सुविन भट्टराई
एक अर्धपठित ग्राम युवक, आफ्नो सपनाको दौड गाउँको सुष्कता र सुस्ततामा पूरा नहुने देखेपछि अन्ततः सहरको रेलोपेलोमा अवतरित हुन आइपुग्छ । भर्खर थामिएको बर्षा पश्चात् देखिएको स्निग्ध आकाशमुन्तिर हिलैहिलो बाटो छ । बाटोबाट हिलोका केही छिटाहरुलाई एक जोडी चप्पलको एकोहोरो भट्याकभट्याकले कालो पाइन्टमा निरन्तरसित टिकटिक दाग बनाइदिरहेको छ ।
एकै दिनमा देखिएको दुई भिन्न परिदृश्य पार्थक्यलाई म मनमा पाइतालासँगै चलाइरहेको छु । गाउँ गोठमा बाँधिएको भैँसीजस्तै लाचार देखेर आएको म सहर उन्मुक्त घोडाजस्तो गतिवान्, बेगवान् देख्न थाल्छु । बिरानो गाउँलाई केही समयका लागि बिस्मृतीको शून्यमा लोप गराउँदै सहरमा सुखको शिरानीमा शिर अड्याएर केही सपना सँगाल्न चाहन्छु । सुविन भट्टराई
एउटा झोला मेरो ढाडमा बुइ चढेको छ । झोलामा केही थान कपडा, एक थान ब्रस, एक थान टुथपेष्ट, र एउटा पुस्तक छ । झोलाभन्दा त आँखा धेरै भरिएको छ, असीम सपनाले । उमेरसित छ असीमित उर्जा । इच्छामा घुलेको छ यहि उन्मुक्त घोडाझैँ रफ्तार ।
यहि सब लिएर म एक आफन्तकहाँ जान्छु । यो एउटा निमन्त्रणा । लामै समय अघि म द्वरा गरिएको एक याचनाको प्रतिफल । सहरमा सहरसित सहरकै भएर बस्ने एउटा पुरानो रहर । मेरो आगमन र भ्रमणको उद्देश्य सुनेपश्चात् उनी एउटा मध्यमस्तरको उत्साह देखाउँछन् । उनको मध्यमस्तरको उत्साहलाई निम्नस्तरकाे मेरो दिमागले उच्चस्तरको अनुकम्पा सम्झन्छ र हरक्षण हर शब्द, वाक्य, वाक्यांसं, हर हाँसो, प्रतिक्रिया, भावभङ्गी, श्वासप्रश्वास, हर उठाई बसाईमा कृतकृत्य हुँदै, आफूलाई अझ बढी लाचार ठान्दै उनलाई अझ होनहार ठानिदिन्छ ।
किनकि म सचेत छु कि स्वाभिमानले सपनालाई आँखासम्म पनि नतरोस् । केही दिनका लागि म शरणार्थी । दुई छाक खाना र दुइ कप चिया अनि एक मिठो निद्रा यहाँ निशुल्क उपलब्ध छन् । गाउँबाट रहरका घडा टिलपिल भरेर आएको म निद्रामात्रैलाई अञ्जुली उठाउन सक्तिनँ ।
‘लौ हिँड अब मसित, ’आफन्त अर्कोदिन मलाई भन्छन्, ‘तिमीलाई बाटो देखाउँछु ।’ आखिर सपनाको गाउँसम्म पुग्न पनि त निद्राको बाटो हिँड्नैपर्छ, सफलताको गाउँ पुग्न संघर्षको बाटो हिँडेजस्तै । प्राप्तिको गाउँ पुग्नलाई प्रयासको बाटो नापेजस्तै ।
म निस्किएँ लुरूलुरू, उनको पछि, चप्पल फट्याकफट्याक गर्दै, उनले छाडेको पदछापमा आफ्नो पाइतालाको डोब मिलाउँदै । उनी चार कदम अघि छन् । म कुदेर पनि उनलाई भेट्न सक्दिन । समानान्तर हिँड्नलाई नाता, सम्बन्ध, जरा, बिगत, आगत (जो अनिश्चित छ) ले आपत्ति नजनाएपनि वर्तमान र त्यसभित्रको यथार्थले अनुमति दिँदैन । आज हिलो सुकेर धुलो भइसकेको छ । पाइन्टमा टिकटिक दागहरू बस्न पाउँदैनन् । सहर मलाई हरहर बास्ना आउँछ । यहाँको व्यस्तता, कोलाहल, कम्पन, विविधता, भीड नजाने किन मेरा अभीप्सालाई एक फड्को माथि उचाल्दिन्छन् । मेरो दृढतालाई कसिलो बाँधिदिन्छन् । यहाँ अलमलिने त्तवहरू धेरै छन् । सहरको छोटो बसाई र गाउँको लामो बसाइबीचमा मैले आफू सधैँ सहरतिरै सम्मोहित भएको पाएको छु । गाउँमा मेरा लागि केही छैन । एउटा झिँझोलाग्दो फुर्सद, पट्यारलाग्दो दिनचर्या र सन्नाटामा विलय हुँदै गइरहेको ढुकढुकी बाहेक ।
त्यसै दिन मैले जागिर पाएँ । उनले लगिदिएको परिचितले उनकै भनाइ राख्दै मप्रति विश्वस्त र आश्वस्त भएको जिकिर गरे ।
यो सहरले गरेको पहिलो स्वागतका लागि म सहरसित कृतज्ञ रहेँ । सहरलाई मैले उहिल्यै आँखाभरि टिपेर मनमा सजाइसकेको थिएँ । सहरले मलाई यतिखेर अपनायो । सुविन भट्टराई
‘डेरा नपाउञ्जेल मकाहीँ बस्नु । मैले दुई तीन ठाउँमा कुरा गर्देको छु ।’ बेलुकी उनले मलाई भने । बडो विनीत र धन्य भावले मैले उनको निर्णयलाई शिरोधार्य गरेँ । एउटा पराश्रित आगन्तुक, जो उनकै गुनको भारीले सास समेत अड्काएर, आँखा समेत उचाल्न नसकेर, वाक्य समेत नफुटेर थचक्क थिचिएको छ, ऊसले नतमस्तक हुनुभन्दा बढ्ता के जानोस् ?
सम्भवतः उनले मभित्र लुकेर, नदेखिएका, अल्झिएका भावहरू पढ्न नसकेर भने, ‘चित्त बुझेन ? बोल्दैनौ त ?’
अघिपछिको डोरीजस्तो मेरो बोली यतिबेला धागोजस्तै पातलिन्छ । म भन्छु, ‘होइन बुझेको छ ।’ यसो भनिरहँदा मेरो अनुहारमा स्वभाविक ढंगका साथ आउनुपर्ने हाँसो स्थितिको भारले सिर्जित पासोमा अड्किन्छ । सुविन भट्टराई सुविन भट्टराई
दुइ चार, पाँच, दश गर्दै करीब पन्ध्र दिनपछि एउटा कोठाको टुङ्गो लाग्छ । खाटदेखी डस्ना, सिरकदेखी, तकिया, भाँडाकुँडा सबै उनले व्यवस्था गर्दिन्छन् र भन्छन्, ‘अरु केही चाहिए भन्नू ।’
यत्रो दिइसकेपछि म अरु के मागौँ ? हुन त माग्दै माग्दै उनीसम्म पुगेको थिएँ । तर अब कति मागूँ योभन्दा ? उनले दिएका हर एक चीजले थिचिएको छु । अझै कति थिचिऊँ ?
उनलाई कहिलेकाँही मेरो कोठामा आउन मन लाग्छ । मलाई बडो अफ्ठ्याराे लाग्छ । उनको स्वागत पनि ठिकसित गर्न नसक्ने हूँ कि भन्ने लाग्छ ।
मेरो कोठामा आएको परिवर्तन देखेर मलाई सोध्छन्, ‘ए सिलिण्डर पनि जोडेछौ त ।’ म मुस्कुराउँदै कपाल कन्याउँछु र एक कप चिया बनाएर ख्वाउँछु । उनलाई पिलाएको त्यो एक कप तातो चियाले मलाई सीतल बनाउँछ ।
अर्कोचोटी आउँछन् । कोठामा आँखा डुलाएर हेर्छन् र भन्छन्, ‘ए, सोफा पनि हालेछौ ।’ म जवाफ दिन्छु, ‘मान्छे आउँदा बस्नै ठाउँवै भएन ।’
अनि नास्ता, चिया बनाएर ख्वाउँछु । अलिकति तृप्ती मिल्छ ।
महिनौपछि उनी आउँछन् आफ्नी श्रीमतिसाथ । खाना खान मैले नै निम्तो गरेको । डेरा फेरेँ योपटक । दुईवटा कोठा र भान्सा । एउटा आफ्नै बेडरूम, अर्को बैठक कोठा ।
उनीहरूलाई बैठक कोठामा बसाउँछु । भित्तामा ‘एलइडी’को सेट छ ।
‘तिमीले प्रगती गरेको देखेर खुसी लाग्छ,’ उनी भन्छन् । म खुसी हुँदै भन्छु, ‘हजुर, भरखर त बामे सर्दै छु ।’
कहिले उनी मलाई आफ्नो अफिस बोलाउँछन् र कुनै क्याफेतिर लैजान्छन् । अनि सुनाउँछन् आफ्नो घर व्यवहार आदिका कुराहरू । छोराको अटेरीपना, छोरीको जिद्दीपना, श्रीमतिको अल्छीपना म सुनिदिन्छु, हरेक कुरा रोचक कहानीझैँ । उनीसितको संगत भएदेखि म सुन्नमा पारंगत भएको छु ।
कहिलेकाँही म उनको घरै जान्छु । अस्तीको शनिबार जाँदा उनी बरण्डामा बसेर कञ्चटका सेता केशहरु बडो ध्यान दिएर उखेलिरहेका थिए ।
मलाई देख्नेबित्तिकै उनले आफ्नो कामलाई बन्द गरे र भित्रपटि लगेर बसाए ।
‘के छ गाउँतिरको खबर ?’ सोधे ।
‘अब घडेरी किन्नुपर्याे एउटा ।’ मैले गाउँतिरको खबर बताइसकेपछि उनले यो प्रस्ताव राखे ।
‘मैले किनेकोतिर किन्ने हो भने खोजिदिन्छु । अलिक महंगो चाहिँ छ ।’ मैले ‘खोजिदिनुस् न’ भनेपछि उनले यसो भने ।
अनि बिदावारी भइवरी निस्कने बेला उनैले अर्को प्रस्ताव राखे, ‘अर्को शनिबार के छ ? ट्राउट खान जाने हो ककनी ?’
मैले आफूलाई फुर्सद भएको बताउँदै उनको प्रस्तावमाथि बिमतिको लेशमात्र प्रभाव पर्न नदिइकन स्वीकारिदिएँ । उनको साथ पहिलेजस्तो भारी लाग्न छाडिसकेको थियो । उनको अघिल्तिर पर्दा थिचिएजस्तो महसुस हुन छाडिसकेको थियो । सम्बन्धको अनुहार फेरिइसकेको थियो । उनले मलाई बाँधेका गुन र सहायताका धागाहरू बिस्तारै मक्किँदै गइरहेका थिए र अर्को धागोले हामी बाँधिदो थियौँ । आत्मीयता, समभावी र मैत्रीक भावसहितको धागोले । नभए उही पुरानै भावसहित यो सम्बन्धलाई बोकेर हिँडाऊँ, या हुर्काउँ, यात्रा निक्कै कष्टकर हुँदो हो । उनी के सोच्थे म जान्दिनँ । तर कमसेकम म उनका साेचाइबाट केही सोच्न सक्थेँ । यहि की उनी आफैँले जुन व्यवहार र अनुकम्पाले मलाई बाँधेका थिए, त्यसबाट बिस्तारै मुक्त हुन चाहन्छन् र मुक्त गराउन चाहन्छन् मलाई । नभए सम्बन्धका अरु आयामहरु खोज्दै उनी मसित किन नजिकिन खोज्थे ?
जिन्दगीको किताबमा सबै पन्नाहरु उस्तै रुचीकर हुँदैनन्, र सबै पन्ना पट्यारलाग्दा पनि हुँदैनन् । उनले सम्भवतः ममाथि एउटा रुचीकर अध्याय फेला पारे । एउटा पठनीय र स्मृतीयोग्य दर्शन फेला पारे ।
शनिबारको ककनी भ्रमणले सम्बन्धमा केही रंगहरु थपिन्छन् । त्यो पुरानो धागो झनै मक्किन्छ । करिब करिब चुँडिने अवस्थामा पुग्छ । आत्मीयताको एउटा रेखा कोरिन्छ । सामीप्यको सीमाना फेरिन्छ ।
कमसेकम म यो ठान्छु ।
‘लौ कहाँ हो तिमी, तुरून्त आउनुप¥यो ।’ एकाबिहानै फोनमा उनको बोली सुनिसकेपछि म नुहाइधुवाइ पनि नगरी हस्याङफस्याङ गर्दै उनकहाँ गएँ । केही अनिष्ट र भवितव्यको दु:खद परिकल्पनाले आफलिँदै । तर उनको घर पुगिसकेपछि उनले भने, ‘आज तिमी र म जग्गा हेर्न जाने ।’
उनको आग्रहलाई टाल्ने कुरो थिएन । गएँ । करिब पैँतालीस मिनेट मोटरसाइकलयात्रा गरिसकेपश्चात् पुगिएको ठाउँमा उनले जग्गा देखाए । जग्गा राम्रो भएतापनि त्यसलाई पर्ने मूल्यका लागि म तयार थिइँन । तर यो कुरा स्पष्ट पनि भन्न सकिनँ । भनौँ, थिचिनु के हो भन्ने कुराले गर्ने अफ्ट्यारा यी र यस्तै परिस्थितिहरूमा स्पष्ट हुन्थ्यो ।
उनले मेरो दोधारे र अष्पष्ट कुराहरूको अनुमान सम्भवत गर्न सके होलान्, किनकि लगत्तै उनले यो पनि भने की बैना दिएर केही महिनाका लागि कागच गर्न सकिन्छ । नपुगेका खण्डमा आफैँले हाल्दिनेसम्मका कुरा पनि गरे । मलाई मान्न कर लाग्यो ।
‘कोही प्रेमिका छ ?’ अर्कोपटकको भेटमा उनले सोधेका थिए । मैले भएर पनि ‘छैन, भने । एक दुई चरण आँखा जुधेपछि मेरो सपनामा आफ्नो पनि सपना मिसाउन कोही भरखर आएकी थिइ । अरूलाई बताइहाल्ने स्थितिमा सम्बन्ध पुगेको थिएन । त्यसमाथि उनको प्रश्न ‘कोही प्रेमिका छ ?’ को महत्त्व कुन हदसम्म थियो बुझ्न सक्ने सामर्थ्य मेरो थिएन ।
‘लौ ठीकछ उसोभा,’ उनले भने, ‘मेरी साली छ । जोडा मिल्छ । कुरा चलाउँ ?’
यो अर्थमा रहेछ । यस अर्थमा हुँदो हो त नभए पनि छ भन्दो हुँ । तर सकिनँ ।
जवाफमा भनेँ, ‘कुनै दिन ।’
उनी मेरो जवाफको ‘कुनै दिन’ लाई पटक पटक हेर्न, खोज्न चाहिरहेँ । लामो समयसम्म कुरे । तर म उनीसितको भेटदेखि तर्किरहेँ ।
फोन आइरहन्थ्यो । कहिले भन्थेँ, ‘आज म सहरभन्दा पर छु ।’
कहिले भन्थेँ, ‘आज अलिक सञ्च छैन ।’
‘एक दुई दिनमा भेट्छु ।’
‘आज गाउँबाट पाहुना आएका छन् ।’
कहिले फाने नै उठाउन्न थिएँ । हुँदाहुँदा अन्तिममा मोबाइलको सिम कार्ड नै फालिदिएँ । जग्गाको बैनाका लागि दिएको रू दश हजार पनि माया मारिदिएँ । र डेरा सरेँ ।
०
गाउँबाट एक थान सपना बसको बुइ चढेर फेरि सहर ओर्लिन्छ र पाइताला कतै, कुनै आफन्तकातिर सोझिन्छ । र योपटक त्यो आफन्त म हुन पुग्छु ।
यो पनि प्रगतीकै संकेत हुँदो हो । कसैले सहयोग माग्ने कोटीको हुनु सानो कुरा हो र ? सुविन भट्टराई सुविन भट्टराई सुविन भट्टराई
ढकढकिएको ढोका उघार्न जाँदा म मेरो पुरानो साथी (उमेरले चाहिँ भाई) फेला पार्छु । उसको उपस्थितिसितै उपस्थित हुन आइपुग्छन्, ऊसित बितेका मेरा ग्राम साहचर्य र सामीप्यका आभासहरु । फाउन्टेन पेन झट्कार्दा एक धर्सो मसी पोखिएजस्तै पोखिन्छन् मस्तिष्तकमा बाल स्मृतीका केही रहलपहल अवशेषहरु ।
एउटा नीरिह मुस्कानका साथ ऊ भित्र पस्छ । ऊ पनि उही गाउँको रफ्तारसित आफ्नो रफ्तार मिलाउन नसकेको आरोप गाउँलाई लगाएर आएको छ । केही आश्रय, केही बाटो, केही दिग्दर्शनको अपेक्षासहित ।
ऊ किञ्चित आश्वासित हुन्छ । कमसेकम म यो महसुस गर्छु । झोला बिसाए पनि आँखाबाट संकोच बिसाउन सकेको छैन । उकाल्न सकेको छैन हृदयमा निर्धक्क हुनुको भाव । आश गरेपनि थोरै ढुक्कले फेर्न सकेको छैन सास । यद्यपि मबाट अतिथि परायण भाव स्वतः स्फूर्त रूपमा अविच्छिन्न निःसृत भइरहेको छ ।
मलाई ऐना हेरेजस्तै अनुभूति भइरहेछ । ऊ आयो, तर आफैँलाई भन्दापनि मलाई बढी लिएर आयो । म, जो आउँदा आउँदै कतै छुटेको थिएँ । म, जो आउँदा आउँदै, थोरै आइपुगेको थिएँ ।
मैलो कमीज, जिङ्रिङ्ग कपाल, क्रिजको मुखै नदेखेको पाइन्ट । अनि ऊ आफ्नो गन्धमा सिंगो गाउँ बोकेर आएको छ । बडो अफ्टेरोसित बस्छ मानौ ऊ ठान्छ बस्दा कुर्सीलाई पनि दुख्छ । बडो जतन गरेर हिँड्छ, मानौँ ऊ हिँड्दा भुइँको छाती छियाछिया हुन्छ । बडो सुस्तरी बोल्छ, मानौँ ऊ बोल्दा हावालाई धक्का पुग्छ ।
‘एकदुईदिन पर्ख है,’ उसको व्यक्तित्वमा लागेको संकोचको कुहिरो फाटोस् भन्ने अभिप्रायले म झलमल्ल उज्यालिँदै बोल्छु, ‘म केही उपाय गर्छु ।’
कुहिरो फाट्दैन ।
उपायहरूको खोजी म गर्छु । फेला पर्छ कुनै कुनोबाट उपायको एकधर्को प्रकाश चिहाइरहेको । म पछ्याउँछु त्यसलाई । त्यो सजिलै वशीभूत हुन्छ । सहर बसेर यति शक्ति मैले पनि संचय गर्न सकेको रैछु । ऊ आएदेखि मैले छर्न खोजेको उज्यालो बल्ल उसको मुहारमा टल्कियो ।
मैले भनेँ, ‘मसँगै बस्दा हुन्छ ।’
उसले भन्यो, ‘होइन, कति दुःख दिऊँ ।’ सुविन भट्टराई सुविन भट्टराई सुविन भट्टराई सुविन भट्टराई
काम पाइसकेपछि ऊ गयो । दोस्रोपटक भनिनँ । ऊ जाँदै गर्दा मैले देखेँ, ऊसँगसँगै मसित साक्षात्कार भइरहेको, उठबस गरिरहने, झस्काइ रहने, केही सम्झाइ रहने मेरै केही अंश पनि लिएर गयो । ऊ गएदेखि मैले मेरो आफ्नो त्यो अनुहारलाई खोज्न छाडिदिएँ । उसको नयाँ डेरालाई तुरून्त चाहिने आवश्यक चीजहरू मैले उपलब्ध गराएँ । ऊ ‘भइगो, पर्दैन, के को दुःख’ जस्ता औपचारिकता निभाइरहेको थियो । मैले ‘यसमा के को दुःख र ?’ भन्दै व्यवहारिकताको दियो बालिरहेको थिएँ ।
भेटहरू भइरहन्छन् । ऊ आउँछ भेट्न कहिलेकाँही । म पनि जान्छु, उसले बसाएको ठाउँ हेर्न । उसको सत्कार, आदर, आतिथ्य अनि धन्य हुनुको भावले ऊ मसित प्रस्तुत भइरहन्छ । लाग्छ यो सहरमा ऊसका लागि मभन्दा महत्वपूर्ण अर्थोक केही छैन, कोही छैन ।
कोठामा दूध सकिएको छ भने हस्याङफस्याङ गर्दै दौडिन्छ । यो किसिमको आदरले मलाई पनि उसले गलाएको छ । ‘कहाँ छौ, आज आऊ न यहाँ ।’ कहिलेकाँही फोन गरेर कोठामै बोलाउँछु उसलाई । ऊ एक घण्टामै आइपुग्छ । अनि म बोतल उघार्छु । तर ऊ उघ्रिन सकेको छैन ।
मैले भनेँ भने, रातै मकहाँ बिताउँछ ।
एकदिन उसले पनि मलाई बोलायो । पिउने उद्देश्यले । पच्चीस थोक सितनका साथ । उसको आतिथ्य देखेर म त्रसित भएको थिएँ । मलाई रक्सी चढ्थ्यो । ऊ मलाई चढाउँथ्यो । म कति महान छु ! उसको मुखबाट सुनिसकेपछि गद्गद हुन्छु । आफ्नो महानता मातेको शरीरसँगै घरमा ल्याउँछु र झन् पुल्पुल्याउँछु ।
मलाई ऊसित भेटिरहन मन पर्छ । नभए यहाँ, यो स्वार्थी सहरमा मलाई महान कसले भन्छ ? आफ्नो महानताको गुणगान सुन्न पाउँदा निद्रा मिठो लाग्छ । आफ्नो औचित्यको अन्तदर्शन हुन्छ । एक दिनको प्रशंशाले दश दिन दौडाउँछ । अनि फेरि रित्तिन्छु ।
एकपटक दसैँमा गाउँ जाँदा सँगसँगै गयौँ । ऊ मेरो गाउँको घरमा पनि आइरहन्थ्यो । ऊ गाउँमा समेत मसित गाउँकै पुरानो रूपमा फर्केर भेट्न सकेन । बरू हाम्रा साझा मित्रहरू भेट हुँदा अरूहरूबीच पुरानैजस्तो सम्बन्ध ब्यूँझियो । तर ऊसितको पुरानो सम्बन्ध मरिसकेको थियो । उसले ती पुराना साथीहरूमाझ मेरो महानताको गुणगान गाइरह्यो ।
हाम्रो सम्बन्ध पनि सहरजस्तै भएको देखेर पुराना साथीहरू जिल्लिए ।
एकपटक नमज्जाले बिरामी परेँ । ज्वरो घट्नै मानेन । एन्टीबायोटिक्सको डोजले पनि छोएन । डाक्टरलेअस्पताल भर्ना भएर सलाइनबाट एन्टिबायोटिक्स चढाउने बताए । मैले बिरामी कुरूवाको रूपमा उसैलाई रोजेँ । ऊ मैले इच्छाए बमोजिम अस्पतालमा अफिस बिदा लिएरै मलाई रूंगेर बस्यो ।
‘मैले दुःख दिए है ?’ योपटक मैले औपचारिकता निभाएँ ।
‘के को दुःख र, यति जाबोलाई,’ ऊसले व्यवहारिकताको दियो बाल्यो । अनि एकपटक फेरि मेरो महानताको गुणगान गायो । मैले ऊसलाई गरेको सहयोग उल्लेख गर्न बिर्सेन । म अस्पतालको शैयामा समेत उल्लेख भइरहेँ ।
बाटोमा हिँड्दा हिँड्दै ऊसित जम्काभेट हुन्छ । ऊ एउटी केटीसित हुन्छ । छिनमै उसको अनुहारको रोगनले कोल्टे फेर्छ । उन्मुक्त हाँसो, किञ्चित लाज र निर्धक्कसित हिँडिरहेको ऊ मलाई दख्नसाथ सतर्क हुँदै बडो आदर राख्दै सम्हालिन्छ र ती युवतीलाई मेरो परिचय गराइदिन्छ ‘म कुरा गरिराख्थेँ नी, वहाँ नै हो………..।’
युवतीले नमस्ते गरिन् । नजीकै कुनै क्याफेमा तीनैजना गयौँ । मेरै आग्रह थियो ।
यहाँ पनि ऊ शुरू भइहाल्यो । कोही अञ्जान र सुन्दर युवतीका अगाडि समेत यसरी प्रशंसित हुन पाउँदा मलाई कफीभन्दा पनि प्रशंसा रूचिकर लागिरह्यो । सधैँ दुईजनामा मात्र सीमित प्रशंशाले योपटक अलिक फैलिन पाएको थियो । युवतीले हतार देखाएर मात्रै, नभए अर्को चरणको कफी मगाउन खोज्दै थिएँ म ।
भेटहरू भइरहे । ऊसितको सँगतमा म बोल्नमा पारंगत भएको छु । हरेक सानासाना समस्या, प्रगती, उपलब्धी, हैरानी सब ऊ बडो रोचक मानेर सुनिदिन्छ । त्यसैले मलाई उत्प्रेरणा दिन्छ, सुनाइरहने ।
सहरमा अनेकथरीका सम्बन्धहरु हुन्छन् । कहिल्यै नजोडिने । चाँडै जोडिने । जोडिँदै, तोडिँदै गर्ने । एकचोटी तोडिएपछि कहिल्यै नजोडिने । एकदिन राम्रैसित जोडिएको भन्ठानेको सम्बन्ध नमज्जाले तोडियो । सम्बन्ध प्रेमिकासितको । जो चौथो कोटीको सम्बन्ध थियो ।
त्यस दिन रक्सीमात्रको साथ पर्याप्त हुँदैन भन्नेमा म ढुक्क थिएँ । ऊसलाई घरमै बोलाउने योजना बनाएँ । रक्सीको रमरम, ऊसका अघिल्तिर प्रेमिकाको धोकेबाज चरित्रको बयान, अनि ऊबाट सधैँ खाइपाइ आएको प्रशंसा र महानताका वाणीहरु । यो हालतमा सबैथोक मिसिएमा पक्कै मल्हमको काम गर्नेछ । यत्तिले रात घटिया नबित्ला । औसतभन्दा अलिकति कम बितेपनि चल्नेवाला थियो ।
ऊ आफू उपलब्ध हुन नसक्ने बताएर फोन राख्यो । प्रेमिकाले मुटुमा बनाइदिएको सुरुङ्ग ऊसको इन्कारले अझै गहिरियो । कतै टाल्न चाहन्थेँ यो ।
एक्लै पिएर सुतेँ ।
भेलिपल्ट उसलाई फोन गरेँ । किनकि पीडा भोलिपल्ट के महिनौलाई दिएर गएकी थिइ । मेरो पौरुष अहम्लाई क्षतविक्षत तुल्याएर गएकी थिइ ।
भोलिपल्ट पनि ऊ उपलब्ध हुन सकेन । बिकल्पहरु नभएका होइनन् । अफिसका साथीहरू थिए । तर अफिसकै सहकर्मीसित परेको गुपचुप प्रेम उनीहरूका सामु ओकल्ने कुरा थिएन । यता केही दिनदेखि उसको फोन अफ थियो ।
एकदिन उसकै डेरामा गएँ । ऊ डेरा सरिसकेको रहेछ । फोन गरेँ, अफ नै थियो । यताउता सम्पर्क सूत्र फेला पारेर खोजेँ पनि । अफिसै फेरिसकेको थियो । अब ऊसलाई खोज्नुको कुनै तूक थिएन । किनकि ऊ हराएको थिएन, भागेको थियो ।
स्मृतीको यानमा चढेर आफ्नो बिगतमा गएँ । घटनाहरुको तादात्म्यता मिलाउन खोज्दा, मेरो चेतनाको पातलो पर्दा हलुकोसित फरफरायो । एउटा सम्बन्ध जसको बोझ थाम्न नसकेर मैले जे गरेको थिएँ, ऊसले पनि ऐजन गरेको देखियो । नदेखेपनि, देखासिकी झैँ देखिनेगरी ।
महान हुनुको सुन्दरता पनि एउटा उचाइसम्म मात्र सुहाउँदोरैछ । त्यो धेरै उच्च भयो भने, लत्रिन्छ, भाँचिन्छ । चाहिनेभन्दा बढी भयो भने खुकुलो र असुहाउँदिलो लुगा लगाएजस्तो अस्वभाविक देखिन्छ । अत्याधिक आभूषणले असहुउँदिलो र भद्दा देखिएझैँ देखिने रैछ ।
कसैको पनि धेरै गूनले पोल्छ । विवश तुल्याउँछ । पिँजडाको सुगा बनाउँछ । यो निरंकुश शासकझैँ हुन्छ, जसका अगाडि पर्दा मात्र पनि हामी फत्रक्क हुन्छौँ । म उनको गुनको भार थेग्नै नसकेर, त्यसको रिन तिर्नै नसकेरउनीबाट उम्केको थिएँ । आज ऊ मेरो गुनको भार थेग्न नसकेर, तिर्न नसकेर (नचाहेर हो कि !) मबाट भागेको थियो ।
थाहा छ दुःखी हुनुको कुनै अर्थ छैन, तर जीवन यस्तै अर्थहीन कुराहरूको उल्झनमै बढी अल्झिन्छ ।
लेखक परिचय
सुविन भट्टराई एक नेपाली उपन्यासकार तथा आख्यानकार हुन्। कथाकी पात्र कथा सङ्ग्रह लेखेर लेखन क्षेत्रमा उदाएका सुविन भट्टराई युवापुस्तामा निकै चर्चित बनिसकेका छन्। उनले हालसम्म समर लभ, साया र मनसुन लगायतका उपन्यासहरू लेखिसकेका छन्। उनको चर्चित उपन्यास समर लभ उनले लेखेका दोस्रो कृति हो भने पहिलो उपन्यास हो। उनको प्रथम कृति कथाकी पात्र एक लघु कथाको सङ्गालो हो।