अगमसिंह गिरी युद्ध, र स्वत्व अभिव्यक्ति
एघाह्न वर्ष आफूसँग राखेर मात्र ‘आँशु’ प्रकाशित गर्ने गिरीले थालेको एघाह्र दिनभित्र आएर भन्छन्, ‘युद्ध र योद्धा’ प्रकाशित गर्छु ।गमसिंह गिरी
‘याद‘ (सन् १९५५) र ‘आँशु’ (सन् १९६८)-पछि ‘युद्ध रयोद्धा‘ श्री अगमसिंह गिरीको काव्यकृति पाएका छौं। ‘आँशु’ लाई गीतिकाव्य र अन्य दुइलाई गिरी खण्डकाव्य भनी छुट्याउँछन् । ‘आँशु’ अवश्य गीतिकाव्य
थियो तर त्यस अघिको ‘याद’ र अबको ‘युद्ध र योद्धा’ हामी गीतिकाव्यभित्रै हेर्छौं | भन्नेहरू भन्छन्, काव्यमा सङ्गीतको सहज सामञ्जस्य भएनै गीतिकाव्य
बन्छ, नत्र मात्र काव्य हुन्छ, खण्ड वा पूर्ण । तर आज हामी गेयतालाईनै गीत भन्दैनौं। गीत – प्राण अर्कै थोक छ जुन गाइने काव्य हुँदैमा हुँदैन। भानुभक्तको रामायण गाइन्छ तर त्यो गीतिकाव्य होइन । सङ्गीत गीतिकाव्यको त्याज्य एउटा वाह्य उपकरण र रूढिगत परम्पराको अवशेष मात्र । गीत काव्यको गलामा होइन आत्मामा होस् । भावावेश, सौन्दर्यानुभूति, आमाभिव्यक्ति गीतात्मकता हृदयमा राखेर गीतिकाव्य बनेका हुन्छन् । यी तीन तर रोमाण्टिशिज्मका अवयव चिह्रिएका छन् । गिरीको क्लेश, अवसाद, रूदन र मत्तताको एक आन्नद प्रदर्शनमा छ, दु:खको भावुकता छ जुन रोमाण्टिशिज्म हो । रोमाण्टिशिज्म मानसिक वातावरण बनेकोमा कवि कवि गिरीको दुःखुवादलाई, यतिका वर्ष पर्खी केही विषलेशण गर्नै बेला आइपुगकोछ । किन गिरी दुःखी भएको कविता लेख्छन् ? कुनै दार्शनिक विचारको व्याप्ति पक्रेर गिरी दुःखवादी भएका छैनन्, बुद्धको दुखात्मक भाव उसको काव्यको विश्व होइन । गिरीको पैतृक, पारिवारिक वा व्यक्तिगत जीवनमा कुनै अपघात छैन । फ्रायडसँग लागि उसको अन्तश्चेतनामा दमित कुनै अतृप्ति देख्नखोजेर वा एडलरसँग लागि गिरीमा अवरता ग्रन्थि खोजिहेरेर त्यस दुःखको व्याख्या पाउँदैन । विषम युग- स्थित सबलाई आइपरेको थोक हो । त्यो, दुःख गिरीले चै नाम्लो लाउनपर्ने भार हुँदैनथ्यो । दुःख त गिरीको आवरण होइन, छल हो । भ्रम होइन भत्र नसकौंला, उसले अभ्यस्त आफूमा हुर्काएको विशेष अभिप्राप्ति भनेर गिरीको क्रोध सहौंला । तर यस प्रवृत्तिको स्रोतमा गिरीको मनस्प्रकृति छ जसले हाम्रा दृश्यमान र अनुभाव्य सबैदेखि आफ्नै दुःखार्द्रता प्राप्त गर्छ भन्ने सत्य पनि अस्वीकार गर्न सक्दैनौं । जातिको सामान्य दैन्य र वैयक्तिक साधारण असफलताहरूको यथार्थिकताको दुःखभन्दा कवि गिरीको मनस्प्रकृतिको दुखप्रवृत्ति जेठो थियो । दुःखवादनै गिरीको रोमाण्टिशिज्म हो भन्नलागेकाछौं । दुखवादनै गिरीको दिन र दृष्टि हो, रात र स्वप्न हो। गिरीभित्र भएको रोमाण्टिक कवि दुःखवादको पथ पक्रेर निस्कन्छ ।
गोरखाली सैनिकहरूले गरेको युद्धमा कबि दुःख (अर्थहीन अस्तित्व । महत्ताहीन उत्सर्ग । आक्रोशपूर्ण अन्योलहरू) देख्छन्, कारण, युद्ध त्यो तिम्रो आफ्नो युद्ध थिएन’, दोस्रो महासमर पर-अस्तित्व जोगाइदिन किनिएर हामीले लडेका थियौं । दश रेजिमेन्ट गोरखा सेनाका अरू पाँच दोबर थपिई पुगनपुग एक लाख गोरखाली सैनिकहरूले दोस्रो विश्वयुद्धमा लडेका थिए, तर तिम्रा साहस-शक्ति, आँट र सामरिक पुरुषार्थको मोल अघिनै चुक्ताइएको थियो ।’ प्रवासमा जन्म भएको दुःख मान्ने कवि, स्मृति र
अनुभव सबै विषादयुक्त मान्ने कविले दोस्रो महायुद्धमा हाम्रो उपस्थिति कलंकित देखे आफ्नै दृष्टिले । कविहरू र तिनका काव्यभाव तर्क गर्दैनन् भन्दैमा यहाँनिर यतिबैला तर्क गर्नेहरू अघि यहाँ आउने छैनन् भन्नपर्दैन । युद्ध ‘कहिले आफ्नो’ हुन्छ? जब त्यो सैनिकहरूको आफ्नो वर्गको रक्षा र विजयको यद्ध हुन्छ । युद्ध नगरी हामी भागेको भए कविले दु:खी हुने अर्को निहुँ पाउँथे, कारण दुःखी हुने प्रवृत्ति उसमा अमर छ युद्ध हामीलाई पेटपालोको एउटा पेशा मात्र, जस्तो अरू अनेक वृत्ति सँगैमा लिएकाछौं: अरूका भारीहरू बोकिदिन्छौं, अरूका हिसाब-कितापहरू राखिदिन्छौं, त्यसरी अरूका लडाइँहरू लडिदिन्छौं भन्ने समानताको तर्क गिरी घिनाएर छुन चाहिंदैनन् । युद्ध उनलाई ‘स्वत्व’ हो, युद्ध लड्नु त्यस स्वत्वको साधनाको निम्ति प्राण-पर्यन्तको अभियान हो ।
‘वीर पूर्वजहरू नचिनेर तिमीले के गर्नु
तिमीले त तिम्रा
गोरखाली मुटुमा अगमसिंह गिरी
पिढी-पिढीका अज्ञात संस्कारहरूसितै
पूर्वजहरूलाई थुनिराखेकाछौ
युद्ध बोकेरै प्राणपनमा
हिंडिरहेछौ यसैले तिमी अगमसिंह गिरी
दापका खुकुरीमा खिया पर्दै रहुन्
स्व – अस्तित्व र पर-अस्तित्वका
गुजुल्टिएका व्याख्याहरू
तिमी बुझदैनौ, युद्ध बोकेरै हिंडिरहेछौ यसैले‘
गीतिकाव्यले गाएरै आफ्नो अस्तित्व घोषित गर्नपर्दैन, छन्द र लयहरू पर पन्साउँदै पनि गीतात्मकता अभिव्यञ्जित भएको छ । यस जातका कविताको उत्स कहँदै शेली आफ्नो ‘डिफेन्स अफ पोएट्री‘मा लेख्छन्:
Poetry is not like reasoning, a power to be exerted according to the determination of the will. A man cannot say, ‘I will compose poetry.’ The greatest poet even cannot say it; for the mind in creation is as a fading coal, which some invisible influence, like an inconstant wind, awakens to transitory brightness…and the conscious portions of our natures are unprophetic either of its approach or its departure. Could this influence be durable in its original purity and force, it is impossible to predict the greatness of the results; but when composition begins, inspiration is already on the decline, and the most glorious poetry that has ever been communicated to the world is probably a feeble shadow of the original conceptions of the poet. I appeal to the greatest poet of the present day, whether it is not an error to assert that the finest passages of poetry are produced by labour and study.
काव्यसृजनाको उपर्युक्त रोमाण्टिक धारणासँग सहीछाप गरेर गिरि कविता लेख्न पर्खन्छन् । एघाह्र वर्ष र एघाह्र दिनको लेखन र प्रकाशन काल पनि यसरी आईपर्छन् ।
सामाग्रीलाई रूखपात जस्तो बोकेको तर गिरीभित्र सतहदेखि अर्कै आस्थाको पर्वत छ । पूर्खाले ‘अतीतको अभिमानी उज्यालो हाम्रो असक्त वर्तमानलाई ताप्न‘ दिएका छन्, साँचो हो । ‘एउटा मूर्दा मुहूर्तको अवशेष कुरिरहेको‘ हाम्रो आगतलाई कवि स्पष्ट गर्छन् । जातीय जीवनको प्रहर हाम्रो विराट बौराइ र बौलाइ पर्खेर बसेको छ ।
अगमसिंह गिरी
दार्जिलिङ,
५ जनवरी ७०
-ईन्द्रबहादुर राई
युद्व र योद्वा
[खण्ड काव्य]
दोस्रो महायुद्व : मरेका र घाइते सैनिकहरूको एक सम्झाना
इतिहासको सन्दर्भमा
प्रथम संस्करण: सन् १९७० अगमसिंह गिरी
म धिक्कारहरूमा बाँच्न चाहान्न
लाङछनाहरूमा जीउन चाहान्न
म अस्तित्वको अमरत्व खोज्दिन
यो कुण्ठित परिवेश भित्र जन्मने
भोलिलाई उसैको गर्भमा रोकिदिन्छु बलजफती
उदास छोराहरू
हाम्रो यो भूमितलमा
फेरी पाइला टेक्न नआऊन्
ती जन्मनुको प्रसव-वेदाना अघिनै
नयाँ सूर्यको, नयाँ ज्योत्सना
हाम्रो आकाश – आकाशमा फलिएको होस् !
हाम्रो धरती – धरती सजिएको होस् !!
समर्पण
युग – प्रतिघातको हाम्रो
विषाक्त अनुभतिहरूमा यातना र पिडाका
नैराश्यजन्य अभिप्राप्तिहरूमा
विपल साहस र संकल्प
आत्म – आत्मामा जन्माएर
अस्तित्वको नयाँ क्षितिज खोजीरहेका
मेरा तन्हेरी पिढीलाई
हाड र रगतका मेरा सन्तानलाई
-‘गिरी‘-
“. . . You can perhaps force a man
to shoulder a rifle, but you can never
make him fight to give his life for a cause which is mot his own…”
-Subas Chandra Bose
युद्ध र योद्धा
युद्ध
रक्त – पिपासा
मानव -मानवका
हत्या र संहारपूर्ण अभिलाषा
विध्वंसतापूर्ण घातक
नस्टप्राय: आकांक्षा
आशु – आर्तनाद – आक्रोश
विधवंसता – विस्फोट – विह्रलता
संत्रास – संघात – संकष्ट
निर्दयता – निरंकुशता – निर्ममता
सर्वत्र एक जाज्वल्य
प्रलयपूर्ण प्रतिरूप
अविछिन्न आतंक, विक्षिप्त
एक विषाक्त अभिप्राप्ति
यद्ध-
अमूल्यता जीवनको
माधुर्य्य जीवनीको
अर्थपूर्णता जीवनको
राशि – राशि स्वप्न -आकांक्षा
सुन्दर यो धरतीको
फोर – फार, चूर्ण – विचूर्ण
मानवको सभ्य अस्तित्व
मानवको सांस्कृतिक महत्ता
काव्य – कला – संगीत
विस्फोटित जर्जरित
एक विनाशपूर्ण परिणति
एक रूदनमय परिवेश
युद्धको विभत्स अवशेष
आघात आर्तनाद
आतंक र आक्रोशमय
युद्धरत एउटा जर्जरित
भयावह अतीतलाई
अनन्तमा डुब्दै
भासिन गइरहेको
अथाह, असीम, अवरोधशून्य
विश्व – महाकालको
एक नगण्य क्षणलाई
तिमीले खुकुरीको हाँक दियौ
मुटुका स्वच्छ
वीरत्वमय रगत लुटाएर
हिमाली आकांक्षा, हिमाली स्वप्न
युद्धाग्निमै सबै होमिदिएर
युद्धले नांगिएको
विवशता युगको
नतमस्तक बनेर लत्रिदियो
हिरोशिमा र नागासाकीको
विस्फोट विभत्सता
विध्वंसता ल विनाशले
कोत्रिएको चिथोरिएको
कुत्सित – कुण्ठित युग
कुठाराघात युद्धको
जर्जरित नांगो वर्त्तमानको
छाती भरिभरु बोकेर
नतमस्तक बनेर लत्रिदियो
मुटुमा अशेष क्रन्दन थियो ।
विवश एक आत्म – समर्पण थियो
योद्धा वीर !
रमाइलो आजको तिम्रो
युद्धशून्य वर्त्तमानलाई
घेर्न आउँदा हुन् सपना- विपनाहरूमा
युद्धका विभत्स स्मृतिहरू ब्यूँझेर
हाहाकार संग्रामकै बोकेर
आशु युद्धको
आर्तनाद युद्घको
तिम्रो शान्त निद्राको
एकान्त सपनालाई
बिथोल्न आउँदा हुन्
तिम्रो विदीर्ण उपस्थितिलाई
निमोठ्न आउँदा हुन्
रक्ताम्मे आकृतिहरू
अंगहिनविह्लल घाइतेहरू
नर -कंकाल ब्यूँझेर
अपूर्ण रगत – रगतका आकांक्षाहरू
असिद्ध युद्ध – पिपासु अभिलाषाहरू
प्रतिशोध – प्रतिरोध
आँखा मुखाकृतिमा बोलेर
पिरोल्न आउँदा हुन्
चियोर्न लामा नङहरूले
तिम्रो योद्धालाई तिमी भित्र
नङराउँन – आउँदा हुन्
रक्त – रञ्जित युद्ध – समाप्ति
ब्यूँझाउँन घरिघरि आउँदा हुन्
युद्ध र योद्धाको तिम्रो
अर्थहीन अस्तित्वलाई
उदेश्यहीन समर्पणलाई
संकल्पशून्य बलिदानलाई
महत्वशून्य प्राणोत्सर्गलाई
मृत शत्रुहरू ब्यूँझी – ब्यूँझी
राक्षसी उन्माद र उत्तेजना लिएर
अट्टाहासपूर्ण हाँसोको
आतंकमय कोलाहल झिकेर
तिमीलाई घेर्न आउँदा हुन्
युद्धहीन तिम्रा सारा
विपनाहरूलाई समेत निमोठेर
बचाइका एकाकी मैन क्षणहरूलाई
कन्टकाकीर्ण तुल्याएर
लड्दै – लड्दै तिम्रा सम्मुख आएका
तिम्रा शत्रुहरू
थिए कति स्वतन्त्र तिमी भन्दा
बलियो एउटा इच्छा
उज्यालो एउटा चाहाना
दरिलो एउटा आकांक्षा
अग्नि – शिखामा लपेटिएर
संत्रासशून्य बनेर
प्रतिरोध – प्रतिशोध- प्रतिहिंसा
प्रलयकारी आँधी बोकेर
स्वाभिमान युद्ध लड्दै
विसर्जन गर्न आतुरिएका थिए आफूलाई
बसशाली अस्तित्व जगाउन
गौरवपूर्ण इतिहास जगाउन
आँखा – आँखामा यौवनको
स्वतन्त्र सपना बोकेर
युद्धका कोलाहलमा ती
रूदन र चित्कारहरूमा
पराधीनताशून्य युद्ध खोजिरहेथे
विजयको प्रज्वलित आकांक्षा
मुटु- मुटुमा सिउरेर
आत्माभिमानपूर्ण युद्धका
ती थिए स्वतन्त्र योद्धा
विगत पराजयको विक्षोप
आँखाका आँशुहरूमा
युद्ध- उत्तेजित हाँसोहरूमा संलग्न थिए
मृत्युकालीन एकाएक संकल्पमा
अनागत पिढीका भविष्य – स्वप्न बोकेका थिए
रगत, उष्ण रगतमा
प्रतिरोध भिजेको थियो
नशा – नशामा तिनका
प्रतिशोध बिजेको थियो
एउटा अभिमानी अतीतलाई
युद्धमा होमेर
मर्यादा राष्ट्रको जोगाइराख्ने
विगत विफलताको
कालो प्रतिछाप
युगको प्रतिघात
मुटुका तहमा लुकाएर
समर्पित हुन आतुरिएका थिए ती
रणभूमिको स्वतन्त्र आह्रान लिएर
आफ्नापनको जिउँदो अभिमान लिएर
ग्लानिपूर्ण एउटा परिजय
आँशु – आँशुले स्वीकार्नु परेथ्यो
हीनतापूर्ण एउटा पराजीत
मुटुका ढुकढुकीहरूमा
झुण्डाउनु परेको थियो
तर बद्लनु थियो
इतिहासका विगत
विक्षोभपूर्ण अविस्मृत पाताहरू
एउटा वलशाली
सजग विपना उमार्नु थियो
सशक्त वर्त्तमान जन्माएर
सचेत अस्तित्व ब्यूँझाएर
छाती – छातीबाट उप्काउनुथियो
आत्म – विक्षोभ, आत्मा ग्लानिका
पिल्सीएको घाउ अतीतको
युद्धकै उपचारले निकोपारेर
खाटा कलंकको
बस्नु दिनु थिएन किञ्चित
छातीमा विदग्ध वर्त्तमानको
तिम्रा शत्रुमा ब्यूझेको
एउटा बिलष्ट ‘अहम‘ – भित्र
उत्तेजना थिए उसैका
थिए प्रेरणा उसैका
आह्वानर आहुति थिए उसैका
चहकिला स्वाभिमानका तिनले
मरणको निर्भयता बाँडिरहेथे
स्वत्वको पुकार थियो तिनमा
युद्धको ललकार थियो तिनमा
मृत्युनै अनि खोजिरहेथे ती
समष्टिगत वलिष्ट
ताता आकांक्षाका परिपूर्तिका निम्ति
समरांगणको तिनलाई
चाहिएको थियो कठोर कष्टप्रद
तर स्वतन्त्र बलिदान
एउटा चोखो मृत्यु
पतन्त्रता शून्य मृत्यु
वलिदानपूर्ण मृत्यु
स्वाधीनता आत्माभरि, आकांक्षाभरि
उन्मुक्ति बोकेको समाप्ति
युद्धमय सपाना – विपनाभरि
अपूर्व एउटा समर्पण
अविस्मृत एउटा उत्सर्ग
योद्धा वार !
तिमी भने तर अहो
स्वतन्त्र अभिमानी
उच्च गौरव हिमालको
वोकेको देशको सीमा – साँधदेखि
सैकडौं टाढा अपरिचित भूमिमा लडिरहेथ्यौ
दासत्वपूर्ण युद्ध
संक्लपशून्य युद्ध
उदेश्यहीन युद्ध
अभिमानी सेतो हिमाल
तिम्रो गौरव – मुकुट
उच्चताको चम्किलोआदर्श
महानताको स्वच्छ प्रतीक
विशालताको गौरव – चिन्ह
तिमीले माटोको पुकार सुनेनौ
तिमीले समपर्णको परिभाषा वुझेनौ
तिमीले युद्धको अभिलाषा बुझैनौ
जन्मभूमिको मौन प्राथनाहरू
वियोगका व्यथालु आँशुहरू
पहाडका अव्यक्त बिन्तिहरू
देउरालीका शूनशान वेदनाहरू
निस्सार थिए विह्वल मर्महरू
फर्क, युद्धको विभीषिकातिर नजाउ
फर्क , दाहानलका युद्धको नहोस व्यर्थ आफूलाई
फर्क, हिमालको वीर छोरो
तिम्रो वीरता तिम्रै देशलाई सुहाएको छ
तिम्रै उत्सर्ग तिम्रै देशलाई चाहिएको छ
मङ्सारको पहेंलो धानबारी
फागुन- वन, चाँप गुँरासका रमिताहरू
पत्रै – पत्रा हिमाच्छादित पहाडका
सयपत्री – मखमली फूवका
पहाड – भञ्जायाङका विमुग्ध रमणीयता
देउराली मन्तिर
हिमाली खोलालई
साक्षी राखेर पिरथी
ग्रामीण यौवन बालाहरूसित
माया साटेको जोवनको
बैंशालु रमित सम्झानाहरू
डाँडा – डाँडाका तिमी हिंडने गोरेटोहरू
एकाकी निर्जन वान्य – पथ बीच
विहँगका सुमधुर गीत – ध्वनिहरू
विस्मृतितिर ओझलिंदै – ओझलिंदै
गए होलान् अबता सबैनै
तिम्रो धरतीसित
आकाश तिम्रै जोडिएका थिए
तिम्रो सपना सित
विपना तिम्रै गाँसिएको थियो
प्यारो रमाइलो
क्षितीज थियो त्यहाँ आफ्नै
हिमाल थियो त्यहाँ आफ्नै
आकाशका जीवनदायी स्वर्ण – किरण
श्रम र पसिनामा प्रतिविम्वित थियो
संकष्ट, रूदनहरूता तिम्रा
घात – प्रतिघातहरूमा तिम्रा
टिठाउने सरल पहाडी हृदयहरू थिए
तर अहो ! अहिले त
अगिल्तिर तिम्रा आँखाका नानीहरूमा
युद्ध ज्वालामुखी छ
एउटा प्रलयमय विपना छ
एउटा संघातपूर्ण सपना छ
सिस्फोटले रंगिएका
जलिरहेका दन्दन् प्रतिक्षण
विक्षिप्त विह्वल क्षितिज छ
विमुक्त थियो वहाँ
उन्माद र उल्लास थियो वहाँ
क्रन्दन र चित्कार छ यहाँ
स्वभिमान र स्वतन्त्रताको बास थियो वहाँ
आत्माभिमान र स्वधिनताको ह्वास छ यहाँ
किचिदै – मिचिदै गइरहेथ्यो
आत्म – गोरव दाशत्वमा प्रतिपल
यसैले त्यो पराधीनतापूर्ण परिवेशमा
स्वच्छ पहाड – बनका
देउराली – लेकाली डाँडाहरूमा
हिमाली सम्झाना नडाक
प्रतिहिंसा र हत्याका
रगतका ताता आहालमाथि
सिनोका दुर्गन्धहरू बीच
स्वच्छ हिमाली पाखा पखेराका
नरंगाउ स्वप्निल क्षणहरू
नसजाउ पवित्र स्मृतिहरू
तिम्रा स्मरण दूषित र रक्तमय छन्
हिंसापूर्ण हत्यापूर्ण
खन्दै गरेका बारीका ड्याङ
तिमी उसै छोडेर आएको थियौ
छाप्रो खर छाप्दै गरेको
तिमी उसै नसेको आएका थियौ
कराइरहेथे गाई – बाख्राहरू
साँझको घाँसको नहाली आएको थियौ
तिमीले वैंशका माया प्रीति
रोपेको मात्र थियौ
फूलेको जीवन – फूल ढकमक्क
छातीमा नसिउरी आएका थियौ
तिम्रो मायालुले मुटुले जोगाएर
हजार सम्झाना यत्नले सजाइराखेकी छे
प्रीतिपूर्ण यैवनका सुखद क्षणहरू
जीवन वरपर विछाइराखेकी छ
तिमी फर्कने पहाड – पथमा
तरूण्य लिपेका मुटुका आँखाहरू छोरेको छ
सुदीर्घ बाटो हेराइमा
प्रीतिको मिठो पर्खाइमा
प्रफुल्लित प्रत्यागमनको प्रत्याशमा
सपना – विपना खर्चेर
सञ्चित स्मृतिहरू
पूजामा साँझ – बिहानका
आँशुका फूल – प्रसाद अर्पेर
जीवनका विदीर्ण क्षणसँग तडपेर
पहाडको नियास्रो एकान्तलाई
कमलो छातीमा झुण्डाएर
देउता पुकार्दी हो रूदनले – आँशुले
वरदान दीर्घायुको मागेर
हृदयका मूक यातनाहरू लुकाएर
मुटुका याचनाहरू फिंजाएर
अनगन्ती टढ्कारा मध्यान्हहरू बोकेर
कयौं सयौं रंगिला साँझहरू
धेरै – धेरै आशालु रातहरू
तिम्रै झझल्कोहरू बाँधेर
बितेका सम्झना बैंशका
मुटुमा थुनेर
निदाउली जीवनको शेष निद्रा
तर, यैवनमय तिम्रा प्यारा स्मृति
स्वच्छै र हरियै रहलान्
निर्दोष त्यो पहाडी मुटुमा
कामनाहरू युगयुगान्तर ओइलाउने छैनन्
आत्म प्रीतिको पुनर्जन्म पर्खेर बस्नेछ
तिम्रो समर्पण थियो: सपना थिए
तिम्रो विसर्जन थियो: विपना थिए
तिम्रो उत्सर्ग थियो: उदेश्य थिएन
आकांक्षा तिम्रा
युद्ध बोलेको थिएन
प्रज्ज्वल मुखाकृतिमा तिम्रो
युद्ध लिपिएको थिएन
आँखाहरूमा तिम्रा
युद्धका झरिला चाहाना छरिएका थिएनन्
युद्ध त्यो आफ्नै युद्ध थिएन तिम्रो
तिमीले त आफूभित्रको आफूलाई मारेर
आफ्नै चिहानमाथि ब्यूँझनु परेको थियो
तिमीले त हर त्या आफ्नै गरिसकेका थियौ
प्रहार खुकुरीको शत्रुमाथि गर्नु अघिनै
स्वतन्त्रता हिमालको तिम्रो
बेचिदिएका थिए अघिनै
स्वार्थमा सामान्तीहरूले
किनिएका थियौ अहो !
वली केवल भइदिनलाई
तिम्रा साहास शक्ति
आटँ र सामरिक पुरूषार्थको
मोल अघिनै चुक्ताईएको थियो
युद्ध तिम्रो थिएन त्यसैले
आत्मा – प्रतिष्ठा कुँजिएको थियो
स्वाभिमान पर – युद्धको
अग्नि – ज्वालामा भष्मीभूत भएथ्यो
स्वप्न – आकांक्षा प्रियता जीवनको सबै
क्षण – क्षण – चूर्ण – बिचूर्ण बनेथ्यो
अनि, फर्केका थियौ तिमी
श्मशानको विरक्ति बोकेर
युद्ध – क्लान्त घाइते शरीर लिएर
रणभूमिको आर्तनादपूर्ण
ध्वनी – प्रतिध्वनिहरू
बलात्कारको आर्त चित्कार
रणप्रांगणको विक्षुब्ध भयावह रूदन
हृदयभित्र लुकाएर
तिमी साना गोरेटो हुँदै
क्षितिजमा विषाद पोखिएको
धमिलो एउटा साँझ झरेपछि
आफ्नै प्यारो गाउँतिर
फर्किरहेका थियौ एक्लै
समरांगणको विभत्स कोलाहल
छातीभरि झुण्डाएर
छाप्रोको त्यो पवित्रतामा
हत्या र प्रतिहिंसाको
घातक युद्धमय स्मृति
फर्किरहेको थियौ समेटेर आफूमा
आकाशको छातीमा
हिमालको आँखामा
छहराको गर्जनमा अगमसिंह गिरी
स्वागत अभिव्यक्त थिएन
तिम्रो पहाडको छाती शुष्क थियो
प्रत्यागमनको प्रफुल्लता थिएन मुखरित कहीं
तर अहो ! वीर योद्धा
युद्धमय निरंकुश
विदीर्ण अतीतलाई
अधिकारमा ल्याएको निर्रथक अभिमान
पुरूषार्थ र वीरत्वको
अर्थहीन गौरव
युद्घशून्य शान्त वर्त्तमानमा
नमिसाऊ तिम्रा घातक स्मृतिहरू
नसुनाउ तिम्रा पिडापूर्ण कथाहरू
रगतले आजका चोखा सपनाहरू
युद्धका चित्कार नपपगेका
उन्मुक्त स्वच्छ विपनाहरूलाई
आतंकहीन वर्त्तमानलाई, युद्ध व्याथाहरूले . . .
क्रमश . . .
अगमसिंह गिरी
लेखक परिचय
नेपाली साहित्यका धरोहर स्व. अगमसिंह गिरी (सन् १९२७- १९७१)को जन्म दार्जीलिङमा भएको थियो । नेपाली मुलका भारतीय साहित्यकार उनी स्वच्छन्दतावादी र जीवनवादी कविका रूपमा चिनिन्छन् । उनका छान्दिक र गद्य दुवै किसिमका कविताहरूमा अलंकार, बिम्ब र प्रतीकको प्रयोगबाट मानवीय संवेदनाको उच्चतम प्रस्तुती भएको पाइन्छ । उनका प्रकाशित कृतिहरूमा, याद(सन् १९५५), आंसु(सन् १९६८) र युद्ध र योद्धा(वि.सं. २०२५) खण्डकाव्य हुन् भने आत्मव्यथा(वि.सं. २०१६), जीवन गीत (वि.सं. २०२४) र जलेको प्रतिबिम्ब - रोएको प्रतिध्वनि (वि.सं. २०३६) कविता संग्रह रहेका छन् । यसका साथै फुटकर रूपमा उनका अन्य कविता, गीत, निबन्ध, नाटक, समालोचना आदि विभिन्न सञ्चार माध्यमहरूमार्फत प्रकाशित/प्रसारित भएका पाइन्छन् । कवि गिरी रत्नश्री स्वर्णपदक, भानु पुरस्कारका साथै तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको स्वर्णपदकबाट विभूषित छन् ।
यो खण्डकाव्य नेपाली साहित्यको युद्धको बारेमा लेखेको मानक पुस्तक हो। सारा ने पालीले विगतका युद्धहरुमा भोगेको साझा पीडा यँहा पढ्न पाइन्छ। प्रकाशित भएको को आधा शताब्दी पचि पनि यो खण्डकाव्य सामेक्ष छ अहिलेको समाजमा।