१. विषय प्रवेश नवीन पौड्याल नवीन पौड्याल
नेपाली साहित्यका लेखकहरू विभिन्न व्यवसाय र सेवामा आवद्ध रहेका छन् । आफ्नो आफ्नो सेवाका काम गर्दै भए पनि साहित्य सिर्जनामा आवद्ध छन् । कोही इन्जिनियर, कोही डाक्टर, कोही प्राध्यापक, कोही पुलिस, कोही ठेकदार,कोही सरकारी अधिकारी रहेका छन् । हाम्रो साहित्यमा साहित्यिक लेखकहरू लेखनलाई नै पूर्णकालीन पेशाका रूपमा अपनाउने थोरै छन् । नेपाली साहित्यमा केही साहित्यकार, सर्जकले पुलिसको नोकरी गरेका छन् । असम सरकारका पुलिस अधिकारी रही सेवानिवृत्त हुने अर्का कथाकार हुन् जनार्दन उपाध्याय । हालसम्म उनको पुलिसको डायरी भाग-१ र भाग २ गरी दुईवटा पुस्तक प्रकाशित देखिन्छन् । उनी साहित्यकार होइनन् तर पनि साहित्यमा केही चढाउँछु भन्ने ध्यावन्त थियो । उनले आफ्नो पुलिस विभागमा अधिकारी भएर काम गर्दाका विचित्र र रोमाञ्चक घटनालाई यसरी साहित्यमा उतार्नु उनको इमानदारिता र कर्तव्यनिष्ठता हो । दुईवटा कथासङ्ग्रहका रूपमा भए पनि नेपाली पाठकले जासुसी कथा पठन गर्ने अवसर पाएको छ । उनीबाट यस्तो किसिमको साहित्यको भण्डारमा दुईवटा कृति थपिएका छन् ।
२. जासुसी साहित्य नवीन पौड्याल नवीन पौड्याल
समाजमा आपराधिक घटना घटिरहन्छन् अनि पुलिसले त्यसको अनुसन्धान गरेर आपराधिक कार्यमा लिप्त व्यक्तिलाई पक्रने कोसिस गर्दछ । त्यो अपराधीले अपराध गरेर समाजबाट जोगिनका निम्ति विभिन्न युक्ति लगाउँदछ । पुलिसले तिनको गहिरो खोजबीन गरेर अपराधी पत्तो लाउने गर्दछ । आममानिसका निम्ति रहस्य र रोमाञ्चक कथा रुचिकर लाग्छ । यस्ता किसिमको जासुसी साहित्यको आफ्नै संरचना, बुनोट बनोट र तात्त्विक व्यवस्था हुन्छ । आफ्नै किसिमको कथागत विशेषता रहेको हुन्छ । यसको कथावस्तु कल्पनाभन्दा वास्तविकता, सामान्यभन्दा रोचकता, सरलभन्दा संश्लिष्टता, प्रयोगशीलता, निष्कर्षगत एकोन्मुखता, रहस्यात्मकता आदि विशेषता रहेका हुन्छन् । अपराधी खोजी गर्ने नयाँ नयाँ तरीकाको प्रयोग गरिएको हुन्छ । जासुसी आख्यान कृति पढ्दा पाठकलाई कथानकीय रहस्यसूत्रले तानिरहेको हुन्छ । यस्ता साहित्यका आफ्नै समाजशास्त्र, कथन पद्धति, भाषिक व्यवस्था, पात्रविधान, परिवेश, कथाविन्यास हुन्छन् । जासुसी साहित्यका पाठक जोसुकै पनि हुन सक्छन् । हार्दिकताभन्दा बौद्धिक, सामान्यभन्दा रहस्यमयी, कुतूहलजस्ता विशेषता पाइन्छ । यसका कथावस्तु रैखिक ढाँचाको नभएर वृत्ताकारिक किसिमको हुन्छ । घटना भइसकेर कथा बुनिन्छ ।
हाम्रो समाजमा तहकीकात, व्योमकेस बक्सी, सिआइडी, क्राइम पेट्रोल आदि जस्ता धारावाहिकहरूले टेलिभिजनमा धेरै लोकप्रियता हासिल गरेका छन् । त्यस्ता धारावाहिकहरूमा अपराधी पत्तो लाउन प्रयोग गरेका विभिन्न युक्तिहरू आम दर्शकका निम्ति निकै मनोरञ्जनकारी सावित हुन्छ । सरकारी र कतिपय निजी गुप्तचर संस्थाहरूले शहरका हत्या र अन्य अपराधका खोजबीनलाई रोचक ढङ्गमा प्रस्तुत गरेका हुन्छन् । समाजभित्रका अपराधीको पत्तो लाउन अनेक युक्ति लगाएको हुन्छ । पुलिसका अनेक उपायहरूलाई आफ्नो साहित्यमा उतारेका हुन्छन् । तिनलाई साहित्यिक रूप दिन लेखकहरू उद्यत हु्न्छन् ।
हिन्दी साहित्यमा कर्नल रञ्जीतका जासुसी उपन्यासहरू निकै लोकप्रिय थिए । लाखौँ पाठकहरूले उनका जासुसी उपन्यासहरू हारालुछ गरेर किन्थे । नेपालीमा पनि दीर्घबाहुका जासुसी उपन्यासहरू प्रकाशित छन् । दार्जिलिङको पहिलो उपन्यास नै महाकाल जासुस भन्ने उल्लेख पाइन्छ तर हालसम्म त्यो पुस्तक उपलब्ध छैन । व्यथित सिपाहीको म विवश छु, गुप्तचर भन्ने उपन्यास पनि जासुसी उपन्यासका रूपमा प्रकाशित छन् ।
३. जासुस साहित्यको आधार
जासुसी विषयलाई साहित्यिक आख्यानका रूपमा उतार्दा लेखकले मूलतः दुईवटा स्रोत पाउँदछन् – लेखक स्वयम् जासुस भएर अनि कल्पना गरेर । आफू नै पुलिस अधिकारी वा जासुसी सेवामा आबद्ध हुँदा देखेका भोगेका सुनेका कुरालाई लिपिबद्ध गरेका हुन्छन् । लेखक आफू नै अपराधीको खोजी-पत्तो लाएर त्यसलाई लिखित रूपमा उतारिएको पाइन्छ । अर्को किसिमको जासुसी आख्यानमा आख्यानकारले कल्पनाको भरमा प्रस्तुत गरेका हुन्छन् । पछिल्लाको तुलनामा अघिल्लो बढी वास्तविक हुन्छ भने अघिल्लाको तुलनामा पछिल्लोमा केही कलात्मकता हुन्छ । अघिल्लामा आख्यानकार कुशल लेखक नभएर एक प्रत्यक्षदर्शी, अनुभवी र सहभागी भएको हुन्छ । उसले आफ्नो लेखनमा केही प्रसङ्ग र पात्रको नाम बदल्न सक्छ तर मूल घटना भने यथावत् राखेको हुन्छ । मानिसभित्रको रहस्य रोमान्स, जिज्ञासालाई यस्ता साहित्यले सम्बोधन गर्नसक्छ । यसैगरी मानिसभित्रका आदर्शस्वको परिपूर्ति हुनाले मानिसले यस्ता साहित्य पढ्ने गरछन् ।
४. मूल सन्दर्भ
जनार्दन उपाध्यायका दुईवटा पुलिस डायरीमा जम्मा त्रिचालिसवटा कथा रहेका छन् । ती प्रत्येक कथा सत्य घटनामा आधारित छन् । उनी आफू असम सरकारको पुलिसको अधिकारी भएर अपराधिक घटनामा लिप्त अपराधीहरूलाई पक्रन प्रयोग गरिएका विभिन्न युक्तिहरूको रोचक घटनावली वर्णन गरिएको छ । सबैभन्दा बढी हत्याकाण्डमा लिप्त अपराधीको खोजी-कार्यले बढी प्राथमिकता पाएको छ । पुलिसको आफ्नै व्यवस्था हुन्छ । सुराकी र मुखबीरले गाउँमा भएको घटना वा अपराधी बारेमा पुलिसलाई खबर दिन्छन् । अपराधी कहाँ छ, के गर्दैछ आदिबारे पुलिसलाई गोप्य रूपमा खबर दिन्छन् । कथाहरूमा ती सुराकी मान्छेको खोजी गर्नु, तिनले अपराधीको अवस्थान बताइदिनु एउटा उपलब्धि मानिन्छ । प्रस्तुत कथाहरूमा हत्याराहरूलाई विभिन्न युक्ति लगाएर पक्रने काम भएको देखाइएको छ ।
५. पुलिसको डायरी : कथासङ्ग्रह कि घटनाको वर्णन पुस्तक ?
जनार्दन उपाध्यायको पुलिसको डायरी पढ्दा पाठकलाई कथासङ्ग्रह नभएर घटनाको विवरण मात्र लाग्न सक्दछ । यसमा रहेका घटनाक्रम पढ्दा कलापक्ष कम र घटनापक्ष बढी पाइन्छ । कथामा कथावस्तुको प्रस्तुतिमा रोचकता भने पाइन्छ । यसलाई पूर्णरूपमा कथासङ्ग्रह मानिहाल्न सकिन्न । कथामा हुनुपर्ने रागात्मकता, कल्पनात्मकता, कलात्मकता आदि जस्ता गुण यसमा पाइन्न । यहाँ त घटनाको सपाट वर्णन पाइन्छ । यद्यपि कता कता परिहासपूर्ण प्रसङ्ग, उखान टुक्का आदिले यसलाई सपाट हुनबाट जोगाउने र साहित्यिक बनाउने प्रयत्न गरेका छन् । यसमा साहित्यिकता याउनका निम्ति उखान टुक्का, वाक्यांश, अनुकरणात्मक शब्द, परिहास, संवेदना आदिलाई समेटिएको पाइन्छ । यसमा औपचारिक रूपमा कथाका तत्वहरू जस्तै कथावस्तु, पात्रविधान, परिवेश, दृष्टिविन्दु आदि यी कथाहरूमा सचेत रूपमा हालिएको छैन ।
६. पुलिसको डायरीमा प्रयुक्त आख्यानगत अध्ययन
प्रस्तुत कथासङ्ग्रह नेपाली साहित्यका निम्ति एक भिन्नै किसिमको, भिन्नै प्रस्तुतिको भन्न सकिन्छ । यसमा रहेका कथाहरूलाई पनि अन्य सामान्य कथाहरूकै तत्त्वहरूका आधारमा समीक्षा गर्न सकिन्छ । यसमा पनि कथावस्तु, चरित्राङ्कन, परिवेश विधान, भाषिक विधान आदिका आधारमा यसको पनि समीक्षा गर्न सकिन्छ ।
६.१. जासुसी कथावस्तुको स्रोत
पुलिसको डायरीका लेखक आफैँ पुलिस अधिकारी भएर अपराध अनुसन्धानको अनुभवबाट सिर्जेको हो । अतः यसको कथावस्तुको स्रोत काल्पनिक नभएर वास्तविक घटनावली हुन् । यी दुई खण्डका जम्मै कथावस्तुको स्रोत समाजमा घटित विभिन्न आपराधिक घटना र तिनको मूल कारण हुन् । गरिबी, धनको लोभ, क्रोध, व्यक्तिगत रिस-इबी आदिका कारण हत्या हुने गर्छ । यी कथाहरूमा यी कुरा प्रकट गरिएको छ । कहिलेकाँही गाउँघरमा हुने हत्या हिंसाको काण्डलाई यसको मुख्य स्रोतका रूपमा लिइएको छ ।
६.२. जासुसी कथावस्तु
यस कथा सङ्ग्रहको मूल कथावस्तु अपराध जगतबाट टिपिएको हुनाले अपराधीको खोजी रहेको छ । अधिकांश कथामा हत्याको प्रसङ्ग छ । पुलिस अधिकारीको कार्यालयमा लिखित सूचना र गुहार आउँदा त्यसको पुर्पक्ष छिन्न अधिकारी त्यस घटनास्थलमा जानुपर्ने र त्यहाँ गएर अपराधी पत्तो लाउने काम देखाइएको छ । लेखक आफ्नो कामबाट सरूवा हुँदा ठाउँ ठाउँमा पुगेर त्यहाँका नयाँ नयाँ मान्छेसित परिचय बढाँदै जाँदा त्यहाँका अपराधी चिन्नु पनि मुख्य उद्देश्य देखिन्छ । ठाउँमा मुखबीर राखेर त्यहाँको अपराधी खोजी पत्तो लाएर उसलाई पक्रनु कर्तव्य देखिन्छ ।
६.३. वास्तविक चरित्राङ्कन
प्रस्तुत कथासङ्ग्रहको पात्रहरू केलाउँदा विभिन्न धर्मावलम्बी, सम्प्रदाय, भाषाभाषी आदिको उपस्थिति पाइन्छ । यसमा रहेका त्रिचालिसवटा कथाका पात्रहरू सबै वास्तविक छन् । यसमा रहेका पात्रहरूलाई पीडक र पीडित गरी दुई स्थूल वर्गीकरण गर्न सकिन्छ । पीडकले कि हत्या गरेको छ कि अन्य किसिमबाट यातना दिएको छ भने पीडित कि मृत्यु भएको छ कि यातना पाएको छ । यसमा नारी पुरूष सबै खाले पात्र-पात्रा उपस्थित छन् । अपराधीहरू पुरूष मात्र छैनन् । नारीहरू पीडक नभएर पीडित छन् भने पुरूषहरू पनि पीडित छन् ।
६.४. परिवेश सिर्जना
यस कथासङ्ग्रहको परिवेश आसामका अधिकांश गाउँको पाइन्छ । अपराधी अनुसन्धान गर्ने जाँदा भित्री दुर्गम गाउँ, त्यहाँसम्म जानुपर्दाका कठिनाई आदिको वर्णन पाइन्छ । अभेग गाउँको बिजुली, पानी आदिको अभाव आदिको वर्णन गरिएको पाइन्छ । असमका विभिन्न प्रान्त, पूर्वदेखि पश्चिमसम्मका शहर र गाउँ अझ भित्री गाउँसम्मको स्थान वर्णन र उल्लेख पाइन्छ । यहाँका धेरै गाउँ अविकसित, दुर्गम, पछौटे देखिन्छन् । भित्री गाउँमा आपराधिक गतिविधि भए त्यसलाई सम्बोधन गर्ने पुलिस चौकी हुँदैनन । त्यस्ता गाउँमा पुलिस भएर जानका समस्या छन् । कुनै गाउँमा जान नदीको गाडी जाने अवस्था नभएर डुङ्गामा चडेर जलमार्ग भएर वा कति माइलको बाटो हिँडेर पुग्नेपर्ने अवस्था देखिन्छ ।
७. भाषा
वास्तविक रूपमा भन्नुपर्दा जनार्दन उपाध्याय कुनै लेखक साहित्यकार होइनन् । उनी त पुलिस विभागबाट अधिकारी भएर सेवानिवृत्त भएका व्यक्ति थिए । उनी सेवाबाट निस्केपछि मात्र आफूले अनुभव गरेका वा आफूले काम गरका कुरा वा आफूसित सम्बन्धित घटनाहरूलाई संस्मरणका रूपमा पाठकसामु उतारेका हुन् । यस हिसाबले उनको भाषा कमजोर देखिन्छ । यसमा रहेका धेरै अंग्रेजी शब्द, अरबी शब्द जस्ताको तस्तै छ । भाषाको प्रयोग पनि कमजोर देखिन्छ । ती घटनालाई दक्ष लेखकले लेख्नु हो भने कति सजीव रूपमा उतार्न सक्थे होलान् । जनार्दनको भाषिक र शैलीगत प्रस्तुति कमजोर भएका पनि रोचक घटनाहरूका कारणले पाठकलाई सजीव रूपमा प्रस्तुत गर्न सकेका छन् । कतिपय ठाउँमा वाक्य मिलेको छैन, कतिपय ठाउँमा प्रसङ्ग मिलेको छैन, कतिपय ठाउँमा फ्यातुलो भाषा पाइन्छ । यद्यपि भाषा कमजोर भएता पनि यसभित्र कथागत रोचकता भने छ ।
पुलिसको आफ्नै किसिमको भाषिक व्यवस्था हुन्छ । यसको प्रणालीअन्तर्गत आफ्नै किसिमका शब्द, शब्दावली, अर्थसापेक्षता हुन्छ । आम समाजमा नचल्ने खालका कतिपय शब्दहरू यस प्रणालीमा प्रयुक्त हुन्छ । यसमा चल्ने अधिक मात्राका शब्दहरू अरबी फारसीमूल, अङ्ग्रेजीमूल र संस्कृत तत्सममूल शब्द प्रयुक्त हुन्छन् । केही अरबी-फारसी मूलका शब्दहरू जस्तै मुखबीर, सुराकी, गवाही, उकिल, अदालत, डायरी, उजुरी, गिरफ्तार, इस्तिहार, मुचुल्का, दफा आदिजस्ता शब्द रहेका हुन्छन् । संस्कृत तत्सम मूल शब्दहरू दण्ड संहिता, अधिनियम, धारा १२० आदिजस्ता शब्दहरू पनि पाइन्छन् । यसमा अङ्ग्रेजीमूलका धेरै शब्दहरू प्रयुक्त छन् ।
८. उपसंहार
नेपाली साहित्यमा विभिन्न स्वाद, रस र विषयवस्तुका कृतिहरू पाइन्छन् । यसै क्रममा असम तेजपुरका जनार्दन उपाध्यायको कृति पुलिसको डायरी भाग एक र दुई प्रकाशित गरेका छन् । यसमा भिन्नै किसिमको स्वाद र रूचिकर पाइन्छ । यसमा रहेका जम्मा त्रिचालिसवटा जासुसी कथाहरूमा कथावस्तु, चरित्र, परिवेश आदिको प्रयोगले पाठकलाई रोचकता प्रदान गर्छ । लेखक एकजना पुलिस अधिकारी भएका लेखकले जतिसक्दो इमान्दार भएर आफ्नो संस्मरणलाई पाठकसामु पस्किदिएका छन् । यसमा जासुसी आख्यानमा पाइने खालको कथावस्तुको रहेको छ । यसमा रहेका वास्तविक पात्रहरूको उपस्थिति पाइन्छ । यसमा समका विभिनन जिल्लाका प्रान्तहरूका गाउँ र शहरहरूको परिवेश पाइन्छ । गाउँ घरमा हुने गरेका आपराधिक काण्डहरूको छानबीन गरेर अपराधी पत्तो लाउने काम नै यस कृतिको मुख्य लक्ष्य देखिन्छ । साहित्यिक तत्व र कलात्मकताका दृष्टिले यो पुस्तक उत्ति सफल भने भएको छैन । कतिपय प्रसङ्गमा कथाको सपाट वर्णन् पाइन्छ । यद्यपि यसमा पनि केही साहित्यिक गुण पनि नपाइने होइन ।
नवीन पौड्याल नवीन पौड्याल नवीन पौड्याल
लेखक परिचय
नेपाली विषयका प्राध्यापक नवीन पौड्याल नेपाली साहित्य समालोचनाको क्षेत्रमा सक्रिय नाम हुन् । नेपाली कथा समीक्षा (सहलेखन, समालोचना, २००५), आख्यान अनुशीलन (समालोचना, २०११), साहित्य सन्धान (समालोचना, २०१८), कृति सन्धान (२०२०), भारतीय नेपाली समालोचक कोश (प्रेसमा, २०२१) पौड्यालका प्रकाशित कृति हुन् । उनले साहित्य अकादमी र पच्चीस वर्षको पुरस्कृत नेपाली साहित्य (२००२), कविता विमर्श (समालोचना, २०१४), कविता आलोकन (समा., २०१५), उत्तर दख्खिन पूर्व पश्चिम, (२०१६), साहित्य अकादमी र पुरस्कृत नेपाली साहित्य (२००४), कविता विचरण (प्रकाशोन्मुख २०२१) आदि कृतिहरूको सम्पादन गर्नुका साथै बाडुली (२००५), सन्धान (२००५ देखि २००८ सम्म), मध्यमार्ग, सिलगढी (२०२१) जस्ता साहित्यिक पत्रिकाहरूको पनि सम्पादन गरेका छन् । फुटकर रूपमा पनि भारत र नेपालका विभिन्न पत्र-पत्रिकामा समालोचनात्मक लेखहरू प्रकाशित गरेका पौड्यालले दार्जिलिङ सरकारी कलेजमा नेपाली विषयमा प्राध्यापन र २०१५ देखि पेदोङ सरकारी कलेजको संस्थापक अधिकारी रही कार्यरत छन् ।