अगमसिंह गिरी अगमसिंह गिरी
टिस्टा, रङ्गित र रेली
धुपीडाँडाहरू यी
परिचित–परिचित
मेरा पहाड–पखेरा यी
सपना यहाँ कुण्ठित छन् यद्यपि
बिपना यहाँ लाञ्छित छन् यद्यपि
सौन्दर्य पनि पीडामय छ
पीडामा पनि एउटा मिठास छ
विह्रवलताभित्र आनन्द
आनन्दभित्र विह्रवलता
यो विस्तीर्ण हरियालीको चियाबारी
बिर्संदै–बिर्संदै सबैलाई
जब आफ्नै ठानी देशको सँघारभित्र पस्छु म
कतै–कतै अपरिचित–अपरिचित पाउँछु आफूलाई।
पर्यटकजस्तो पाउँछु आफूलाई।।
विगतका धमिला छापहरू
पहिल्याउँदै–पहिल्याउँदै
शून्य/एकाकी यात्रापथमा
माटा र ढुङ्गाहरू
पहाड र भन्ज्याङहरू
सेता–सेता हिउँका चुचुराहरू
कोशी र गण्डकी
मेची र महाकाली
पुराना अमिला व्यथाहरू
बोकेर उभिन्छन्
मेरा सारा विवशता बुझेर
अनि आफ्नै ठानी जब देशको माटो कुल्चन पुग्छु म
कतै–कतै अपरिचित–अपरिचित पाउँछु आफूलाई
— पर्यटकजस्तो पाउँछु आफूलाई ।
लेखक परिचय
नेपाली साहित्यका धरोहर स्व. अगमसिंह गिरी (सन् १९२७- १९७१)को जन्म दार्जीलिङमा भएको थियो । नेपाली मुलका भारतीय साहित्यकार उनी स्वच्छन्दतावादी र जीवनवादी कविका रूपमा चिनिन्छन् । उनका छान्दिक र गद्य दुवै किसिमका कविताहरूमा अलंकार, बिम्ब र प्रतीकको प्रयोगबाट मानवीय संवेदनाको उच्चतम प्रस्तुती भएको पाइन्छ । उनका प्रकाशित कृतिहरूमा, याद(सन् १९५५), आंसु(सन् १९६८) र युद्ध र योद्धा(वि.सं. २०२५) खण्डकाव्य हुन् भने आत्मव्यथा(वि.सं. २०१६), जीवन गीत (वि.सं. २०२४) र जलेको प्रतिबिम्ब - रोएको प्रतिध्वनि (वि.सं. २०३६) कविता संग्रह रहेका छन् । यसका साथै फुटकर रूपमा उनका अन्य कविता, गीत, निबन्ध, नाटक, समालोचना आदि विभिन्न सञ्चार माध्यमहरूमार्फत प्रकाशित/प्रसारित भएका पाइन्छन् । कवि गिरी रत्नश्री स्वर्णपदक, भानु पुरस्कारका साथै तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको स्वर्णपदकबाट विभूषित छन् ।
अगन होइन अगमसिंह हो