कोलम्बोमा मुख्यालय रहेको विश्व कविता आन्दोलन (वर्ल्ड पोएट्री मुभमेन्ट)ले एक विज्ञप्ती जारी गर्दै कोविड(१९को रोकथाममा विश्वका सरकारहरुको असफलतालाई गैरजवाफदेही शासन प्रणालीको विसङ्गतीको परिणाम बताएको छ ।
आन्दोलनका संयोजक अमेरिकी कवि ज्याक हर्षम्यानले आजका धनी भनाउँदा राज्यसंयन्त्रहरू चरम पुँजीवादको चङ्गुलमा परेर यो महामारीलाई कमिसन र नाफा कमाउने मौकाको रूपमा प्रयोग गर्न तल्लिन रहेका वताएका छन् ।
कवि ज्याक हर्षम्यानले महामारीको यस्तो विषम समयमा संयुक्त राष्ट्र संघ, युनेस्को र विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरू विकासशील देशहरूले बेहोरिरहेको समस्याहरूको निम्ति खासै उल्लेखनीय कदम चाल्न नसकेको पनि बताएका छन् ।
यसैगरी, आन्दोलनका अन्तरिष्ट्रय समन्वय समितिका अर्का नेपाली सदस्य कवि केशव सिग्देलले धनी देशहरूले आफूलाई चाहिनेभन्दा बढी खोपको भण्डार गरेर विकाशशील देशको पहुँचलाई सिमित गर्नु मानवता विरोधी अपराध भएको टिप्पणी गरे ।
जारी विज्ञप्तीमा सबै देशका सरकारहरूलाई सदभावना राखेर सहकार्य मार्फत् समस्याको सम्बोधन गर्न आव्हान गरिएको छ । कविता जहिले पनि मानव इतिहासमा अन्याय र असमानतामा विरुद्ध रहेको र निरंतर भइरहने आन्दोलनले उल्लेख गर्दै यस्तो विपदको बेला भइरहेको विसङ्गती र असमानताको विरोधमा लेख्न कवि तथा लेखकहरूलाई आव्हान गरिएको छ ।
विज्ञप्तीको पूर्णपाठको नेपाली अनुवाद तल दिइएको छ ।
विश्व कविता आन्दोलन विज्ञप्ती
हामी फेरि एकपटक कोभिड-१९ नामक जीवित प्रकोपको कारणले एकदमै पीडादायी र मानव इतिहासको सबैभन्दा खराब समयबाट गुज्रिरहेका छौँ । यो प्राकृतिक संकट जसले दसौँ हजार मानिसहरूको ज्यान लिइरहँदा यसको उन्मूलन त टाढाको विषय छ, यसले मानवताविरोधी शासन प्रणालीको विसङ्गतिलाई उजागर गरिदिएको छ ।
तथ्यको आधारमा भन्नुपर्दा अरू सबै बस्तुजस्तै मानव स्वास्थ्य पनि किन्न र बेच्न सकिने वस्तुसरह भएको छ र यसका अवश्यम्भावी परिणामहरू यस अघिका धेरै ठुला प्रकोपहरूभन्दा अझ विनाशकारी रूपमा उत्पन्न भएका छन् ।
ती देशहरू जहाँका राज्यसंयन्त्र चरम पुँजीवादको चङ्गुलमा परेर यो महामारीलाई कमिसन र नाफा कमाउने मौकाको रूपमा प्रयोग गर्न तल्लिन छन्, त्यहाँ खोपको वितरणमा असक्षमता र असमानताहरू भयावह रूपमा देखापरेको छ । उनीहरू नागरिकलाई उपचार गर्ने विकल्पहरू पनि दिन क्रियाशील छैनन् । केही देशहरूले आफ्नो जनसंख्याको आवश्यकताभन्दा धेरै खोप उत्पादन गरेका छन् र अन्य धनी देशहरूले त्यसलाई सङ्ग्रह गरिरहेका छन् । तर विकासशील देशहरू भने खोप उत्पादन र प्राप्ति गर्न नसकेर निराश देखिन्छन् । संयुक्त राष्ट्र संघ, युनेस्को र विश्व स्वास्थ्य संगठनजस्ता संस्थाको क्रियाशीलता यस्तै दिनहरूको लागि होइन र ? धनी देशहरू गरिब देशहरूलाई सहायता प्रदान गर्नका लागि कति लामो समयसम्म पर्खिनेछन् ? खोप प्राप्तिमा रहेको असमानता विज्ञान र मानव सभ्यताको विकासको अस्तित्व विपरित होइन ?
हामी केही अफ्रिकी र दक्षिण अमेरिकी देशहरू र विशेष गरी भारत लगायतका दक्षिण एसियाली देशहरूबाट आउने हृदय विदारक, न्याय र मानवताविरोधी समाचारहरू प्रति पनि सचेत छौँ ।
विश्व कविता आन्दोलनको तर्फबाट हामी सबै देशका सरकारहरूलाई उच्चतम सहकार्यमार्फत् समस्याको सम्बोधन गर्न आव्हान गर्दछौँ । साथै सम्पूर्ण अन्तर्राष्ट्रिय संस्थाहरूलाई यो संकटविरुद्ध उनीहरूले पुरा गर्नुपर्ने जिम्मेवारीप्रति सचेत गराउँछौँ । सामाजिक वर्ग र देशको पर्वाह नगरी संसारको सबै कुनाबाट यो सङ्कटविरुद्ध एकीकृत रूपमा लड्ने अवसरको सृजना गर्न आग्रह गर्दछौँ ।
विश्व कविता आन्दोलन र यसका सबै सदस्यहरू यो संघर्षमा आफ्नो भूमिका निर्वाह गर्न सङ्कल्पित छन् । कविता जहिले पनि मानव इतिहासमा अन्याय र असमानताविरुद्ध छ र निरन्तर भइरहनेछ ।