पहाडको थुम्किबाट पर क्षीतिजसम्म हेर्नू,समुन्द्रका
छालहरुसँग खेल्दै उसको व्यापकता देख्नु अनि यी
सुनसान रातका टिलपिल ताराहरुका विशालता
अनुभुत गर्नु सबैलाई सुखद लाग्छ।खुलेको
आकाश,फिजारिएको समुन्द्र अनि फैलिएको मैदान
हेर्दा हाम्रो मन किन रमाएको होला? किन कि यी
चिजहरुबाट हामी भित्र विशालताको बोध
हुन्छ।किन कि यी कुराहरूले जिवनको विशालताको
याद दिलाउँछ।विशालताको तिर्खा सबैको प्राणमा
दबेर बसेको हुन्छ।लाग्छ-तिर्खा पृथ्वी जत्तिकै पुरानो
हो।
मनुष्य कुनै न कुनै रुपमा महान बन्न चाहन्छ।कुनै
न कुनै रुपमा सफल बन्न चाहन्छ,फैलिन चाहन्छ,
झाँगिन चाहन्छ।आज जो गुमनाम छ-उ भोलि
प्रसिद्ध हुने सपना सजाउँछ।जो गरिब छ-उ भोलि
सम्भ्रान्त हुने आकाङ्क्षा राख्छ।जो साधारण छ-उ भोलि
कुनै पदको सहारामा असाधारण बन्न चाहन्छ।
मनुष्य जति छ,उ त्यतिमै रोकिन मन्जुर छैन।उ अझै
धेरै होस् भन्ने चाहन्छ,अझै फैलियोस् भन्ने सोच
राख्दछ। त्यसो त बैज्ञानिकहरु भन्छन्–ब्रह्माण्ड पनि
स्थिर छैन।ब्रह्माण्ड झन् व्यापक बनिरहेको छ,झन्
फैलिरहेको छ।हामी पनि यहि अस्तित्वको सानो अंश
न हौ।व्यापकता हाम्रो स्वभाव हो।हामी पनि त सिङ्गो
आकाशझैं खुल्न आतुर छौं।तर हाम्रो यो आतुरतालाई
अरु नै माध्यमबाट पुरा गर्ने प्रयत्न भईराखेको हुन्छ।
धेरै दौलत आर्जन गर्ने चाहाना हुनु,शक्तिशाली वा
प्रभावशाली बनी देखाउने संकल्प गर्नु परोक्ष रूपमा
व्यापक बन्न चाहनु हो।जीवन व्यापक हुन
चाहन्छ।जीवन अनेक-अनेक सहारा लिएर भव्य बन्न
चाहन्छ। जीवन अनेक-अनेक बहानामा फिजाँरिन
चाहन्छ।संसारका जति पनि चिजहरु छन्-ती
कुराहरूमा प्रचुरता कमाउनु जिवनको असली प्रचुरता
होइन,व्यापकता होइन।धन,पद,प्रतिष्ठा-यी
कुराहरूको आफ्नै महत्त्व र अर्थ छन्।यी सबै चिजहरु
उपयोगी छन्।तर साँच्चैनै जो जिवनको व्यापकता
छ।त्यो ध्यानले मात्रै बोध गराउन सक्छ।
ध्यान कुनै धार्मिक क्रिया होइन।ध्यान मानिस भित्रको सम्भावना
जागृत गर्ने कला हो।ध्यान मानिस भित्र निस्कृय रहेको
उर्जा जगाउने विधि हो।ध्यान त्यस्तो खोज हो-जसद्वारा
जिवनको व्यापकता प्रकट हुन थाल्दछ।ध्यानले प्रदान
गर्ने व्यापकता शरिरिक होइन।यो प्राणको प्रचुरता
अनि उर्जाको व्यापकता हो।जति-जति ध्यानले हाम्रो
उर्जामा प्रगाढता प्रदान गर्दछ,हाम्रो विचार पनि
उति-उति शक्तिशाली बन्न थाल्दछ।ध्यानले प्राणवान
बनाउँछ।ध्यानको अभ्यासद्वारा जीवन र यसको
विशालताको अनुभुती हुन्छ।ध्यानमय जीवन त्यो
बृक्षजस्तो हो,जसका हजारौं हाँगाहरु हुन्छन्।जसका
लाखौं हरिया पातहरुमा सयौं पंक्षिहरु उमङ्गको गित
गाउँछन्।ध्यानले मनुष्यताको विचारमा निखार ल्याउँछ।
ध्यानले विचारलाई परमाणु बम भन्दा
शक्तिशाली बनाउँछ।
पृथ्वीमा कति बषन्तहरु शिशिरमा बद्लिए होलान् ,कति शिशिरहरु वषन्त बने
होलान् तर हजारौं बर्षहरु देखि
शिव,कृष्ण,पतन्जलि,बुद्ध अनि बोधिधर्मका
विचारहरुको प्रभाव उहीँ छ।आज पनि उनिहरुको
बिचारले करोडौं मानिसहरुलाई प्रेरित गरिरहेको
छ।आज पनि मानिसहरूको दिलमा स्पर्श गरिरहेको
छ।किन कि ती बिचारहरुमा ध्यानको बल छ।साँच्चै
भनौं भने–प्राणको अभाव वा जीवन उर्जाको न्युनता नै
दुख हो।उर्जाको व्यापकता नै सन्तोष हो,सुख
हो।हजारौं माईलको यात्रा पछि नदिले सागर भेट्छ।
नदि सागर बन्छ।नदि सागर बनेपछि मात्रै तृप्त
हुन्छ।हजारौं बुद्धपुरुषहरुको सन्देश एउटै छ-ध्यानको
अभ्यास द्वारा हाम्रो जीवन असिम बन्न पुग्छ।ध्यानले
हामी परिधिभन्दा बाहिरसम्म फैलिन्छौ र जिवनको
नियति पूरा हुन्छ।तसर्थ,ओशोले कतै भनेका
छन्–‘चौबिस घण्टामा सधैं एक घण्टा ध्यान
गर्नु।मृत्युको समयमा अकस्मात् थाहा
पाउनेछौ-जीवन भरिमा काम लाग्ने कुरा त्यै एक घण्टा
मात्रै गरिएछ।’
ध्यानको बलमा यदि तपाईले साँच्चिकै जिवनको व्यापकताको महसुस
गर्नुभयो भने–शरीरको,मनको सिमा भन्दा बाहिर तपाईंले जिवनको
बोध गर्नुभयो भने–तपाई सँग भएका तमाम भयहरु मेटिनेछन्।
ध्यानले नै मनुष्य लाई निर्भय बनाउँछ।मानिस जति निर्भय हुन्छ–उति
सुखि हुन्छ,उति तृप्त हुन्छ।त्यसैले त सबै-सबै महापुरुषहरुले
साधना गर्नका लागि यति धेरै आग्रह गरेका हुन्।
त्यसैले त ध्यानका लागि यति जोड गरिएको छ।
लेखक परिचय
दिपेन्द्र लोवा लिम्बु एक आध्यात्मिक साधक हुन् । योग, ध्यानका अलवा उनी गायन तथा निबन्ध लेखनमा समेत रूची राख्छन् ।