लेखक, चिन्तक तथा विश्लेषक सौरभले एमसिसीले नेपाललाई कालान्तरमा सिध्याउने बताएका छन् । आफ्नो असहमति शृंखलाको तेश्रो पुस्तक ‘असहमति-३’ को लोकार्पण भिडियोमा उनले भनेका छन्, “बिआरआई, बिमेस्टेक, एमसिसीजस्ता पश्चिमाहरूका लगानीले साना मुलुकमाथि निरंकुशता बढ्छ र एकदिन त्यसले राष्ट्रको अस्मितामाथि प्रश्नचिह्न खडा गर्छ । हामीलाई सिध्याउन अहिले सबै लागिपरेका छन्, यदि यस्तै अवस्था रहे हामी बर्मा, ग्रीस, अलबानिया वा दक्षिण कोरियाजस्तो हुन सक्छौँ । यी कुरालाई आधारभूत रूपमा कम्युनिस्टहरूले संस्थागत गर्न खोजिरहेका छन् ।त्यसैले मैले किताबमा मार्क्स र क्राइस्टबाट मुक्ति शीर्षकमा दुईवटा लेख लेखेको छु ।”
बुक-हिल पब्लिकेसनले आज सार्वजनिक गरेको उनको पुस्तक लोकार्पणको भिडियोमा उनले वेदभन्दा अघि मुन्धुम लेखिएको समेत बताएका छन् । उनी भन्छन्, “तैत्तिरीय संहिता भनेको मुन्धुम नै हो | आफूलाई नेपालीहरूले आफैँ चिन्नु पर्यो ।”
इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफको रूपमा आएको असहमति-३ ले पाठकको मन जित्नेसमेत उनले विश्वास लिएको बताएका छन् ।
देशभरका पुस्तक पसलमा आजैदेखि उपलब्ध भएको, ६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू रहेका छन् । विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक-राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन् ।
३ सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रुपैयाँ रहेको छ ।
यस विषयमा तयार गरिएको भिडीयो सामग्री दिइएको लिंकमा क्लिक गरी हेर्न सक्नुहुनेछ: