कृति अधिकारी कृति अधिकारी कृति अधिकारी
मस्त निदाएको बेला कसैले उचालेरै पछारे पनि पत्तो नपाउने देवी त्यस दिन आफ्नो कोठामा कसैले ‘खासखुस’ गरेको आभासले ब्यूँझी । खुट्टापट्टिको सिरकमुनिबाट चिसो पस्नुको साथै अब मुटुको वेग पनि थामिनै नसकिने गरी ढुकढुक गरिरहेको थियो । जस्तै गर्मीमा पनि सिरकले जीउ र समर ब्लाङ्केटले टाउको छोपेर सुत्ने ऊ ब्यूँझेको सायदै कसैले थाहा पाउँथ्यो । उसले समर ब्लाङ्केट र सिरकबीचमा गुटमुटिएको अनुहार खुम्च्याउँदै बिस्तारै आफ्नो देब्रे आँखा खोली । त्यसपछि सास थामेर दाहिने आँखा खोली। मानौँ आँखा खोल्दा पनि आवाज निस्किन्छ ।
वरिपरि कागजले छोपेर मधुरो पारिएको बत्तिको उज्यालोमा उसले आफू ढल्किरहेकै स्थानबाट देख्ने भनेको खाटदेखि भित्तासम्मको भाग, हरियो भित्ता, हरियो पर्दा, र पर्दाको छेउ तिर त्यो पर्दा अड्याउने पाइपको छाँया मात्र थियो । ढोका र उसको कोठामा अहिले जे जे छन् वा हुनसक्छन् ती सबै उसको ढाँड पछाडि छन्, ऊ अहिले फर्किने त के त्यहाँ कहाँ के छ भनेर कल्पना पनि गर्न सक्दिन थिई । उसले लगामबिना दौडिरहेको घोडाजस्तो आफ्नो बढिरहेको सासमा काबु गर्न खोज्दै थिई । त्यत्तिकैमा केही स्वाट्ट कुदेजसरी खस्रायाक गर्यो । ऊ कहाल्लिएर फनक्क फर्किई । कृति अधिकारी कृति अधिकारी
ऊ फर्के पनि जीउ सिरकभित्रै थियो । बस् आँखा वरिपरिको भाग थियो नढाकिएको । माटो रङ्गको कार्पेट झन् अँध्यारो देखिरहेको थियो । टाउकोको सिधा रहेको टेबलमा किताबका थान र सेकेण्ड-ह्याण्डमा किनेको ल्यापटप उसले सुत्नुअघि जस्तरी छोडेकी थिई, त्यस्तै थियो । ल्यापटपको तार ढोकातिरसम्म तंग्रङ्गै थियो । कोही थाहा नभएको मान्छे त्यहाँबाट हिँड्यो भने अल्झेर लड्ने जसरी । खुट्टा मुन्तिरबाट ढोकासम्म पुग्ने चार फुटको चारकुने भुइँमा उसले जहाँसम्म देख्थी त्यहाँसम्म खाली थियो । थोरै सिरक तल सारेर वरिपरि हेरी कोठामा शंकास्पद केही थिएन । बरकरार डरमा थोरै सुरक्षित अनुभवको खुसी घोलिएको स्वाद आयो उसको थुकमा । घुटुक्क निली । अलिक धड्कनको गति ठीकठीकै हुन थालेपछि ऊ ढोकामा आँखा खुम्च्याएर हेर्न थाली । ढोका बन्द छ कि छैन् उसले ठम्याउन सकिरहेकी थिइन । ऊ खाटमै रहेर ढोका बन्द भएको तसल्ली दिन चाहन्थी आफूलाई । उसको दिमागले त्यो काम गरिरहँदा उसले ढोकाको तल्लो र छेउको कुनाबाट बत्ति बलेको देखी ।
देवीलाई त्यो बत्ति देख्नेबित्तिकै आफ्नो सास एकछिन चल्न छोडे जस्तै भयो । त्यो बत्ती अहिले बलिरहेको थिएन । उसले अहिले उठेर गर्न सक्ने पनि केही थिएन् यो कुरा उसलाई राम्ररी थाहा थियो । एकछिन् ध्यान दिएर आवाज नै सुन्न खोजी उसले । एकछिन केही नसुनेपछि विस्तारै, सकेसम्म सास फेरेको आवाजसम्म ननिकाली सिरानीमुनिको स्याम्सुङ एटु फोन निकाली । बुवाको नम्बर डायल गरी तर कल बटन् थिच्न सकीन । सोची – “फोनको आवाज सुनेर बाहिर भएको मान्छे वा जे हो, त्यो बुवाआमाको कोठामा गयो भने !” उसलाई यति डर सायदै कहिल्यै महसुस भएको थियो । एकाएक अघिको डर अहिले आँशु बनेर बग्यो । नाक बन्द भयो । उसको फेरेको सासको आवाज झन् ठूलो हुँदै गयो । मुखले सास फेर्न थाली । सिरक खोलले आँसु पुछी । नाक पुछ्दा हातमा लागेको पातलो पानी खाटको बगलमा रहेको कुर्सीमाथिको तन्नामा दलि । यो रातभरमा आफ्नो शरीरको कुनै अङ्ग यति पर लागेको उसले यही बेला थियो । कृति अधिकारी
उसको कोठा सामुन्ने भान्छा कोठा थियो । भान्छासँगै टाँसिएको अर्को कोठा बुवाआमाको सुत्ने कोठा थियो । त्यहाँ ऊभन्दा ८ वर्ष कान्छो उसको ७ वर्षको भाइ पनि घुस्रेर सुत्न जान्थ्यो । घरबेटीले घर यति तीन कोठाकै बनाए तर धन्न परिवार पनि ठिक्क मिलेको थियो । बुवाको चिया र रोटी तरकारी बेच्ने ठेला लकडाउन कडा भएपछि बन्द भयो । बुवा अचेल त्यही दुई कोठा र मूलढोकाको बीचमा खुला बनेर बसेको भान्छा प्लस बैठक कोठामा बिहानको खाना पकाउनुहुन्थ्यो । बिहान ७ बजेदेखि ११ बजेसम्म छिमेकको दुई वटा घरमा लुगा धुनेदेखि बारीमा सघाउने जिम्मा आमाको थियो । केही चिसो खाने बितिक्कै चिसो लागिहाल्ने उहाँलाई यो साल चाहिँ एकदुई दिनअघि छिमेकीको घरमा फ्रिजको पानी खाएको रातदेखि खोकी सुरू भएको थियो । खोकेको सुनेर हिजो दुवै घरकाले “भोलिदेखि नआउनु” भनेछन्, पछिल्लो महिनाको पैसा नै नदिइकन ! आमा घर फर्केपछि टाउको दुख्यो भनेर सुत्नुभयो । आज बेलुकाको खाना पनि बुवाले नै बनाउनु भयो ।
देवीलाई अहिले आएर त्यो खानाको खुब याद आइरहेको थियो। झ्याउँकिरीको दिक्क पार्ने आवाज र उसको रुञ्चे सासको तालमा खाली पेटको गर्जन लयमा लय मिलाउन थाल्यो अब त । “पनिर बनाउछु भन्नुभाको होइन आज ! यो न्युटेला स्युटेलाको झोल खान्न म” भन्दै झगडा गरेर खाना नखाकोमा पछुतो मान्न थाली, तर अब के त ? हुन त उसलाई न्युटेला मनै नपर्ने त हैन, तर “वचन भन्ने पनि एउटा कुरो हुन्छ नि” भन्छे ऊ । बुवाले त भन्नुभो पछि “पनिर किन्न जान पाइनँ, पसल बन्द हुने टाइम भइसकेको थियो” भनेर, तर के बुझोस् उसले ! अहिले खुब सम्झँदै थिई भान्छाको स्टोभ छेउ राखेको एक ठूलो बटुको भात, न्युटेलाको झोल तरकारी र बुवाले हाल्नु भएको बट्टाको खल्पी अचार । उसलाई बुवाको पनि खुब माया लागेर आयो । उसले नखाएको भएर बुवाले पनि खानु भएको थिएन । उसलाई डर, पछुतो र भोक तीन कुराले एकसाथ च्याप्न थाल्यो अब । कतिञ्जेल सहोस् ! फोन गरी बुवाको नम्बरमा । बज्यो ! ठूल्ठूलो स्वरमा “आफैँ मुस्काउ मुसुक्क जुनतारा टिपी कोही दिदैँन, थोपा थोपा भई बग्छ खोला सागरको कुनै मुहान हुँदैन…” पर भान्छामा ! उसले आफूलाई रोक्नै सकिन । प्रश्न र बोलाएको ढङ्गमा छोटो बनाएर मुखबाट आवाज निकाली “बुवा ?”
बाहिरबाट ठिक्क एकजना मान्छे अट्नेगरी ढोका खोलेर बुवाकै आवाजमा एउटा कालो आकृतिले ‘हजुर’ भन्यो। देवीको सुरूको डर नै हराइसकेको थिएन । ढाँड पछाडिबाट टाउकोसम्म करेन्ट लागेजस्तो गरी उसको आङ सिरिङ्ग भयो । कोठाको मधुरो प्रकाशले एकछिन छोएपछि बल्ल बुवा नै हो भनेर ठम्याउन सकी । “बुवा ठूलो बत्ति बाल्नु न !” काम्दै निम्सरो स्वरमा भनी । बुवाले स्विच थिच्नुभयो । कोठा झलमल्ल भयो । हातमा निभेको टर्चलाइट बोकेर बाहुला भएको गञ्जी र कालो सेतो बक्स प्रिन्ट भएको घुँडासम्म आउने गोपाल कट्टुमा ठिङ्ग्रिङ्ग उभिरहेको बुवालाई देख्नुले नै उसलाई “म अब सुरक्षित छु” भन्ने लागिसकेको थियो । बल्ल सास सामान्य गतिमा झरेको अनुभूति भयो । सिरकबाट निस्केर ऊ ढोकातिर गई । ऊ आफूतिर आएपछि ढोकाबाट पछाडि हट्नुभयो बुवा । मन्द मुस्कान दिनुभयो । तर यस्तो मुस्कान देवीले कहिल्यै देखेकी थिइन । अँध्यारो भान्छा र आफ्नो कोठाको उज्यालो प्रकाश बिचमा आफ्नो बुवाको मुस्कान उसलाई परिचित लागेको थिएन । अलिक नजीक गएपछि उसले आँशु टल्केको देखी बुवाको आँखामा । उसको अनुहार आफैँ खुम्चियो । खुम्चेका आँखीभौँमा बुवाले “के भयो” भन्ने प्रश्न देख्नुभयो क्यार देवीले एक शब्द नबोल्दै बुवाले भन्नुभयो – “ए! मलाई कि भोक लागेर आयो अनि उठेर भान्छा आएको, तँ किन उठेकी ? के भयो ?” ।
बुवाको प्रश्न उसको कानमै नछिरे जसरी देवीले उल्टै सोधी – “भान्छाको बत्ति नबालेर आफ्नै घरमा के चोर जसरी टर्चलाइट बोकेर हिड्नुभा’को नि बुवा !” बुवाको जवाफ फ्याट्ट आएन, एकैछिनमा भन्नुभयो – “अँ । हैन बाल्नै लागेको थिएँ ।” भान्छाको बत्ति बाल्दै देवीले पनि भनी “मलाई पनि भोक लागिरहेको छ ।” “देखिस् खानेबेलामा झगडा गर्यो भने मध्यरातमा भूतले खान उठाउँछ !” भनेर बुवा बेस्कन हाँस्नु भो । उसलाई बुवाको चुटकिला जस्तोसुकै भए पनि हाँस उठ्थ्यो । ऊ छ वर्षको हुँदा कसैले पनि फुकाल्न नसकेको उसको हल्लेको कोदाले दाँत ऊ बुवाको चुटकिला सुनेर हाँस्दा हाँस्दै खाटबाट लडेर फुस्किएको हो रे ! अहिले भने देवीले टाउको झुकाएर हाँसे जस्तो गरी, अघिको डर सम्झिँदै । उसको मुख मात्र तन्केको थियो, आँखा खुम्चिएको थिएन । आफ्नो जबर्जस्तिको हाँसो रोक्दै उसले “म खाना तताउँछु” भनेर कराई निकाली । “भात र सब्जी एकैचोटी तता न” भन्दै बुवा थाल निकाल्न थाल्नु भयो ।
थालमा लगभग बराबर भात लिएर बाउछोरी पिरा तानेर भात खान बसे । ‘बुवा किन थोरै खानुभ’को ?’
‘मलाई पुगिहाल्छ नि’ भन्दै एक मुठी निकालेर देवीले बुवाको थालमा हाल्न खोजी । बुवाले लिन मान्नुभएन, बरु ‘खल्पी पनि राखेर खा न !’ अनि ‘घ्यू अलिकति बाँकी छ, सक्काइदे छोरी !’ भन्नुभयो । सँधै झगडा गर्नुपर्ने घ्यू आज सबै खान पाउने हुँदा खुसी भई देवी । बुवालाई पनि खल्पी र घ्यू राखिदिएर आफ्नो थालमा सबै घ्यू कोट्याइ कोट्याइ निकालेर हाली । खान तयार भएर पिरामा बसेपछि थाल हेर्दै कानसम्म छुने मुस्कान दिँदै कम्मरमाथिको भाग मच्चाएर दुई सेकेण्ड नाचेजस्तो गरी । यो खुसी देखेर बुवा पनि मुस्कुराउनु भयो । बेस्कन भोक लागेर होला देवीलाई खानामा भएको हल्का तितो स्वादले खासै फरक परेन । बुवाले फेरि केही नसोधी भन्नुभयो – “यो खल्पी थोरै तितो भएछ कि क्या हो, तँलाई नमीठो त भएन नि ?”
“छैन छैन” । देवी खानमै तल्लिन थिई । रहलपहल सबै खाएपछि “बिहान माझ्छु ल भाँडा” भनी देवीले । बुवाले सादा तरिकामा ‘तँ सुत्न जा, म हेर्छु ।’ भन्नुभयो । देवी सुत्न गई ।
बन्द आँखामा बिस्तारै उज्यालो बढ्दै गएपछि देवीको आँखा खुल्यो । आँखा खुल्दा उसको देब्रेपट्टिको हरियो भित्ता र पर्दा थिएन, हरियो कुर्तामाथि सेतो एप्रोन लगाएकी नर्स थिइन् । दाहिनेपट्टी टेबल थिएन, अर्को खाट थियो । त्यहाँ उसको बुवा आँखा खोलेरै मुडा जसरी लडिरहेका थिए । नर्सले “डाक्टर, छोरीलाई पनि होश आयो !” भन्नेबित्तिकै बुवाको आँखाबाट स्वाट्ट एक धारो आँशु कानसम्म झर्यो । बुवा देवीतिर फर्किए । देवीले आफू र बुवाको खाटबीचमा राखिएको खिया लाग्न थालेको फलामको टेबलमा एउटा पत्रिका देखी । यसो तन्केर पढ्न खोजी । सकीन । बेडको खुट्टातिरबाट डाक्टर र पुलिसहरू आए । के के सोध्दै थिए । उसको आँखा पत्रिकातिरै थियो। बल्लतल्ल घिस्रेर पत्रिका तानी त्यो पत्रिकामा उसले बुवासँग आधारातमा भात खाएकोभन्दा दुई दिनपछिको थियो । मुख्य समाचारको बगलमा अलि सानो बोल्ड लेटरको शिर्षकले उनको ध्यान आकर्षण गर्यो- “आत्महत्याको प्रयासका साथ आफ्नै परिवारलाई मार्न खानामा विष; आमा र छोराको मृत्यु, बाबुछोरी अस्पतालको शय्यामा ” ।
लेखक परिचय
वर्ड वारियर्स नामक स्पोकन वर्ड कविता समूहको सदस्यको रूपमा आफूलाई चिनाउने कृतिलाई कविता लेख्न र प्रस्तुत गर्न मनपर्छ । कृति कवितामा मात्र नभएर आख्यानमा पनि उत्तिकै दखल राख्छिन् ।