किराती लोककथा/ दन्त्यकथा
प्राचीनकालमा लिम्बू किरातीहरू जङ्गलमा फलफूल तथा कन्दमूल खोजेर पशुपन्छीको सिकार गरेर आफ्नो जीविका चलाउने गर्दथे । खेतीपाती गर्न नजानेको हुनाले उनीहरूलाई अन्नका बारेमा केही पनि थाहा थिएन । सधैँ जङ्गलमा फलफूल तथा कन्दमूल खोज्न जानुपर्ने र सिकार गरेर आफ्नो जीविका गर्नुपर्ने भएकोले उनीहरूलाई ठुलो दु:ख थियो । उनीहरूको यो दुःख देखेर एक दिन ‘फेल्लेरे फेम्पुना’ चराले उनीहरूलाई भन्यो- “तिमीहरूमा अखण्ड साहस, बल, बुद्धि र काम गर्ने क्षमता छ । म तिमीहरूलाई खेतीपाती गर्ने उपाय सिकाइदिन्छु । त्यसैले खेतीपाती गर र अन्न जम्मा गरेर आफ्नो जीवनलाई सुखी बनाऊ । म तिमीहरूलाई यारिम्बा (बीउ) ल्याइदिन्छु । त्यसलाई तिमीहरूले छर्नू, उमार्नू, हुर्काउनू, खानू ।”
लिम्बू किरातीहरूले फेल्लेरे फेम्पुना चराको कुरालाई मञ्जुर गरे । तर त्यस चराले एउटा सर्त राख्दै फेरि भन्यो- “म तिमीहरूलाई अन्नको बीउ त ल्याइदिन्छु तर तिमीहरूले मेरो एउटा सर्त मान्नुपर्छ र त्यसका लागि तिमीहरूले ‘ईङदुङ ईहुप’ (सत्य वाचा) गर्नुपर्छ । त्यो सर्त के हो भने, पछि धानको बालीनाली पाकेपछि म र मेरा साथी चराहरूले सो बालीनाली खान आउँदा तिमीहरूले हामीलाई हिर्काउन, खेद्न र मार्न पाउँदैनौ ।”
लिम्बू किरातीहरूले चराको उक्त सर्तलाई मञ्जुर गर्दै सर्तलाई पालन गर्ने छौँ भनी सत्य वाचा पनि गरे ।
त्यसपछि फेल्लेरे फेम्पुना चरो उडेर गयो र केही समयपछि घैया धान र ताकमारे धानका बीउहरू लिएर आयो । त्यस चराले लिम्बू किरातीहरूलाई ती बीउहरू जिम्मा दिएपछि खेतीपाती गर्ने तरिका पनि सिकाइदियो । धा ननाचको उत्पत्ति-किराती लोककथा/ किराती दन्त्यकथा
किराती लिम्बूहरूले आफ्नो जग्गामा ती बीउहरू छरेर उमारे । जब धान पाक्यो तब फेल्लेरे फेम्पुना चरो आफ्नो हुल लिएर आयो र पूर्वसर्त अनुसार सबै धान खाइदियो । यसरी केही समय बितेपछि ती लिम्बू किरातीहरूले एउटा उपाय निकाले । धान पाकेपछि उनीहरूले धानको बालासहित धानका बोटहरू काटेर एक ठाउँमा थुपारे । त्यस बेला फेल्लेरे फेम्पुना चरो आग्नो हुन लिएर आयो र खमारमा थुपारेको सबै धान खाइदियो ।
लिम्बू किरातीहरूले फेरि अर्को उपाय निकाले । जब धान पाक्यो बालासहित धानका सबै बोटहरू एक ठाउँमा जम्मा गरेर गाउँका सबै साथीहरूलाई त्यहाँ भेला गराए । त्यसपछि उनीहरू धानको थुप्रोमाथि चढेर उफ्रन थाले र एकअर्काको हात समातेर नाच्न थाले । यसो गर्नाले ती चराहरूले धान खान पाएनन् र धान खान आउँदा ती चराहरूलाई नहिर्काउने, नखेद्ने र नमार्ने भनी लिम्बू किरातीहरूले जुन सत्य वाचा गरेका थिर त्यसलाई पनि उनीहरूले पूरा पालन गरे । त्यसपछि मात्र लिम्बू किरातीहरूले आफ्नो बाली घरमा भित्र्याउन पाए र आफ्नो जीवन सुखसँग बिताउन थाले । यसरी धान पाकेपछि लिम्बू किराती खमारमा भेला हुने र धानको थुप्रोमाथि उफ्रँदै “छुई: या हा हा” भन्दै गीत गाउँदै नाच्ने चलन बस्यो । यसरी यालाक्मा (धाननाच) को उत्पत्ति भयो ।
हिजोआज भने धाननाचमा लहरै एक जना केटा र एक जना केटी भएर एकअर्काको हात समातेर कहिले खुट्टा अघि बढाउँदै कहिले पछि वा वरिपरि घुम्दै नाच्ने गर्दछन् । बिहा र उत्सव, हाट-बाजार र चाडपर्वहरूमा लिम्बू तन्नेरी- तरूनीहरू दुई-तीन रातसम्म यो नाच नाच्छन् । धाननाच नाच्दा एकले अर्काको खुट्टाका औलाहरू छुनु हुँदैन । यदि त्यसरी छोइहाले भने दुवै जना घेराबाट बाहिर आउँछन् । एकले अर्काको घुँडासम्म दाहिने हात लगी फेरि हात उठाएर नमस्कार गरी एकअर्कासँग माफी माग्दछन् ।त्यसपछि उनीहरू फेरी नाच्न थाल्दछन् । नाचका साथसाथै गाइने गीतहरू निकै आकर्षक हुन्छन् । धाननाच नाच्दानाच्दै गाइने गीतलाई पालम भनिन्छ । धाननाच नेपालका प्रसिद्ध नाचहरूमध्ये एउटा नाच मानिन्छ ।
किराती लोककथा/ दन्त्यकथा
सङ्कलक: शिवकुमार श्रेष्ठ
लेखक परिचय
इतिहासमा स्नातकोत्तर गरेका श्रेष्ठले धनकुटा बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका छन्। श्रेष्ठ किरात याक्थुङ्ग केन्द्रीय कार्यसमितिको मानार्थ सदस्यता समेत प्राप्त गरेका छन्।