प्रेम के हो ? बाँच्नु र जान्नु त सजिलो छ, तर भन्न धेरै गाह्रो छ । सागर के हो भनेर कसैले माछालाई सोध्यो भने माछाले भन्न सक्छ : यो सागर हों, यो चारैतिर छ, यो त्यही हो । तर कसैले भन के हो भनी सोध्यो भने, त्यतिखेर माछालाई धेरै गाह्रो हुन्छ । मानिसको जीवनमा पनि जुन श्रेष्ठ छ, सुन्दर छ र सत्य छ, त्यसमा बाँच्न सकिन्छ, जान्न सकिन्छ, बन्न पनि सकिन्छ, तर भन्नलाई साहै गाहो हुन्छ । अनि दुर्घटना र दुर्भाग्य के छ भने-जसमा बाँच्नुपर्ने हुन्छ, जसमा हुनुपर्ने हुन्छ, त्यसका सम्बन्धमा भने मनुष्यजाति पाँच- हजार वर्षदेखि कुरै मात्र गरिरहेको छ । प्रेमका कुरा चल्दै छन् । प्रेमका गीत गाइँदै छन्, प्रेमका भजन गाइँदै छन् तर प्रेमको मनुष्य जीवनमा कुनै स्थान छैन । मान्छेका भित्र खोज्ने हो भने प्रेमभन्दा ज्यादा असत्य सिवाय अरू भेटिंदैन । अनि जसले प्रेमलाई असत्य सिद्ध गरिदिएका छन् र जसले प्रेमका समस्त धाराहरूलाई थुनिदिएका छन् ,तिनैलाई मानिसहरू नै प्रेमका जन्मदाता पनि हुन् भन्ने ठान्दछन् । यो बडो दुर्भाग्यपूर्ण छ । धर्मले प्रेमका कुरा गर्दछ, तर आजपर्यन्त मनुष्यजाति माथि जुन प्रकारको धर्मले दुर्भाग्यझै ढाकेको छ, त्यही धर्मले नै मानिसको जीवनबाट प्रेमका सारा ढोका थुनिदिएका छन् । मनुष्यको भन्दा बढी प्रेम पशुपक्षी र बिरूवाहरूमा देखिन्छ। तिनीहरूमा न संस्कृति छ, न कुनै धर्म छ । संस्कृत र सुसंस्कृत अनि सभ्य मनुष्यहरूभन्दा असभ्य र जङ्गली मान्छेहरूमै धेरै प्रेम पाइन्छ उनीहरूसँग न कुनै विकसित धर्म छ, न कुनै सभ्यता छ, न कुनै संस्कृति नै छ। मान्छे जतिजति सभ्य, सु-संस्कृत र तथाकथित धर्मका प्रभावमापरेर मन्दिर र गिर्जाघरहरूमा प्रार्थना गर्न थाल्दछ, उति नै किन प्रेमशून्य हुँदै छ? मनुष्यभित्र प्रेम लुकेको छ, खालि त्यसलाई उघार्नु मात्र पर्छ । त्यो उत्पन्न गरिरहनु पर्दैन, अनावृत गर्नुपर्छ । हामीले आफूलाई एउटा आवरणले ढाकेका छौं जसले प्रेमलाई प्रकट हुन दिँदैन।प्रेम हामीभित्रै छ । प्रेम हाम्रो स्वभाव हो । त्यसैले मनुष्यलाई तिमी प्रेम प्रकट गर भनी सम्झाउनु नै गलत हो । के कुरा बुझ्नुपर्छ भने प्रेम किन उत्पन्न हुन सकेको छैन ? त्यसमा बाधा के छ ? समस्या के छ ? कहाँ अवरोध उत्पन्न गराइएको छ ? कुनै अवरोध छैन भने प्रेम प्रकट हुन्छ नै, त्यसलाई सिकाउने र बुझाउने कुनै आवश्यकता छैन।यदि मनुष्यमाथि गलत संस्कृति र गलत संस्कारहरू बाधा बनेका छैनन् भने सबै मान्छे प्रेमका निमित्त उपलब्ध हुन्छ ।यो अनिवार्यता हो । प्रेमबाट कोही पनि जोगिन सक्तैन । प्रेम स्वभाव हो । गंगा हिमालयबाट बग्छ । गंगा बग्छ, उसमा प्राण छ, उसँग पानी छ । बग्दैवग्दै उसले सागरलाई भेट्टाइछोड्छ । उसले सागर कहाँ छ भनेर न प्रहरीसँग सोधखोज गर्छ न कुनै पुरोहितसँग नै सोध्छ । चौबाटामा उभिएर गङ्गाले सागर कहाँ छ भनेर सोध्दै गरेको कसैले देखेको छ ? उसको प्राणमा सागरको खोज लुकेको छ,उसमा ऊर्जा छ र पहाड फोड्दछ, मैदान खियाउँछ र सागरसम्म पुग्दछ । सागर जति नै टाढा भए पनि, जहाँ लुके पनि आखिर खोजेरै छोड्छ । कुनै बाटो छैन, कुन बाटो जाने भन्ने कुनै गाइड- किताब नभए तापनि ठाउँमै पुग्दछ । तर बाँध बाँधिदिऔ, चारैतिर अग्ला ढिस्काहरू उठाइदिऔ भने गङ्गा सागरसम्म नपुग्न सक्छ। यो फरक चाहिँ बुझ्न आवश्यक छ। म तपाईहरूलाई के भन्न चाहन्छु भने मान्छेले नै बाधाहरू उत्पन्न गरेको हो । प्रेमको गङ्गा त बग्न सक्छ र परमात्माको सागरसम्म पुग्न सक्तछ । मान्छेको सृष्टि किन भएको हो भने ऊ बगोस् ,प्रेम बगोस् अनि परमात्मासम्म पुगोस् । तर हामीले कस्ता बाधा तेर्स्याईदिएका छौं त ? पहिलो कुरो, आजसम्म मनुष्यका सारा संस्कृतिहरूले यौन, काम, वासनाको विरोध गरेका छन् । यस विरोधले मनुष्यभित्रको प्रेमको जन्मको सम्भावनालाई हटाइदिएको छ, नष्ट गरिदिएको छ- यही निषेधले ! किनभने सत्यता के हो भने प्रेमको सम्पूर्ण यात्राको प्राथमिक विन्दु नै काम हो, यौन हो । प्रेमयात्राको जन्म, गङ्गोत्री- जहाँबाट प्रेमको गङ्गा उत्पन्न हुन्छ- त्यो यौन हो, त्यो काम हो । अनि यसका सबै शत्रु बनेका छन्- सारा संस्कृति, सारा धर्म, अनि सारा गुरू, र सारा महात्माहरूले यसरी गङ्गोत्रीमाथि नै प्रहार गरिदिए, स्रोतमै रोकिदिए ।उनिहरूले भने–काम पाप हो,काम अधम हो, काम बिख हो। अनि हामीले चाहिँ के सोचेनौ भने कामको ऊर्जा, यौनशक्ति नै अन्ततः प्रेममा परिवर्तन हुन्छ र रूपान्तरण हुन्छ । प्रेमको विकास नै कामशक्तिकै ट्रान्सफर्मेसन हो, यो त्यसैको रूपान्तरण हो। एउटा कोइलाको टुक्रा छ र तपाईलाई पटक्कै के थाहा हुँदैन भने कोइला नै रूपान्तरण भई हीरा बन्दछ। हीरा र कोइलामा सारभूत रूपमा केही फरक छैन । हीरामा पनि तिनै तत्व छन् जुन कोइलामा छन् । अनि हजारौ वर्षका प्रक्रियाबाट गुज्रिएर कोईला हीरा बन्दछ।कोइलाको शक्ति नै हीरा बन्दछ।
कोइलाको शक्ति नै हीरा बन्दछ। अनि तपाईं कोइलाका शत्रु बन्नुभयो भने- यस्तो हुन अति सजिलो पनि छ, किनभने कोइलामा केही पनि देखिंदैन- तब हीरा बन्ने सम्भावना नै समाप्त हुन्छ, किनभने कोइला नै हीरा बन्न सक्तथ्यो । यौनशक्ति नै, कामशक्ति नै प्रेम बन्दछ । तर सारा त्यसको विरोधमा छन्, सबै शत्रु छन् त्यसको । राम्राराम्रा मान्छे पनि त्यसका शत्रु छन् । अनि त्यसको विरोधले प्रेमको अङ्कुरन हुन पाएन । अनि जमिनबाट, पहिले नै, पहिलो खुड्किलाबाटै भवनलाई नष्ट गरियो । फेरि त्यो हीरा कोइला बन्न पाएन।म तपाईंहरूलाई पहिलो कुरा भन्न चाहन्छु : प्रेमतत्त्व के हो भन्ने जान्न चाहनुहुन्छ भने पहिलो सूत्र हो- कामको पवित्रता, दिव्यता, त्यसको ईश्वरीय अनुभूतिको स्वीकृति, त्यसलाई परम हृदयबाट, पूर्ण हृदयबाट अङ्गीकार । अनि तपाई छक्क पर्नुहुनेछ, जति परिपूर्ण हृदयबाट कामको स्वीकृति हुन्छ, उति नै तपाई काम-बासना बाट मुक्त हुँदै जानुहुन्छ । जति अस्वीकार हुन्छ, हामी त्यति नै बाँधिन्छौं ।जति स्वीकार हुन्छ, उति नै हामी मुक्त हुन्छौं । जीवनको निसर्गप्रति परिपूर्ण स्वीकृतिलाई म आस्तिकता भन्दछु, त्यही आस्तिकताले व्यक्तिलाई मुक्त गर्दछ । म त्यस्तालाई नास्तिक भन्दछु जो जीवनको निसर्गलाई अस्वीकार गर्दछन्, निषेध गर्दछन्- यो ठीक होइन, यो पाप हो, यो विष हो, यो छोड, यो छोड, यो छोड । जसले छोड्ने कुरा गर्दछन्, तिनीहरू नै नास्तिक हुन् । जीवन जुन रूपमा छ, त्यसलाई स्वीकार गर्नुहोस् र त्यसको परिपूर्णतामा बाँच्नुहोस् । त्यही परिपूर्णता नै दिनहुँ खुड्किला उक्लँदै जान्छ । त्यही स्वीकृतिले मनुष्यलाई माथि उचाल्छ । अनि एकदिन त्यसको दर्शन हुन्छ जसको काममा अत्तोपत्तो नै लाग्दैनथ्यो । काम कोइला भयो भने एकदिन प्रेमको हीरा पनि पाइन्छ । त, पहिलो सूत्र यो हो । दोस्रो सूत्र म तपाईंहरूलाई भन्न चाहन्छु । त्यो दोस्रो सूत्रलाई पनि संस्कृति र आजसम्मको सभ्यता र धर्मले हामीभित्र जरा गडाइदिएको छ । दोस्रो सूत्र पनि स्मरणीय छ । किनभने पहिलो सूत्रले त कामको ऊर्जालाई प्रेममा परिणत गराइदिन्छ र दोस्रो सूत्रले चाहिँ ढोकाझैं त्यस ऊर्जालाई बहन दिन रोकिराखेको छ, त्यो बहन पाउँदैन । त्यो दोस्रो सूत्र हो मनुष्यको ‘म हुँ’ भन्ने भाव, म हुँ भन्ने उसको अहंकार । खराब मानिसहरू त भनिनैहाल्छन् म हुँ भनेर । असल मानिसहरू पनि ठुल्ठुलो स्वरमा म हुँ भन्दछन्।अनि जुन मानिसको अहंकार जति बलियो हुन्छ, उति नै अरूसँग मिलजुल गर्ने,प्रेम गर्ने सामर्थ्य कम हुन्छ । जबसम्म भिन्नता हुन्छ तवसम्म प्रेमको अनुभव हुन सक्तैन । प्रेम एकात्मको अनुभव हो । प्रेम कुन कुराको अनुभव हो भने भित्ता भत्किएर दुई ऊर्जा एकआपसमा मिले र संयुक्त भए, प्रेम कुन कुराको अनुभव हो भने एक व्यक्ति र अर्को व्यक्तिका सबै सिमाहरू मेटिए र प्राण संयुक्त भए, मिले र एक भए । जब यही अनुभव एक व्यक्ति र समस्तका बीच फलित हुन्छ, त्यस अनुभवलाई म परमात्मा भन्दछु । अनि जब दुई व्यक्तिहरूका बीच फलित हुन्छ, म त्यसलाई प्रेम भन्दछु । ‘म र अर्को’ व्यक्तिका बीच यो अनुभव फलित भई हाम्रा सिमाहरू भत्किए र हामी भित्री तहमा एक भयौं भने एउटा सङ्गीत, एउटा धारा, एउटा प्राण हुनु नै प्रेमको अनुभव हो । प्रेम सधै निहुरिन तयार हुन्छ, अहङ्कार निहुरिन कहिल्यै तयार हुँदैन । प्रेम आनन्दमग्न हुन्छ, जब प्रेम कसैका निम्ति छाया बन्दछ । अहङ्कार आनन्दमग्न हुन्छ, जब उसले कसैको छाया खोस्दछ । अहङ्कारले लिने भाषामात्र बुझ्दछ । प्रेम दिने भाषा हो । यतिभन्दा बढी म केही पनि भन्दिनँ । प्रेम त्यस्तो रूख बनोस्, अनि त्यसका हाँगाहरू अनन्तसम्म फैलियून्, सबै त्यसका छायामा होऊन् र सबैसम्म त्यसका हाँगा पुगून्, अनि मात्र प्रेम के हो भन्ने थाहा पाउन सकिन्छ । प्रेमको कुनै शास्त्र छैन, न परिभाषा नै छ, न प्रेमको कुनै सिद्धान्त छ।त्यसैले म प्रेम के हो भनेर तपाईहरूलाई के भनूँला भन्ने अलमलमा थिएँ । त्यो त बुझाउनै गाहों छ । आएर बस्न सक्तछु- मेरा आखामा देखिन्छ भने देखिएला, मेरा हातमा देखिन्छ भने देखिएला ।म भन्न सक्तछु- यो हो प्रेम । तर प्रेम के हो, मेरा आँखा देखिएन भने, मेरा हातमा देखिएन भने, शब्दमा त पटक्कै देख्न सकिंदैन।
प्रेमको बिषयमा ओशोको प्रवचनको नेपाली अनुवाद
लेखक परिचय
दिपेन्द्र लोवा लिम्बु एक आध्यात्मिक साधक हुन् । योग, ध्यानका अलवा उनी गायन तथा निबन्ध लेखनमा समेत रूची राख्छन् ।