१
लबस्तरा अनुभूतिहरू
चाहेर पाएँ
पाएर पनि
पाइनँ ।
दुख्नुकै लागि मात्र भयो मन ।
सपनाहरू निद्रा खोस्न आइपुग्छन् ।
बिपनाहरू समस्या भएर सताउन आइपुग्छन् ।
सन्चोको खेती सप्रिएन ।
घाउहरू हौसिएर फैलिरह्यो
मनको खेतबारीभरि ।
सुमसुम्याउने औँलाहरूको उत्साह मर्यो ।
घरीघरी छक्याउनेहरूको हौसला बढ्यो ।
मर्नुकै लागि त जन्मिएको हो भनेर
जानी नजानी भावुकताको समुद्रमा डुबेर
पूरा नबाँची मारिए
ठगिएका आशाहरू
लतारिएका विश्वासहरू ।
अचेल
टुङ्गो नलागेका भुताहा यादहरु
बेला कुबेला तर्साइबस्छन्।
पाउँदा रमाउने
पाएर पनि नपाउँदा उदासिने
लबस्तरा अनुभूतिहरू भने
सम्झनाको भीरबाट झरिबस्छन् ।
२
अवसाद
मृत्यु !
तँ बेसी नचम्की ल !
मैले चाहेँ भने नि
घाँटीमा डोरी बाँधेर
तेरो सास थुन्न सक्छु ।
हन जीवन पाएपछि त
सन्चोले जिउनु पाउनुपर्छ नि
पूरा उमेर ।
अकालमा कालको
मखुण्डो ओढेर तर्साउनु हुन्न नि
जीवनलाई ।
जीवनको
बाँच्ने अधिकारलाई खोस्नु हुन्न नि
बित्थामा ।
सन्चोले बाँच्नु नदिए पनि
मर्नु त दिनुपर्छ नि सन्चोले
पूरा उमेर बाँचेर ।
जीवनलाई अकालमा
किन ठुङ्नु आइपुग्छस् तँ
कालसर्प बनेर ?
मृत्यु !
तँ बेसी फुरफुर नगर ल !
मैले चाहेँ भने नि
हातको नसा काटेर
तँलाई रगतपच्छे पार्न सक्छु ।
३
त्यो अध्याय
Love is an intermediate state between possession and deprivation.
-Plato
तिम्रो मुस्कानले सल्किएको मेरो एउटा अध्याय थियो।
त्यो अध्यायभित्र तिम्रो मुस्कानभन्दा धेर आँसु थियो।
शब्दहरू भिजेर बिस्तारै ओझेलमा पर्दै थिए ।
भक्कु दुखाइहरू बोक्ने त्यस अध्यायभित्र
हाम्रो मिलनको सुन्दर कथा पनि थियो
जहाँ प्रेमिल महा शान्ति थियो।
कालान्तरमा
कसरी कसरी च्यातिएर पन्नाहरू
पात्लिँदै गयो अध्याय त्यो ।
एक दिन
फुत्त निस्कियौँ हामी
त्यो अध्यायबाट
र एक अर्कालाई नहेरी
तिमी पूर्वतिर लाग्यौ
म पश्चिमतिर लागेँ ।
तिमीले भनेका शब्दहरू मसित लागे
मैले भनेका तिमीसित ।
अध्याय
शब्दहीन भएर ट्वाँ पर्यो ।
रित्तो
रित्तो
रित्तो
त्यो अध्यायले
हामीलाई हेरिबस्यो
हामीलाई खोजिबस्यो
मायाहीन भएर
सधैँ ।
लेखक परिचय
दार्जीलिङका साहित्यकार राजु प्रधान “हिमांशु” कथा, कविता, नाटक, समीक्षा र निबन्ध विधामा कलम चलाउँछन् । चालीसको दशकदेखि निरन्तर लेखनमा सक्रिय हिमांशुका, यो निगूढ़ कुरा होइन, अभ्यन्तर, अन्वेषण, मुखुन्डो लगाएको मन, ओम शान्ति, निफन-नाफन, काल-निर्णय, नि:शब्द शब्द-शिखा, प्रेक्षण-सर्वेक्षण, चिन्तन-विचिन्तन, अवसान, शान्ति-दर्शन, कालान्तर-कालान्तर, विचारको आयतन, रङ्गहरूको खेल, एउटा महायज्ञपछि, तिरस्कृतहरू ! बहिष्कृतहरू, विलोकन उनका प्रकाशित कृतिहरू हुन् ।
मो.न. : ९४३४१५१११७
ईमेल : rajuhimanshu274@gmail.com
पुरस्कार /सम्मान :
१.सन् १९८०-मा कथा प्रतियोगितामा प्रथम पुरस्कार
२. सन् १९८२मा जिल्लाव्यापी कविता प्रतियोगितामा प्रथम पुरस्कार
३. सन् १९८२मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार
४. सन् १९८४मा एकाङ्की प्रतियोगितामा प्रथम पुरस्कार
५. सन् १९८७मा कवितामा स्रष्टा पुरस्कार
६. सन् १९९४मा जिल्लाव्यापी एकाङ्की प्रतियोगितामा सर्वश्रेष्ठ एकाङ्की, सर्वश्रेष्ठ एकाङ्कीकार, र सर्वश्रेष्ठ निर्देशकका पुरस्कारहरू
७. सन् १९९५मा नाटकमा इलाहावाद नाट्य संघको अध्यक्ष पुरस्कार
८. सन् १९९८मा सर्वश्रेष्ठ प्रयोगात्मक नाटकका निम्ति हिमालयन थिएटर अवार्ड
९. सन् १९९९-२०००को अखिल भारतीय रेडियो नाटकलेखनमा प्रथम पुरस्कार
१०. सन् २००१मा नाटकमा दियालो पुरस्कार
११. सन् २०१७मा “शान्ति दर्शन” (रेडियो नाटकसङ्ग्रह) का निम्ति प्रथम डी. के. श्रेष्ठ स्मृति साहित्य पुरस्कार
१२.लघु चलचित्र “कुहिरो The Outsider” को अभिनयका निम्ति रोममा सञ्चालित प्रिज़माबाट बेस्ट लिडिङ एक्टर अवार्ड, सन् २०१८