युक्ना (अकेन्द्रवाद) अभियन्ता कवि यस गोधूलि मलाई फोन गर्दै घर आइपुग्छन्, बेलुकानेर । अकबरे खोर्सानी बिरुवा गोड्दै गर्दा कवि गोधूलि आइपुगेपछि घरमा अनलाइन कविताबारे केहि गन्थन र कविता ‘फाःन्दो अचार’ सुनाउँछन् । युक्नाको हरेक एक गते गोष्ठिका लागि कविले यसपल्ट फालेलुङ्को चौरी महोत्सवजाने प्रस्ताव गर्छ । समय हत्तार छ किनभने एक गते आउन दुईदिन मात्रै छ । सत्यहाङ्मा मावि र महागुरु फाल्गुनन्द आविका शिक्षकहरूको एक टोली बन्छ र बैशाख एक गते फालेलुङमा हुने चौरी महोत्सवमा जान ट्याक्सी रिजर्भ पनि ।
हजुरआमा लालमती सेर्मा – ‘फालेलुङमा जान सकिन्दैना । ढुङ्गाको डाँडा र भीर छन् । चौरीहरू र फ्याँडाहरू पाउँछन् अनि तेहाँ बिखमा पाउँछ । चिसो हुन्छ ।’ उहाँले सुनेको आधारमा भन्नु भएको यी कुराहरू मेरो मानसपटलमा बारम्बार आउँछ । साँच्चै ढुङ्गाको ग्याग्रेन् या चढ्न नसकिने अक्कर पहाड, चौरी र भेडाहरूको दुग्धजन्य वस्तुहरू प्रशस्तै प्राप्त, विखमाहरू सजिलै पाउन सकिन्छ होला अनि साँच्चै अत्ति नै चिसो होला भन्ने मनमा कौतुहल छ । बारबार हजुरआमाको कुराले मलाई घोचिरहन्छ, त्यहाँ नपुगिञ्जेलसम्म ।
बैशाख १ गते २०७८ सालको वर्षारम्भसँगै एकाबिहानै साढे चार बजे याम्बोङ् चोकमा छोराको मोटरसाइकलमा पुग्छु । मभन्दा अलिक अगावै शिक्षक चन्दन नेम्बाङ, शिक्षक अमिता सुब्बा चोकमा उपस्थित छन् । ट्याक्सी गुरु संगम राई तयार छन् । शिक्षक साथीहरू क्रमशः सत्यहाङ्मा माविका प्रधानाध्यापक रामभक्ति नेम्बाङ, दिनेश पराजुली, सागर नेम्बाङ (पूर्व लेखापाल), टंकलाल सिवा (कार्यालय सहयोगी), तेजप्रसाद पोखरेल, यस गोधूलि र लोकेन्द्रराज फुँयल पालैपालो भेला हुन्छन् ।
लगभग बिहान साढे पाँच बजे पाउरोटी र चिया खाजा खाएर याम्बोङ् चोकबाट फालेलुङ यात्रामा निस्कन्छौँ । याम्बोङ् पात्ले नवमीडाँडासम्मको कच्ची यात्रापश्चात कालोपत्रे मोटरेबल यात्रामा लाग्छौँ । नवमीडाँडा हुँदै फेदेन, भारपा र जोरपोखरीसम्मको पक्की यात्रा सुखद हुन्छ तर लोकेन्द्र सर भारापा उकालो लाग्दा नैतिक बिरामीले धर्ति पल्टिन्छ । सायद तीनकपाले यात्रा यसैले कट्यो होला ।
‘के खोज्छस् कानो आँखो’ भन्या झैँ तेज सरले सिवाखोलामा पुग्दा येःक्तेन गाउँको पञ्चमुखी बजारमा खानाको व्यवस्था गर्छन्, फोनबाटै । चरम सुखानुभूति हुन्छ हामीलाई किनभने त्यो रुटमा कहाँ खाने, बस्ने र कुन बाटो जाने भन्ने कुरामा तेज प्रसाद पोखरेल सरभन्दा अन्धो छौँ । जोरसालमा ट्याक्सीलाई खाना दिएर मेची लोकमार्गको जोरपोखरीमास्तिरदेखि दाहिने कच्ची मोटरबाटोमा प्रवेश गर्छौँ । धुलो, रोडा अनि जंगल भएर घुम्ती नै घुम्तीहरू प्रशस्तै अगाडि बढ्न थाल्छ । धूलोहरू कहिले बादल झैँ आकाशिने त, कहिले ट्याक्सिभित्र छिरेर हामीलाई मज्जाले ओडाउने । तर यो धूलो अर्गानिक र हाइजेनिक छन् भन्नेमा दुविधामा छैनौँ । सागर, दिनेश र चन्दन सरहरूको हाइड्रो सेयर, कित्ता र स्टक एक्चेन्ज आदि बारे लामो वहस गर्छन् ।
साठी एकसाठि सालमा पाँचथरको हुकोडेकले खनेको अक्कर पहरामा टाँसिँदै जाँदैछौँ, धन्यवाद छ हुकोडेकलाई । खुङ्वाका खोपहरूभित्र उत्तिसका जंगलहरू, पानीको श्रोत प्रशस्त भएका खोल्साहरू, अलैँचीका बगानहरू अनि निक्कै घुम्तीहरूले गाउँबस्तीलाई नयाँ सभ्यतामा लाँदै गरेको देखिन्छ । वरतिर खोल्सा नाघेपनि उस्तै अर्को खोल्सा आउने झाडि जंगलको सभ्य भीडले मनलाई मोहक पारेपनि छेवैमा बस्ने अमिता र चन्दन सरहरूको मन चुमुक–चुमकु हुन्छ, भीरले । तैपनि यात्रुहरूको गफ वेग्लै छ, सभ्यताभित्र गुरुमाहरूको सौन्दर्यबारे । बडो गजबको हुँदोरहेछ, नारी सौन्दर्यका कुराहरू अनि साहित्यका कुराहरू । निक्कै हाँसो, चैन र आनन्द छ । मा(….)क्ने गाउँपालिका नामले सबैलाई हँसाउँछ किनकि फाल्गुनन्द गाउँपालिकाको कार्यालयमा यो शब्द बोल्दा ‘कहिले नेपालको पश्चिम क्षेत्र जानु भो ?’ भनेर सोध्छन् भनि लोकेन्द्र सर भन्छन् । त्योभन्दा उत्तम एउटा कविता अमिता सर पस्कन्छन् र स्वाद पनि लाग्छ । एक रन्कोले मर्नेगरी हाँस्छौँ, स्वादले । ‘कविलाई च्याप्प समात्ने अनि उनको झोला खोलखाल गरेर उसको कलम मज्जाले खेलाइदिनु पर्छ यार।’ कत्ति राम्रो कविता ? वास्तवमा अमिता सरलाई धन्यवाद । जंगल, खोल्सा पार गर्दै सरासर बिहानको साढे नौ बजे पञ्चमूखी बजार पुग्छौँ ।
येःक्तेनको पञ्चमुखी बजारमा खाना खाएर तेर्सिन्छौँ, तेज सरको पूर्व व्यवस्थापनले । ताङ्लेःप्पा हुँदै खेवाथाम खोलाको पुल नाघेर मेमेङ्को माङ्लेबुङ् फेदीबाट नाम्लुवा भञ्ज्याङ् थोरै नपुगी एउटा गेटको स्वागतले देब्रे बाटो भएर लाग्छौँ, तेज सर धेरै पछिल्लो सिटमा बसेर स्थान परिचय दिन्छन् । नाम्लुवा (सक्खरखण्डे) भ्यालीको खेत नियाल्दै आसपासको सुन्दर गाउँहरू हेर्दै गुरुङ्टारको उकालो लाग्छौँ । घुम्तीहरू पचासौँ उकालाहरू नाँघ्दै गाउँघर पार गर्दै जंगल क्षेत्रहरूमा पुग्छौँ, बादलसरी धुलोहरू उडाएर । जंगलको माथिल्लो पाटा नरेलुङ् थाम आसपास उकालोमा अगाडिको एउटा पिकअप बिग्रेछ क्यार, दर्जनौँ ट्याक्सीहरूको ताँतमा हामी पुच्छरमा छौँ । म र अमिता सर पछिपछि र अलिक अघि सागर सर र तेज सर उकालिन्छौँ । यसैबेला मलाई लेक लाग्छ । तै पनि नरेलुङ् मन्दिर पुगेर फूल चढाउँछु भने सरहरूले भेटी चढाउँछन् । निक्कै बेर मन्दिरको आसपासमा बसेर टेक्सि पर्खन्छौँ । अत्ति पुरानो जंगल बुढा रुखहरू खर्सु, फूलहरू सक्न आँटेको चाँपहरू, गुँरासहरू, चुत्थ्रोहरू, धुपीसल्लाहरू देखिन्छन् । चौरी महोत्सवमा जाने मानिसहरूको थकानमा विजोग मुहारहरू नरेलुङथाम पुगेर बसेका छन् । लगभग २९०० मीटर उचाई छ क्यार नरेलुङ् ।
आधाघण्टाको पर्खाइपछि ट्याक्सीहरू छिर्छन् धुलो उडाउँदै र हामी पनि उकालिन्छौँ । घुम्ति र उकालाहरूको वयानै गर्न नसकिने, गुराँसको बोट अनगिन्ति र धुपीका बोटहरूको चौरी महोत्सवका यात्रुहरूलाई जिस्काउँदै हेरिरहेछन्, एकोहोरिएर । उकाला घुम्तिबाटोहरूमा चोकहरू आउँछन् । हुँदै कार्यक्रम स्थलको अन्दाजी पाँचसय मिटरमुनि फेरी अगाडि ट्याक्सी बिग्रेकोले हामी फेरी उत्रन्छौँ र उकालिन्छौँ ।
‘थामडाँडा तीनसिमा कबुलियती वन’ लेखिएको बोर्डमा बसेर फोटो सेसन गर्छौँ । बेलायतका दाइ सन्तविर नेम्बाङ् र भाउजू शकुन्तला यक्पाङ्देन नेम्बाङ् पनि मेरो परिदृष्यमा आउँछन् । एकछिन भलाकुसारीपछि हामी सिधैँ कार्यक्रम स्थलको उकालो हिड्छौँ । मलाई लेक लागेकाले केहि ओखति पानी गर्छु । विशेष यस गोधूलि कवि ज्यूलाई धन्यवाद छ । उहाँले दिनभरी नै ओखती दिन्छन् । मेची लोकमार्गको जोरपोखरीदेखि कार्यक्रम स्थलसम्म लगभग कच्चि ५६ किलोमिटर भएर पुग्दा भारत नेफालको सिमानामा कार्यक्रम जोडदार हुँदैछ । यो कार्यक्रम स्थलदेखि माथि कुनै अग्ला रुख र मझौला रुखहरू नहुने क्षेत्र नागी चउरको शुरुवाती ठाउँ रहेछ । आधा भारतमा र आधा नेपालमा बसेर मञ्चमा बोल्ने अतिथिहरूका कुराहरू सयौँ उपस्थितहरूले सुन्दैछन् । लगभग मध्यान्ह साढे बाह्र बजे वरिपरि पुग्छौँ । कोही उराङ् त कुनै फोम्जो चौरीको ढाँडमा चडेर फोटो खिच्ने त कुनै लुकुनी र टोपी लगाएर फोटो सेसन । हाम्रो समूहले पनि उराङ् र फोम्जोहरूसँग फोटो खिच्छन् । वडाध्यक्ष बहादुरसिं नेम्बाङ् पनि कार्यक्रममा पुगेकाले उनीसँग हाम्रो टोलीले फोटो लिन्छ । अम्लाबुङ्को राजेन्द्र आङ्देम्बे, चिलिङ्देनका उदीप सिवा, सारतापका रमेश तुम्रोक, फेदेनका भवानी तावा, नाङ्गेनका लेखनाथ सिकारु, गजेन्द्र राई लगायतहरू मेरा नजर अगाडि आफ्नै संगीतमा व्यस्त देखिन्छन् । हामी एकछिन भारत पाटामा गएर रमिता हेर्छौँ । अलिक तलतिर नेपालको बिओपि (बोर्डर आउट पोष्ट) अफिसमा नेपालको झण्डा ठड्याएर फर्फरिँदैछन् भने अलिक पर मास्तिर भारततिर कुनै अफिस (एसएसबि क्याम्प होला)को अग्रभागमा भारतको झण्डा फर्फरिँदै गरेको देखिन्छ ।
आरामै नगरी भारत क्षेत्रका माथिल्लो पाटामा जान्छौँ । ‘नमच्चिने पिङ्को सय झड्का’ जस्तै हत्तारमा उकालिन थाल्छौँ मास्तिर । भवानी तावा र रमेश तुम्रोकसँग हात हल्लाएर ‘हाइ हेल्लो’ बाहेक अन्य प्रतिक्रिया छैन । होटल या त होमस्टे त्यहाँ पुगेर फोटो सेसन गर्छौँ । यो पश्चिम बंगालको दार्जिलिङ जिल्ला अन्तर्गत पर्दोरहेछ, लगभग ३३ सय मीटरको अल्टिच्युडमा । यो होटलमा नेपालको खाना खाई भारतमा सौच गर्न भ्याउँछु । चिया खाएर फेरी उकालिन्छौँ तीनसिमा पुग्न । लेकको ओखतीले मलाई सहारा दिइरहेको छ । चउर उकालो बाटो लाग्यौँ, सबै साथीहरु हत्तारले पाइला सार्दै जाँदैछन्, मास्तिर–मास्तिर । प्रायः मसँग कवि यस गोधूलि र हेडसर रामभक्ति नेम्बाङ नियमित जस्तै छन्, साथमा, ‘गाँस छोड्नु साथ नछोड्नु’ उक्ति झैँ सरहरू । रामभक्ति सरले मेरो नजरहरू फोनमा कैद गर्न भ्याउँछन् अनि सागर र यस गोधूलिरूले पनि । धन्यवाद छ । अरु टोलीहरू पस्ट–छरपस्ट छन् त कहिले जोल्ठिन्छन् । पुग्ने बेलामा वरिष्ठ साहित्यकार तथा पत्रकार प्रेम ओझा सरसँग भेट हुन्छ । हत्तारमा तीनसिमाको प्रमाणका लागि फोटो लिन्छौँ प्रेम ओझा, रामभक्ति नेम्बाङ्, कवि यस गोधूलि र म, अनि छुट्टिन्छौँ ।
जंगेपिलर पुग्दानेर चुम्लुङ् पान्थरको निवर्तमान अध्यक्ष तथा राष्ट्रिय चुम्लुङ् सदस्य नरेन्द्रराज केरुङसँग असिम भेट हुन्छ, साथमा विवेक लिम्बू, कृष्ण रिमाल र विक्रम पारखी केरुङ पनि । र हत्तारमा फोटो लिएर छुट्टिन्छौँ । हामी तीनसिमा पुगेर फोटो खिची थोरै समयमा केही अवलोकन र अध्ययन गर्छौँ, फालेलुङको । साढे दुई बजिसकेको छ । सबै हत्तारमा छौँ फर्कनका लागि । तीनसिमा लामाहरूको छ्योर्तेनजस्तो उठाएको छ । त्यहाँ लामा लिपिका शिलाहरुलाई सिमेण्टले गाँसेर वरिपरि उभाएको एक महत्वपुर्ण छ्योर्तेनजस्तो लाग्छ । तेसैलाई तीनसिमा भनिएको हुनुपर्छ, जान्ने कोही छैनौँ । अलिक पर गई माथिल्लो उत्तर दिशाका माथिल्लो पाटाहरू हेर्छु, दखिनका तल्लो पाटाहरु र तीनका वरपर नियाल्छु । भारतपट्टि जंगल घना देखिन्छन् तर चौरीका चोकहरू कुनै हुँदैनन् । नेपालपट्टि जंगल पातलो छ तर चौरीका चोकहरू जत्तासुक्कै प्रशस्तै छन् । ‘के भारतले चौरीहरू पाल्दैनन् त ?’ भन्ने मेरो मनभित्र आफैँ प्रश्न उब्जन्छ उत्तरविहीनमा । उत्तर पाटाको अग्लो डाँडाको अक्कर भीरजस्तो देखिनेमा बाटो देखिन्छन् । सायद भारतका एसएसबिहरू हिँडेर सिमा कोरेका होलान्, मन कल्पन्छ ।
‘यही रहेछ फालेलुङ्, नेपालपाटा भीर र ढुङ्गाका पहरा र चुच्चाहरू । सायद यही पहराका चुच्चाहरू तल गाउँबाट अग्लो ढुङ्गाका चुच्चाहरू देखिएको र नै फालेलुङ् भनिएको होला ।’ मेरो मनले उत्तर खोज्छ र त्यहीँ पुगेर फोटो पनि लिन्छौँ । अलिक यता आएर भारतको दखिन पाटा हेर्छु, आहा सोलिङ् लगाएको मोटरेबल बाटो देखिन्छ । नेपालपाटामा सानो गोरेटोमा सामान्य सोलिङ गरी फालेलुङ्को डाँडासम्म (जहाँ एउटा घण्ट झुण्ड्याइएको स्थानसम्म) सोलिङ् छ । तिनसिमाको उचाईभन्दा थोरै मिटर मुनी छ । ‘यही रे, ईतिहासमा सिक्किम, भारत र नेपाल तीन देशको सिमाना जोडिएको र तीन सिमा (तीन वटा देशको सिमा) भनिएको’ भनेर वरिष्ठ साहित्यकार प्रेम ओझाले सेकेण्ड भेटमा सुनाउँछन् । हुन त प्रान्तको हिसाबले वर्तमान तीनसिमा नै छन् । भारतको सुक्खिम, भारतकै पश्चिम वंगाल र नेपालको प्रदेश नं. एक गरेर तीनसिमा नै हुन्छ । त्यहीँ उभेको छु । तीनसिमा समुद्री सतहदेखि ३४८७ मीटर उचाई रहेको हिउँदमा पुरै हिउँ हुने उच्च क्षेत्रमा पर्छ । यो पानी ढलो आसपास र डाँडामा अग्ला प्रकृतिको रुखहरू छैनन् । योभन्दा लगभग पाँचसय मीटर मुनि मात्र छोटा खालका रुखहरू पाइने रहेछ, जसमा लालीगुराँस र पलाँसहरु देखिन्छन् । सम्झेँ मेरो हजुरआमा लालमति सेर्माले सुनाएको फालेलुङ्को कथा । दुरुस्त नभएपनि नेपालपाटा चौरीको चोकहरू देखिन्छन् र भेडाका चोकहरू पनि । चट्टान र अक्कर पहरा नेपालपट्टि देखिन्छन् भने भारतपट्टि चैँ माथि पानी ढलको डाँडैसम्म सामान्य माटोको चउर भएर बसेको ठाउँ, कोरालो जग्गा र कमभीर पहरा छन् । मनले भन्छ, ‘अरे यार उत्ता नेपालपट्टि देखि पुरै हिमालजस्तो भीरपहरा उठेको, चुच्चो देखिने तर माथि पुग्दा त्यस्तो भान र आभाष नहुने साँच्चै लोभनीय डाँडा फालेलुङ् रहेछ ।’
नेपालपाटाबाट आउने एकोहोरो हावाको वेगले भीरपहराहरू सुसाइरहेका छन् । भारतपाटा मन्द र सुस्त देखिन्छन् तथापी पर्यायवरण प्रदुषणले होकि सबै दृश्यहरू तुँवालोभन्दा अन्य देख्न सकिएको छैन । पर निक्कै परसम्म पनि तुँवालो मात्रै दुःख लाग्छ । प्रेम ओझा सर सेकेण्ड भेटमै भन्छन् । ‘सुक्खिम र दार्जिलिङ् अनि नेपालको पाँन्थर पाटा मज्जैले यहाँ (तीनसिमा डाँडा)बाट देख्न सकिन्छ तर आज तुँवालोले गर्दा केही देखिएन ।’यही फालेलुङ् डाँडामा एकोहोरो चिसो हावाको कावा खाँदै एउटा ख्याली आउँछ, मनमा ।
‘ए,
फालेलुङ् डाँडा, ढुङ्गाका काँडा ।
वतासै चल्छ, यो महाभाडा ।।
तिनसिमा तल, नरेलुङ् जंगल ।
फालेलुङ पुग्दा, भइन्छ मंगल ।।
ए
सुक्खिमको माटो, दार्जेलिङ् पनि ।
फालेलुङ् डाँडा, नेपालकै जानी ।।
टुप्पीको देवी, घण्टी फालेलुङ् ।
विदा है माग्छौं, घरघरै जाउँ ।।’
हाम्रो टोली नेपालपाटाको गोरेटो सोलिङ बनाएको हुँदै तल कार्यक्रम स्थल जान्छौँ, ओरालैओरालो । सिमाको पानी ढल हुँदै, चिसो हावाको तिव्र वेगसँग जिस्कँदै, सुकेको झारमाथि चिप्लेटि खेल्दै । कार्यक्रम स्थलनेर भञ्ज्याङ् क्षेत्रमा सुक्खा बनभोज खानेहरूको भीड देखिन्छन् । कसैले जलपान (बोत्तल चौंठो), मासु तरकारी (टप्परी), भुटेको भटमास मकै, जङ्क फुड, आलुका चाना तरकारी जस्ता रेडिमेडहरू । नेपालपाटाको हावालाई भारतपाटामा बसेर छल्दैछन्, सुक्खा बनभोजीहरूले । व्यस्त कार्यक्रममा नेताहरु भाषण गर्दै थिए तर हाम्रो समूहले ती नेता तथा कार्यक्रमसँग सामिप्य राखेनौँ, अण्ट न सण्ट । चौरीको नाममा उराङ्को घीउ सागर सर र म किन्छौँ सातसय रुपैँया प्रतिकेजीका दरले अनि छुर्पि पनि एक केजी । लोकेन्द्र सरले उराङको पुच्छर किन्छन् पाँचसय रुपैँयामा । पैसा चर्तिफिर्तिमा मलाई भारु एकसय दिन्छन्, स्टलका बेपारीले । भारु पैसा फर्काउँछु । ‘लानु’ भन्छन् बेपारी । ‘मन पर्दैन’ भन्छु । वाध्य भएर सरसापट खोजेर नेरु पैसा बनाइदिन्छ । सपिङ् सकेकाले लगभग साढे तीन बजे कार्यक्रम स्थलबाट तीन घण्टाको फालेलुङ यात्रा सिध्याउँदै ओरालिन्छौँ, पैदल तलसम्म ट्याक्सी बिसाएसम्म ।
माङ्लेबुङ् पुग्दा मैले किन भारु पैसा लिइन भन्ने सवाल उठाउँछु । निक्कैले ‘भारु पैसा लिँदा हुन्छ’ भन्छन् । सागर सरले ‘म त लिन्छु’ भने । सम्झन्छु, २०५९ तिर भारतको ताराबारी (नक्साल)मा एक नेपालीको पान पसलमा तामल पान किनेँ अनि भारु पैसा नभएकाले नेरु पचास रुपैँया दिएँ । उनले नेरु पैसा थापेर च्यातिदिए र चल्दैन भने । रिसले रिङ् चल्यो । उनी बोल्दा, बस्दा र हाँस्दा नेपालीको गन्ध आउने तर नेपालदेखि पाँचसय मिटर पर्तिर भारतमा नेपालीले नेपालकै रुपैँया च्यातिदिन्छ र लिँदैन भने भारतको रुपैँया र राष्ट्रवाद साँच्चै थियो । त्यस बेलादेखि नै नेपालमा भारु लिन्न । किनभने नेपालको सगरमाथाको टुप्पोमा समेत नेपालीले भारु पैसा चलाउने तर भारतले नेपाल नजिक पनि नेरु पैसा नलिने र लिन मान्दैन भने मैले पनि त लिनु हुन्न भन्ने राष्ट्रवाद जाग्यो । हरेक सरसामानहरू लिने तर पैसा नलिने भारतीय उपनिवेश मलाई मन परेन । तसर्थ भारतीय सामानहरू लिन्छु तर पैसा म पनि लिन्न, त्यसैबेलादेखि । सायद यो मेरो राष्ट्रवाद र देशप्रेम हो कि होइन । थाहै छैन, वर्तमान राष्ट्रिय राजनीतिमा । अर्को भारतले पनि उनको देशभरि नेरु पैसा लिन मान्छ भने नेपालीले पनि नेपालभरि लिनु कुनै आपत छैन ।’ यो मेरो तर्क सबै साथीहरूले अन्तमा ‘ठिक्कै हो’ भन्छन् ।
यसपछि पञ्चमुखी बजारमा पहिले जहाँ खाना खायौँ त्यहीँ खाजा खान्छौँ र कच्ची सडक हुँदै फर्कन्छौँ । यसबेला हेडसर रामभक्ति नेम्बाङ्ले आफ्नो विद्यालयको परिपक्व गुनासोहरू देशको सरकार र नेताहरूको दलील नजर र कार्यकलाप बारे सकारात्मक आक्रोश राख्छन् । निक्कै नमज्जा भएपनि वहसमा सामेल हुन्छौँ । बेलुका ८ बजे जोरसाल पुगेर तेजप्रसाद पोखरेल सरकोमा चिया खाएर वहाँलाई एकरात नयाँवर्ष मान्न छोड्दै साढे दश बजे राति याम्बोङ् चोक पुगी आ–आफ्नै गन्तव्यमा लाग्छौँ । मलाई छोरा निसुमले मोटरसाइबलबाट लिन आइपुग्छ र घर लाग्छु ।
जब, म घर पुगेर फालेलुङ् (फालोट)को आन्तरिक र वाह्य पर्यटनका लागि सोचहरू उप्के । यदि चौंरी क्षेत्र र तीनसिमासँगै फालेलुङ् डाँडालाई नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार (फालेलुङ् गाउँपालिका)ले व्यापक गुरुयोजनाहरू बनाएर उन्नति गर्नुपर्छ । भारत सरकारले सोलिङ् मोटरमार्ग बनाएर हरेक समयमा मोटर पुग्ने बनाएको छ भने जंगललाई धेरै सुरक्षा दिएको छ । यत्ता नेपालभित्र धुलो कच्ची सडक (जोरपोखरी–फालेलुङ या आकाशे–फालेलुङ्)लाई सानै भएपनि तत्काल कालोपत्रे बनाउनु पर्ने, नरेलुङ् मन्दिरलाई चित्ताकर्षक बनाउनु पर्ने, फालेलुङ् तीनसिमामुनि खानेपानीको व्यवस्था गर्नुपर्ने, बिजुली पुर्याउनु पर्ने, जंगलहरुलाई व्यवस्थित गर्नुपर्ने (वन्यजन्तुको समेत संरक्षण पुग्छ), किपट संरक्षण गर्नुपर्ने, चोकहरू वृद्धि गरी चौंरीपालकहरूको भत्ता, वैंकिङ् सेवा र उत्पादन जन्य वस्तुहरूलाई राज्यले खरिद गरी बजारसम्म पुर्याइ दिने, नाकाको रुपमा विकास गरी मानव उपस्थित बाक्लो गर्नुपर्ने, चोकहरूलाई होमस्टेको आधारसहित व्यवस्थित र सुविधायुक्त बनाउनु पर्ने, तीनसिमा (फालेलुङ)मा पुग्नका लागि सोलिङ् बाटो स्तरिय बनाउनु पर्ने, फालेलुङ् ढुङ्गालाई आकर्षक देवधाम बनाउनु पर्ने, गुरुङ्टार वस्तिहरुमा मालिङ्गो र पर्याङ्का समानहरूको उद्योग सञ्चालन गर्नुपर्ने र यसका लागि वैंकिङ् सुविधाहरू दिनुपर्ने, गुरुङ्टारको मोटरबाटो क्षेत्रभित्र सुविधायुक्त होटल वा होमस्टेहरू बनाउनुपर्ने, आलु व्यवसायमा सरकारको वैंकिङ् सेवा र बजारको व्यवस्था गर्नुपर्ने आदि कामका योजनाहरू सरकारी पक्षबाट पुरा भयो भने यहाँ चौरी महोत्सव सुक्खायाम बैसाखमा होइन, भदौमा गर्दा साह्रै राम्रो हुन्छ र लाली गुराँस महोत्सव सुक्खायाम फागुन र चैतमा गर्दा राम्रो हुन्छ । भारतपाटामा कुनै चोकहरु नहुनु, जंगलमात्र राम्रो हुनु र फालेलुङ्को शिला नेपालमै रहनु नै पर्यटन विकासको आधार स्तम्भ हुन्छ । यो फाइदा नेपालले लिनैपर्छ भन्ने हो ।
फालेलुङ् र योदेखि मुनिको जंगलहरूमा विभिन्न जडिबुटिहरू प्राप्त छ । विखमालाई संरक्षण, विकास र व्यवसाय, लालीगुराँसको फूललाई संरक्षण, विकास र फूल प्रशोधन, मिक्थुम्बा (बान्टे) संकलन र बजार व्यवस्थापन, खोकिम, एक्लेविर, पाखानवेद, पाँचऔले, बज्रदन्ति, केन्जो आदि र तल्लो क्षेत्रमा चिराइतोको संरक्षण र उत्पादन आदि कार्यमा सरकारको लगानी हुनुपर्छ । तर सरकारबाट जडिबुटिहरुको खुल्ला संकलन गर्न अनुमति नभए पनि यसै क्षेक्रका व्यत्तिहरूलाई व्यवसायिकरण गर्नका लागि अनुमति खुल्ला गरिनुपर्छ र मात्र संरक्षण र विकाससंगै जडिबुटि निकासामा सम्भव हुन्छ । भूमीको किपट व्यवस्थामा सुधार हुनुपर्छ । स्थानीय बासिन्दाहरूको प्रत्यक्ष संलग्नताले प्रत्यक्ष विक्री गर्न अनुमति भएमा खेति व्यवसाय राम्रो बन्दै जान्छ । यस क्षेत्रका राजनैतिककर्मीहरू, वडा तथा गाउँ सरकारहरू, प्रदेश सरकार, केन्द्र सरकारमा हार्दिकतापूर्वक अनुरोध छ ।
चौरी महोत्सव भनेता पनि चौरीका दुग्ध परिकारहरूको स्टल एकैमात्र थियो भने त्यहाँको लोकेशन पत्ता लगाउन र अध्ययन गर्नका लागि ब्रोसरहरू वितरण नभएकाले नयाँ आगन्तुकहरूलाई अवलोकन अध्ययन गर्न अप्ठ्यारो भएको थियो । महोत्सव व्यवस्थापकीय क्षेत्र गाह्रो भएपनि अबको महोत्सवमा स्टलहरुको आकार बढाएर यस क्षेत्रमा पाईने चौरीका दुग्धजन्य परिकारहरु, चौरी (जोक्पे र तोले)का सुकुटी तथा ताजा मासु, चौरीहरुमा याक, नाक (डि), फोम्जो, उराङ्, जोक्पे, तोलेहरूको गोठ बनाई प्रदर्शन गर्दा सुन्दर देखिन्छन् र आकर्षक पनि । यस क्षेत्रमा पाइने विखमा, एक्लेविर, केन्जो, माइकोपिला, खोकिम, सूनपाति, भैरुङ्पाति, धूपी आदि जडिबुटिहरू, लालीगुराँस फूलको धूलो र मिक्थुम्बा (बान्टे) पनि स्टलमा ल्याएर विक्री वितरण गर्दा झनै राम्रो हुन्छ । भेडाका ऊन प्रकारहरू विक्री वितरण भएपनि तिनका मासु, दुग्धजन्य परिकारहरूको छुट्टै स्टल बनाएर राख्दा अत्ति राम्रो हुन्छ । हुन त नेपालपट्टि महोत्सव गर्ने फाँटिलो जग्गाको अभाव भएकाले धेरै स्टलहरूको परिकल्पना नभएको होला । महोत्सवमा स्टलहरू थप भए अत्ति लाभदायी र आकर्षक मात्र होइन, हरेक एकले कोशेलीको रुपमा घर–घर लान्छन्, ओखतीको रूपमा । फेरी अर्को पटक फालेलुङ् र चौरी महोत्सवमा भेटौँ, नववर्ष २०७९ सालको शूभकामना सहित ।
धन्यवाद ।
लेखक परिचय
समाजसेवा, निर्देशन, अभिनय, सम्पादन र सक्रिय लेखन् गरिरेहेका मलिसा याक्थुङ्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ्) बहुआयमिक व्यक्ति हुन् । उनले सुम्हालुङ् (२०५२ सह), पक्कन्दि (२०५४), युगान्तर सन्देश (२०५६-०५९) जस्ता पुस्तक सम्पादन गरेका छन् भने आनि साक्थिम (२०५४), मासेमी (२०५७), नुमाफुङ (२०५७), सपनाकी फूल (२०६०), माराम (२०६२), अरूणपूर्व लिम्बुवान (२०६४) जस्ता चलचित्रमा अभिनय पनि गरेका छन् । त्यसैगरि सपनाकी फूल (२०६०) र करिब डेढ दर्जन भन्दा बढि याक्थुङ नाटकहरूमा निर्देशन गरेका छन् ।
विद्वान श्री रनधोज नेम्बाङ्को जीवनी (२०५६), किरात धर्मको एकता (२०५७) पुस्तिका, खामाक् पाङ्भे लेन् तुङ्हा (याक्थुङ् नाटक संग्रह) (२०६८), याक्थुङ् पा: न्दाङ् नु साप्सक् (कक्षा ११ र १२का लागि (२०६९), लिम्बुवानमा पाँचथरको ईतिहास (२०७१), र केयुक्ना नु आयुक्ना (आधुनिक निवन्ध संग्रह) (२०७७) आदि याक्थुङ्बाका प्रकाशित कृतिहरू हुन् । याक्थुङ्बालाई myakthungba@gmail.com ठेगानामा पत्राचार गर्न सकिन्छ ।