निसानी हुन् प्यारका, बादल र वर्षादी
प्रेमै प्रेमहरू छन् हर मान्छेका बोलीमा
तर आओ नजर लगाओ प्रेम बोल्ने मान्छे
यहाँ एक्लै एक्लै छन् प्रेमीहरू ।
सपना जस्तै इनद्रेनी छुन सकिँदैन, इनद्रेनी जस्तै सपना अप्राप्य तर सुन्दर लागिरहने । र यसैलाई खोजिरहने मेरो मन । हुनसक्छ यही गतिशिल मनको साँघुमा मान्छेको आशा जीवित रहन्छ ! अनि आशा जीवित रहे न अर्को पलको सम्झना हुने गर्दछ हामीभित्र । र पल पलको संयोजनबाट समय युगमा रुपान्तर हुन्छ । ओ रुपान्तरित समय ? यतिबेला म सुतिरहेको छु ओच्छ्यामा । हो यसै समयदेखी सुरु भयो कल्पनाको एउटा युग । जब लामो समयको लागि खुट्टाको बिकल्पमा वैशाखी समाउन विवश भए यी हातहरू ।
विस्ताराको सामुन्ने झ्याल छ । झ्यालबाट देख्न सकिन्छ बाटोमा मान्छेहरू हिँडिरहेको दृश्य । जो अब कुन्नि कति समयको लागि काल्पनिक छायाँछवि बनेर घुम्ने छन् यी आँखासामुन्ने । र यस्तो बेला घाम उदाएसँगै घुम्न जानेछ मन हिजो सग्लै हिँडेको बाटोमा र घाम अस्ताएसँगै हुनेछ अर्को काल्पनिक यात्रा सपनाहरूमा ।
बदलिएको यो समय हर अस्तित्वमाथि नजरअन्दाज गरिरहेझै लाग्छ । मनका विश्वासहरू के सधै पराजित मात्रै भइरहने हुन् यो समयका अघिल्तिर ? जवाफका लागि सोधिएका होइनन् यी प्रश्न बरु हुन् यी त भोगाइका सुष्केराहरू । यतिबेला मानस सिर्फ यादहरूको पुञ्ज बनेको छ । यादहरूको आवेगमा पहाड भत्किएझै पहिरो गएको छ मनमा । एकान्तको भयानक अतिक्रमणमा अपहरित भएका छन् सबै सबै विश्वासहरू । आस्थाहरूले मृत्युवरण गरेपछि केवल ढोङ बनेको छ आदर्श । तर लय त हो यो पनि,जीउनु त छ नै यसै लयमा पनि ।
ओ मेरा पुराना यादका पात्रहरू ? ओ मेरा प्यारा अतितहरू ? ओ मेरा नबोल्ने इतिहासहरू ? मलाइ किन
यति विधि मनपरिरहेछ आज यो यथास्थिति ? समयको गतिमा परिवर्तन त एक सास्वत सत्य हो । तर
यो अस्वीकार ? सायद् जेलिएको हुन्छ मान्छे विगतको जञ्जिरमा पनि । के समयको यसै स्वभावलाई बुझेपछि मान्छे बुद्ध बन्छ ? आखिर यात्रा त गर्नुनै छ संसयका थाकबाटै भए पनि ।
बाटो मेटिएको यो समय, आशाको एक त्यान्द्रोमा भएपनि राख्नु त छदैँछ सिमान्त पाइलाहरू । कुहिरोमा
हराएपनि पुरै संसार हेर्नु त छदैँछ त्यही कुहिरो भएपनि । किनकी आँखाको औचित्य हेर्नुमै त समाहित रहेछ ! जस्तै कर्कश आवाज भएपनि नसुन्न मान्दैनन् यी कानहरू । आवाज, दृश्य भोगाई र परिवर्तन
समयका गतिमा शास्वत छापहरू रहेछन् । अनि तिनै छापहरूमा अनुदित जीवन वर्तमानको स्वरुप ।
परिवर्तित मस्तिष्क, हेराइमा भिन्नता केवल अनुवादित समयको छाँयाछवि न हो । र त्यसै छाँयाछविको सानिध्यमा निर्मीत प्रचलन नयाँ सभ्यता । र यसै नयाँ सभ्यताको आडमा मानवतालाई कुल्चिजाने ओ
आधुनिकता ? मलाई सधै अस्वीकार्य छ तेरो यस्तो हर्कत । अर्थात म न्युनतम् भएपनि शुद्धता खोज्छु
तँभित्र आडम्बर होइन । अरे विचारका यी काल्पनिक उडानहरूमा यी कस्ता असंलग्न विषयहरू उठान
भइरहेछन् ? कुन अस्तित्वको खोजिमा निर्मीत भइरहेछन् यी भावहरू ?
अभावहरूमा भावहरू किन रङ बनेर आउँछन् मेरा शब्द नगरीमा । कुन सम्मोहनको कारण यसरी सुसाउँछ मन विचारको भन्ज्याङमा । सायद् यी नै सुसेलीहरूमा बदलिरहेछ भोगाइ । नियम बिहीन
अनुभुतीको व्याकरण कहिले रुग्णतामा रुमल्लिरहेको भेट्छु कहिले आदर्शका जहाजमा उडिरहेको । हुनत यो अकल्पनीय जीवनमा कल्पनाको पनि आफ्नै महत्व रहेको हुन्छ । सायद यसै अर्थमा मन गइरहेछ सपनाको मार्गमा अघि अघि । हुनसक्छ मान्छेले देख्ने कयौँ सपनाहरू कुनै युगमा आदर्श थिए या हुन्छन् । सायद सपनामा पनि अस्तित्वको ताल निहित हुन्छ ।
लेखक परिचय
मुख्य रूपमा ढुंगानाका सिर्जनामा आध्यात्मिक चेत र शुन्यवादको प्रभाव दखिन्छ । उनी विशेष गरी कविता र निबन्ध बिधामा कलम चलाउने गर्दछन् ।