हेम्नत विवश हेम्नत विवश हेम्नत विवश हेम्नत विवश हेम्नत विवश हेम्नत विवश हेम्नत विवश
विगत पच्चिस वर्षदेखि काव्य साधनामा सक्रिय कवि हेमन्त विवशका कवितामा मानविय संवेदना र माटोको सुगन्ध भेटिन्छ । उनका कविता सुदूरपश्चिमको लामो सांस्कृतिक इतिहासभरि छरिएर रहेका तर उत्खनन् गर्न बाँकी नवीन विम्बहरुले सुसज्जित छन् । विवशका यस अघि विवशका सम्राइ (२०६०), असौजको जून(२०६२), र यादै जनमभरी ( २०६३) गीति एल्वम, आफ्नै मनसँग (२०५८) र सैपालको आँगन(२०७१) कविता सङ्ग्रह तथा कथा एउटै तिम्रो मेरो (२०६४) गीति सङ्ग्रह प्रकाशित छन् । शब्द संवादको आजको श्रृङ्खलामा उनै मनमुटुमा बस्न सफल साहित्यकार हेमन्त विवशसँग गरीएको कुराकानी प्रस्तुत गरिन्छ।
शब्दसंवादमा हजुरलाई स्वागत छ
धेरै धेरै धन्यवाद
१. कोरोना महामारीको प्रकोप र बन्दाबन्दीको मौसम फेरि फर्किएको छ, के मा व्यस्त हुनुहुन्छ ?
त्यस्तो खासै व्यस्तता भन्नु पनि केही छैन् । बन्दाबन्दीमा निरिहजस्तो बनेको मनले जब चाल पाउँछ कोरोना महामारीको प्रकोप सम्बन्धी खवर, ठेगानमा बस्दैन मन । ठाउँ ठाउँका दुखद खवर सुनेर खासै काम गर्ने मन लागिरहेको छैन । कहिलेकाही मुढ चलेको बेला संस्कृति सम्बन्धी जम्मा गरेका केही सामग्रीहरू छन् तिनलाई अक्षरमा उतार्ने काम गरिरहेको हुन्छु ।
२. ‘कवि’ शब्द सुन्नेबत्तिकै के सम्झनिुहुन्छ यहाँले ?
एक असली साधकको चित्र आइदिन्छ मनमा । जसभित्र प्रेम छ, पीडा छ, आक्रोश छ, दर्शन छ र साथै छ एकप्रकारको काव्यिक उडान । कविको अर्थ ऋषि भन्छन् ज्ञानीहरू । पहेँला वस्त्र धारण गर्दैमा ऋषि बनेनन् र भनेनन् पनि । वर्षौँसम्म साधनारत ती चेतनाको उपल्लो तहमा पुगेकाहरू हुन्, ऋषि । कवितामा पनि एउटा चेतले काम गर्छ । साधनामा तल्लिन संवेदनशील मनहरू नै कवि हुन् । जो आफ्ना सिर्जनामा मानव हकहितका विषयलाई उठान गर्छन् । प्राकृतिक सुन्दरताको महिमा गान गाउँछन् । जीवन र जगतका मोडहरूमा सुन्दरता छरिरहेका हुन्छन् । अझै भन्नुपर्दा जीवन जिउने कला सिकाइरहेका हुन्छन् ।
३. आफूभत्रि कविता लुकेको कुरा कसरी महसुस भयो हजुरलाई के कारणले विवश गराएर ‘हेमन्त विवश’ बन्नुभयो ?
हरेक संवेदनशील मान्छेभित्र कवित्व लुकेको हुन्छ । फरक यत्ति हो कसैले साधना गर्छ र आफूलाई माझ्दै जान्छ । आफूभित्रको त्यो कवित्वलाई उजागार गर्छ । आफूलाई अरुसामु प्रस्तुत गर्छ ।
म आफूलाई कवि हुँ भनेर भन्दिनँ । संवेदनाले पछ्याइरहदा कुनै विषयवस्तु र परिवेशले चिमोट्न थालेपछि अक्षरको खेती गर्न थालेको साहित्यानुरागी हुँ । साहित्यको विद्यार्थी हुँ । यसप्रतिको अनुराग उस्तै छ ।
सुदूरपश्चिमको ग्रामीण परिवेश नै मेरो साहित्यिक अनुरागको आँगन बन्यो । त्यहाँको संस्कृति, सभ्यता, डेउडा गीत जस्ता विभिन्न पक्षले भित्रैसम्म छोएर हलचल मच्चिन थालेको बेला समाजमा देखिएका अन्याय अत्याचार, अन्धविश्वासजस्ता वेथितिलाई मनले सहन नसकेर पोखिन थालेको मात्र हुँ ।
अव रह्यो के ले विवश गरायो भन्ने कुरा । उसो त जीवनका गौंडाहरूमा समय सापेक्ष विभिन्न परिवेशले विवश तुल्याइरहेकै हुन्छ । नामको पछाडि चाँही उपनाम राख्ने लहडको कारण ‘विवश’ लेख्न थालेँ ।
४. हजुर त लामो समयदेख नेपाली साहित्यक्षेत्रमा साधनारत हुनुहुन्छ, के के कुराहरू बदलिँदो देखरिाख्नुभएको छ पहिले र अहिलेको अवस्थाको तुलना गर्दा ?
पहिलेको अवस्था हेर्दा अहिले धेरै कुरामा फरक देख्न सकिन्छ । पत्रपत्रिकामा लेख रचना छाप्न मुस्किल पर्ने समय छैन अहिले । मूलधारमा दुईचारवटा मात्रै पत्रिका थिए जहाँ रचना छाप्नलाई चिनाजानी र भनसुन चाहिन्थ्यो । अहिले थुप्रै सञ्चार माध्यमहरू छन् । राम्रो लेख्नेहरू सामाजिक सञ्जालबाटै चिनिएका पनि छन् । समाजका बिडम्बना विकृतिहरूमा धैरैले कलम चलाइरहेका छन् । लेखक पाठक सबैको संख्या बढिरहेको छ । अन्याय अत्याचार अन्धविश्वासका बिरुद्ध कवि लेखकहरूले बढिमात्रामा खवरदारी गरिरहेका छन् । भुँइमान्छेका कथाव्यथा लेखिदैछन् । गलत प्रवृतिको विरुद्धमा, सत्तामा बसेर रवैया देखाइरहेका सम्राटका विरुद्धमा निर्धक्क ढंगले कलम चलिरहेका छन् । यो सकारात्मक पाटो हो ।
५. कवितामा मात्रै नभएर यहाँको सक्रयिता गीत, गजल, कथा, छन्दकवतिा, खोजमूलक अनि मौलकि लेखहरूमा पनि उत्तिकै छ, यी मध्येमा पनि तुलनात्मक रूपमा अलि बढी झुकाव भएको विधा कुन पर्दछ ?
मैले सुरुमै भनिसकेँ साहित्यको अनुरागी हुँ भनेर । सबै विधामा उत्तिकै अनुराग छ । सबै विधाले उत्तिकै छुने गर्छन् । तपाईँले भनेजस्तो तुलनात्मक रुपमा अलिबढी छुने अलिबढी झुकाव भएको भनेको गीत र कविता नै हुन् । पछिल्लो समयमा खोजमूलक सांस्कृतिक लेखहरूप्रति पनि अलिक झुकाव बढेको छ ।
६. नेपालको वर्तमानमा साहित्यिक अवस्थालाई कसरी नियाली रहनुभएको छ ?
केही विकृतिहरू हुँदाहुँदै पनि निकै नै उर्वर समय हो जस्तो लाग्छ अहिलेको । पहिचानका, विभेदका, न्यायका,महिलाका मुद्दाहरू शसक्त ढंगले उठिरहेका छन्, यतिखेर । यस दृष्टिले पनि यो महत्वपूर्ण समय हो । विभिन्न दृष्टिकोणले हेर्दा अझ बढी फस्टाउने मौका पाएको छ नेपाली साहित्यले ।
७. अझै कविको पहिचान कविता र लेखकको पहिचानन लेखनीबाट भन्दा पनि भौगोलिकताले लेखकहरूको स्तर मापन गरिराखिएको भन्ने पनि सुनिन्छ नि, हजुरको के राय छ यसमा ?
केही हदसम्म यो कुरा मननयोग्य थियो र छ पनि । तथापि विगतकै जस्तो समय त अहिले पक्कै पनि छैन । साहित्यको ठेकेदारी पाएका संघसंस्था र केही व्यक्तिहरू मात्रै छैनन् अब निर्णायक । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं राम्रो रचनाको तारिफ गर्ने पाठक छन् । पाठक सामु छिटै सिर्जना पुग्ने सञ्चार माध्यमहरूको विकास भएको छ । सामाजिक सञ्जालमा बहस भइरहन्छ । बढीमा विद्यालय विश्वविद्यालयका पाठ्यक्रममा समावेश हुन नसक्लान । त्यहाँ समावेश नहुँदैमा कवि लेखक नहुने भन्ने पनि त छैन ।
८. बेलाबखत आवाजहरू सुनन्छिन् कि सुदूरपश्चिम साहित्यक्षेत्रमा पनि राष्ट्रिय मूलधारबाट छुट्याइएको छ, यसमा हजुरको अनुभव र विश्लेषण के छ ?
पहिले त नामैले पछाडि परिहाल्यो । सुदूर पश्चिम भनियो हरेक क्षेत्रमा यो क्षेत्र साच्चै सुदूरको बनिह्यो । राज्यले हेर्ने दृष्टिकोण त सधैँजसो भेदभावपूर्ण नै थियो र अझ उस्तै छ । यसै कारण सुदूरपश्चिमवासीले आफू छुट्टै राज्यका नागरिक भएको महसुस गरिरहे । र त भनियो काठमाडौँ खाल्डोलाई नैपाल । नागरिताको खोस्टो दिएर कर असुली गरिरहेको राज्यले सुदूरको उपाधि शिवाय दिन सकेन केही पनि ।
हाम्रा कतिपय नाम चलेका प्रतिभाशाली लोककविहरू थिए जसमध्ये डोटीका खण्टे खड्कालाई त चल्ल्यासाईको उपाधि नै दिएका थिए त्यतिखेरका बडाहाकिम प्रतापजंग राणाले समेत । डोट्याली भाषामा चल्ल्याको अर्थ हुन्छ –चालु या तुरुन्तै गीत सिर्जना गर्न सक्ने अद्भुत क्षमता भएको हौसिया, रहडी । साईको अर्थ हो प्रसिद्धि कमाएको नामी, उच्च ओहदाको । एउटै शब्दमा भन्नु पर्दा चल्ल्यासाईको अर्थ हो – डेउडा सम्राट । ती प्रतिभाहरूका सिर्जना गाउँघरतिर मौखिक रुपमा यदाकदा सुनिए तापनि सुनिएन तिनको नाम नेपाली साहित्यको क्षेत्रमा ।
वि.सं. २०३६ को समयलाई नेपाली गजलको पुर्नजागरणकाल भनेर कैयौँले उल्लेख गरेका छन् तर बैतडीका कवि देवराज शर्माको गीतिनाटक ‘शहीद दशरथ चन्द’ भित्र ६ सेरका दुइटा गजल संवादको रूपमा रहेका छन् जुन नाटक २०२२ सालमै प्रकाशित भएको देखिन्छ । यस विषयमा मूलधारमा हालसम्म कतै उनको नाम उच्चारणसम्म गरिएको पाइँदैन ।
डोटीका धनबहादुर मल्लले दर्जनौं नाटक लेखे,मञ्चन गरे । चालिस पचास वर्ष अघि नाटक विधामा सक्रिय ढंगले लागिपरेका मल्ल रेडियो नेपालमा पहिलो पटक डेउडा रेकड गर्ने गायक हुन् । राससका भ्यालीबाहिरको लागि पहिलो रिपोर्टर पनि हुन् । जसको नाम पनि अटाउन सकेन मूलधारमा । कवि देवकान्त पन्तले फुटकर कवितादेखि महाकाव्यसम्मका कृतिहरू दिएर गए । राष्ट्रिय मूलधारमा समावेश हुन सकेनन् तिनका काव्यकृतिहरु पनि । बैतडीका गोपालराम दमाईले २०२८ सालमै रेडियोमा गीत गाए । उनको र पछिल्लो समय ४० वर्षको उमेरमा रेडियोमै गीत रेकर्ड गरेका कर्णप्रिय स्वरका धनी डोटीका हीरालाल ताम्राकारका गीत नै भेटिदैनन् रेडियोमा । आजभन्दा सयवर्ष अगाडि नै डोटीका पद्मनाभ ओझा कुशल सीतारवादक संगीतकार थिए । त्यस्तै सिलगढी डोटीका प्रेममोहन श्रेष्ठ पनि राम्रो गीतकार संगीतकारका रुपमा चिनिएका थिए । नेपालले सुनेन तिनको नाम पनि ।
यी त प्रतिनिधि पात्र मात्रै हुन् अन्य थुप्रै स्रष्टाहरू छन् जसको नेपाली साहित्यको इतिहासमा नामसम्म पनि भेटिदैन ।
स्वतन्त्रताकै कुरा गर्ने हो भने पनि जंगबहादुरकै पालामा अन्याय र अत्याचारको बिरुद्ध आवाज उठाउँदा साहदत प्राप्त गरेका अछामका बाकाबीर नेपालका पहिला शहीद हुन् । यो कुरा गुमराहमै रहिरह्यो । शहीद भीमदत्त पन्त राजनीतिक योद्धा मात्र थिएनन् उनी असली स्रष्टा पनि थिए । उनका गीत कविताहरू पढ्न पाइन्छ अहिले पनि । साहित्यकारका रुपमा दर्ज हुन सकेनन् उनी पनि राष्ट्रिय मूलधारमा । मिडियाहरूमा पनि सबै सुदूरपश्चिमेलीको सहजै पहुँच पुग्ने स्थिति कहाँ हुनु त्यतिबेला ।
एकेडेमीले त पछिल्लो पटक साहित्यकार/कलाकार परिचय कोश प्रकाशित गर्दा समेत पाँच, सात जना स्रष्टाका बाहेक अरूका नामै थाहा पाएन । पचासको दशक अघिसम्म प्रज्ञाप्रतिष्ठानमा कतिजना सुदूरपश्चिमेली साहित्यकारहरूले पाइला टेक्न पाए भन्ने कुरा मननीय छ । पछिल्लो समयमा पनि राजनीतिक स्वार्थपूर्तिका लागि दलहरूले भागबन्डा लाग्ने एकेडेमीका के कुरा गरौं ।
यस बीचमा केही कमजोरी हाम्रा आफ्नै पनि रहे । हामीले अन्याय र असमानताका मुद्दाहरू उठाएर लेखनलाई जुझारु ढंगले अगाडि बढाउन सकेनौं । सिङ्गो सुदूरपश्चिमको साहित्यिक इतिहास तयार पार्न सकेनौं । राम्रो लेख्नेलाई राम्रो भन्न सकेनौं । सुदूरपश्मिमा रहेका साहित्यिक सङ्घसंस्थाहरूले पनि न त सम्भावना बोकेका नवप्रतिभाहरूलाई प्रोत्साहन गर्न र अवसर दिन सके न सुदूरपश्चिमका मुद्दा नै बोक्न सके । वर्तमान परिवेशमा देश चलाएजस्तो दुईचार जनाको खल्तिका संस्था बने । आफ्नै स्वार्थपूर्तिका लागि दौडधूप गरिरहे तिनले पनि । वर्तमान परिवेशमा अब केही आशा किरणहरु देखिदैछन् जस्तो लाग्छ, हेरौं ।
९. अहिले कविता भन्दा कविहरूको संख्या बढी भयो भन्ने तर्कहरू पनि सुन्नमा आउँछन्। कहीँ न कहीँ कवितालेखन फेसनको रूपमै विकसित भएको हो ?
विगतको भन्दा निश्चित रुपमा कवि लेखकहरूको संख्या बढी छ । नव सर्जकहरुले पृथक सोचका साथ लेखनमा नयाँ कुरा ल्याउन सक्छन् । भाषा संस्कृतिदेखि सामाजिक क्षेत्रका कैयौं मुद्दाहरू उठ्छन् सहित्यिक क्षेत्रमा पनि । अब रह्यो कविताभन्दा बढी कवि भए भन्ने कुरा । फेसनको रुपमा आओस वा अन्य कुनै तवरले साधनामा तल्लिन रही राम्रो सिर्जना गर्नेहरू टिक्छन् अरु विस्तारै आफ्नो बाटो लाग्छन् । निर्णय गर्ने पाठक, समीक्षक छदैछन् ।
१०. साहित्य लेखनमा वैराग र अनुरागबीचको तालमेल कत्तिको जरुरी छ जस्तो लाग्दछ ?
दुबैको तालमेलको जरुरी छ । अनुराग नै छैन भने त त्यो क्षेत्रमा लगाव नै हुँदैन । वैरागभित्र पनि आनन्द छ । असली स्रष्टा वैराग्यतामा पनि आनन्द लिन्छन्, क्षणिक समयका लागि रुपान्तरित भैदिन्छन् । कालीदासका मेघदूत, रघुवंशजस्ता कृतिहरू त्यसकै उपज हुन् । जहाँ क्षणिक समयका लागि पाठक समेत वैराग्यमा पुग्छन् । हरेक स्रष्टा आआफ्नै प्रतिभा र संवेदनाको तलाउमा पौडिरहेका हुन्छन् । वैराग्यता एक प्रकारको क्षणिक समाधि पनि हो । जहाँ स्वतः प्रवेश गर्छन् शेक्सपियर, कालिदास, किट्स, देवकोटाहरू । सजिलै प्रवेश गरिदिन्छन् भावना र संवेदनाका लहरहरू ।
११. कहिलेकाहीँ अत्यधिक नरिाशा छाएर ‘अब साहित्यबाट दूरी कायम गरौँ’ भन्ने अवस्था पनि आयो आजसम्मको दिनहरूमा ?
त्यस्तो समय कहिल्यै आएन । मभित्र महत्वाकांक्षा छैन् । कुनै प्रकारका पुरस्कारहरूको लोभलालच पनि छैन । समाजका विकृति विसङ्गति र थिचोमिचो देख्दा लेख्न मन लाग्छ र लेख्छु । हो कहिलेकाही चिनेजानेका साथीभाइ र आफन्तहरूले साहित्यमा लागेर बिग्रियो केही प्रगति गर्न सकेन भनेको सुन्दा मनमा चसक्क नहुने हैन । उनीहरूले भनेको पनि ठिकै हो । भौतिकवादी दुनिँयामा मैले कतैबाट आर्थिक लाभ लिन नसकेको सही नै हो । तर, पनि त्यो चसकले लागेन कहिल्यै साहित्यिक दूरी कायम गरौं । बरु साहित्यिक लगावले नै निराश हुनबाट बचाएको छ । कहिलेकाही मनमा दिकदारी छाउँदा मनपरेका गीत सुन्छु, पुस्तक पढ्छु, अग्रजहरूका जीवनी पढ्छु,मन लागेको लेख्छु र मनलाई ठेगानमा ल्याउँछु ।
१२. नेपालमा एउटा साहित्यकारले साहित्य लेखेरै रोजीरोटी कमाउँन सक्ने र नसक्ने मुद्दामा पनि बेलाबखत बहसहरू भइराख्छन्। साहित्यलाई जागिरको रूपमा विकासित गरियो भने एउटा साहित्यकारले बौद्धकि सन्तुष्टकिै लाग लेखिएजस्तो उत्कृष्ट रचनाहरू पस्कन सक्छ ?
पछिल्लो समय अपवादको रुपमा एकाद स्रष्टाले लेखेरै रोजिरोटी कमाउन सकेको पनि खवर सुन्नमा आउँछ । यो समस्या आज पनि उस्तै छ । साहित्यकारका पीडा उस्तै छन् । जागिर गरेर उत्कृष्ट लेखकमा दर्ज भएका केही स्रष्टाहरु पनि हामी माझ छदैछन् । सबैले जिविकोपार्जनका लागि केही नकेही पेशा व्यवसाय अपनायकै छन् । पूर्णरुपेण लेखनमा मात्रै लागिपरेका औंलामा गनिने होलान । त्यसैले कुनै साहित्यकारले जागिरे जिन्दगी व्यतित गर्दा उत्कृष्ट रचना पस्किन नसक्ला भन्ने पनि हुँदैन । प्रकाशकले जस्तो भन्यो त्यस्तै लेखनतिर अर्थात बजारमा बिक्ने खालको लेखनको पछि लाग्यो पैसाकै पछाडी दौडिन थाल्यो, क्षणिक हल्लाखल्लामै दंगदास हुन थाल्यो भने तपाईले भन्न खोजे जस्तो उत्कृष्ट रचना आउने सम्भावना न्यून हुन जान्छ । बजारबाद निकै नै डरलाग्दो छ र हुन्छ पनि ।
१३. यदि हजुरलाई ‘साहित्य क्षेत्रमा लागेर के पाउँनुभयो र के गुमाउनुभयो भनेर सोधेँ’, भने के जवाफ दिनुहुन्छ ?
म यस क्षेत्रमा केही पाउनलाई लागेको थिइनँ तथापि दुईचारजना मित्रहरू कमाएको छु । गुमाउनलाई त मसँग के नै थियो र साहित्यतिर नलागेको भए उधम मचाइहाल्थे भन्नलाई ।
१४. आगामी दिनहरूको हजुरको सात्यिक यात्राको योजनाबारे केही जानकारी गराइदनिुस् न, कृपया।
सुरुसुरुमा एकाद योजना नबनाएको हैन । ती पूर्ण भएनन् । त्यसपछि लामो समय गुज्रिसक्यो मैले योजना बनाउनै छोडिदिएँ । चलाउन सकिनँ कहिल्यै योजनावद्ध ढंगले जिन्दगी । छैनन् मसँग आगामी दिनका लागि त्यस्ता योजनाहरू पनि । अहिलेसम्मका दिनहरूमा मैले खासै योजना बनाइन । म योजनाविहीन अस्तव्यस्त जिन्दगी बाँचिरहेको मान्छे हुँ ।
१५. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हाम्रो समाज, संस्कृति र माटोको सुभास नै हाम्रो पहिचान हो । यसभित्रका विकृति, विसङ्गतिलाई औँल्याई लेखनका माध्यमबाट बाहिर ल्याउनु हाम्रो कर्तव्य हो । यी कुरालाई पनि मनन गरौँ ।
यति सौहार्दपूर्ण तरिकाले हाम्रो निम्तो स्वकिारदिनिुभयो, यो अमूल्य समयको लागि हजुरप्रति हार्दकि आभार प्रकट गर्दछौँ।
हार्दिक धन्यवाद ।
हेम्नत विवश