झापा धुलाबारीकी बिनिता रत्न कविता लेखनमा निरन्तर लागिरहेकी छन् ।
प्रस्तुत छ, शब्द सोपानका लागि राजु झल्लु प्रसादले तयार पारेको समाग्री : बिनिता रत्नसँग कविताका कुरा
१.कविता के रहेछ ? कवितालाई जटिल हुनुपर्दछ भन्नेहरू पनि छन् र सरस हुनुपर्दछ भन्ने पनि । कविता कस्तो हुनुपर्दछ ? र, मलाई बडो सोध्न मन लागेको, तपाईँ कविता किन लेखिरहनुभएको छ ?
कविताका परिभाषा त अनेकौं छन् । साहित्यमा रुचिराख्ने तर कविताको परिभाषासँग परिचित छैन म । कविता विद्याको आजिवन विद्यार्थी भन्न रुचाउँछु । त्यसैले ठ्याक्कै यही रहेछ भन्न सक्ने अवस्था रहेन ।
कवितासँग भर्खर खेल्न सिक्दैछु । कविता रोग, भोक, शोक, गाउँ, सहर, राजनीति अटाउने भकारीजस्तै लाग्छ । भुत, वर्तमान र भविष्यको भोगाई, दुखाई अनुभव साट्ने माध्यम मध्येको एक माध्यम हो कविता । जहाँ माया मोह, मिलन, विछोड, प्रेम, घृणा, रिस-राग, आलोचला र संश्लेषण आदि पाइन्छ । अर्को शब्दमा भन्ने हो भने जीवन नै कविताको मुख्य श्रोत हो ।
कविता कस्तो हुनुपर्छ भन्ने सवालको जवाफको ठ्याक्कै नआउन सक्छ । मैले माथि नै भनिसकेकि छु- म कविता लेख्न भर्खरै मात्र सिक्दैछु । यो विषयको आजिवन विद्यार्थी । तर कविताको माध्यमबाट सचेतना फैलाउन समाज रुपान्तरण गर्ने सूचना प्रवाहह गरिनुपर्दछ भन्ने लाग्छ । यसको पनि आ-आफ्नै परिभाषा हुन सक्छ । यही हो भनेर किटान गर्न म असमर्थ छु । कविताको कलात्मक बिम्बमा बोल्ने अन्तिम सत्य नै प्रेरणादायी मार्मिक हुनुपर्छ भन्ने लाग्छ ।
कविता किन लेखिरहनुभएको छ भन्नुहुन्छ भने मसँग यसको पनी तार्किक जवाफ छैन । शब्दकोषका शब्दसँग एकदमै कम परिचित छु ।
यसो भन्न सकियो- शब्दहरूसँग चिनाजान बढाउन । आफ्नै चिन्तनको डिग्री बढाउन र समाजमा भएका बेथिती, रुढीवादी परम्परा घटना-परिघटनालाई शब्दकै साहारा लिएर शब्दलाई उतार्ने गर्छु ।
२.वस्तुतः कवित्वलाई दुर्लभ मानवीय गुण मानिन्छ । तपाईँमा यो गुण कसरी आयो ? सँगसँगै, तपाईँको लेखनको मूल स्रोत के हो ? र, लेखनतर्फ तपाईँको अभिरुचि कसरी बढ्यो ?
यस विषयमा पनि मेरो तार्किक जवाफ तयार छैनन् । किन भन्नुहुन्छ भने मसँग साहित्य लेखाइ र बसाईको मिति सीमित छन् । समयसँगै आउने अर्को एकाई हुनुपर्छ मेरो विचारमा ।
मान्छेमा भएका गुण-अवगुण कसले कसरी अभिव्यक्त गर्दा कसरी आकर्षित गर्छ भन्ने कुरा अलिबढी महत्त्व राख्दछ, सायद यसैले दुर्लभ गुण मानिएको हुनसक्छ ।
कविताहरू लेख्नु अघि केही फ्री-राईटिङ् लेख्ने गर्थेँ । मेरो सानो प्रयासले स्याबासी र धेरै हौसला पाएँ । त्यसैको फलस्वरूप: कविता पनि लेख्न सुरु गरेँ । सामान्यतया हरेक मान्छेमा कुनै एक विशेष गुण हुन्छ नै । त्यो गुण थोरबहुत ममा पनि हुनुपर्छ । त्यसैले लेखिरहेकि छु ।
मलाई समस्याले झक्झकाएको हुनुपर्छ । जबजब समाजमा अनेकौ घटना घट्दै गए, त्यसमा मेरा मलिन स्वरहरू उठ्नथाले । म बोल्न सक्ने, चिच्याउन सक्ने, लेख्न सक्ने थिएँ । त्यसैले खराब प्रवृत्तिमाथि प्रश्न उठाउदै गर्दा अब बोल्नै पर्छ लेख्नै पर्छ भन्ने भान भएपश्चात केहि न केही लेखिरहेकी छु ।
३. तपाईँले लेख्नु भएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? त्यो रचना उपलब्ध हुन् सक्छ ?
अवस्य पनि । कविताको सम्झनाको पहिलो गाँठ यसै कविताबाट नै सुरु हुन्छ । चित्त दुख्नलाई मेरै शरिर चाहिएको थिएन । म बेस्सरी चिन्तित थिए । त्यो घटनाभन्दा अघि नदुखेको हैन तर दुखाईको सिमा पार गरेको हुनपर्छ । जब सम्झनारुपैयाँ गुलाबका कहालिलाग्दा घटनाहरू बारबार दोहोरिएर आए । ती कलिला नमुनाहरू चुडिएको देख्दा एकदमै गाह्रो भएको थियो । मैले आफूलाई पनि सुरक्षित पाईनँ ।
एकथान यौनीले मेरो मृत्यु बोकेर हिँडेको रहेछ । पटक-पटक यस्ताघटनाले हिर्काइरहनु र मैले सहिरहनु यी दुबै गलत लाग्न थाल्यो । त्यसैबीच समाजसँग मेरा प्रश्नहरूको जवाफ मागिरहेकी थिएँ ।
कविता यसरी सुरु हुन्छ;
छोरी भइ जन्म लिएकोमा
म खुशी होऊँ कि दु:खी आमा ?
तिम्रो त्यो असीम प्यारले
हुर्किएकी म
अनि मजस्ता कैयन छोरीहरू
कतिन्जेल यी गिद्द भोकाहरूको
आखाको गिद्दे हेराइ हुँदै
मुखको र्याल बन्दै निलिनु ?
यस्तो सोच्छु कुनै बेला-
एक थान शरीर धेर भो मलाई
यो अरुले लुछ्ने शरीर
अरुले निचोर्ने शरीर
अरुले नै च्यात्ने र चिथोर्ने शरीर !
मलाई असीमित तागत देऊ आमा
मलाई छुनासाथ
करेन्ट लागेर ढलुन गिद्दहरू
मेरो शरीरमा हात राख्नासाथ
हात कुहेर झरोस्
छोरीलाई बलात्कार गर्ने
पुरुषको बर्बर हतियार
सुतेको सुतै गरोस निद्रामा !
कि त जन्माऊ लडाकु छोरी
मेरी आमा
गिद्द देख्नासाथ सर्पझैँ गुडुल्किने
अवला छोरीहरू नजन्माइदेऊ !
म अहिले पीडामा छु एक्दम पीडित
सास र लासको दोभानमाझैँ !
यो एक थान कलिलो योनीमा
हारालुछ छ दर्जनौको
अर्कोतिर
भर्खरै आकार लिन थालेका
मेरा स्तनहरूमा
मुख गाडिरहेछन् बालकझैँ !
म तिमिलाई गुहारीरहेकि छु आमा
आमा..आ….मा आ….मा
पारी पहराबाट प्रतिध्वनी सुनिन्छ
तर तिमीले सायद सुनिनौ आमा !
आमाहरू हो, आमाहरू
मेरो सरकार भने पनि तिमीहरू
न्यायधीश भने पनि तिमीहरू
मेरो संस्कार भने पनि तिमीहरू
कृपया मेरो चित्कार सुनिदेऊ
अव उप्रान्त यो धरतीमा
एउटा पनि बलात्कारी नजन्माइदेऊ !
कविता पाठकहरूकहाँ थोरबहुत केही सन्देश लिएर गयोझैँ लाग्यो । कविता पोस्ट पनि गरियो । त्यहाँको उर्जाशील कमेन्टले मलाई झन् धेरै हौसला मिल्यो । तत्पश्चात कविताकै माध्यमबाट पनि प्रश्न गरिरहेकी छु कि झैँ लाग्नेगर्छ ।
४.नेपाली कविताको पछिल्लो प्रवृत्तिबारे तपाईँलाई बोल्ने मुड छ ? कविताको स्तर खस्किएको आरोप लागिरहेको छ, के त्यसो हो ? आजको सेरोफेरोलाई तपाईँ कसरी नियाल्नुहुन्छ ?
कवितामा स्पष्ट वर्ग पक्षधरता हुन्छ सायद ।
मेरा कविता सरल नै छन् । तपाईँले कुन वर्गको कविताको स्तर खस्केको भन्नुभएको हो, स्पष्ट भएन । तर हाल नेपालीमा प्रगतिशील कविता क्षेत्रमा उत्साहजनक प्रगति भएको पाएको छु । निराशाजनक जस्तो लाग्दैन ।
अहिलेको समय घटना बिक्ने समय हो । यहाँ घटनाहरू कविता, गजल, मुक्तक, आर्टिकल, युटुबमा कैद छन् । गलत छन् पनि भन्न सक्ने अवस्था छैनन् र सहि छ भन्न सक्ने अवस्था पनि छैन । यसैलाई खस्किएको भन्नु भएको पो हो कि ?
५.अब के पढ्ने योजना छ ? तपाईँको हातमा अहिले कुन पुस्तक छ ?
अब मलाई अझै मज्जासँग समाज र राजनीति पढ्न मन छ । अवस्थाले निम्त्याएको विवशताको यो निराशाजनक लाजनीतिको उपचार कसरी गर्ने ? समतामूलक समाजको निर्माण कसरी गर्ने ? समाजवादी व्यवस्था कसरी ल्याउन सकिन्छ ? यिनै विषयमा केन्द्रित भइ अध्यन गर्दैछु ।
मसँग यतिबेला आहुतिले लेख्नुभएको ‘नेपालमा वर्णव्यवस्था र वर्ग-सङ्घर्ष’ नामक पुस्तक छ । र पढ्दै छु ।
पढ्दै गरेको हुनाले अध्यन कम छन् । त्यसैले धेरै लेख्न सकिएन । तर विश्वक्षेत्रीय, राष्ट्रिय, जातीजातीय, वर्गिय, परिवारिक र व्यक्तिगत इतिहासको वर्तमान क्षणमा हामी सम्पूर्ण नेपालीहरूले यो पुस्तक पढ्नैपर्छ भन्छु ।
हजारौं वर्ष अघिका वर्ण व्यवस्थाभित्र भएका काला संस्कृति र परम्परा कसरी आए र लादिए यस पुस्तक भित्र उल्लेखित छन् ।
६. साहित्य लेखनमा महिलाको उपस्थिति पुरुषको तुलनामा कम देखिएको त होइन तर चर्चा चाहिँ कम भइरहेको हो कि ? वर्तमान नेपाली समाजले महिलाबाट के अपेक्षा गरिरहेको छ ? र, नेपाली महिलाले समाजबाट के अपेक्षा राख्ने ?
हजुर, तपाईँले भने जस्तै साहित्य लेखनमा महिलाको चर्चा कम भएको होइन बरू लेखनमै महिलाको उपस्थिति कम भएको हो । किनकी हामी बाचिरहेको यो संरचना अझै पुरुष प्रधान छ । त्यसैले यहाँ चाहेजती महिलालाई लेख्ने-बोल्ने प्राधिकार छैन । डर छ, त्रास छ ।
महिलालाई अझै पनि टिपिकल घर चलाउने जिनिस भनेर बुझिन्छ । अझै खुलेर बाहिर निस्किन नसक्नु, परिवार र समाजको भय देखाएर लडाउने भइरहेको छ । तर पछिल्लो समय यो घेरा केहि महिलाले तोड्न सफल भएका छन् । तिनै लेख्ने-बोल्ने अपवाद महिलाहरू मध्ये हामी पर्छौँ ।
भन्नलाई त साहित्य लेखनमा महिलाको उपस्थिती औँलामा गनिने हुनुन्छ पनि भन्नुहुन्छ तर त्यसो पनि हैन । खासमा सामाजिक वृत्तमा महिला उपस्तिथि नै कम भएको हो । यी सब मान्छेको चेतनाभित्रका कुराहरू हुन् । कोही पुरुष भएकै आधारमा सबल छन् र कोही महिला भएकै आधारमा दुर्बल छन् । यो साघुरियताको मापदण्ड पनि पुरुषबाट प्रतिपादित छन् । यसमा समय सापेक्ष विराम लगाइनेछ ।
अझै पनी नेपाली समाज पितृसत्ताबाट कुण्ठित छ । जगजाहेर छ, यो संस्थाले महिलाईलाई रोक मात्र लगाउछ । लजाउन, डराउन सिकाउछ । संस्कारी बन्न सिकाउछ । महिला लगातार पितृसत्ताको प्रतिपक्ष हो । अब त्यो संस्कार दहन गरेर २१औं शताब्दिको महिला बन्न चाहान्छन् र सोही वातावरणको अपेक्षा गर्छन । फूलजस्तै, सीताजस्तै, द्रौपतीजस्तै बन्न छाडेर लडाकु बन्न, क्रान्तिकारी बन्न आफ्नो हितका लागि हिम्मतकासाथ अघि बढ् भन्ने शिक्षाको अपेक्षा गरेको छ । आजको समाजले या भनौ हाम्रो पुस्ताले ।
अब अन्य मुद्दासँगै महिला विषयलाई वर्ग सरहकै घनत्व सरह उत्पीडनको विषयका रुपमा संश्लेषण गरिनुपर्दछ । महिलासम्बन्धि गुणात्मक नयाँ नीतिहरू अघि सारिनुपर्दछ ।
७.तपाईँले कवितामा भन्नुभए सरह नै ‘सरकार मृत्युको नग्न नृत्यमा मग्न नै छ !’ कोरोना कहरबीच तपाईँ आफ्नो दिनहरू कसरी नियालीरहनुभएको छ ? वर्तमान राजनीतिक सिनारियोलाई लिएर केहि बोल्ने मुड छ ?
ठिक यतिबेला सरकारले नग्नताको एकाई नापेर देखाईरहेको छ । भुईँमान्छेलाई कहरको गन्जगोलभित्र साघुरो गरी बाधेर, सरकार सत्ताको अम्मल लागेर जनताको रोग-भोक र विवशताको परिक्षण लिइरहेको छ । सरकारका हात बाधिएका छन् । सरकारको कम सामाजिक अभियान्ताले भोकाहरूको भोक मेटाइरहेका छन् तथापि भोक मेटाउन लागि परेका हातहरूलाई सरकार हतकडी लगाउन उद्द्त छ । समृद्धिका चर्को भाषणबाजी गर्ने प्रधान पदका व्यक्तिको नाङ्गो नेतृत्व छर्लङ्ग देख्न सकिन्छ । राजनीति अँध्यारो सुरुङ्ग तिर जाँदैछ ।
जनताभन्दा स्वार्थ प्रधान राजनीतिले जनमानसमा आक्रोश र घृणा पैदा गरेको छ-राजनीतिप्रति । यद्यपि राजनीतिलाई मार्ग दर्शन गर्न नयाँ विचार, नयाँ उर्जा र नयाँ शैलीको काम सानो-सानो अंशबाट भइरहेकोले राजनीतिक आकाशको कालो बादल हामीले र हाम्रै सामर्थ्यले एक दिन फटाउन सकिन्छ भन्ने विश्वास मेरो छ ।
सन् २०२० संसारका लागि त्रासको वर्ष थियो । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारकालागि विश्व नै अकल्पनीय संकटमा पर्यो । यसबीच कोरोना विरुद्ध खोप पनि तयार भए तर यस वर्ष पनि उत्तिकै आतंक मच्याएरै छाड्यो । अन्त्वतगत्त्व लकडाउन भएरै छाड्यो । फेरि थपियो भुईँमान्छेका लागी अर्को भोक र रोगसँगको चुनौती ।
यतिबेला कुनै पेशामा आवद्ध नभएका कारण घरायसी काम र सामाजिक सञ्जालतिरै व्यस्त छु । कविता, आर्टिकल पढ्ने सुविधा पाएको छु । दिन यसरी नै बितिरहेका छन् ।
पहिला खासै राजनीतिमा चासो नरहेकाले राजनीतिप्रती मधुरो बुझाई छ । तर हामी युवाले यो खराब व्यवस्थाप्रति खबरदारी गर्नै पर्छ ।
८.अन्त्यमा, पढ्नै पर्ने कवि र कविताहरूबारे बोलिदिनुहोस् । तपाईँले भर्खरै पढिसिध्याउनुभएको कविता, गजलसङ्ग्रह ? त्यो पठन अनुभव कस्तो रह्यो ?
अत्यन्तै राम्रो प्रश्न जोडिदिनु भयो । त्यसकालागी धेरैधेरै धन्यवाद ।
आदरणीय कवि बलराम तिमिल्सिनाज्यू, रसुवाली कविज्यू, कृष्ण बिश्वकर्माज्यू, सुमिनाजी उहाँहरूकै कविता सामाजिक सञ्जालबाट पढ्दै आईरहेकी छु । मसँग कविता सङ्ग्रह एवम् गजल सङ्ग्रह कलेक्सनमा छैनन् । तथापी यस्तो महामारीको अवस्थामा कुनै पनि किताबहरू नपाउने भएर विगतका वर्षदेखि नै कविता, गजल सङ्ग्रहबाट बञ्चित छु ।
समाजका समस्या कविताका माध्यमबाट प्रवाह भइरहेको छ । समाज रुपान्तरणकै लागि लेख्ने कविहरू निरन्तर लेखिरहनु हुन्छ । न्याय पनि कविताद्वारा नै मागिरहेका छौँ । यसबाट के प्रष्ट हुन्छ भने हामी समाजलाई नियालिरहेका छौ । भत्सर्ना, निन्दा गर्छौ तर यहीबात न्याय कैलागि सडकसम्म जान पनि सकीरहेका छौँ ।
प्रस्तुत छ, विनिता रत्नका तीन कविताहरू :
१.पैताला अस्तित्व
मलाई उभ्याइएकोछ
परिवर्तको कक्षा कोठामा
म सोचिरहेकी छु
कहाँबाट चढौँ परिवर्तनका खुड्किलाहरू ?
जहाँ छ
ह्वास्स गन्हाउने जात दूर्गन्ध
नदीहरू छन् रगताम्य
धर्मका गुण्डाहरू
कोर्रा बोकेर धर्म पालनाको
छ्याप छ्याप्ती गस्तीमा छन्
मानव बस्तीभित्र !
छुट्टाछुट्टै अर्थलागाउने
बेनाम थर बाडिएको छ मान्छेलाई
मान्छेलाई सग्लो बस्न दिइएको छैन
कतै टाउको मान्छे
कतै पाखुरा मान्छे
कतै कम्मर मान्छे
र कतै पैताला मान्छे बनाइएको छ !
खै मैले त कहिल्यै देखिन
दिमागमा गर्भाधान भएर
मुखबाट मान्छे जन्मेको
खै मैले कहिल्यै देखिन
ढाडमा गर्भाधान भएर
काँखीबाट बच्चा उम्रेको
खुट्टाबाट त झनै कल्पना समेत गर्न सकिन !
बिर्यको मसी र लिङ्गको कलमले
योनीको किताव र डिम्वहरूको पानामा
लेखिएको सुन्दर कविता हो मान्छे
र सबै मान्छेको रचना गर्भ एउटै हो
सबै मान्छेको श्रृष्टिद्वार एउटै हो
अनि कसरी फरकफरक अंगबाट
जन्मिन्छन् फरक फरक मान्छे ?
केही बर्ष यता मलाई घोकाइँदै छ-
‘मानिस ठुलो दिलले हुन्छ जातले हुदैन !’
यहाँ दिल नै सानो ठुलो बाँडेपछि
सबैभन्दा दिलदार पनि एउटै जातको बनाइन्छ !
म त पैताला मान्छे
तिमी टाउको मान्छेको संसारमा
मेरो पैताला अस्तित्व
तिम्रो टाउको
तिम्रो पाखुरा
र तिम्रो पेट अड्याउने
म त छुद्र पैताला
म त शूद्र पैताला
तर याद गर् श्रेष्ठ मान्छे
यो शूद्र पैतालाले टेक्न छोड्यो भने के हुन्छ ?
यो छुद्र पैताला बौलायो भने
तिम्रो टाउको कुन दिशामा यात्रा गर्छ ?
२,केही भन्नु छ मलाई !
आज पनि केही भन्नू छ मलाई
आखिर कुन भुईँ-ढुङ्गाको आडमा
उभिएको छ तिम्रो स्वर्ग ?
लगातार चुपचाप
बिना ऐया आत्था
बिना खवरदार मुर्दावाद
कोहो काँध थाप्ने डोले
तिम्रो सत्ता स्वर्गको उत्सवमा ?
तिम्रो र मेरो इतिहास एउटै
भाषा एउटै/ संस्कृति एउटै
धर्म एउटै/ ईश्वर एउटै
तिम्रो भागमा स्वर्ग नै स्वर्ग
मेरो भागमा नरक नै नरक
को हो यो दु:ख र सुखको जाली बितरक ?
तिम्रो वंश-बिज उत्तम
मेरो वंश-बिज खत्तम
तिम्रो श्रृष्टि गर्भ मुख
मेरो श्रृष्टि गर्भ पैताला
कुन काइते हो यस्तो शास्त्र लेख्ने ?
तिम्रो मूल्य सुन सरी
मेरो मूल्य घुन सरी
तिम्रो रगत रातो / गाढा रातो
मेरो रगत पनेलो पनेलो
तिम्रो रगत शुध्द / पवित्र
मेरो रगत अशुध्द/ अपवित्र
कुन विज्ञानको प्रयोगशालाले
निकालेको हो यो जाली रिपोर्ट ?
वेलुनझैँ फुलेर आकाशमा
मैमत्त उडिरहेको
ए पङ्खहीन वेलुन- मान्छे
केही भन्नु छ मलाई तिमीसँग
हावाले भरिएर फुलेको
तिम्रो अहङ्कारको कद
तिम्रो हावाको उच्चाई
एउटा मामुली सियोसँग
छ्यास्स ठोक्कियो भने के हुन्छ ?
तिमी विशालकाय वेलुन
म मामुली सियो
इतिहासको अन्तिम भिडन्त
गर्ने नै हो भने आऊ सुरु गरौं
तर सोच ए वेलुन मान्छे
त्यसपछिको परिणाम के होला
के तिमीलाई
सियोको टुप्पाको औकात थाहा छ ?
३.उत्पीडनको मूल्य कति ?
बाँकी छन केही अझै कति कति हिसाबहरू
मैले एक एक हिसाब क्लियर गर्नुछ
३३ कि ५o
हजारौं बर्षदेखिको उत्पिडनको मूल्य ?
अब मलाई सोध्नुछ
मसँग भैदिएको भए जादुजस्तो कानुन
मसँग भैदिएको भए यस्तो रंग
म पुछ्ने थिए नारीहरूमाथि लागेका
हजारौं बर्ष पुरानो धब्बाहरू , दागहरू
फोहरहरू , असमानताहरू
पुरुषभन्दा कमजोर हुन्छन् महिलाहरू ?
म यस्तो कुरा सिधै खारेज गर्छु
नारी भनेका फूल हुन् र देवी हुन
म यस्तो कुरा पनि मान्दै मान्दिन
चाहन्न म फूलजस्तै कोपिलामै निमोठिन
चाहान्न म लुछिन तिम्रा रहरहरूमा
फेरि भेटिनेछन भने
बज्यूको गाथामा
आमाको कथामा
बैनीको फ्रकमा
रगतका टाटाहरू
मलाई यस्तो दुनियाँ स्वीकार छैन ।
रचिए
महिलाहरूका कहालीलाग्दो इतिहास
जिउदै पोलिएका हाम्रो ब्यथा
नजरबन्द, छाउपडी, दहेजका कथा
स्कुल ड्रेसमा लागेका रगतका कहानी
अब मुक्त हुन्छु यी सबबाट
म एक हजार हुन्छु
म शब्दबाट आवाज हुन्छु
निर्मलाको निर्मम हत्या भएको
मनिका माटोमा बिलिन भएको
भागरथी भाग्न नसकेर
छट्पटीमै मर्नुपरेको
सम्झना सम्झनामा मात्र बनेको
गुलाबहरूको अधुरो कथा
म मुक्त चाहन्छु यी सबबाट
म आए मैदानमा
इतिहासको गति फेर्न
ए अत्याचारका सेवकहरू
के तिम्लाई सन्चै छ ?
मचाहिँ उपचार गर्न आएको छु असमानताको
म सहनसशिलता होइन
म शुशिला होइन
म सीता होइन
म दौप्रदी होइन
बर्खास्त गरिदेउ
यो पुरानो सवाललाई
अब मलाई २१ औं सदिको महिला हुन देऊ
मलाई म हुन देऊ ।
लेखक परिचय
धादिङका राजु झल्लु प्रसाद कविता, कथा, मनोविश्लेषणात्मक लेख साथै अखबारीय लेखनमा पनि सक्रिय छन् । अनलाइन पत्रिका न्युजकास्ट नेपालमा कलासाहित्य विधाका प्रमुख रहेर काम गरिरहेका झल्लु प्रसाद त्रि-चन्द्र कलेजमा बिएससी अध्ययन समेत गर्दैछन् ।