असहमति-३
लेखक, चिन्तक एवम् राजनीतिक विश्लेषक सौरभको असहमति शृंखलाको तेश्रो पुस्तक ‘असहमति-३’ चैत अन्तिम साता सार्वजनिक हुने भएको छ ।
बुक-हिल पब्लिकेसनले आज एक प्रेस नोट सार्वजनिक गर्दै भनेको छ, “इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार, सभ्यता र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफ दिने प्रयत्न सौरभले पुस्तकमा गरेका छन् ।”
पुस्तकबारे सौरभ भन्छन्, “कुनै पनि देशको अनुहार छिमेकीको जस्तो हुनुहुँदैन । उत्तरी र दक्षिणी मिलेर बेइमानीका लागि यही देशलाई तगारो बनाउने किन ? जो जति भौगोलिक विभाजनका कुरा गर्छ, इतिहासलाई गाली गर्छ, उति उसको पुर्खाले यो देशलाई कुनै योगदान दिएको रहेनछ भनेर म बुझ्ने गर्छु । पुस्तकमा मेरा यस्ता राजनीतिक विमतिहरू धेरै छन् ।”
६ खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू रहेका छन् | विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक-राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन् ।
३ सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रुपैयाँ रहेको छ ।
असहमति-३