गीत १
एउटी आमा बगरमा रोडा फुटाउँदैछिन्
रोडासितै उनले आफ्नो पीडा फुटाउँदैछिन्
कसले देख्छ मनको आगो धुँवा आउने होइन
आफूसित कति प्यास छ पानी धाउने होइन
हत्केलाको ठेला छाम्दै रोडा फुटाउँदैछिन्
रोडासितै उनले आफ्नो पीडा फुटाउँदैछिन्
सकिँदो छ रोडा उनले जति कुटे पनि
बढ्दोरैछ उत्तिनै ती दुख्ने पीडा पनि
निधारको मोती पुछ्दै रोडा फुटाउँदैछिन्
रोडासितै उनले आफ्नो पीडा फुटाउँदैछिन्
किन जैल्यै अपुग अभाव जति खटे पनि
सोचिरहन्छिन् सधैँ उनी समयले ठगे पनि
भाग्यलाई कोस्दै उनी रोडा फुटाउँदैछिन्
रोडासितै उनले आफ्नो पीडा फुटाउँदैछिन्।
गीत २
बालुवामा याद खोप्छौ र नमेटाउनू भन्छौ
पानीमा नाम लेख्छौ र नबगाउनू भन्छौ
आँधीले कुन गीत गायो होला म कसरी जानूँ
छातीमा शीर राख्छौ र नछुनू है भन्छौ
पातमा भाको शीतको थोपा कति अडिन्छ र
बतासमा फूलको बास्ना कति भरिन्छ र
कति बाँच्छ सम्झौता त्यो म कसरी जानूँ
सम्हालेर मुठीभित्र कैद गर्नु भन्छौ
परेलीको डिलमा उभी आँसु सबथोक भन्छ
खुशी फुल्ने ओठ पनि मौनतामा बोल्छ
आगोको फूल कस्तो हुन्छ म कसरी जानूँ
त्यसको छेउमा उभिएर नपग्लिनू भन्छौ
लेखक परिचय
दार्जीलिङका कमल रेग्मी एक सशक्त कवि तथा कुशल गीतकारका रूपमा चिनिन्छन् । उनी साहित्य अकादमी, भानु स्मृति पुरस्कार (२०००), युवा पुरस्कार (२०११), स्रष्टा पुरस्कार (२०१६), र श्रेष्ठ गीतकार पुरस्कार (२०१६) जस्ता पुरस्कारहरूबाट पनि सम्मानित भइसकेका छन् । हालसम्म रेग्मीका काँडाफूल, तप्कना, हिउँको आगो, घामपानी, कन्फ्लुएन्स, सङ्ग्रहभित्रका कविताहरू, सिर्जना र अभीष्ट, ऋतुगीत, कमलकोठी, रङ तरङ्ग र निबन्धमालागरि एघार वटा कृतीहरू प्रकाशित भइसकेका छन् । हाल, रेग्मी सन्त जोसेफ्स स्कूल, नर्थ पोइन्टमा अध्यापन गरीरहेका छन् ।