मलिसा याक्थुङ्बा लिम्बु चनौटे गाउँका पुरेतले सधैँ पाती पढेर जहानलाई पालिरहेको पनि निक्कै बर्ख भयो । बिहान बेलुका भगवानको आराधना गर्ने कार्यले छिमेकीहरूलाई पनि कैलेकैले त वाक्कै बनाउँथे होला । र नयाँघरे काईँला गफ गर्न सधैँ आईपुग्छन्, टुप्लुक्क । पुरेत गर्न थालेसी पालेको टुप्पी निक्कै लामो छ, बेलामौका यसको वयान पनि हुन्छ ।
‘मङ्गलम् विष्णू । मङ्गलम् गरुडध्वज ।।
मङ्गलम् पुण्डरिकाक्ष । मङ्गलाय तनोहरी ।।’ . . .
‘काका नमस्कार ।’, नयाँघरे काइँलाको आवाजमा पुरेतबा अलिक गजप्पैले मन्त्रोच्चरण गर्छन् । ‘ए, नयाँघरे नानी पो, बसुम् पिराँ ।’, टुप्पी समात्दै बोल्छन् । यो क्रमसँगै गोडा दुई–चार बर्ख बिते । पुरेत जहिले खिन्न देखिन्छन् । नयाँघरे काईँलाले जब उनको छोरा प्रेम बारे सोध्ने र आफ्ना दाजु ध्रुबेको बारे कुरा गर्ने गर्छन् ।
हुनु पनि प्रेम एसएलसी पास गरेर नेपाल (काठमाडौँ) छिरेको अठार–बीस बर्ख बितिसक्यो । उतै जागिरे अनि बिहे पनि अजातको ल्याएर बच्चा छ भन्ने हल्लाले पुरेतको मन बेठिक छ ।
पुरेत एकदिन नयाँघरे काइँलाको घरमा पुगे । नयाँ घरका बा’ले राडिमा पुरेतलाई बसाए । ओलन चिया खाइसकेर गफ नारे, एक्कासी । ‘हाउ पुरेत, के कसो गाउँघरको हालखबर छ । सुन्दैछु, तिम्रा छोरो प्यार्मे त नेपालाँ जागिर खाँदै दुलै पनि उत्तैकी छिन् रे । तेसो त मेरो छोरो धुर्बे पनि त प्यार्मेकै साथी ह्वैनन् त पुरेत ?’, हाँस्छन् नयाँघरे बा । पुरेत वाक्क भएर बसे एकछिन अनि बोले । ‘बा, प्यार्मेको कुरै नगरुम् । तिम्रो छोरो धुर्बेजस्तो मेरा थिएनछन् ।’ निन्याउरो अनुहार लिएर उठ्दै बाटो लागे पुरेत । पुरेतको मनमा ओहोर–दोहोर कुराहरू खेले । वास्तवमा नयाँघरे बा’का छोरा ध्रुबेलाई यही पढाए । एसो बोर्डिङ्तिर जागिर गर्दै बच्चाहरू पढाउँदै छन् । आफ्ना त थुईक्क ।
एकसाँझ जुनेली आउनै लाग्दा काले कुकुर चनौटे गाउँ नै थर्किने गरी भुक्यो । अचेल बिजुलीले गर्दा खासै टर्च बाल्ने चलन छैन । जङ्गल बाटोको छेउ भएर मोटो–मोटो मान्छे लौरो टेक्दै, पछिल्तिर बोर्कि ओडेकी आईमाई र ठिटौलो केटो गरी तिनजना घरतिर आउँदै गरेको देखे । बटुवा होला भनेर पुरेत बा टुप्पी खेलाउँदै सिकुवा खाटमा बसी भगवानका नाम जप्न लागे ‘मङ्गलम् विष्णु, मङ्गलम् गरुडध्वज …..’ । एक्कासी मोटो–मोटो मान्छेले ‘बुवा नमस्कार, ढोग गरेँ’ भनेर खुट्टा तान्यो । पुरेत झसंग भएर फनक्क फर्के, आफ्नो छोरा प्यार्मे पो । अल्गि केटिले पनि एक बिटा पैसा राखेर ढोगिन् । ठिटौलो केटोले पनि ‘ग्रेण्डपा’ भन्दै ढोग्यो । पुरेत बा अक्क न बक्क भए, एकछिन । खुट्टामा पैसाको बिटा, नसमातुम् अनौठो हुने, समातुम् अलमल ।
याक्थुङ् (लिम्बू) जातिमा आफूभन्दा माथिकालाई पहिलो भेटको ढोगमा नगद राखेर ढोग्ने चलन छ, त्यस्तै लाग्यो पुरेतलाई । चुपचाप पैसाको बिटा उठाए, राखे जेपमा । पचास हजारको नयाँ बुङ । प्रेमले बुवाको नजिक बसेर गफ गर्यो । ‘बा, काठमाण्डु गएर यमए पास गरी हाकिम भएँ । यि केटि दुलै हुन् बा । उनी पनि म जत्तिकै पढेर हाकिम छिन् । यी बच्चा हाम्रा हुन् ।’ पुरेत बाले मुख खोले । ‘एत्रो पैसो कसरी कमाईस् प्यार्मे ? टेबलमाथि देखिन् त हाकिम नै भइस्, टेबलमुनी देखिन् पनि कमाइन्छ रे । दुलैले यत्रो पैसो राखेर मुलाई ढोगिन्, राम…….राम……राम ।’ यसो भन्दै गर्दा नाति आएर हजुरबाको टुप्पी देखे । हजुरबाको नजिक उभिएर टुप्पी देखाउँदै ….‘आँच ग्रेण्डपा, योच्चैँ के हो ? आमामामा ग्रेण्डपा, सिजरले क्याँच् पारुम्न ल । आँच निधारमा चैं के हो, ग्रेण्डपा ! आब्बुई, माटो धसेको ? आँच माउली घराँ सेत्तै कलरको माटो छन् त हाउ, ग्रेण्डपा । आँच, टाउकोको चैं सिजर क्याँच्च पारुम् न, ग्रेण्डपा । डल्लै ऊनी धागो जस्तो हो आब्बुई । आँच सिजरले क्याँच् पारुम्न ल ग्रेण्डपा । सिजर क्याँच् पारुम्न ल ग्रेण्डपा, सिजर क्याँच् ।’
पुरेत नातिको संवाद सिजर क्याँच् सुनेर ट्वाल्ल भई चुपचाप बसे । एकछिनपछि दरो खोके । खकारको थुप्रो तल्लो डिल नाघ्ने गरी फालेर विस्तारामा सुत्न लागे । पुरेतको मनमा ‘सिजर क्याँच’ सधैँभरि मनमा आइरह्यो, अहिलेसम्म ।
मलिसा याक्थुङ्बा लिम्बु
लेखक परिचय
समाजसेवा, निर्देशन, अभिनय, सम्पादन र सक्रिय लेखन् गरिरेहेका मलिसा याक्थुङ्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ्) बहुआयमिक व्यक्ति हुन् । उनले सुम्हालुङ् (२०५२ सह), पक्कन्दि (२०५४), युगान्तर सन्देश (२०५६-०५९) जस्ता पुस्तक सम्पादन गरेका छन् भने आनि साक्थिम (२०५४), मासेमी (२०५७), नुमाफुङ (२०५७), सपनाकी फूल (२०६०), माराम (२०६२), अरूणपूर्व लिम्बुवान (२०६४) जस्ता चलचित्रमा अभिनय पनि गरेका छन् । त्यसैगरि सपनाकी फूल (२०६०) र करिब डेढ दर्जन भन्दा बढि याक्थुङ नाटकहरूमा निर्देशन गरेका छन् ।
विद्वान श्री रनधोज नेम्बाङ्को जीवनी (२०५६), किरात धर्मको एकता (२०५७) पुस्तिका, खामाक् पाङ्भे लेन् तुङ्हा (याक्थुङ् नाटक संग्रह) (२०६८), याक्थुङ् पा: न्दाङ् नु साप्सक् (कक्षा ११ र १२का लागि (२०६९), लिम्बुवानमा पाँचथरको ईतिहास (२०७१), र केयुक्ना नु आयुक्ना (आधुनिक निवन्ध संग्रह) (२०७७) आदि याक्थुङ्बाका प्रकाशित कृतिहरू हुन् । याक्थुङ्बालाई myakthungba@gmail.com ठेगानामा पत्राचार गर्न सकिन्छ ।