राजु “हिमांशु” राजु “हिमांशु”
सेतो कुहिरोको अँगालोभित्र
मौन बसेको यो सहरमा
कुहिरोभित्रभित्रै कोलाहल मच्चिन थाल्यो
कुहिरोभित्रभित्रै हलाहल मिसिन थाल्यो
उदार छाती लिएर बस्दाबस्दै
निर्धो सहर कुहिरोको काग बन्यो ।
प्लेकार्डहरू चिचाए
–चिचाउने छन्
फेस्टूनहरू कराए
-कराउने छन्
खुट्टाहरू अघि बढे
-बढ्ने छन्
लट्ठीहरू छेकथुनका लम्पसारिए
-लम्पसारिने छन्
आकाशभरि पिरो धुवाँहरू उडे
-अझै उड्नेछन् ।
बेरोजगारीको सुक्खा रूखहरू भक्कुचूर उम्रिने
कङ्क्रिटको जङ्गल भएछ सहर यो
जहाँ
अभावग्रस्त अनुहारहरूको बाक्लो उपस्थिति छ
घातहरू पिल्सिएर प्रतिघातहरू सल्बलाउने अवस्थिति छ
नाङ्गो मासु ठिहीले कक्रिएको आत्मघाती परिस्थिति छ ।
सहासी बाउले छातीमा थापेको
बुलेटले टुहुरा बनाएपछि
काती परेको कमिजको फेरले बेपरवाह सिङान पुछेर
चिसो भुईँको एक कुनामा बसेर
पेट मडारी रुने आवाजहरूमा
इतिहास पल्टाउने
सिंहासन डगमगाउने
कत्रो आँट हुनसक्छ ?
अधिनायाकवादी युगलाई डढाउने कत्रो सहास हुनसक्छ ?
थाहा छैन मलाई
कुहिरोभित्रको मौनतामा कस्तो अग्निकुण्ड हुनसक्छ ?
कुहिरोभित्रको शून्यतामा कस्तो कोलाहल हुनसक्छ ?
कति दिनसम्म निस्सासिनुपर्छ मेरो यात्रा
कुहिरोको काग बनिसकेको यो सहरमा?
म जान्दिनँ,
म बुझ्दिनँ ।
अग्रसारित पाइलाहरू भने थाकेका छैनन् अझै ।
लेखक परिचय
दार्जीलिङका साहित्यकार राजु प्रधान “हिमांशु” कथा, कविता, नाटक, समीक्षा र निबन्ध विधामा कलम चलाउँछन् । चालीसको दशकदेखि निरन्तर लेखनमा सक्रिय हिमांशुका, यो निगूढ़ कुरा होइन, अभ्यन्तर, अन्वेषण, मुखुन्डो लगाएको मन, ओम शान्ति, निफन-नाफन, काल-निर्णय, नि:शब्द शब्द-शिखा, प्रेक्षण-सर्वेक्षण, चिन्तन-विचिन्तन, अवसान, शान्ति-दर्शन, कालान्तर-कालान्तर, विचारको आयतन, रङ्गहरूको खेल, एउटा महायज्ञपछि, तिरस्कृतहरू ! बहिष्कृतहरू, विलोकन उनका प्रकाशित कृतिहरू हुन् ।
मो.न. : ९४३४१५१११७
ईमेल : rajuhimanshu274@gmail.com
पुरस्कार /सम्मान :
१.सन् १९८०-मा कथा प्रतियोगितामा प्रथम पुरस्कार
२. सन् १९८२मा जिल्लाव्यापी कविता प्रतियोगितामा प्रथम पुरस्कार
३. सन् १९८२मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार
४. सन् १९८४मा एकाङ्की प्रतियोगितामा प्रथम पुरस्कार
५. सन् १९८७मा कवितामा स्रष्टा पुरस्कार
६. सन् १९९४मा जिल्लाव्यापी एकाङ्की प्रतियोगितामा सर्वश्रेष्ठ एकाङ्की, सर्वश्रेष्ठ एकाङ्कीकार, र सर्वश्रेष्ठ निर्देशकका पुरस्कारहरू
७. सन् १९९५मा नाटकमा इलाहावाद नाट्य संघको अध्यक्ष पुरस्कार
८. सन् १९९८मा सर्वश्रेष्ठ प्रयोगात्मक नाटकका निम्ति हिमालयन थिएटर अवार्ड
९. सन् १९९९-२०००को अखिल भारतीय रेडियो नाटकलेखनमा प्रथम पुरस्कार
१०. सन् २००१मा नाटकमा दियालो पुरस्कार
११. सन् २०१७मा “शान्ति दर्शन” (रेडियो नाटकसङ्ग्रह) का निम्ति प्रथम डी. के. श्रेष्ठ स्मृति साहित्य पुरस्कार
१२.लघु चलचित्र “कुहिरो The Outsider” को अभिनयका निम्ति रोममा सञ्चालित प्रिज़माबाट बेस्ट लिडिङ एक्टर अवार्ड, सन् २०१८
भारतीय नेपाली साहित्य फाँटमा राजु प्रधान ‘हिमांशु’ नयाँ नाम होइन। साहित्यका प्रायः जम्मै विधामा कलम चलाए पनि कविता र नाटक लेखनमा गज्जब सिप देखिन्छ।
यस कवितामा कवि बसेकै देशको मानचित्र छ्याङ्ङै देखिएको छ।
भक्कुचूर बधाई।
दाजु हिमांंशुको कवितामा पढ्नमा भिन्दै आनन्द आउँछ ।