अगमसिंह गिरी
. . . तिम्रो रक्त – दानको दुर्गन्धमा
ब्यूँझेर नाक थुन्नेछ
सुगौलीको जीर्ण वर्त्तमानले
टेक्न उठाएको पैताला
रक्त सुकेका बालुवामा
भतभती पोल्नेछ
विध्वंसता विगत विषाक्तता
ब्यूँझेर अतीत बौलाउने छ
तिमी फर्कने बाटाहरूमा
त्यहाँ फिलाङ्गो छैन निभेको अझै
छ खरानीले छोपेको मात्र
वीरत्व तिम्रो निहुरेर रोएको छ त्यहाँ अगमसिंह गिरी
अशक्तता तिम्रो लत्रनु परेको छ त्यहाँ
त्यही तिम्रो अभिमानले
लंगडो हुनुपरेको थियो
त्यहू तिम्रो गौरवले
खोरेण्डो बन्नपरेको थियो
साम्राज्यवादी फिरंगीको अगमसिंह गिरी
दर्प – चूर्ण गर्ने
तिम्रा सारा सामर्थ्य
घुँडा टेक्नु परेको थियो
रक्तको गुरू – दक्षिणा
अझै दिनु थियो तिमीले
सन्धिको घातक पर्खाल मन्तिर
किचिएका लासहरूबाट
निस्केका सिनोको दुर्गन्ध
हावामा आज मिसिएर
युद्धकान्त तिम्रो वर्त्तमानलाई
कसरी दूषित पारिरहेछ, हेर
स्व – अस्तित्वको राष्ट्रीय संघर्षपछि
पराजय र विक्षोभहरू झुण्डाएर
उत्पीडित लाञ्छित आत्माहरू
नर – कंकाल सल्बलाइ रहेछन्
सुगौलीको माटाले अझ पर्यन्त
नेपालीको नांगिएको आकांक्षा भनिरहेछ अगमसिंह गिरी
सुगौलीको आकाशले अझ पर्यन्त
नेपालीको चुंडिएको अस्तित्व हेरिरहेछ
पर – अस्तित्वका भीषण संघर्षहरूमा
तिमी हाँसी – हाँसी मर्नसक्यौ
सुगौलीको पर्खाल मन्तिर
थिचिएको घाइते युगको
अज्ञात आघातहरू समेटेर
युगको विषमता बोकेर
तिम्रो इतिहास
तिम्रो विक्षुव्ध परम्परा
अरूका युद्ध बोकेर हिंड्दा तिमीले
लाज पचेको तिम्रो
निर्धो वर्त्तमानसित रोएको छ
प्राण – आहुतिको अर्थहीनतामा
इतिहासले दाँत किटिरहेछ
एउटा अव्यक्त वेदना गर्भमा बोकेर
जातित्वको दारूण वर्त्तमान तिम्रो
इतिहासको क्षणिक विश्रान्तिमा
अहिले उङ्नथालिरहेछ मात्र
समाप्ति पूर्व इतिहासको होइन
न ता समाप्ति सम्भव छ इतिहासको
अनतिदूरमा जन्मने अज्ञात हाम्रा छोराहरूले
भोगिरहने छैनन्
इतिहासको विदग्धता
अस्तित्वको चूर्ण – विचूर्णता
वीरका वीर्य्यवान् सपूतहरूले
खाल्डा पुर्नेछन् हाड र रगतहरूले
ज्वाला संस्कारको पोखेर
नव आशा, नव चेतनाको
युगानुकूल संकल्प बोकेर
हे वीर योद्धा
युद्धस्थलका चिहानहरूमाथि तिम्रा
सहानुभूतिहीन हातहरूले कुंदिएका
रित्ता श्रद्धाञ्जलिका
बुट्टेदार अक्षरहरू पढेर
सकिनँ तिमीप्रति श्रद्धावान हुन
चिथोरिएको अस्तित्व लिएर
बिथोलिएको वर्त्तमान बोकेर
गोरखालीत्वमा तिम्रो
अभिमानी र गोरवान्वित बन्न
सकिनँ अर्थहीन समर्पणमा
शिर भक्तिले निहुरेन मेरो
मुटुमा श्रद्धाको स्पन्दन उठेन
मेरोअपरिचित सुदूर भूमितलमा
सुतिरहेका तिमीलाई अनि
तिम्रा सम्पूर्ण विवशतालाई
बुझ्न चाहिरहेछु म
क्षम्य ठान्न खोजिरहेछु म
तर, इतिहास तिम्रो विवशतालाई
ठान्दैन क्षम्य कदापी अगमसिंह गिरी
भोलि उदाउने हाम्रो आकाक्शको सूर्यले
समयको अनर्थतालाई
समर्पण आफ्नो
गरेर निदाएको चिहानमा
सानो टुक्रा एउटा उज्यालो खसाल्नेछैन
विवशता सारा ब्यूँझी
डाँको छोडेर रोइरहुन् त्यहाँ
मुटुमा युद्धको
विध्वस्त आलो स्मृति
बोकेरै एउटा मूर्दा मुहूर्तको
अवशेष कुरिरहेछौ तिमी
विगत तिमीमा ब्यूँझदा
तिमी प्रत्यक्ष देख्ता हौ
तुमुल गर्जन बम – वर्षाका
राक्षसी आकार बोकेका
काला मैला धूवाँहरूभित्र
गढढढ . . . गढडढ …..गढय्याङ ….गुढुङ
विस्फोटपूर्ण प्रलय बोलिरहेको
बलात्कारको चित्कार
अवोध शिशुहरूको आर्तनाद
वियोगका मर्मान्त रोदन
हत्याको जघन्य कोलाहल
हिंसाको विह्वल मर्मस्पर्शी क्रन्दन
ज्वालामुखी
युद्धको
बटारिंदै – लम्कँदै – निल्दै
मुख बाहेर युद्धको, उक्तेजित
संत्रास मानवी धरतीलाई
संत्रास – संघात – संकष्ट
सोह्रेर समेटेर सर्वत्र फैलिरहेथ्यो
युद्धको विनष्ट प्रहार
युद्धको बलिष्ट संहार
युद्धको विषाक्त अन्धकार
एक विक्षुब्ध स्मृति
एक नांगो उपलव्धि
एक रित्तो अभिप्राप्ति
किंकर्त्तव्य विमूढ योद्धा तिमी
छाती – छातीमा युद्ध
बोकेरै हिंडिरहेका थियौ
सपना – सपनामा युद्ध
लिएरै हिडिरहेका थियौ
विपना सारा, जपना सारा
युद्धकै अमानुषिकताले
लुछ्दै – चुंडाल्दै – चिथोर्दै
मरूभूमिका ताता बालुवामा
भीषण निस्तब्ध जंगलहरूमा
हिमाच्छादित चीसा भूमिहरूमा
अग्ला नांगा पहाडहरूमा
घस्रँदै हिंडिरहेथ्यौ
युद्ध – क्लान्त शरीर लिएर
अरूका स्वार्थलाई
संगीनले छयाल्ल -ब्याल्ल पार्दै
अरूका सुनौला सपनालाई
खुकुरीले रक्ताम्मे पार्दै
जीवनका टढ्कारा मध्यान्हलाई
कुल्चँदै – किच्दै – थिच्दै
तिमीले हिमालको खुट्टाले
मरूभूमिको उष्णता कुल्चनु परेको थियो
गौतम बुद्धको
पवित्र भूमितलबाट
स्वयंभू र पशुपतिको देशबाट
प्रतिहिंसा र हत्याको निरंकुशता छातीमा बोकेर
अमानुषिक छातीमा बोकेर
अमानुषिक बन्नसक्यौ कसरी
स्वच्छ निष्कपट सरल
हिमाली मुटुलाई तिमीले
कडा
दरिलो बनाएर
पर – युद्धका धोकाहरू कसरी बोक्नसक्यौ
कपटशून्य – छलहीन -कल्मषविबीन
पहाडी हृदयलाई
युद्धको कुत्सा – कल्मष – कुणठाले
काँडालु विषाक्त तुल्याउन सक्यौ कसरी
पशुपतिको स्वच्छता
गुमाएकै थियौ तिमीले
स्वयंभूको निर्मलता
हराएका थियौ तिमीले
युद्धको विकरलता बीच
रक्तमय कलुषित विपनाहरू
गोली लागेर छट्पटिंदा
बालुवामा भलभल्ती
रगत पहाडको पोखिंदा
आँशु हिमालको छरिंदा
युद्धको विषालु घातक क्षणलाई
कसरी निर्धक्क सह्यौ तिमीले
देशको तिम्रो अभिमान
वीरत्व र पुरूषार्थरो शान
कसरी नांगो भएको थियो बालुवामा
तिम्रो गौरवशाली जातित्व
तिम्रो अभिमानी नेपाली अस्तित्व
चिथोरिएको थियो कसरी त्यहाँ !
विथोलिएको थियो कसरी त्यहाँ !
सहानुभूतिको आँशु पियौ तिमीले
विवशताले तिम्रा हातहरू तर
टम्म कसिएका थिए
शेष निद्रा विकल मृत्युको
निदाउनलाई ढुक्कसँग
खाडलसम्म खनिदिन सकेनौ तिमीले
कात्रो वहाँ नजुटे तापनि
फूल र धूपका सुग्नधबाट
वञ्चित तिनले हुनपरे तापनि
दाह – संस्कार तिनको हुन पाएन
एक अँजुली माटा
संघातपूर्ण विदग्ध छातीमा
अहो, राखिदिन सकेनौ तिमीले
आँशु विदीर्ण – वियोगको झारेर
योद्धा वीर !
आकाशको निर्मलतामा
फर्फराइदिनु थियो तिमीले
अरुकास्वर्थरत इच्छाहरूसँगै
जलेर खरानी बन्नु थियो
अनागत पिढी – पिढीसम्मका
मस्तिष्कमा धब्बा
कलंकको दलिएर
आत्म – स्वतन्त्रता गुमाउनु थियो
बन्धी आफैलाई तुल्याएर जीवनको
अहो ! तिम्रो वीरत्व
पुरूषार्थ तिम्रो
साकार अरूका सपनालाई बनाउन
हत्या र प्रतिहिंसाहरूमा
सीमित र संकुचित
हुँदै गइरहेछ कसरी
गौरवमय परम्पराको तिम्रो
निर्वाह कहाँ भएको छ खोई ?
इतिहासका मृतप्राय:
गौरवलिएर अनि भन्न सक्छौ कसरी
मरूभूमिमा उभिएर गर्वसँग
अभिमानले माथि उचालिएर
बलभद्र र अमरसिंहको सन्तान आफूलाई
सवतन्त्र देशको, स्वतन्त्र छोरो आफूलाई
समाप्तिसँगै युद्धको
आफूमै एक समाप्ति लिएर
युद्धको उत्पीडा व्यथा – वेदना
विक्षिप्त रूग्णकोलाहल बोकेर
विस्फोटका प्तिध्वनिहरू
युद्धका विभीषिकाहरू
बम – वर्षाका घातक गर्जनहरू
प्तिहिंसा – हत्या
रगतका प्रतिछाप छातीमा दलेर
रणका आर्तनाद मुटुमा बोकेर
रूग्णता – भग्नता -जीर्णता
वीरत्व र समर्पणका पुरस्कार
कोसेली युद्धको लिएर
फर्किरहेथ्यौ जन्मभूमितो मायालु काखतिर
हो, तिमी फर्किरहेथ्यौ
बितेका रमाइला – बिरमाइला
युद्ध – स्मृतिसितै मिसाएर
देशका पवित्र माटाहरू कुल्चँदै
पहाड – भञ्ज्याङ – डाँडाहरू
लेकाली – देउरालीका
गोरेटोहरूसितै लम्कँदै
उच्च हिमालको चहक मुटुभरि थापेर
शून्यताका एकाक सम्झानाहरू संगालेर
केको, केको उत्कण्ठा
आँखाका डिल – डिलमा उभ्याएर
तिमी तिम्रै साने छाप्रोतिर, फर्किरहेथ्यौ
तिमी फर्किरहेको शूनशान पथमा
पूर्वीय आकाश रंगिएर बिहानीको
रातो क्षितिजसँगै उदाएको सूर्यमा
संरष्टमय युद्धको
विध्वंसपूर्ण प्रतिबिम्ब
विम्वित अग्नि – ज्वाला रणको
विस्फोटले जलेरो क्षितिज
उद्विग्न दिगन्त दूरदूरका
जर्जरित युद्ध – परिवेश
हत्यापूर्ण अभियानहरू
संग्रामका संघाकपूर्ण स्समृतिबरू
आजको तिम्रो चोखो बिहानीसितै उदाएर
मुटुलाई प्रतिपल – प्रतिक्षण घोंचिरहँदो हो
अन्तरमा अज्ञात विक्षिप्त एक ब्यूँझेर
तारूण्य यौवनको बोकेको
तिम्रो बलियो युवक
मूर्छित छ आज तिमीमै
उंमगहरू पल्लवित हुन नपाई
सपनाहरू पुष्पित हुन नपाई
हृदयको शुष्कतीसँगै ओइलिएको छ
मुटुको नग्नतीसितै नांगिएको छ
समयको प्रतिघातसितै कोत्रिएको छ
भष्मीभूत बने मधुर आकांक्षा सबै
होमिए, युवा -स्वप्न युद्धमै सारा
योद्धा ! तिम्रा युवक तिमीमै
अब सँधै -सँधै मूर्छित रहेरै
अभिशप्त शेष उपस्थिति बीच
जिन्दगीको विदीर्ण समाप्ति कुर्न लाउने छ
अवशेष पर्यन्तको
अर्द्ध – मृत बचाइका क्षणहरूमा
जीवनदायी स्वर्णिम तत्वहरू
छैनन् छिर्ने अब कतैबाट
बेहोशिंदै – बेहोशिंदै बाँच्नु छ तिमीले
सक्दै मात्र लानुछ समाप्तितिर
जिन्दगीका अँध्यारा क्षणहरू
यौवनका प्रिय उपलब्धिहरू
सौकुमार्य सारा
युद्धलाई नै समर्पण भो सदैवको
जलेको आकांक्षाका खरानीहरू
भष्मीभूत स्वप्नहरू बीच
अप्राप्ति, अनुपलविधिपूर्ण
रित्तो जीवन जिउनु छ
वाग्मतीको शीतल जलको तृष्णा
पशुपति दर्शनको अन्तिम अभिलाषा
हिमालको विशुद्ध काखमा
अर्थहीन समर्पण
मूल्यहीन वलिदान
महत्ताहीन उत्सर्ग
समाप्ति प्रज्वल्ल आकांक्षाहरूको
परिशेष मोहक इच्छाहरूको
मृत्यु जिन्दगीका कामनाहरूको
कुण्ठित अभिप्राप्तिहरूको
योद्धा ! तिम्रो आक्रोशमय अस्तित्वको
लंगडो र डुँडो भएर
युद्धको विध्वस्त परिणाम भोगिरहेका
युद्धकै विगत विभत्स स्मृतिहरू
मुटुमा सिउरी – सिउरी
बाँच्ने हे ! वीर योद्धा
समर्पणको मूल्य
सुदीर्घ सेवाको असीम उपहार तिम्रो
वीरत्व र बहादुरीको
प्रशंसनीय पुरस्कार
स्मृति – चिह्न रण – प्रांगणको
अमूल्य तक्माहरू हेरिरहू
अनिमेष दृष्टिमा अल्झाएर
क्लान्त धमिला आँखाका
नानीहरूमा झुण्डाएर
सानो युद्धरत अतीतलाई
जितेर काबुमा ल्याएको
स्वर्थरत सामन्ती – स्वपन्लाई
रक्तमय विपनाले उज्यालिदिएको
हजार – हजार प्राणको बलिदीनले
स्वार्थ – तृष्णा अरूका मेटिदिएका साहसिला सम्झाना विगतको
नांगो यो वर्त्तमानमा ब्यूँझेर झिक्दै
मुटुमा यत्नले थन्काइरहू
शेष जिन्दगीका
घायल यात्राहरूमा
दिवा – स्वप्न सजाइरहू
तक्मा सुँघिरहू !
तक्मा सुमसुमाइरही !!
युगको कुण्ठा र ग्लानि
प्रतिघात र समयको पीडा
बिर्सनसकेको उसले कसरी सजिलै
सुगौलीको विषादयुक्त चिताग्निमा
देशको गौरव खरानी पारेर
साम्राज्यवादको पाश्विक स्वप्न्लाई
साकार तुल्याएको
इतिहासको अन्धकारपूर्ण
ग्लानिमय दुर्भाग्यरत
विक्षोभपूर्ण अतीतलाई
बिर्सनसक्यो सामन्तीले
शथुलाई मित्र मानिदिएर
इतिहासको प्रतिघातलाई अझै कुल्चिदिएर
हामी अपंह, युग – विषमताको
हामी खोरण्डा, युग – आघातको
हामी लंगडा, युग – प्रहारको
हामी बैह्रा, युग – आर्तनादको
हामी असक्त, युग – प्रवलताको
अहो ! हामी टुक्रियौं
टुक्रिए सीमा – स्वप्नहरू
टुक्रिए साँधहरू
बिथोलिए कोटि – कोटि आकांक्षाहरू
चुँडियौं हामी, चुँडिए आशाहरू
इतिहासरा विषाक्त पाताहरूसँगै
बिछोडियौं विध्वस्त विचूर्णतासँगै
नांगियौं निर्लज्ज बनेर
उदांगियौं आफैलाई नंगाएर . . .
क्रमश. . .
लेखक परिचय
नेपाली साहित्यका धरोहर स्व. अगमसिंह गिरी (सन् १९२७- १९७१)को जन्म दार्जीलिङमा भएको थियो । नेपाली मुलका भारतीय साहित्यकार उनी स्वच्छन्दतावादी र जीवनवादी कविका रूपमा चिनिन्छन् । उनका छान्दिक र गद्य दुवै किसिमका कविताहरूमा अलंकार, बिम्ब र प्रतीकको प्रयोगबाट मानवीय संवेदनाको उच्चतम प्रस्तुती भएको पाइन्छ । उनका प्रकाशित कृतिहरूमा, याद(सन् १९५५), आंसु(सन् १९६८) र युद्ध र योद्धा(वि.सं. २०२५) खण्डकाव्य हुन् भने आत्मव्यथा(वि.सं. २०१६), जीवन गीत (वि.सं. २०२४) र जलेको प्रतिबिम्ब - रोएको प्रतिध्वनि (वि.सं. २०३६) कविता संग्रह रहेका छन् । यसका साथै फुटकर रूपमा उनका अन्य कविता, गीत, निबन्ध, नाटक, समालोचना आदि विभिन्न सञ्चार माध्यमहरूमार्फत प्रकाशित/प्रसारित भएका पाइन्छन् । कवि गिरी रत्नश्री स्वर्णपदक, भानु पुरस्कारका साथै तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको स्वर्णपदकबाट विभूषित छन् ।