छेलो छेलो छेलो छेलो छेलो छेलो छेलो छेलो छेलो छेलो
१. आमुख
मुन्धुम अनुसार जुन दिन सर्वशत्तिमान इश्वर तागेरा निङवाभूमाङले डाँफे मुनालको विस्टा, मालिङगोको खरानी र शीतको पानीले मानवीय अस्तित्व निर्माण गरे । सृष्टिको त्यो पहिलो मानिस मुजिङना खेयङना हुन् भने उनको पुत्र सुसुवेङ लालावेङ अर्थात् सावायुक्पुङगेम्बा हुन् । यस धरतिमा सावायुक्पुङगेम्बाका सन्तानहरू सर्वत्र छरिदैं गए । थोसोलुङमा फियामलुङमा, योसोलुङमा मुक्कुमलुङमा, सुसाङलिमा, तुसाङलिमा, सिकेरा एक्थुक्ना, सिङदाङखेवा, लिङदाङखेवा, सुत्छुरु सुहाङफेवा, तेत्लालामा लाहादङनाहरुको वंश विस्तार हुँदै गए । सिफाक तिगेन्जङको जग्गामा बस्ने, च्याउमा ओत लाग्ने, खर्सानीको बोटमा झटारो हान्ने, बाबरी फूलको बोटमा चढ्ने, जुम्राको मासु काट्ने, उनिउँको बोट ढाल्ने, बाख्राको बड्कौलामा भारी विसाउनेहरू नै हिजोका हाम्रा पूर्खा खाम्जिरि खाम्बोङबा, लुङजिरि लुङबोङबाहरू हुन् । आफ्नो जीवन सरभाइभलका लागि विभिन्न अनिष्टहरुसँग फेदाङमा, साम्बा, येवा र येमानीहरूले सुरक्षा प्रदान गर्दे आए । समाज व्यवस्थालाई व्यवस्थित बनाउन खाम्बोङबा लुम्बोङबा, त्तुत्तु त्तुम्याहाङहरूले महत्वपूर्ण भूमीकाहरू निर्वाह गरे । उतिबेला माङ साम्माङ, जीवजन्तु, पशुपंक्षि, जनावर सबैले उत्तिकै योगदान गरेका छन् । मानवीय अस्तित्व जोगाढ गर्न, भीरमौरी, तितेमाछा र गिठ्ठा भ्याकुर मारिखाँदै आए निरन्तर प्रकृतिसँग जुझ्दैजोगिदै आए । कति हिंस्रक जंगली जनावरहरूसँग लड्दै र भिँड्दै आए । अहिलेको विकसित समाजसम्म आइपुग्दा मानवीय आवश्यकताले विभिन्न उपकरणहरुको निर्माण गर्नुपर्यो । अनि विस्तारै यो माटोमा सभ्यताको थालनी गर्दे गए । सर्वप्रथम यहीको भूमी चर्चे र आवाद गरे, बस्ती बसाले, निरन्तर रक्षा गरिरहे । त्यसैले याक्थुङहरूले आफुहरू खाम्बोङबा लुम्बोङबा सा अर्थात् ढुङगा माटोका सन्तान हौं भन्छन् र आफ्नो माटोलाई अगाध प्रेम गर्छन् । यस समुहको आफ्नै बेगल अस्तित्व र पहिचान बनेको छ । अहिले पनि यिनीहरू फरक अस्तित्वबाट आएका जाति हुन् भनेर चिन्ने गरिन्छ । यी जातिको आफ्नै याक्थुङ भाषा र शिरिजङगा लिपि छ । यिनीहरूले जन्मपूर्वदेखि मृत्युपर्यन्तसम्म आफ्नै कर्मकाण्ड र संस्कार विधिहरू अवलम्बन गर्छन् । विश्वासको पद्वति र धार्मिक अनुष्ठानहरू गर्ने गर्छन् । आफ्नै चाढपर्व मनाउँछन्, मौलिक खानपान खान्छन् र भेषभूषा पनि लगाउने गर्छन् । आफ्नै प्रकारको कला, साहित्य, गीत, संगीत, नाच र खेलकुदहरू खेल्छन् । आफ्नै सामाजिक मूल्यमान्यता, मनोविज्ञान र सामुदायिक मानकहरू निर्माण गरिएका छन् । उनीहरूमा जीवन जगत्प्रतिको दृष्टिकोणमा ‘मुन्धुमी स्कुल अफ थटस्’को फरक ज्ञानमिमांसा छ । यसर्थ याक्थुङ भूमीमा बस्ने यी आदिम समदायलाई फरक अस्तित्व र पहिचान भएको मूर्त अमूर्त संस्कृतिले अत्यन्तै धनिक जाति भनेर चिनिने गरिन्छ । यी जातिलाई आज कालान्तरमा आएर ‘लिम्बू’ वा ‘याक्थुङबा’नामले सम्बोधन गर्ने गरिन्छ । तर, उनीहरू लिम्बू शब्द ‘एप्जोनिम’ र याक्थुङ शब्द ‘इन्डोनिम’ पहिचान हो भन्ने गर्छन् । आफुहरू बसेको जमीनलाई याक्थुङ लाजे ? र आफुहरूलाई याक्थुङ भन्दा बढी गौरावन्वित हुने गर्छन् ।
२. याक्थुङ खेलकुदको सामान्य परिचय
‘खाम्बोङबा लुम्बोङबा सा’ अर्थात् ढुङगा माटोको सन्तान भनेर चिनिनेहरूको सम्बन्ध ढुङगा, माटो र हावा पानीसँग अभिन्न रुपमा गाँसिएको हुन्छ । उनीहरू प्रकृतिको काखमा प्राकृतिक खेलहरू खेल्दै आएका हुन्छन् । उनीहरूको खेलस्थानहरू : देउरालीढुङ्गा, गोरेटोबाटो, चौतारो, चाउरी र खेतबारीका गहहरूमा नै खेल्दै र रम्दै बाँचेका हुन्छन् । पूर्खाहरूले लि ? तोङ (धनुकाँड) हान्न्ने, सिङबुङ लिङमा रुख (चढ्ने), लुङ आफेमा (ढुङगा फाल्ने), लोक्लोके (दौडने बाजी), पिन् पिन्छे (उफ्रिने बाजी), पक्लुङ लेप्मा (छेलोढुङगा हान्ने) खेलहरू खेल्दै आएको पाइन्छ ।
पक्लुङलाई खस नेपालीमा छेलोढुङ्गा र अंग्रेजीमा सटपुट भन्ने गरिन्छ । यसमा एउटा गह्रौँ ढुङगालाई निश्चित रेखाबाट कुदेर वा यथास्थानबाट फाल्ने गरिन्छ । यस खेलको पनि आफ्नै किसिमको अनुशासन र नियमहरू हुन्छन् ।
यसलाई लिम्बू जातिले अत्यन्तै महत्वपूर्ण साँस्कृतिक खेलको रुपमा लिने गर्छन् । विभिन्न चाडपर्व, हाटमेलामा र तङसिङ तक्मा गर्दा अनिवार्य रुपमा यो खेल खेल्ने गरिन्छ । यस खेलको स्रोत मुन्धुम हो । मुन्धुममा पोरोक्मी याम्भामी माङले पक्लुङ हानेको मार्मिक आख्यान पाइन्छ । अहिले लिम्बू समुदायमा पक्लुङ हान्ने प्रचलन विस्तारै हराउँदै गएको छ । बेलाबेला मात्र याक्थुङजन्य संघ संस्थाहरुले पक्लुङ हान्ने कार्यक्रमको आयोजना गरेको देखिन्छ । मुन्धुममा पक्लुङलाई बल, शक्ति, शौर्य, ओज, सिद्वि र सामर्थ्यको प्रतीकको रुपमा लिइन्छ । तर, यसबारे अचेल कहिँ कतै पनि चर्चापरिचर्चा नहुनु दुःखद पक्ष बनेको छ ।
३.मुन्धुममा वर्णित पक्लुङको आख्यानः
मुन्धुम लिम्बू जातिको सामाजिक इतिहास मात्र होइन उनीहरूको मूल दर्शनशास्त्र पनि हो । मुन्धुमले सृष्टिको आख्यान र सम्पूर्ण जीवन जगत्को बारेका व्याख्या विश्लेषण गर्छ । लिम्बूहरूको चालचलन, रितिरिवाज र संस्कार संस्कृतिहरू पनि मुन्धुमद्वारा निर्देशित भएको हुन्छ । लिम्बूहरूको हरेक विषय मुन्धुममा पुगेर मात्र छिनोफानो गर्न सकिन्छ । मुन्धुम नै सबै कुराहरूको मूल जरो भएकोले यहाँ मुन्धुमको आधारमा पक्लुङको अध्ययन गरिएको हो । यसै सन्दर्भमा बैरागी काइँला, (२०४२) को तङसिङ तक्मा मुन्धुम्ः आख्यान र अनुष्ठान, (२०६०) को चइःत् मुन्धुम, (२०७०) को खाप्पुनामा मेल्लङहाङमा मुन्धुम र लुप्लिनामा वदन्नामा मुन्धुम, अर्जुनबाबु माबुहाङ (२०६९) को लिम्बू जातिको मुन्धुम र इतिहास, धनहाङ सुब्बा, (२०७५)को लिम्बू लोकवार्ता, पान्थर थुम मिक्लाजुङ २ निगाले बस्ने साम्बा तथा साहित्यकार लछामी शेर्मा पापो, ताप्लेजुङ थुम याङवारक ३ तिरिङगे बस्ने येबा सरोज कङलिवा, पाँन्थर थुम याङनाम बस्ने साम्बा दिपेन्द्र केरुङ र अन्य मुन्धुमसाबा त्तुत्तु त्तुम्याहाङहरूलाई सोध्दा पनि मुन्धुममा पक्लुङको आख्यान मिलेको हुँदा यहाँ मुन्धुममा पक्लुङको आख्यान निम्नानुसार प्रस्तुत गरिएको छ ।
मुन्धुम अनुसार उहिले पोरोक्मी याम्भामी माङले पृथ्वी सुन्दर देखियोस् सृष्टि सुहाओस्, भनेर चारदिशाबाट फूलहरू खोजेर रोपे, विउ विजनहरू खोजेर छरे । तर, पृथ्वीमा पानी परेन खडेरी मात्र लाग्यो, विउ विजन र फूलहरू सबै सुकेर गयो । अनि पोरोक्मी याम्भामी माङ भावविह्ल भएर तागेरा निङवाफुमाङको लोकमा गई सेवा विन्ति चढायो । तागेरा निङवाभुमाङले मिठो वचन दियो भरै राती मेरो खुट्टाको बुढी औंला सिरानी पारेर सुत्नु त्यतिखेर तिमीले सपनामा देख्ने छौ । पोरोक्मि माङले पनि त्यसै गर्यो र साँच्चै सपनामा तागेरा निङवाभुमाङले दिव्य ज्ञान दिएर भन्यो है, तिमी उँभो उत्तर तिर जानु, बज्र झै छेलो हान्ने कठोर ढुङगा खोज्नु । माथि सिफाक्जङ तिगेन्जङ बासीहरू ढुङ्गा माटोसँगै जन्मिएका आदिम बासीहरू हुन् । तिनीहरूलाई उपहार स्वरुप पक्वानाहरू दिएर, विन्ति गरेर छेलोढुङगा माग्नु । अनि जूनघामका किरणहरू ठोक्किने स्थान, साखोङलुङमा खोःङवामा भन्ने जग्गामा अग्लो पहाड छ । उक्त पहाडको कोङकोङलुङमाथि ताकेर मच्चिएर छेलो हान्नु भनेपछि पोरोक्मी याम्भामीले अनुनय विनय गर्यो । माथि सिफाक तिगेन्जङमा बस्ने आदिम बासीहरू बाख्राको बड्कौलामा भारी बोक्ने, बाबरीको बोटमा चडिहिंढ्ने, खोर्सानीको बोटमा झटारो हान्ने, च्याउमा ओत लाग्नेहरूले जूनघामको वाचा गराएर, ज्यानकै वाजिको प्रतिज्ञा गराएर छेलोढुङगा हान्न दिए । पोरोक्मी याम्भामीले छेलोढुङगा उफार्दे, खेलाउँदै भगवान् तागेरा निङवाभुमाङको वाचा गरेर शून्य अन्तरिक्ष साखोलुङ खोःङवा, कोङकोङलुङ पहाडमाथि छेलो हानि पठायो । छेलोढुङगा कोङकोङलुङमा पहाडमाथि थुरिंदा धर्ती र आकाशले भरिएको पानीको घैँटो फुट्यो र ठूलो आँधि बतास चल्यो, चट्याङ पर्यो, बज्र खस्यो । अत्यन्तै ठूलो वर्षा भयो । आठदश दिनसम्म पानी परिर्यो, भल बग्यो र पृथ्वी पानीमा चुर्लुम्म डुब्यो । तब, धरतीका सबै विउ विजहरू उम्रिए, जीवन हुर्कियो, फेरि सृष्टि सुन्दर देखियो भन्ने आख्यान छ । यस आख्यानबाट हामी सहजै निष्कर्षमा पुग्न सक्छौं कि मुन्धुममा सबैभन्दा पहिले पोरोक्मी याम्भामी माङले नै छेलोढुङगा हानेका हुन् । पक्लुङ खेलका आदिम खेलाडी पोरोक्मी याम्भामी माङ हुन् भन्ने ठोकुवा गर्न सक्छौं । याक्थुङहरूले आजसम्म पनि यस खेलको निरन्तरता दिँदै आएका छन् । विशेषत: तङसिङ तक्मा मुन्धुममा फेदाङमा, साम्बा, येबा, येमानीहरूले यात्रा गर्दे जान्छन् । याङग्राङसिङदेखि ओर्लिएर आँगन, सिकुवा, संघार, घरको भित्ता, निदाल र छानामा पुग्छन् त्यसपछि ओर्लिएर फेरि यात्रा गर्छन् । यात्रा गर्दे जाँदा कति सुन्दर ठाउँहरूमा यात्रा गर्दे जान्छन्, कतै विश्राम लिन्छन्, जाँड पानी र खाजा खान्छन् । त्यसपछि यात्रा झन् अगाडि बढ्छ रङगिविरङगी फूल फुलेको, चौतारै चौतारा भएको पानी नै पानीको धारा भएको ठाउँमाहरुमा पुग्छन् । माथिमाथि बादल उड्दै गरेको क्षितिजहरु नाँघेर पहाड पर्वत डुलेर मेन्छ्याएम डाँडामा आइपुग्छन् । मेन्छ्याएम डाँडामा विश्राम गर्छन् जाँड रक्सि खान्छन् र एकछिन् विश्र्राम लिन्छन् अनि फेरि किशोरकिशोरीको शिर उठाउने, फुङवा चाङमाको अनुष्ठान र पक्लुङ चाङमाको अनुष्ठान समपन्न गर्छन् त्यतिबेला किशोरीहरुको फुङवा चाङमासँगै किशोरहरूको पक्लुङ हान्ने आख्यान आउँछ । जस्तै:
ए एन्छोन् तागेलामाले निङवा ? फेमाले ।
सिक्कुम चोगुआङ निङवा ? चोगुआङ ।
मिक्कि थासुवान फुङवा थासुवान ।
नेत्ति थासुवान फुङवा थासुवान ।
ए कङग सिसा येप्मादेन मेन्छ्या येप्मादेन् ।
ए आल्ल सिसा चो?लुङ थो मेन्छ्या चो?लुङ थो ।
नाली चो?लुङ थो मेन्छ्या चो?लुङ थो ।
ए कन्हा? सिसा सो?नारे मेन्छिन् सो?नारे ।
नाली सो?बुरे थाङबेन् सो?बुरे ।
ए उन्छोन् नेत्ति मेगेरु फुङवा मेगेरु ।
वया मेगेरु पक्लुङ मेगेरु ।
नेपाली अनुवाद :
उ उहिले परमेश्वरले मनले इच्छा गरेर
वैश र जोवन छरेर जीवनको फूल उमारेको
ए योत तरुणीहरूको अवस्थल मेन्छ्याएम हो
ए अब तरुणी र किशोरीको सिद्विको अवस्थलमा
तरुण किशोरका सिद्विको अवस्थलमा
ए यी तरुणी किशोरी संगीनीहरूका
तन्देरी किशोर र संगीसाथीहरूका
उहिले वैशमा हाँस खेल माया र पिरती लाए
ढुङगाको छेलो हान्ने खेल खेले (काइँला, २०४२: १३६)
उपर्युक्त आख्यान कति सुन्दर ढंगले बुनिएको छ । आदिबासी याक्थुङहरूको मुन्धुम साँच्चै विशद र मार्मिक छ भन्ने कुराहरू माथिको आख्यानले नै प्रष्ट पारेको छ । आख्यानमा मेन्छ्याएम डाँडामा तरुनी तन्देरीहरू माया प्रेम गाँसेको, रमाइलो गरेको कथाहरू वर्णित छन् । त्यसपछि फुङवा चाङमा र पक्लुङ लेप्मा गरेको कुराहरू छन् । यी आख्यान बाहेक कतिपयको हाङसाम थेवा साम्माङ खःमा गर्दा पनि पक्लुङ हान्नुपर्छ भन्ने कुरा गर्छन् तर अहिले यहाँ विना आधार लेखिहाल्नु अलिक हतारो हुन्छ होला ।
४. मुन्धुममा पक्लुङको टुक्राहरू खसेको ठाउँहरू:
मुन्धुममा पोरोक्मी याम्भामी माङले तागेरा निङवाभुमाङको अर्ति उपदेश अनुसार छेलोढुङगा हान्दा महाविष्फोट (दष्न दबलन) भएको पाइन्छ । छेलोढुङगाले आकासरुपी पानीको घैँटो फुटाउँदा छेलोढुङ्गा पनि फुटेर छरपस्ट छरियो । ती छरिएका ढुङगाहरूबाट कतै मङगलकारी देउता त कतै अमङगलकारी देउताहरुको जन्म भयो । काइँला, (२०७०), ले श्री दुर्गाप्रसाद फोपाहाङको (पाण्डुलिपि) को उध्वरण गर्दे छेलोढुङगाका चोइटाहरू निम्नस्थानहरूमा खसेको र विभिन देवीदेवता, प्रेत र अभिशापको प्रतीकहरू बनेको कुरा उल्लेख गरेका छन्
क. पक्लुङ फुटेर पूर्व दिशामा खसेको टुक्रा देउताहरूको प्रतीक छेलोढुङगा (पक्लुङ) भयो ।
ख. पश्चिम दिशातिर खसेको टुक्रा प्रेत र पिचासका प्रतीक छेलोढुङगा (पक्लुङ) भयो ।
ग. दख्खिन दिशामा खसेको टुक्रा अभिशापको प्रतीक छेलोढुङगा (पक्लुङ) भयो ।
घ. उत्तर दिशामा उछिट्टिएको चोइटा भने सोधुङ लेप्मु तेम्बेमा खस्यो ।
ङ. लेप्मु तेम्बेमा खसेको त्यो ढुङगालाई टिपेर सोधुङ लेप्मुहाङले तल सावायेत्हाङहरुको गाउँमा हत्त र पत्त फ्याकिँदिँदा विमारी फैलियो र मानिस जाति दुःख कष्टमा परे । मान्छेको जीवनमा अनिष्टकारी देउदेउताहरूले यसरी ग्रहदशाका रुपमा ओइरिएको अर्को आख्यानको जन्म झयो ।
मुन्धुमका अध्येता चैतन्य सुब्बाका अनुसार “सावा येत्हाङले त्यो दैवी शक्तिले युत्त अजेय शक्तिको स्रोत पक्लुङलाई हात हतियारले मान गरेर अदुवा, खोर्सानी, सिधेनुन् (कुरिङलुङ युम) लासो (केराको पातको थान), साप्तोक (मुख छड्के काटेको बाँसको तोङबा) हाङगप्पा (फूलपात भरेको कलस) मा पागा (फेटा) ले बेरेर पूजा गरेर शक्ति, सामर्थ्य, समृद्वि तथा सिद्वि प्राप्तिका लागि पक्लुङ मानेर अनुष्ठानपुर्वक आफ्नो घर घरमा सजाएर राखे”
५. पक्लुङको साँस्कृतिक महत्ता
कुनै पनि खेलकुदसँग कुनै न कुनै जातिको ऐतिहासिक सम्बन्ध कायम रहे जस्तै लिम्बू जातिको सामाजिक इतिहास मुन्धुमसँग छेलोढुङ्गाको पनि ऐतिहासिक सम्बन्ध कायम रहेको हुन्छ । जुनसुकै खेलकुदहरू पनि आफैमा लोकजीवनको अभिन्न अंगको रुपमा विकसित भएका हुन्छन् । त्यस खेलकुदसँग मानिसको स्वास्थ्य, सामाजिक, र आर्थिक जीवनशैली गाँसिएको हुन्छ । यसरी मुन्धुममा लिम्बू जातिसँग पक्लुङको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । लिम्बू समुदायमा एउटा प्रसिद्व भनाई नै छ “पक्लुङ केलेप्प थाङबेन्निलरक चो?लुङ लस्सु” अर्थात् छेलोढुङगा हान्ने युवाले मात्र सिद्वि प्राप्त गर्न सक्छ । त्यसैले मुन्धुमत: याक्थुङ युवाहरूले पक्लुङ अनिवार्य हान्नुपर्ने हुन्छ । यसरी संस्कारगत हिसाबले हानिने छेलोढुङ्गाबाट शिक्षा र मनोरञ्न प्राप्त हुन्छ । छेलोढुङ्गा सँगसँगै परम्परागत ज्ञान सिपको पनि पुस्तान्तरण हुन्छ ।
यसबाट आपसि प्रतिस्पर्धा, सहअस्तित्व र सदभावहरूको विकास त हुन्छ नै त्यसभन्दा अझै ठूलो कुरा आफ्नै मौलिक सांस्कृतिक खेलको संरुक्षण हुन्छ । यदि याक्थुङ युवाहरूले पक्लुङ हान्न छाडे भने याक्थुङहरूमा साँस्कृतिक विचलन आउँछ र कालान्तरमा अपुरणीय साँस्कृतिक क्षति हुन पुग्छ । एउटा साँस्कृतिक समुदायमा हुर्किएको मानिसले म को हुँ ? मेरो संस्कृति के हो ? भन्ने कुरा बुझ्छन् र यस किसिमको मिथकहरूबाट आफ्ना पूर्खाहरु चिन्न सक्छन् । उनीहरुलाई स्वअस्तित्वको बोध हुन्छ र साँस्कृतिक प्रेम बढ्छ । याक्थुङ युवाहरूलाई आफू अन्य समुदायभन्दा बेगल हुँ भन्ने आफ्नो फरक अस्तित्व र पहिचानप्रति जागरुक बनाउनुका साथै आफ्नो साँस्कृतिक खेलहरू सधैँ जिवन्त राख्नलाई मद्दत पुर्याउँछ । तसर्थ पक्लुङको अत्यन्तै ठूलो महत्व छ ।
६. अन्त्यमा :
अहिले हाम्रो खेलकुदहरू पनि ‘घर साङलेलाई बन साङलेले खेदाए’ जस्तै भएको छ । भूमण्डलिकरणको कारणले आयातित खेलहरू बनसाङले जस्तै भएका छन् । अहिले दिनदिनै क्रिकेट, टेबल टेनिस, क्यारामबोर्ड, चेस र लुडोका किराहरू गाउँगाउँ र घरघरभित्र छिरेका छन् । यस प्रकारका किराहरू धेरै हानिकारक छन् । अहिले प्रायः याक्थुङ युवाहरूलाई आफ्नो मौलिक खेलको ज्ञान पनि छैन् चिन्ता पनि छैन् । नो टेन्सनमा बाँचेका छन् । झन् अधिक युवाहरूले त पक्लुङ हान्न पनि विर्सिसके होला । उनीहरूको दिमाग पाश्चात्य कल्चरले पुरै कोलोनाइज्ड (colonised) गरिसकेको छ । अब उनीहरूलाई समयमै साँस्कृतिक उपचार जरुरी देखिएको छ । उनीहरूलाई आफ्नो मौलिक खेलहरूको महत्वको बारेमा आकृष्ट गराउँदै ठूलाठूला राशीको पुरस्कार सहित पक्लुङ प्रतियोगिताहरूको आयोजना गर्नुपर्छ । यसको लागि आवश्यकता अनुसार बहस पैरवीको पनि खाँचो पर्दछ । आफ्नो समुदायमा आफ्ना मौलिक खेलकुदहरूको संरक्षणको लागि स्वजातिले नै आफै सजग हुनुको विकल्प नै छैन् ।
सन्दर्भ सामग्री
काइँला, बैरागी २०४२), तङसिङ तक्मा मुन्धुम, काठमाडौँ: नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
काइँला, बैरागी, (२०६०, चइःत् मुन्धुम, काठमाडौँ: लिम्बू साहित्य विकास संस्था
काइँला, बैरागी र अन्य, (२०६७), लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश, (तेस्रो संस्करण) काठमाडौ: नेपाल प्रज्ञा प्रतिष्ठान ।
काइँला, बैरागी (२०७०, खाप्पुनामा मेल्लङहाङमा मुन्धुम र लुप्लिनामा वदन्नामा मुन्धुम, बेलायत: लिम्बू भाषा तथा साहित्य प्रकाशन ।
माबुहाङ्, अर्जुनबाबु, (२०६९), लिम्बू जातिको मुन्धुम र इतिहास, तेह्रथुम: हरिश्चन्द्र माबुहाङ् र भीम माबुहाङ ।
सुब्बा, धनहाङ (२०७५), लिम्बू लोकवार्ता, धनकुटा: हाङ्मा लाबुङ् र अनु गुरुङ ।
लछामी शेर्मा पापो, मिक्लाजुङ २ निगाले, पान्थर, (साम्बा)
सरोज कङलिवा, याङवारक ३ तिरिङगे, ताप्लेजुङ, (येबा)
दिपेन्द्र केरुङ, फेदेन १० याङनाम, पान्थर, (साम्बा)
राजेन्द्र कुमार जबेगु, फेदेन १ पान्थर
मलिसा याक्थुङबा, फाल्गुनन्द २ याम्बोङ, पान्थर
भित्राँगी काइँला, फेदेन १ , पान्थर
सन्देश सुब्बा, फेदेन न.पा. ६ सिवा, पान्थर
दिलेन्द्र कुरुम्बाङ फेदेन २ पल्लोटार, पान्थर ।
छेलो छेलो
लेखक परिचय
मधुराज केरुङ अहिलेको समयका शक्तिशाली लेखक हुन् । उनका फक्ताङलुङको फेदिबाट गजल संग्रह २०६७, साम्याङफुङ लिम्बू भाषाको गजल संग्रह २०७२, मारोतिका थुँगाहरु संयुक्त कविता संग्रह (संकलन÷सम्पादन–२०७७), सम्पादनः कोशिश, पाँचथर साप्ताहिक, पस्तकेलुङ, शब्द शाँघु जस्ता कृतिहरु प्रकाशित छन् । औपचारिक शिक्षा–एम.एड.(नेपाली) त्रिभूवन विश्वविद्यालय र एम.फिल.नेपाल खुला विश्वविद्यालयबाट गरेका उनी हाल पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन् ।