आषाढ २९ गते सिन्धुपलान्चोकमा जन्मिएकी रोजिना पराजुली शिक्षण पेशामा आबद्ध छिन् । प्रस्तुत छ, छन्द एवम् गद्य दुवै शैलीमा निरन्तर कविता लेख्दै आइरहेकी पराजुलीसँग शब्द सोपानका लागि राजु झल्लु प्रसादले तयार पारेको सामाग्री: रोजिना पराजुलीसँग कविताका कुरा
१.कविता के रहेछ ? कवितालाई जटिल हुनु पर्दछ भन्नेहरू पनि छन् र सरस हुनु पर्दछ भन्ने पनि । कविता कस्तो हुनु पर्दछ ?
सरल भाषामा भन्दा कविता साहित्यको अभिन्न पाटो हो । जुन मानव जीवन, सामाजिक परिवेश, प्राकृतिक सेरोफेरो मात्र नभएर बाँकी थुप्रै कुराहरूसँग जोडिएको हुन्छ । मेरो लागू कविता आफैँमा सरल, गहन तथा ओझिलो छ, यसलाई हामीले जटिल बनाउनु पर्छ भन्ने मलाई लाग्दैन । लाग्छ त मेरो कवितालाई प्राथमिक तहमा पढ्ने विद्यार्थी, अक्षर नै नचिनेको गोठालो, मेरी गृहिणी आमा, सबै सबैले बुझुन् । मेरा लागि कविता जिन्दगीको लय हो, आत्म सन्तुष्टि पनि हो । म मेरो कविताहरूको माध्यमबाट मानिसका जिन्दगीका फरक शैली, विषयवस्तुमाथिको धारणालाई दुनियाँले बुझोस्, र फरक धारणालाई पनि सहजै आत्मसाथ गर्न सकोस् भन्ने चाहन्छु ।
२.वस्तुतः कवित्वलाई दुर्लभ मानवीय गुण मानिन्छ । तपाईँमा यो गुण कसरी आयो ? सँगसँगै, तपाईँको लेखनको मूल स्रोत के हो ? लेखनतर्फ तपाईँको अभिरुचि कसरी बढ्यो ?
कवितालाई आत्मसाथ गर्न सकूँ भन्ने चाहन्छु । म धार्मिक परिवारमा हुर्किएकी हुँ । बुबाले सधैँजसो रामायण, गीता, महाभारत पाठ गर्नुहुन्थ्यो/गर्नुहुन्छ । बुबाले वाचन गर्नुभएका ती श्लोकहरूप्रति मेरो झुकाव सधैँ रहिरहने छ, तिनै पाठहरू सुनेर हुर्किँदै गरेकी मलाई लयमा लेख्न खुब मन पर्थ्यो । अझै पनि लेख्छु । समय बित्दै जाँदा मलाई लय वा छन्दले भन्दा गद्यको आकर्षण बढेको अनुभव हुन थालेपछि म गद्यमा पनि तानिएकी हुँ । छन्दमाथि मेरो समर्थन छँदैछ । म सकेसम्म महिलाहरूको आवाजलाई अलि माथि उठाऊँ भन्ने उद्देश्यले लेख्ने गर्छु । यो मेरो व्यक्तिगत चाहना हो, थाहा छैन कतिसम्म न्याय गर्न सक्छु ? जुन अभिरुचि बढ्ने कुरा छ, मलाई लाग्छ मान्छेमा कुनै कुराको लत बसेपछि त्यसप्रतिको अभिरुचि स्वतः बढ्दै जान्छ ।
३.तपाईँले लेख्नुभएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? त्यो रचना उपलब्ध हुन् सक्छ ?
यसको रमाइलो कथा छ, कक्षा दुईमा पढ्दा गुरुले “सियो खोइ सियो पाठ पढाएपछि कविता प्रतियोगिता गराउनुभयो- कक्षाभित्रै । सबैले भाग लिनुपर्ने नियम थियो, मैले पनि भाग लिएँ । कविता सुनाएपछि मैले पुरस्कार स्वरूप रु. ५ पाएकी थिएँ । कविताको टुक्रा यस्तो छ:
मेरो कलम कस्तो छ ?
सारै राम्रो जस्तो छ,
घुम्न जाँदा किनेको,
हातमा बोकी हिँडेको ।
लेख्छु म त कापीमा,
राख्दिन के बेन्चिमा,
नलैजाऊ है साथी,
गाली खान्छु राती ।
४.नेपाली कविताको पछिल्लो प्रवृत्तिबारे तपाईँलाई बोल्ने मुड छ ? कविताको स्तर खस्किएको आरोप लागिरहेको छ, के त्यसो हो ? आजको सेरोफेरोलाई तपाईँ कसरी नियाल्नुहुन्छ ? गजलतर्फ पनि मेरो इशारा रह्यो ?
कविताको पछिल्लो प्रवृत्तिबारेमा बोल्ने भन्दा हामीले आफ्नो ठाउँबाट कविता चाहिँ लेखिरहनुपर्छ भन्ने लाग्छ । हरेक कुराका सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन्, एउटापछि अर्कोको पालो आउँछ नै । कविताको स्तर खस्किएको जुन कुरा छ, यसमा चैँ मलाई लाग्छ- हामी पछिल्लो समय पुरानाभन्दा नयाँ कविहरूका कविता पढिरहेका छौँ, सुनिरहेको छौँ, सामाजिक सञ्जालहरूमा पनि नयाँ कविहरूलाई अलि बढी सक्रिय देख्न पाइन्छ (म आफू पनि नयाँ नै हो) । हरेक कुराहरू पुरानो हुँदै जाँदा निखारिँदै, खारिँदै जाने हो । निखारिएर आएका सिर्जनाहरू धेरैलाई मन पर्नु स्वाभाविक पनि हो । आशा गरौँ, कविताको स्तर फेरी माथि उठ्ने नै छ । बस् लेखिराखौँ- निरन्तर.. निरन्तर.. ।
५.पुस्तक छनोटको आधार केलाई बनाउनुहुन्छ ? पढेकामध्ये सबैभन्दा मनपरेको पुस्तकहरू कुन-कुन हुन् ? तपाईँको ‘प्रिय पुस्तकहरू’को सूची शाश्वत एवम् सनातन छन् ? छन् भने ती कन–कुन हुन् ?
खास मेरो पुस्तक यसरी छनौट गर्ने भन्ने विशेष आधार त छैन, चलेका पुस्तकहरू समयले साथ दिएसम्म पढ्ने बानी छ । फेरी बजारमा चलेका सबै पुस्तकहरू उपलब्धिमूलक छन् भन्ने ग्यारेन्टी पनि छैन । नामै नसुनेका लेखकहरूको पनि केही पुस्तकहरू राम्रा छन् । मनोरञ्जनका साथै सकारात्मक सन्देशमूलक साहित्य नै ‘असली साहित्य हो’ भन्ने मलाई लाग्छ । र, मलाई मन परेका पुस्तकहरू पनि यसैको पेरीफेरीमा पर्दछन् ।
६.अब के पढ्ने योजना छ ? तपाईँको हातमा अहिले कुन पुस्तक छ ?
अहिले म मुनामदनको अङ्ग्रेजी अनुवाद पढिरहेकी छु । यसको अनुवाद चाहिँ झमक प्रसाद शर्माले गर्नुभएको छ । यो सकिएपछि धनश्याम कँडेलको धृतराष्ट्र पढ्ने योजनामा छु ।
७.नेपालमा पठन संस्कृति विकासका लागि कत्तिको प्रयासहरू भइरहेको भेट्नुहुन्छ ? त्यस्ता प्रयाससँग सन्तुष्ट हुनुहुन्छ ? पठन संस्कृति विकास गर्न के गर्नुपर्ला ? पुस्तकबारे भइरहेका बहस एवं महोत्सवहरूबारे बोल्ने मुड छ ?
पठन संस्कृतिको कुरा जुन छ, सबैभन्दा पहिले यो पाठक स्वयंले विकास गर्नुपर्ने हो । सम्बन्धित क्षेत्रहरूबाट पनि केही न केही प्रयासहरू त भइ नै रहेका छन् । सकेसम्म राम्रा पुस्तकहरूको मात्र प्रचारप्रसार भइदिने हो भने पनि पठन संस्कृतिको विकास हुन्थ्यो कि भन्ने मलाई लाग्छ ।
पुस्तक प्रकाशनमा भन्दा बढी मिहेनत लेखन र पठनमा गरिनुपर्छ । पुस्तकलाई नै मुख्य आधार बनाएर हुने प्राय बहस एवं महोत्सव मेरा निम्ति ठीक छन् । फुर्सद मिलाउन सक्ने हो भने ती कार्यक्रमहरू उपलब्धिमूलक नै हुन्छन् ।
८.साहित्य लेखनमा महिलाको उपस्थिति पुरुषको तुलनामा कम देखिएको त होइन तर चर्चा चाहिँ कम भइरहेको हो की जस्तो पाउँछु, किन होला ? वर्तमान नेपाली समाजले महिलाबाट के अपेक्षा गरिरहेको छ ? र, नेपाली महिलाले समाजबाट के अपेक्षा राख्ने ?
हजुरले भनेजस्तै साहित्य लेखनमा महिलाको उपस्थिति कम भएको त होइन तर चर्चा कम भइरहेको कुरा भने साँचो हो । एक त महिलाहरूलाई घर व्यवहारबाट समय निकालेर लेख्नै कठिन छ । साहित्यिक कार्यक्रमहरूमा सामेल हुने, सक्रिय हुने महिलाहरूलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा परिवर्तन नभइसकेको मेरो ठम्याई छ ।
त्यसमाथि हामीले राम्रो मान्ने, राम्रो लेख्ने भनिएका थोरै बाहेकका पुरुष साहित्यकारहरूमा पनि हामी (महिला) हरूमाथिको हेराई एकदमै सङ्कुचित लाग्छ मलाई । महिला भएर अगाडि बढेको देख्न गाह्रो मान्ने हाम्रो पुरुष प्रधान समाजका कारण हामीलाई चर्चामा आउन अत्यन्तै कठिन र आइहाले पनि जोगाएर राख्नै गाह्रो छ । हजुर आफैँ पनि कल्पना गर्न सक्नुहुनेछ कि एउटै साहित्यिक कार्यक्रमबाट फर्किएका श्रीमान् र श्रीमतीलाई परिवारले हेर्ने दृष्टिकोण ।
९.‘सुन्दरतालाई महिलासँग मात्र जोड्नु हाम्रो कमजोर मानसिकता हो’ भन्नुभएको छ । महिला सशक्तीकरणको नाम दिएर हुँदै आएका सुन्दरी प्रतियोगिताहरूलाई कसरी हेर्नुहुन्छ ? या अझ यसरी सोधौँ, साहित्यमा लेखिँदै आएका तमाम-तमाम सुन्दरताका बिम्ब-प्रतिबिम्बबारे तपाईँलाई बोल्ने मुड छ ? कवि लेखकहरू आफ्नो प्रेमिकालाई ‘परी’ र आमालाई ‘ईश्वर’ बनाउन लागिपरेर ज्यादा रोमान्टिसाइज त गरिरहेका होइनन् ? महिलाको वास्तविक इस्यू यसैकारण किनाराकृत भइरहेको हो ? या अरू पनि केही कारण देख्नुहुन्छ ?
झल्लु जी, हरेक कुराका सुन्दर पक्षहरू हुन्छन् । पानी परेर खुलेपछिको आकाश हेर्नुस्, सूर्य उद्याउँदै गरेको बिहान हेर्नुस्, निथ्रुक्क भिजेर हलो जोतिरहेको एउटा कृषकलाई हेर्नुस्, के यी कुराहरू हामीलाई सुन्दर लाग्दैनन् ? नारीले पहिरिएका फरिया र चोलोलाई सुन्दर देख्ने आँखाले कुनै पुरुषले पहिरिएको दौरा सुरुवाललाई पनि त सुन्दर देख्छ नि ।
सुन्दरी प्रतियोगिता आफैँमा नराम्रो होइन किनकी कुनै पनि सुन्दरी प्रतियोगितामा सुन्दरतालाई मात्र आधार मानिएको छैन; यसमा ज्ञान, बुद्धि र विवेक, विचारका कुराहरू पनि गाँसिएका छन् तर सुन्दरतालाई बडी प्राथमिकतामा राखिएको भने सही हो र यसो गर्नु चाहिँ सरासर गलत हो भन्ने मलाई पनि लाग्छ ।
साहित्यमा सुन्दरताका बिम्ब प्रतिविम्बहरू प्रयोग हुनु अत्यन्तै राम्रो कुरा हो । पुरानो साहित्यलाई नियाल्ने हो भने ‘सुन्दर भनेकै महिला हो’ भन्ने खालको धारणा बुझ्न सकिन्छ । आज त हामी साहित्यको नयाँ युगमा हिँडिरहेका छौँ । सुन्दरताको दृष्टिकोणलाई हामीले फराकिलो बनाउनु जरुरी छ ।
मेरो प्रेमीको आँखामा म जुन, घाम जस्तो देखिन्छु भने ऊ पनि त मेरो नजरमा आकाश जस्तै फराकिलो हुन सक्छ, हावाले जस्तै शीतलता दिन सक्छ । त्यसैले मलाई लाग्छ सुन्दरताको दायरालाई हामीले फराकिलो बनाउनुपर्छ ।
१०. घनश्याम खड्का भन्नुहुन्थ्यो, ‘बालापनको अनुभव नहुँदै जीवनमा यौवनले चियाउँछ, यसको मज्जा नलिँदै बुढ्यौली भाँजो हाल्न आइपुग्छ र जीवन कतै शून्यमा बिलाएर जान्छ ।’ यतिखेर प्रविधिको विकास र विश्वव्यापीकरणको प्रभाव पनि बढ्दो छ, यसबीच मानवको अस्तित्वलाई तपाईँ कसरी निहार्नुहुन्छ ? तपाईँका लागि जीवन के हो ?
‘’मेरो पुरानो घाँघरको बटन कसरी हराएछ,
आँखै अगाडी मबाट बचपन कसरी हराएछ ।”
हो त नि, हेर्नुस् न, म कक्षा एकमा पढ्दा खेलेको खेलहरू ,४/५ कक्षामा पढ्दा खोलामा पौडी खेलेका कुराहरू मेरो मानसपटलमा घुमिरहन्छन् । ती कुराहरू हिजो भर्खरका त हुन जस्तो लाग्छ तर वर्षौं पुरानो भइसके । हिजोका कुराहरू सम्झिँदासम्झिँदै आजले पनि नेटो काट्नै लागिसक्यो ।
प्रविधिको विकास यसरी भयो कि यो सिङ्गो ब्रह्माण्ड एउटा सानो घर बनिदियो । यो प्रविधिसँग हामी यसरी नजिकिएका छौ कि, सामाजिक सञ्जालको प्रयोग गर्न नजान्ने आमालाई पनि हामी फेसबुकमा जन्मदिनको शुभकामना दिन्छौँ । यस अर्थमा हेर्दा हामी सही तरिकाले प्रविधिको प्रयोग गरिरहेका छौँ जस्तो लाग्दैन, बरु लाग्छ- हामीहरूबीच मानवताको दूरी घटिरहेको छ ।
जीवन यही हो भनेर परिभाषित गर्न सकिने कुरा होइन बरु हाम्रो जीवनका भोगाइहरू चाहिँ उस्तै हुँदैनन् । हामी आज जे-जस्तो, जसरी भोगिरहेका छौँ, यही नै वास्तविक जीवन हो ।
११.एउटा रमाइलो प्रश्न, तपाईँलाई मनपर्ने खेलहरू के-के हुन् ? बचपनतर्फ एकचोटी पुगेर फर्किनुहोस् न । तपाईँले पब्जी खेल्नुभयो ?
मलाई असाध्यै मन पर्ने खेल कबड्डी हो, सानो छँदा खुब खेलिन्थ्यो । अहिले पनि साथीहरू भए, मिले खेलौँ जस्तो लाग्छ । गट्टा, चुङ्गी खेल्नु, बिदाको दिन आफूजस्तै साथीहरूसँग उफ्रिँदै बाख्रा चराउनु नै मेरो दिनचर्या बन्थे ।
फुटबल पनि मेरो रोजाइको खेल हो । मैले खेल खेल्ने बेलातिर पब्जी त थिएन, यसको सट्टा अरू खेलहरू खेलेँ तर आजभोलि चाहिँ भाइबहिनीहरूले खेलेको देखेर म पनि कहिलेकाहीँ पब्जी खेल्छु ।
१२.अन्त्यमा, पढ्नै पर्ने कवि एवं गजलकारहरूबारे बोलिदिनुहोस् न । तपाईँले भर्खरै पढी सिद्ध्याउनुभएको कविता, गजल सङ्ग्रह ? उक्त पुस्तकहरूको पठन अनुभव कस्तो रह्यो ?
हामीले नेपाली साहित्यमा वि.पी. कोइराला, पारिजातदेखि लिएर पछिल्लो समयका नयाँ साहित्यकारहरूलाई पनि पढ्नुपर्छ जस्तो लाग्छ ।
कविताको कुरा गर्दा पछिल्लो पटक लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको अङ्ग्रेजी अनुवाद पढे भने, गजलसंग्रहमा अमला अधिकारीको गजल सङ्ग्रह पढे ।
म सबैलाई अनुरोध पनि गर्न चाहन्छु कि पढ्ने बानीको विकास गरौँ, निरन्तर साहित्य साधना गरौँ । हल्लाहरूलाई मनन गरौँ तर अनावश्यक हल्लाको पछाडि नलागौँ । धन्यवाद ।
प्रस्तुत छ, रोजिना पराजुलीका तीन कविताहरू:
१.विवशता
हिमालको माया नभएर
मेरो श्रीमान परदेशिनुभएको होइन
माटोको विश्वास नभएर उहाँले
देश छोड्नु भएको होइन
लालीगुराँसको प्यार नबुझेर
आमाको मातृत्वलाई कुल्चिएर
संगिनीको सामीप्यता लत्याएर
मेरो श्रीमान भौतारिनुभएको होइन
हो त केवल
तिमीले थमाएको डिग्री पासको
सर्टिफिकेटले तिम्रै
महङ्गी किन्न नसकेर
हो त केवल
चट्टान झैँ ती बलिया पाखुराहरू
स्वाभीमानी टोपी लगाएको
तिम्रो लाचार शिरमाथि
पछार्न नसकेर
अझै हो
मेरो आँसुले भिजेको
यी खेतका गह्राहरूमा
उमार्ने अन्नका दाना नभएर
उहाँले जमिन छोड्नुभएको हो त,
आमाको च्यातिएको च्यादरबाट
देखिने तिम्रै देशको नक्सा
जोगाउन नसकेर ।
ओ सरकार
म न्यायालयको कठघरामा उभिएर
परदेशी भूमिमा श्रम बेचिरहेका
मेरै श्रीमानको कसम खाएर भन्न सक्छु
गर्भमा हुर्किरहेकी सानी छोरीको
कसम खाएर भन्न सक्छु
अझै भन्छौ भने
तिमीले छुन दिएका
हरेक चीज वस्तुहरू छोएर भन्न सक्छु
तिमी सिउँदोमा लालीगुराँसको
रङ पोतिएकी तिम्री सुकुमारी
श्रीमतीको यौवन बेचेर
बाँचिरहेका छौ
जुगल हिमाल झैँ मुस्कुराइरहेकी
आमाको ओठ बेचेर
रमाइरहेका छौ
ओ सरकार,
तिमी मेरो श्रीमान जस्ता
हजारौँ श्रीमानहरूको
रगतले मोटाइरहेका छौ ।
२.शिर्षक: कुमारी आमा
मलाई लाग्दैन यो सतीले सरापेको देश हो
बरु लाग्छ देशसँग सतीको दुस्मनीभन्दा पनि
देशको सतीहरूसँगको प्यार बहुत छ
हो म त्यही सती मध्य एक हुँ
जो देशले दिएको माया अँगाल्न नसकेर
बारम्बार मरिरहेछु
घरी निर्मला बनेर, घरी शारदा बनेर,
घरी कुन्ती बनेर, घरी योगमाया बनेर
घरी मेरै आमाको एक अंश बनेर
दिनदहाडै बेचिन्छ मलाई, दिनदहाडै बलात्कृत हुन्छु म
र हिँड्छु घाइते घाँघरको फेरोबाट
चुहाउँदै चुहाउँदै
लालिगुराँसको रङ
बनाउँदै बनाउँदै त्यही रातो रङले
देशको नक्सा
म हिँडिरहेछु निरन्तर निरन्तर
सहीद हिँडेको बाटो ।
मलाई चिच्याएर रुनको खातिर
अँध्यारो हुनै पर्दैन,
म हरेक उज्यालोहरूमा निस्पट्ट कालो बाँचिरहेछु,
लाटोकोसेरो रातमा बिउँझिए जस्तो
म खोजिरहेछु आफ्नै जीवनको लालपुर्जा
र हेरिरहेछु मझेरीमा धिपधिपाइरहेको दियो
अनि सम्झिरहेछु मेरी आमाको इतिहास ।
निर्मम हलीले बुढो गोरु पिटे झैँ
बाले आमालाई पिटिरहँदा
ढोकाको दुई खापा जोडिएको
सानो प्वालबाट
आमाको आँखामा उर्लिएको गण्डकी
हेर्न मात्र सक्छु म रोक्न सक्दिन
किनकी आमा गण्डकी हुन भने
मेरा बा समुन्द्र हुन्,
मलाई थाहा छ समुन्द्रले गण्डकी छोपे जस्तो
गण्डकीले समुन्द्र छोप्न सक्दिनन् ।
साँच्चै म,
यौवनले स्पर्श गरेको थाहा नहुँदै
छातीमा
दुईवटा थुम्काहरू राम्ररी उम्रन नभ्याउँदै,
अझै भनौँ यौनको परिभाषा जान्न नपाउँदै
गर्भिणी भएकी छु
मलाई यति पनि थाहा छैन
तराईका फाँटहरूमा मार्सी धान झार्दै गर्दा म गर्भिणी भएँ ?
पहाडका टाकुराहरूमा हर्के काकासँग गाई चराइरहँदा म गर्भिणी भएँ ?
या हिमालको चि…..सो सिरेटोले मेरो फक्रँदो यौवनलाई स्पर्श गर्नेबित्तिकै म गर्भिणी भएँ ?
तर मलाई जरुर थाहा छ
यो यस्तो देश हो जहाँ
पाईलापाईलामा पर्खिएका हुन्छन् बलात्कारी नजरहरू
गिद्धे औँलाहरू, हृदयविहीन स्तम्भहरू
यही परिवेशबाट मैले एउटा धमिलो वाक्य कोरेकी छु
आखिर यो देश भन्नु नै पुरुषहरूको जमात न रहेछ
सम्झन्छु त्यो दिन
आकाश मडारिएर परेको वर्षा
म रोएर झरेको आँशु
प्रकृति रिसाएर चम्किएको बिजुली
म आफैँभित्र हारेर बगेको रगत
रगत र आँसुले मिश्रणले निथ्रुक्क
भिजेको मेरो कलिलो घाँगर
उ…. फ… मेरो बालापन ।
ए बुद्ध, सगरमाथा, ए झण्डा, सुस्ता, कालापानी
लालीगुराँस, काली, गण्डकी सबै सबैले सुन
अझै सुन आफुलाई विवेकशील ठान्ने ए मूर्ति स्तम्भहरू
म मेरो सन्तानलाई
लिम्पियाधुरामा लगेर उभ्याउनेछु
जसले गर्नेछ सिमानाको वकालत
उसले जोगाउनेछ आमाको फरिया
उसले बुझ्नेछ माटोको चरम अस्तित्व
र पढाउनेछ तिमीलाई गुप्तांगको परिभाषा
मलाई विश्वास छ त्यही दिन तिमीले
रोस्टममा उभिएर भन्नेछौ
अबका दिनहरूमा कुनै पनि
छोरीले बन्नुपर्ने छैन
कुमारी आमा ।
३.सुन्दरता
सुन्दर हुनु भनेको आँखाभरि गाजल
ओठभरि लाली
सिउँदोभरि सिन्दूर भर्नु होइन
सुन्दर हुनु भनेको
भएको दाँत छोपेर
मुसुक्क मुस्कुराउनु
झुकाएपछि शिरमाथि उठाउँदै नउठाउनु
यो समाजले ओढाइदिएको
स्वाभिमानको घुम्टो ओढेर
अन्याय र अत्याचारलाई
पैतालाले कुल्चिनु होइन ।
सुन्दर हुनु भनेको
यो ब्रह्माण्डलाई खुल्ला हृदयले स्विकार्न सक्नु हो
सभ्यता र संस्कृतिलाई अँगालोमा बेरेर
आफूसँग जोडिएका हरेक चीज, वस्तु र व्यक्तिमा
सकारात्मक भावनाको सम्प्रेषण गर्नु हो
सुन्दरताको कुनै लिंग हो
यसलाई महिलासँग मात्र जोड्नु
हाम्रो कमज़ोर मानसिकता हो
फूलको आँखाले हेर्नुस् यो संसार सुन्दर देखिन्छ
काँडाको आँखाले हेरे गुलाबमा पनि धार हुन्छ ।
-रोजिना पराजुली
लेखक परिचय
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।