्यहरू उजागर गरिदिन्छ । परिस्थिति ठूलो कुरा रहेछ । उहिले रंगमञ्चमा रमाएँ, अहिले कवितामा रमाइरहेछु । जीवनमा केही त्यस्ता कठोर अनिवार्यताहरू छ्न् जस्तो लाग्दैन । बाँचिदिनु नै ठूलो कुरा हो जस्तो लाग्छ ।
७.पहिलो कविता कहिले लेख्नुभयो ? तपाईँलाई सबैभन्दा मनपरेको आफ्नो कविता कुन होला ?
पहिलो कविता कक्षा ८ पढ्दा लेखेँ । मलाई मन परेको कविता फालेलुङ र काबेली बजार को ‘ट्रयाङ्कुलाइजरको समाधिबाट’ हो । तर यसबारे खासै चर्चा भएन । यस्तो लाग्छ कहिलेकाहीँ पाठकको लागि नभएर नितान्त आफ्नो लागि पनि लेखिन्छ ।
८.अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? तपाईँलाई मन परेका तीन पुस्तकको नाम बताइदिनुहोस् न ।
मेरो नराम्रो बानी छ। म दुई तीन वटा किताब एकैचोटी पढ्छु। राहुल सांकृत्यायनको दर्शन दिग्दर्शन, कृटिकल स्टडी टुडे र महाश्वेता देवीको १०८४ कि माँ पढिरहेछु । मलाई मन परेका तीन पुस्तकहरू शिरीषको फूल, म्युजियम अफ इनोसेन्स र क्रुजर सोनाटा हुन् ।
९.मोफसलमा बसेर साहित्य साधना गर्दा कस्ता अवसर र चुनौतीहरू अनुभव गर्नुभएको छ ?
मलाई तेस्तो केही लाग्दैन । गर्ने मान्छेले जहाँ बसेर पनि गर्नसक्छ । मूल कुरो कसले कति गर्न सक्छ भन्ने हो । अहिले त सामाजिक सञ्जालले गर्दा राजधानी त के सारा संसारको पहुँच सुबिधा आफ्नै हातमा छ । तर उहिले भने मोफसल र केन्द्रको बीचमा ठूलै खाडल थियो ।
१०.पाठकसामु अर्को कृति कहिले पस्कने तयारीमा हुनुहुन्छ ?
छोटा प्रेमिल कविता सङ्ग्रह तयारीमा छ । कोरोना कहरले गर्दा थान्को लागेको छ । सन्तोष थेवे
कवि सन्तोष थेवेका दुई कविता:
१.पुरानो भित्ता
कति सस्तो रहरहरूले पोतिएको
एक पुरानो भित्ता रहेछु
लिप्दा लिप्दै सम्झनाहरूले
पाप्रा पाप्रा भएर झरेछु
नछुनु पर्थ्यो छोइ त हाले
कसो तिम्रो तस्बिरमाथि खसिनछु ।
२.बाटो कुरिरहेछु
खोज्दै हिँड्नु पर्दैन मलाई
ए बेसुरे कुहिरोका बेगहरू
रहरलाग्दा बैँसहरू कुँजाएर
थुम्काथुम्किमा तिम्रै बाटो कुरिरहेछु
एकैछिन ओर्लिएर आँखामा हेर न
केहि हाँसोहरू पठाउनुछ
प…..र चियाका कलिला बुटाहरूमा
चिस्याएर यो तातो आँसु तिम्रै पच्छ्यौरीमा….! सन्तोष थेवे