चिया गफ अनौपचारिक लेख हो जसमा नेपाल, भारत र विश्व परिवेशमा नेपाली भाषीका कुराहरू हुने गर्छ । यसैगरि भूत र वर्तमान कुरालाई हेरेर तुलनात्मक लेख लेखिरहेका छन्, सिक्किमको राजधानी गान्तोकबाट प्रवीण खालिङले। पछिल्लो केही वर्षयता उनले यो चिया गफ अभ्यास गरिरहेका छन् । निबन्धात्मक शैली भएर पनि कतिपय चिया गफ भने कथात्मक र काव्यिक छटामा समेत देखा पर्दछन् । वास्तवमै भन्नु पर्दा चिया पिउदै गरीने गफ प्रकारलाई लिखित रूपमा अघिल्याइएको लेख मान्न सकिन्छ। जसले समसामयिक विषयलाई उठान गर्ने गरेको छ। प्रस्तुत छ चिया गफको पहिलो अङ्क ।
हिमाल हेर्ने कुरा कत्ति रमाइलो छ हरेक बिहान उठ्दा हिमाल हेर्न पाइयोस्, जीवनभर यही कामना लेख्न पाइयोस् । हिमाल जस्तै सुन्दर कुराहरू अझै धेरै छन् हाम्रो भेगमा। त्यसै कुराहरूमा मक्ख परेका थिए हुकर, सलीम अलीहरू । के छैन यहॉं हेर्ने र मन पराउने मन र आँखा पो चाहियोसँगै क्यामेरा भिरेर हिँड्ने विशाल दाज्यु भन्ने गर्छन्, हरेक पल्टको यात्रामा । हाम्रो भेगमा प्रत्येकपल्ट नयॉं लाग्ने कुराहरू छन् तर हामीलाई भन्दा धेरै घुमन्तेहरूलाई थाहा होला हाम्रो सम्पदाको बारेमा । हामीले हाम्रो कुराहरूलाई बुझ्ने प्रयास नै गरेनौं गुनासो र चित्त दुखाईलाई अहिले युवाहरूले पन्साउन थालेका छन् । आफै बुझ्दैछन् आफ्नो ठाउँलाई यतिबेला युवाहरू कॉंधमा क्यामेरा भिरेर जंगल पस्न थालेका छन् ।
मेरा नेपाली फोटोग्राफर साथीले एक दिन मेलमा लेखेको थियो, अहिले हाम्रो देशले बन्दुक भीरेको छ साथी, देशै जंगल पसेको छ, भनेर । नेपालमा परिवर्तनको नारा लिएर बन्दुक बोकेर सबै जंगल पस्दै थिए, त्यतीबेला। अहिले मलाई उनकै शब्दलाई प्रयोग गर्न मन लागिरहेको छ अनि भन्न सक्छु अहिले हाम्रो भेगले क्यामेरा भिरेको छ, अनि जंगल पस्न थालेको छ। सॉंच्चै नयॉं सिर्जना र परिवर्तनको निम्ति जंगल नपसी नहुँदो रहेछ।
गत केही सालदेखि सिक्किमको चराहरूबारे चर्चा निक्कै चुलिएको छ । डॉ.सलीम अली कति भाग्यमानी थिए भन्ने कुरो अहिले आएर रंगीन प्वॉंखहरूमा क्यामेराको लेन्स फोकस गर्दा, कुनै नयॉं स्पेसिस खिच्न पाउँदा थरथर भएको मनलाई छाम्दा थाहा हुन्छ । सेता दाह्री भएका सलीम अलीले सिक्किम घुमे सुन्दरतालाई बुझे अनि लेखे । अहिले आएर बुझ्न खोज्दैछ युवा जमातले द बड्र्स अफ् सिक्किम , र खोजी खोजी पढ्न चहान्छन युवाहरू त्यो पुरानो पुस्तक । युवाहरू क्यामेरासितै भेन पार्लोको बड्र्स अफ् इण्डियन सब कन्टिनेन्ट बोकेर जंगल-जंगल घुम्न आनन्द मान्छन् । सलीमले बुझेको सिक्किमलाई सिक्किमको वर्तमान संस्करणले बुझ्न खोज्दैछ ।
युवाहरूले कॉंधमा क्यामेरा बोकेर चरा खिच्न खोज्दैछ । यहॉं 6 सय भन्दा धेरै प्रजातिका चराहरू पाइन्छ भन्ने कुरा चिया पसलहरूमा युवाहरूले निर्धक्क चर्चा गर्न थालेका छन् । गत वर्ष अक्टोबरमा स्वीडेनका चार अधवैसे बुडाहरू सिक्किममा चरा हेर्न आएका थिए दुई बिहान मै दूर्लभ १२० प्रजातिको चरा भेट्दा अब गएर अझ पैसा कमाएर फेरि सिक्किम आउँनेछौ भन्दा मलाई अचम्म लागेको थियो।जीवनमा कमाएको पैसा बिल्डीङ, गाडी र कान्छीको साटो चरा हेर्न मन पराउने ती बुढाहरू धन्य रहेछन् । चरा हेर्नु पनि एउटा पेशा हुँदोरहेछ, शौख हुँदोरहेछ, जीवनको वास्तविक कला हुँदोरहेछ । तर दूर्भाग्यको कुरो सलीमले देखेका चराहरूमा कतिलाई हाम्रा पुस्ताले देख्न पाएका छैनन् र पछि हामीले देखेका चराहरू आउँदो पुस्ताले पनि देख्न नपाउलान कि, डर छ।
अहिलेको पुस्ताले रिस्ले, हुकर र सलीमको पदछाप पहिल्याउने प्रयास गर्दैछ।आफ्नो इतिहास आफै लेख्ने अभियानमा जुटेको छ ।
देशले स्वाधिनताको ६५ औं संस्करणको आनन्द लिइरहेको दिन क्यामेरा भिरेर जंगल पसेको थिएँ । चरा जस्तै हाम्रो भेगमा पुतलीको सुन्दरता पनि लोभ लाग्दो छ । युवाहरूले अहिले पुतलीलाई माया गर्छन्, फोटो उतार्न र फेस बुकमा अपलोड गरेर नाम र प्रजाति ठिम्याउने काम भइरहेको छ। जानकारी बटुल्ने एउटा राम्रो परम्पराको थालनी भएको छ फेस बुकमा । दक्षिण भारतबाट आएका डॉ. कृष्णमेघ कुन्ते पछिल्लो तीन वर्षदेखि सिक्किमको खोल्सा खाल्सी र जंगलभरि पुतली खिच्दै, हेर्दै, रमाउँदै छन् । सिक्किमे युवाहरू भने चिल्लै । अहिले केही महिना यता पुतलीले पनि चराले जस्तै ध्यान आकर्षित गर्न थालेको छ युवाहरूलाई । हुकरको हिमयलन जर्नल्स पल्टाउन थाले, मिना हरिबलको द बट्टरफ्लाईज अफ् सिक्किम हिमालय पुतलीको गीता बनेको छ।
सिक्किममा सात सय भन्दा अधिक प्रजातिको पुतली पाइन् छ। जोसेफ ड्याल्टन हुकरले १८४८ तिर सिक्किम घुमेर यसको आनन्द उठाए, अहिले झण्डै दुई सताब्दीपछि पुतलीको सुन्दरता बुझ्दैछौं ।
देशले स्वाधिनता दिवस मनाइरहेको बेला म पुतली हेर्न व्यस्त थिएँ । पुतलीको स्वतन्त्र उडान र स्वछन्द जीवन भन्दा स्वाधिनता अरू के हुन सक्ला । म पुतलीको क्लोज सर्ट लिन व्यस्त थिएँ । जंगलको छेउको गाउँ र गाउँलेहरूको फुटबल खेलको फाइऩल, परम्परागत स्वाधिनता दिवस शुरु हुन लागेको थियो ।
अम्पायरले सिटी बजाएर गाउँले भाइचुङहरूलाई सेवेन साइटको स्टेडियममा उत्रिने अह्वान गरिरहेको बेला म मैदान छेउबाट पार भएँ । मेरो नजर भर्खरै द्रुत गतिमा फूल-फूल हुँदै उड्ने ग्लासी ब्लुबोटलमा अडिएको थियो। अप्पर सर्ट र अण्डर सर्ट दुवै लिन पाए हुन्थ्यो मनमा लागिरहेको थियो । छेवैबाट कमन ब्लुबोटल स्वाट्टै पार भयो । म अवाक्क थिएँ पुलतीको खानी रहेछ यहॉं। कृष्णमेघ कुन्तेलाई जस्तै सुन्दर पुतली कृष्ण पिककको झुण्ड निस्केर मलाई पनि छक्क पार्ने हो की।
कमन म्याप, म्यापलेट र ग्रेट मर्मन पनि यता उती उड्दै छ । तर झुण्ड भएर बसेको कमन म्लेया भने मलाई सबैभन्दा आनन्दित तुल्याएको थियो । किन भने यती धेरै एकै प्रजातिको पुतली पहिलोपल्ट देखेर म क्यामेरा सम्हाल्न सकिरहेको थिइऩ् । कुन सर्ट लिने निक्कै अत्तालिरहेको थिएँ भने १५ अगस्त सिरज भनेर फेसबुकमा अपलोड गर्ने ध्याउन्न पनि उत्तीकै थियो ।
मैले विभिन्न एंगलमा घामको तापको वास्ता नगरि सर्ट लिइरहेको थिएँ । एक हुल युवाहरू फुटबल हेर्न आएका होलान उभिएर मेरो क्रियाकलापलाई जिज्ञासु भएर हेरिरहेका थिए । पसिना पुछदै फुलको झाडीबाट यसो मास्तिर युवाहरू भएतिर उक्लिए । एउटा युवाले प्याट्टै अंग्रेजीमा सोध्यो तपाईं कहॉंबाट आउनु भएको, के तपाईँले नेपाली बुझ्नु हुन् । मैले उसको अंग्रेजीको उत्तर नेपाली दिएँ, उ म भन्दा धेरै छक्क परिरहेको थियो ।
युवकले सोध्यो दा तपाईँ यतैको हो ? यसरी बट्टरफ्लाई र नेचर खिच्नेहरू पनि रहेछ हाम्रोमा पनि, उसले भन्यो। पुतली, चरा, फुल, सुनाखरी, र हिमालबारे विदेशीलेमात्र चासो राख्छ भन्ने धारणा अझै पनि रहेछ भन्ने युवकको बिचारले छर्लङ्ग पार्यो । पछि उसले भन्यो, ‘दालाई त मैले भुटाङको हो कि थाइल्याण्डको टुरिष्ट पो रहेछ भनेको त होइन रहेछनी। तर मलाई पनि नेचर मन पर्छ नी।’ उसले थप्यो । मैले पुतली, चरा र प्रकृतिलाई माया गर्न सके आनन्द पाइन्छ भन्दा उ हर्षित थियो ।
मलाई भने रिस्ले, हुकर, मिणा हरिबल र सलीम अलीहरूलाई देखेको सिक्किमले अहिले पनि उनीहरूको ह्याङओभरबाट उत्रिन सकेको छैन् भन्ने लागिरहेको थियो। त्यसैले त सोध्छन् कताबाट आउनु भएको, के तपाईँले नेपाली बुझ्नुहुन्छ…?
लेखक परिचय
अप्पर सियारी गान्तोक पूर्व सिक्किमका प्रवीण खालिङ कविता, निबन्ध र कथा लेख्छन् अन्य भाषाका साहित्य अनुवाद गर्छन । उनी भारतीय नेपाली साहित्यमा अहिले चलेको समावेशी लेखनका एक अभियन्ता हुन् । उनको पहिलो मौलिक कविता सङ्ग्रह "झरी" 2014 सालमा प्रकाशित छ। समावेशी लेखनको धेयलाई आत्मसात गरेर शाश्वतको वकालत गर्दै प्रेमका कविताहरूको सङ्कलन हो झरी शिर्षकको श्रृखला कविता र अन्य प्रेमका कविताहरू। साहित्य बाहेक फोटोग्राफी, भिडियोग्राफीका सौखिन खालिङ घुमन्ते हुन्। 'एन अमाजिङ ट्राभलर' भन्न रूचाउने खालिङ पेशाले पत्रकार हुन। राजधानी गान्तोकमा बस्ने कवि खालिङले 2014 सालको बडा दिनदेखि अनौपचारिक साहित्य कार्यक्रम " चिया कविता " चलाउँदै आएका छन्।
यस विशेष साहित्यिक पोर्टलमा स्थान दिनुभएको छ यसको निम्ति शब्द सोपानका सबैलाई आभार ब्यक्त गर्दछु।