१. परिचय
ताम्वा खोलाको खस नेपाली नाम तमोर खोला हो । लिम्बू भाषामा ताम्वा भनेको फराकिलो भनिएको हो । यसलाई मुन्धुमी भाषामा इम्बिरी याङधाङवा भनिन्छ । मुन्धुम अनुसार उहिले उहिले सर्वशक्तिमान इश्वरले यो पृथ्वी सुन्दर देखियोस् भनेर आकासमा जूनतारा टाँस्नुभो, पहाडपर्वत, पशुपंक्षि र देउरालीहरू बनाउनु भो । पृथ्वीलाई सुहाओस् भनेर विभिन्न प्रजातिका रङ्गिविरङ्गि फूलहरू रोप्नु भो, तामोर नदी र काबेली, मेवा र मैवा नदीहरू, फेङवा, फेमे आप्ताङवा, तिदाङवा नावा र निबु खोलाहरू बनाउनु भो । मुन्धुममा भनिएको छ :
ए– थो : ताम्वामु चोगु काङवामु चोगु
मेवामा यङघङ मैवामा यङघङ
यो – हेवामु चोगु फेमेमु चोगु
आप्ताङवा चोगु तिदाङवा चोगु
नावामा यङघङ निभुमा यङघङ
माइवा यङघङ पुन्वामा यङघङ
हुक्सो चोगुरो ताङे चोगुरो (काइँला, २०६०:६९) ।
तमोर नदी ताप्लेजुङको फक्त्ताङलुङ हिमाल अनि मारुङ तेम्बे र पारुङ तेम्बेबाट उद्भव भएर बग्न थाल्छ । विभिन्न पहाडपर्वतहरूमा ठोक्किदै र पहरा छहराहरू छिचोल्दै पाँचथरमा आइपुग्छ । पाँचथरका थुप्रै खोलानाला कुलो कुलेसाहरूसंग साइनो गाँस्दै तेह्थुम, धनकुटा र सुनसरीका फेदिहरू छुँदै सप्तकोशीमा मिसिन पुग्छ । तमोर खोलासंग याक्थुङ सभ्यताको गहिरो सम्बन्ध रहेको पाइन्छ । कतिपय अनुसन्धाताहरूले याक्थुङ सभ्यतालाई तम्मर सभ्यता भन्नुपर्ने तर्क पनि गरेका छन् । मुन्धुम अनुसार लिम्बू जातिको उत्पत्तिथलो वर्तमान ताप्लेजुङ जिल्लाको तमोर नदी (इम्बिरी याङथाङवा) को किनार लेलेप, इखाबु गाविसहरूदेखि फक्त्ताङलुङ (कुम्भकर्ण) को फेदि घुन्साखोला (मुधिङगुम लेक्वा) हेल्लोक ताप्पेथोक आदि ठाउँहरू हुन् (माबुहाङ, २०६९: २) । त्यसैले तमोर खोलासंग याक्थुङ जातिको उत्पत्तिको आख्यान, भाषा, साहित्य, संस्कृति, इतिहास, मुन्धुम र मिथहकरु अनगिन्ति जन्मिएका छन् । मुन्धुमका ज्ञाता फेदाङमा, साम्बा र येबा येमानीहरूले मुन्धुम फलाक्दा तमोर खोला र त्यसको किनारहरूमा बनिएका आख्यानहरू सुनाउँछन् । याक्थुङ जातिको दर्शनशास्त्र मानिने मुन्धुमको उत्पत्तिको उर्वर स्थलको रुपमा पनि तमोर खोलालाई चिनिन्छ । यस खोलासंग याक्थुङ जातिको नङ र मासुको जस्तै सम्बन्ध रहेको छ ।
२. मिथक र तमोर खोला
अँग्रेजीको ‘मिथ’ शब्द ग्रिसेली भाषाको ‘मिथस् (mithos) बाट लिइएको हो, जसको अर्थ सत्य वा असत्य जे सुकै भए पनि ‘भनिएको कुनै कुरा’ (Anything uttered by work do mouth)भन्ने हुन्छ (बराल, २०७६: १७५) । सामान्यतया मिथकलाई पुराकथा, असत्य, अतार्किक र भ्रमपूर्ण कथा पनि भन्ने गरिन्छ । पूर्व र पश्चिमका सबै मिथक विवेचकहरूका दृष्टिमा इतिहास संस्कृति, प्रकृति, भूगोल, नीति, व्यवहार, भाषा, शिक्षा, न्याय, कष्टनिवारण, मुक्ति, सुरक्षा, विश्वास, धर्म, मानव, मनोवृत्ति तथा व्यक्तिगत र सामाजिक जीवनका विभिन्न पक्षहरूको विकास मिथकबाटै भएको हो (भट्टराई, २०६८:९७) । मिथक शब्दको अर्थ व्यापक हुने भएकोले यसलाई किटेर अर्थ लगाउन भने त्यति सहज छैन् । बृहत् नेपाली शब्दकोशमा “मनोविज्ञानका आधारमा मानव समाजमा सामूहिक रुपले परम्परादेखि नै अचेतनमा रहिआएको कुनै ग्रन्थि” भनेर मिथकको परिभाषा गरिएको छ । मिथकाचार्य मानिने कार्ल गुस्ताभ जुङले वैयक्तिक अचेतनलाई नभई सामूहिक अचेतनको रुपमा अथ्र्याएको छ । लोकवार्ताविदहरू चाहिँ सुदूर अतीतमा घटेको घटनावलिको विवरण नै मिथक हो भन्छन् । विश्वका विभिन्न देशका विद्वान विदुसिहरूले आ–आफ्नै तरिकाले मिथकको परिभाषिकरण गरेको इतिहास पाइन्छ । मिथक मनुष्यका पूर्वजहरूको जीवन यात्राको कथा हो । आदिम मनुष्यहरूले आफ्नो अचेतन मनको संस्कार मिथकमा व्यक्त गरेको हुन्छ । आफ्ना आदिम पूर्खाहरूको कथा व्यथा र इतिहासहरू मिथकमा उनिएका हुन्छन् । वस्तुतः याक्थुङ समुदायको इतिहास र मुन्धुम तमोर खोलासंग प्रत्यक्ष रुपमा जोडिएको पाइन्छ । याक्थुङ जातिहरू खाम्बोङबा लुम्बोङबासाहरू भएकाले उनीहरूको सम्बन्ध यहिँको ढुङ्गा, माटो, चौतारो, रुख, बनजङगल र खोलानालाभन्दा पर जाँदैन । ताप्लेजुङका विभिन्न ठाउँहरू र पाँचथरका केही ठाउँ र तेह्थुमका केही क्षेत्रहरू नै हाम्रो आदिम थलो हो भन्ने कुरा मिथकहरूले प्रष्ट्याउँछ । फेदाङमा, साम्बा र येबाहरूले मुन्धुम फलाक्दा यहाँभन्दा परको कुरा आउँदैन । तमोर खोलाका आसपासका ठाउँहरूको नाम, पात्र र परिवेशहरू बढी उद्घाटित हुन्छन् । तमोर खोलाको तीरहरू पहिले लिम्बुवान–गोर्खा युद्वको सामरिक पथ पनि हो । लिम्बुवानको अग्रणी हाङहरूको समाधिस्थलहरू पनि यहि क्षेत्रमा पर्छ । तसर्थ, तमोर खोला आफैमा एउटा सजीव र सुन्दर मिथक हो । लिम्बू जातिको सम्पूर्ण पक्षहरूसंग तमोर खोलाको अन्योन्याश्र्रित सम्बन्ध रहेको पाइन्छ ।
३. सिमाङ्कन
तमोर खोलासंग अन्य समुदायको पनि मिथकहरू पर्याप्त मात्रामा छन् तथापि यस आलेखमा लिम्बू जातिसंग सम्बद्व मिथकहरूको मात्र उल्लेख गरिएको छ ।
४. लिम्बू जातिसंग सम्बद्व तमोर खोलाका मिथकहरूः
याक्थुङ जातिसंग सम्बद्व तमोर खोलाका केही मिथकहरूको मात्र संक्षिप्तमा निम्नानुसार चर्चा गरिएको छ :
क.वगोङमा
आदि कालमा दाजु र बहिनी थिएः चेली र माइती । चेलीलाई फूल मन पर्यो । दाजुलाई विन्ति गरेर फूल टिपी मागी । सेम्फुङ, पाङफोकफुङ खोज्दै उत्तर हिमाल भेकका लेक–लेक माइती गयो । लेकको अप्ठ्यारो भीरमा चढेर फूल टिप्न खोज्दा लडेर तमोर नदीको वेगवान् धारमा परेर बग्यो । माइतीको यसरी भएको अकाल मृत्युले विह्ल बनेकी चेली खोलाको किनारै–किनार बगेको माइतीको लास पछ्याएर हिंडी । रुँदै विलाप गर्दे तमोर नदीको किनारै–किनार दख्खिन लागी । खोलाले बगाएको माइतीको लास नदेख्दा अनेक तर्कना जोखना र लच्छिन् हेर्दे रुँदै खोज्दै हिंडी रही । यसरी तमोर नदीको किनार हिंड्दै झर्दा झर्दा सेरेक–सुरुङमा भन्ने पवित्र स्थलमा पुगेर माइतीको लास भेटी । चेलीले अनेक किसिमले माइतीको लासलाई सिंगारेर हिमालयबाट आफुले ल्याएका सेम्फुङ पाङफोक फुङहरूले सिंगारेर औलका खेच्छिङसे र सिङजाङगोका फुलहरूले पनि सजाएर राम्रो पारेर रुँदै विलाप गर्दे भनिन् तिमीले यो खोलानालामा डुलिहिंड्ने देउता हुनु । साँघुहरूमा तर्दे खेलिरहनु । सुनचाँदीको साँघु बनाउन र वरपर गरिरहनु । तिम्रो चेलीहरू पछि भविष्यमा गर्भवती हुन गएमा तिनको गर्भको रक्षा गरिदिने देउता तिमी नै हुनु । इत्यादि आशिष पनि दिइन् । उही बेलादेखि सुनचाादीको साँघु बनाइ वारिपारी खेलिरहने चेलीका गर्भको रक्षा गर्ने देउतालाई वगोङमा भनिन्छ । खोलामा गइ पूजा गरिन्छ (काइँला, २०४८: १६) ।
ख. थाङसाङ खोला
उहिले–उहिले इलामको माइखोला र तमोरले विहे गरेको थियो । विहे गरेपछि उनीहरूको सानो वच्चा पनि जन्मिएको थियो । एकदिन रतुवा खोलाले माइखोलालाई तमोर अर्केसंग लागिसक्यो भनेर ढाँट कुरा सुनायो । हो न हो पत्याएर तमोर रिसले फनक्क फर्केर माइत लाग्दा काखको सानो नानी चाहिँ फेदेन मै छुट्यो । त्यो नै थाङसाङ खोला भएको ठानी लिम्बू पापोहाङहरूले तमोर र माइभन्दा पनि शक्तिशाली र पवित्र ठानेर पूजा गरेको लोककथा छ । यो खोला पाँचथरको फेदेनबाट बग्छ (याक्थुङबा, २०५५: ९–१०) ।
ग. पापो ना
उहिले तमोर उपत्यकास्थित सावा येत्हाङ पाङभेमा थाम्लासो पापोहाङ र आम्लासो पापोहाङ नामका दाजुभाई थिए । उनीहरूको बोजु अलग–अलग थिए भने बाजे चाहिँ एउटै थियो । भाई आम्लासो एकदम चलाख थियो भने दाजु थाम्लासो सोझो स्वभावको थियो । धेरै बुढी भइसक्दा पनि बोजुहरू नमर्दा अम्लासोलाई दिक्दार लागिरहेको थियो । अनिकाल लाग्ने पेटभरी खान नपाउने समस्या पनि थियो । एकदिन अम्लासो भाइले पेटभरी खानका लागि बोजुलाई तमोर नदिमा लगेर बगाई पठाउन थाम्लासो दाजुलाई फकायो । उनीहरूले राती नै निदाएको आ आफ्नो बोजुलाई बोकेर लगेर तमोर नदीमा बगाइ पठाए । तर विहान फर्केर घर आइपुग्दा दाजुले भाइको बोजुलाई जिउँदै देख्यो । भाइले कोलाको दाम्चालाई बोजु जस्तो बनाएर बगाई पठाएको थाहा पाएर थाम्लासो आफ्नो बोजु खोज्न तमोर नदीमा गयो उसले जाल हान्दै निकै तल सम्म खोज्दा पनि बोजुलाई फेला पार्न सकेन । कपाल बाटेर सिउँदो छुट्याए जस्तो । एक प्रकारको माछा मात्र उसको जालमा पर्यो । उसले सम्झ्यो कि बोजु त माछा भइसकेछिन् । आइन्दा आफ्ना दर सन्तान कसैले पनि तमोर खोलाको त्यो पापो ना (पापो माछा) नखाऊन भनेर उसले बाचा गर्यो (स्मृति, २०७४: ३२६–३२७) ।
घ. याम्धाङवा नु कोःइक
आँखीडाहि लागेर प्रेममा असफल तमोर र माई । उहिले सृष्टिकालमा तमोर (याम्धाङवा) र माई (कोःइक्)ले एकअर्कालाई सारै मन पराउँथे । त्यही भएर विहे गर्ने सल्लाह गरे । कुम्भकर्ण एक पाटोबाट तमोर उँधो झर्दे पूर्वतिर लाग्यो भने इलामबाट माई पश्चिम लाग्यो । तमोर र माई झन्डै–झन्डै भेट्न लाग्दा डाहा लागेर रतुवा र मावा खोलाले षडयन्त्र रचे । तमोरले विहे गरिसक्यो भनेर माइलाई ढाँटे । माई पनि हो न हो रिसले फनक्क फर्कि गई । उता तमोरलाई पनि माईले विहे गरिसक्यो भनेर ढाँटे । यसरी माई र तमोरको विहे हुन नसकेको किंवदन्ति छ (स्वप्निल उही) ।
ङ. साप्परीहाङमा मेन्परिहाङमा
सामसोघा मुन्धुम अनसार सावा येत्हाङ पाङभेका लाइक खम्बुहाङको सुन्दरी छोरी साप्परीहाङमा मेन्परिहाङमाले नेग्रादेन याक्पे (पहरा) उम्रिएको टुनीको रुखमा प्रेतात्मारुपी चिल बस्ने पत्ता लाएकी थिई । मुन्धुम अनुसार उसका सात दाजुभाइले खुबै माया गर्ने उसलाई भाउजुले भने आँखिडाहि गरेर एकदिन तमोर नदीमा नुहाइदिंदै, कपाल कोरिदिंदै बगाईपठाउँदा ऊ नदिविचको अन्तरिपमा अड्केर उद्दारको लागि हारगुहार मागी । मधेसबाट हिमालतिर जाल हान्दै आएको याङःजिबा नामको जालहारिले जाल फ्याँकेर उद्दार गर्ने चेष्टा गर्यो तर सकेन । आकाशमा कावा खाइरहेको चिललाई गुहार माग्दा त्यसले आफ्ना नानीहरूको देखभाल गर्ने भए मात्र उद्दार गर्ने सर्त राख्यो । सर्त नमानी धर नपाएकी उसलाई चिलले नेग्रादेन याक्पेको टुप्पामा रहेको टुनिको विशाल रुखमाथिकोे गुँडमा उडाएर लग्यो । सयौंतले अग्लो त्यस टुनीको रुखको टुप्पोको गुँडमा सावायेत्हाङ पाङभेका नानीहरू बटुलेर चिलले पालैपालो आहारा बनाउँथ्यो । नानीहरूको रगत चुहिएर तमोर नदीसम्म पुग्थ्यो । यो देखेर साप्परिहाङमा सारै डराई । एकदिन भाग्यवश सात जना दाजु त्यै भीरबाट कुराकानी गर्दे कतै गईरहेको देखेर हायलकायल चिच्याउँदै उद्दारका लागि बोलाई । दाजुहरू साथमा शक्तिशाली फेदाङमा साम्बा लिएर आइपुगे । फेदाङमा साम्बाले मन्त्र फुकेर त्यस अग्लो रुखलाई एक तल दुई तला होचो बनाउँदै लगेपछि अन्तमा भुइँमा फिजाइएकको जालमा हामफालेर साप्परिहाङमा बाँची र सारा वृत्तान्त गाउँलेहरूले सुनाई । फेदाङमाहरूले त्यो चिल र टुनिको रुख उहिले सुहाम्फेबा र लाहादङना चाल्निमा तिलका दाना चालेर छुट्टिदा चाल्निमा अड्किएर प्रेतात्मा बनेकी फाक्को फाक्अम्लमा भएको पत्तो लगाए । त्यसपछि साजिजङबा पुचिचङबा सिकारीले लिसोपासोमा पारेर त्यस चिललाई कुटीकुटी मारेर तमोर नदीमा फ्याँकिदिए भने टुनिको रुखलाई पनि ढालिदिएको मुन्धुम छ (स्मृति उही)
च. पोमु केत्छाम
उहिले पोमु केत्छाम नामको चर्चित विजुवा थियो । नून लिनलाई पोमु केत्छाम भोट जाँदा छिरुवा, तमोर खोलामा पारुङ र मारुङ राक्षसले मानिसलाई दुख दिएको देखेपछि आफ्ना येसामा (येवाका प्वाँख जडित कल्की, घण्टी, सुनाखरीको क्रस जाबे झोला, मेख्ली, दुम्सीको काँडा) लगाएर ती राक्षसहरूलाई खेदाउन थालेछन् । पारुङ राक्षस चाहि तमोर खोलाको दहभित्र रातो बल्ने ढुङगा भएर लुकेर बसेछ । पोमु केत्छाङले दुम्सिको काँडा झिकी पारुङलाई हान्दा पारुङको मृत्यु भइ तमोर खोला नै रातो भएछ (माबुहाङ, २०६६: १३) ।
छ. खोङसोलुङजङ
मुन्धुम अनुसार खोङसोलुङजङमाथि पहिले लिम्बू जातिका पहिलो पुर्खा मुजिङना खेयङनाका छोरा सुसुवेङ लालावेङले आफ्नो वाण उध्याउँथ्यो । अहिले त्यो ठाउँ ताप्लेजुङको छिरुवानी भन्ने ठाउँमा पर्छ
ज. सिङवातेन् पाङवातेन्
सुच्छुरु सुहाम्फेबा र तेल्लारा लाहादङनावीच प्रेम प्रस्ताव भएको ठाउँ । अहिले ताप्लेजुङको ताप्पेथोक छ तम्मोरको किनारमा पर्छ । (माबुहाङ, २०७७ )
झ. नेन्दुरी पासाङगालुङ
मुन्धुम अनुसार उहिले विवाह गर्नुपूर्व वेहुला र वेहलीलाई नेन्दुरी पासाङगालुङमा लाएर जोखिन्थ्यो । बेहुला र बेहुलीको तौल बराबर भएको खण्डमा मात्र विवाह गर्न उपयुक्त ठानिन्थ्यो अन्यथा उपयुक्त ठानिन्नथ्यो भन्ने नेन्दुरी पासाङगाको मिथक छ । अहिले यो ताप्लेजुङको लेलेप १ तमोरको किनारमा अवस्थित छ । (स्रोत : ज्ञानु फुरुम्बो (चरपे) ।
ञ. सावान पाङभे
सुसुवेन लालावेङलाई आमा मुजिना खेयङनाले जन्माएर हुर्काएको ठाउँलाई सावान पाङभे भनिन्छ । यो ठाउँ ताप्लेजुङको तमोर किनार इखाबु ६ मा पर्छ । (स्रोत : अर्जुन माबुहाङ)
ट. हाङसेम्लुङ
याक्थुङहरूको इतिहासमा आठहाङ र दश सरदारविच भिषण युद्व भयो । युद्वमा आठहाङहरू हारे, दश सरदारहरूले जित्यो । युद्व जितेपछि तमोर नदी छरुवा र तेलिया खोलाको त्रिवेणीछेउको फाँटमा आएर एउटा सभा गरे र राज्य बाँडफाँड गरे । सभा बसेको ठाउँमा एउटा ढुँगा गाडेर आ आफ्नो राज्यमा राज्य चलाउन लागे । उनीहरू छुट्टिंदा गाडिराखेको ढुँगालाई हाङसेम लुङ भनिन्छ । अहिले यो ठाउँ तमोर नदी, छरुवा, खोला र तेलीया खोलाको त्रिवेणी धनकुटा बोधे गाउँमा पर्छ ।
ठ. पिप्पुथाप
मुन्धुम अनुसार आगोको उत्पत्ति भएको ठाउँलाई पिप्पुथाप भनिन्छ । यो ठाउँ अहिले ताप्लेजुङ जिल्लाको फक्त्ताङलुङ गा.पा. तमोरछेउ इखाबुमा पर्छ । मुन्धुम अनुसार गाईहरू तिर्खाले आकुलव्याकुल भएपछि पिप्पुथाप भन्ने ठाउँको पित्थोसा वरक भन्ने ठाउँमा पानी पिउँथे र तिर्खा मेटिएपछि खुसी भएर गाइहरू सिँगौरी खेल्थे, सिङ जुधाउँथे । सिङ् जुधाउँदा, सिँगौरी खेल्दा, आगोको झिल्का उठ्यो र गोबरमा सल्कियो । त्यो आगोले विशाल जङगलमा डडेली लाग्यो । यसरी आगोको उत्पत्ति भयो भनिन्छ ।
ट. योपापिप्पालुङ
पहिले पापोहरू खक्लेसोपुङ तेह्थुममा बसोबास गर्थे । त्यतिबेला खक्लेसोपुङको योपा (सुँगुरको बेफा)ले तमोर खोला नाँघेर पाँचथरको फेदेन स्थित गढिको रातोमाटोमा चर्न आउँथ्यो । तमोर खोलामा वारिपारी गर्दा ढुँगामाथि माथिबाट आउँथ्यो । ढुँगामाथिबाट हाम्फाल्दै आउँदा धस्सिएर खुट्टाको छाप परेको ठाउँलाई योपापिप्पालुङ भनिन्छ । फेदेनबाट फर्किदा आफ्नो लेबङ (अण्डकोष) धसेको ठाउँको ढुँगा पनि अहिले फेदेन–४ को बनमा आजतक अवस्थित छ । (स्रोतः सुवास तुम्बापो काङसोरे)
उपर्युक्त मिथकहरू बाहेक तमोर खोलासंग जोडिएका मिथकहरू शतश : छन् । यहाँनेर सबै मिथकहरूको उल्लेख गर्नु असम्भव भएकोले केही मिथकहरूको मात्र चर्चा गरिएको हो ।
५.तमोर खोलाका मिथकहरूको महत्व
मिथकको खोजी जातीयपन र जातीय इतिहासको खोजी हो । मानव आफ्नो आदिम थलो, पूर्खा र आफ्नोपन खोज्दै जाँदा मिथकमा फेला पार्छ । त्यसैले मिथक आफ्नो परिचयको आधार हो र दीर्घ इतिहासको आदि बीज हो (भट्टराई, २०६८: ९९) । मिथक पूर्वजहरूको जीवनगाथा पनि हुने भएकोले तमोर खोलाको मिथकसंग पृथक भएर याक्थुङहरूको कुनै इतिहास पूर्ण हुँदैन । याक्थुङ जातिको देवि देउताहरूको उत्पतिको कथा, मुन्धुम, इतिहास र पुर्खाहरूले प्रकृतिसंग जुझ्दै आएको प्रमुख स्थानहरू नै तमोर खोला र यसको आसपासको थलोहरू हुन् । याक्थुङहरूको आराध्य देवि युमाले तान बुनेका र हाम्रा माङ साम्माङहरू डुलिहिंडेका, खेलिहिंडेका थुप्रै स्थलहरू पनि तमोर खोलाको तीरहरूमा नै पर्छ । यही मिथकहरूले नै याक्थुङहरूको आफ्नो जातीय इतिहास, भूगोल, संस्कृतिहरू प्रष्ट पार्न सहयोग पु¥याउँछ । समग्रमा तमोर खोलाको मिथकहरूले हाम्रो जातीय सभ्यताको इतिहास बताउँछ । यी प्राप्य–अप्राप्य मिथकहरू हाम्रा सामुदायिक सम्पदाहरू हुन् । यस्ता मिथकहरूको अध्ययनले दार्शनिक, समाजशास्त्री, मानवशास्त्री, मनोवैज्ञानिक, भाषवैज्ञानिक सबै क्षेत्रकाहरूलाई पनि लाभ पु¥याउँछ । झन् साहित्यको क्षेत्रमा यस्ता अग्र्यानिक मिथकहरूको सर्वोपरी महत्व छ ।
६. निष्कर्ष
मूलत : मिथकहरूमा सामूहिक अचेतनको अभिव्यक्ति पाइन्छ । तमोर खोलासंग जोडिएका मिथकहरू सृष्टि, देविदेवता, पूजा आराधना र प्रकृतिसंग सम्बन्धित मिथकहरू हुन् । यहाँनेर ब्रह्माण्डको उत्पत्तिदेखि सृष्टिका आख्यानहरू समेत जोडिएर आएका छन् । अहिलेसम्म यस ठाउँका मिथकहरूको खोज अन्वेषण भने हुन सकेको छैन् । समयको गर्तहरूमा कति सुन्दर मिथकहरू हराएर गए होलान् , कति मिथकहरू पुस्तान्तरण हुन सकेनन् होला । कवि साहित्यकारहरूले पनि यस्ता मिथकहरूको प्रयोगमा दिलचस्पी दिएका छैनन् । हाम्रा पूर्खाहरूले श्र्रुतिस्मृतिमा उत्जिवित राखे पनि कति विस्मृत भए होलान् । यस किसिमका साँस्कृतिक सम्पतिहरूको संरक्षण र विकास गर्न अबका सचेत मानिसहरूले यसको खोज अनुसन्धान गरेर लिखित रुपमा प्रकाशनमा ल्याउनुको अर्को कुनै विकल्प छैन । एकातिर अहिलेको कथित विकासको नाउमा तमोर किनारतिरका हाम्रो ऐतिहासिक मुन्धुमी स्थलहरू ध्वस्त पारिन्दै छन् । दिनदिनै हाइड्रोपावर आतङकले हाम्रो खोलानालाहरू समेत सुक्न थालेका छन् । अर्कातिर मुन्धुमिस्थलहरू बाढी पहिरोले कति पुरिदैंछन्, तमोरको धारले कति काटिसक्दै छन् । कति विस्मृत हुन लागिसक्दैछन् । हामी त निरन्तर नाङगिदैं गइराखेका छौं । दिनदिनै क्षयिकरण भइराखेका छौं । यतातिर हाम्रो बुद्वि, विवेक र चेतना पुग्न जरुर देखिन्छ । अन्यथा भोली भविष्यमा दुइथोपा आँशु झारेर रुनु शिवाय केही पनि गर्न सकिन्न । चेतना भया रो ल ।
चुरेरो । आसेवारो ।
सन्दर्भ सामग्री
काइँला, वैरागी र अन्य, (२०६७), लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश, (तेस्रो संस्करण) काठमाडौ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
काइँला, बैरागी, (२०६०), चइःत् मुन्धुम्, काठमाडौ : लिम्बू साहित्य विकास संस्था ।
काइँला, बैरागी, (२०४८), लिम्बू जातिमा कोख पूजा, काठमाडौ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान । बराल, कृष्णहरि, (२०७६), मिथक र साहित्य, काठमाडौ : रत्न पुस्तक भण्डार
भट्टराई, हरिराज, (२०६८), मिथक काव्य नरसिंह अवतारमा युगसन्दर्भ, काठमाडौ : रत्न पुस्तक भण्डार
माबुहाङ, अर्जुनबाबु, (२०६९), लिम्बू जातिको मुन्धुम र इतिहास, धरान : हरिश्चन्द्र माबुहाङ र भीम माबुहाङ ।
माबुहाङ, अर्जुन, (२०७३), जोखिममा लिम्बू जातिको साँस्कृतिक सम्पदा, हिमाल मासिक खबर पत्रिका कार्तिक –२१ काठमाडौ :
मेन्याङबो, ध्रुवकुमार र माबुहाङ अर्जुन, (२०६६), सिभाक यामि मुन्धुम, इटहरी : माधुरी सुब्बा राई ।
याक्थुङबा, हाङवासाङ, (२०५५), थाङसाङ, थाङसाङ मासिक, वर्ष–१, अंक– १, पेज–९–१०, फेदेन : थाङसाङ साप्सकसाबा सयङ ।
स्मृति, स्वप्निल, (२०७४), प्रज्ञा नेपाली मिथक कोश (याक्थुङ), काठमाडौ : नेपाल प्रज्ञा प्रतिष्ठान ।
लेखक परिचय
मधुराज केरुङ अहिलेको समयका शक्तिशाली लेखक हुन् । उनका फक्ताङलुङको फेदिबाट गजल संग्रह २०६७, साम्याङफुङ लिम्बू भाषाको गजल संग्रह २०७२, मारोतिका थुँगाहरु संयुक्त कविता संग्रह (संकलन÷सम्पादन–२०७७), सम्पादनः कोशिश, पाँचथर साप्ताहिक, पस्तकेलुङ, शब्द शाँघु जस्ता कृतिहरु प्रकाशित छन् । औपचारिक शिक्षा–एम.एड.(नेपाली) त्रिभूवन विश्वविद्यालय र एम.फिल.नेपाल खुला विश्वविद्यालयबाट गरेका उनी हाल पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।
यस्तो गम्भीर अद्ययन बधाइ छ मधु भाइ