तायुछाङ लामा ‘किरण’ तायुछाङ लामा ‘किरण’ ।
हिउँदको समय वारिपारि गाउँमा पत्कर बोकेर खोल्मा (मतान /गोठ) भर्नु सबैलाई चटारो थियो । गाउँमा माओवादी नाम गरेका नौला नौला मान्छेहरूको आउजाउ बाक्लिएको निक्कै भएको थियो । डाँडाघरे सान्दाइको विदेशमा हत्या भएको करिब एक साल भइसकेको थियो । त्यै पीडामा पुरै गाउँलेहरू रानीबिनाको मौरीजस्तै बिरक्तिएका थिए । पुरै गाउँका भोटेहरू सबैको नाममा धेरथोर घरजग्गा थियो तर स्याङ्ग्किको आप्पा भूमिहीन थिए । नेपाल बाहुनहरूको गोठबारी कमाएर बसेका स्याङ्ग्किले कहिले वारि गाउँ त कहिले पारि गाउँका साहुको डकाइ हुने बित्तिकै आफ्नू सबै काम छोडेर काम गर्न जानु पर्थ्यो । तायुछाङ लामा ‘किरण’
गाउँमा माओवादी छापामारहरू आएर डाँडाघरमै बस्थे, ठुलो घर र पालि थियो वारिपारिका मूलबाटोमा मानिसहरू आए गएको देखिन्थ्यो । स्याङ्ग्कि तीते फापरको पिठोमा खुदो हालेर रोटी बनाउन हतार हतार घोल बनाउँदै थिई । ‘बुवाममी ! घरमा को हुनुहुन्छ ?’ भन्ने आवाज सुनेर पिठो लागेको हातसँगै बाहिर हेर्दा आँगनमा केही थान बन्दुक बोकेका माओवादीहरू थिए । अनपढ स्याङ्ग्किले बन्दुक यत्ति नजिकबाट पहिले कहिल्यै देखेकी थिइन । मनभरि डर र त्रासले गर्दा बोल्न नसकेकी स्याङ्ग्किले, पल्लो गाउँको माओवादी नरेले ‘के गर्दैछौ भान्जी ?’ भन्दा पो झसङ्ग हुँदै हतारहतार ‘बस्नुस् न !’ भन्दै सुकुलतिर इशारा गरी ।
नरेले स्याङ्ग्कितिर हेरेर भन्यो, “भिनाजु खै त ? माहुरीको घार त धेरै रहेछ, मह निकाल त खाऊँ ।” यतिन्जेलसम्म सबै माओवादीहरू घरभित्र पसिसकेका थिए । एक जना कपाल घाँटीसम्म हुने गरी काटेकी बहिनीले घोलेको पिठोको रोटी पकाउन थालिसकेकी थिइन् । तायुछाङ लामा ‘किरण’
नरेले फेरी सोध्यो, “भान्जी ! खै त भिनाजु ?”
“आप्पा गोठालो जानुभएको छ । भाइ पारि महाजनको दाउरा काट्नु गएको छ ।” स्याङ्ग्किले सानो स्वरमा भनी ।
स्याङ्ग्किले चुलोमा अगुल्टो ठोस्दै गर्दा माओवादीहरू रोटी खाँदै थिए । नरेले खोपीबाट हर्पे (काठको भाँडो) निकाल्यो र ‘कमरेडहरू महसँग रोटी खाऊँ है’ भन्दै पकापक खान थाल्यो । भोलि साहुलाई ब्याज तिर्न ठिक पारेको मह माओवादीले खाइदियो । स्याङ्ग्किलाई पिर पर्यो तर केही बोल्ने आँट गरिन । तायुछाङ लामा ‘किरण’ तायुछाङ लामा ‘किरण’
मह र रोटी खाएर माओवादीहरू बाहिर निस्किँदै भने, “साथीहरू सेल्टर पुगिसके होलान् हामी पनि जाऔँ ।”
‘कमरेडहरू जाँदै गर्नुस् म एकछिनमा गाउँलेहरू सबैलाई बेलुका सेल्टरमा भेला हुन भनेर आउँछु’ भन्दै नरे त्यहीँ बस्यो । तायुछाङ लामा ‘किरण’ तायुछाङ लामा ‘किरण’
बाहिर निस्केका माओवादीहरू डाँडाघरतिर जाँदै गरेको झ्यालबाट देखिन्थ्यो । तायुछाङ लामा ‘किरण’
अगेना छेउमा बसेकी स्याङ्ग्किलाई नरेले च्याप्प समात्यो, स्याङ्ग्कि केही बोल्न सकिन । आँसुका थोपाहरू झर्दै थिए, नरेको हातबाट उम्कने अनेक कोसिस गर्दा पनि नसकेपछि स्याङ्ग्कि निरीह बनी । नरेले भान्जी भन्दै स्याङ्ग्किलाई बलात्कार गर्यो र यो कुरा गोप्य नराखे मारिदिने धम्की दियो । “भिनाजुलाई साँझ डाँडाघर जानु भन्नू । माओवादी आएका थिए भन्नू ।”, यति भनिसकेर नरे बाहिर निस्कियो ।
लुङ्गी मिलाउँदै बाहिर निस्केकी स्याङ्ग्किले मूलबाटोनजिकै अरू माओवादीहरू पनि जाँदै गरेको देखी । मनमनै सोची लोग्ने माओवादीहरू सबै नरेजस्तै बलात्कारी हुन्छन् होला ! हैन फेरि ती आइमाई माओवादीहरू सँगै बस्दा कसरी सुरक्षित होलान् ? के आइमाई माओवादीहरू यी लोग्ने माओवादीहरूको बलात्कार सहेर बसेका हुन्छन् त ?
साँझसम्म स्याङ्ग्किको होस् ठेगानमा थिएन । माओवादीहरू बलात्कारी हुन् भन्ने मनभरि कुरा खेलिरह्यो । साँझ परेको थियो । “आप्पा तिम्रो खाजा र खोपा को मह माओवादीले खाइदियो। अहिले साँझ डाँडाघरमा जानु रे !”, स्याङ्ग्किले मलिन स्वरमा भनी र गाग्रो टिपेर कुवातिर निस्किई ।
रिमरिम साँझमा च्याँख्ला र गुन्द्रुकको झोल खाएर आप्पाले ‘तँ बस्दै गर्, म डाँडाघरे कान्छाकोमा पुगेर आउँछु’ भन्दा “आप्पा म पनि जान्छु । घरमा एक्लै बस्नु डर लाग्छ, राति तर्साउँछ ।”, नरेले एक्लै हुँदा गरेको व्यवहारले तर्सिएकी स्याङ्ग्किले मलिन स्वरमा बोली र आप्पाको पछिपछि लागी । डाँडाघरमाथिको मानेडाँडादेखि नै बन्दुक बोकेका माओवादीहरू ठाउँठाउँमा १-२ जनाको टोली बसेका रहेछन् । स्याङ्ग्कि र आप्पालाई पनि माओवादीहरूले परैबाट ‘को हो बाटोमा ?’ भनेर सोधे । आप्पाले “हामी बाउछोरी हौँ । तपाईँहरूले बोलाउनु भएको रहेछ र आएको ।” भने । उताबाट आइमाई माओवादीले जवाफ फर्काई “हुन्छ बुवा, जानुहोस् ।”
स्याङ्ग्किले हरेक आइमाई माओवादीहरूलाई पनि लोग्ने माओवादीहरूले बलात्कार गर्दा होलान् भन्ने मनमनै सोच्दै आप्पाको पछिपछि लागी ।
डाँडाघरको आँगनमा ठूलो ठूलो भाँडामा भतेर (भोज ) पाक्दै थियो । सान्दाइको बिहेमा यहीँ आँगनमा यस्तै भतेर (भोज ) पाकेको थियो । घर, पालि सबैतिर माओवादीहरू बसेका थिए । आँगनको कुनातिर गाउँका अरू सबै आएर बसेका थिए ।
एकछिनपछि माओवादीहरू सबैले धानको भात पालैपालो खाए । मकैको च्याख्ला, सिस्नु र गुन्द्रुकले नछोड्ने गाउँमा आप्पा र अरू गाउँलेहरूले पनि धेरै समय पछि धानको भात खाए । स्याङ्ग्किले डाँडाघरकी कान्छी माइजूसँगै बसेर धानको भात र गोरूको मासु खाई । तल्लो गाउँको महाजनको तारे गोरूको मासु र काभ्रे खेतको चामल बडो मिठो थियो ।
सबैले मासु भात खाएपछि गाउँबाट पनि माओवादीमा २ जना जाने भए । महाजनले जहिले पनि ऋणको ब्याजबापत काम गराउने , बलेख्रा, लैनो भैँसी लाने गरेर पुरै गाउँ पीडित थियो ।
राजेश भन्ने एउटा माओवादीलाई सबैले कमान्डर भन्दै थिए । एकछिनपछि सबै माओवादीहरू आँगनमा बसे र कमान्डरको कुरा सुन्न थाले । स्याङ्ग्कि र गाउँलेहरू सबैले पनि उसको कुरा सुने । नरे पनि माओवादी कमान्डरको छेउमा बसेर घरीघरी स्याङ्ग्किलाई हेर्दै थियो । स्याङ्ग्कि भुइँ हेर्दै उनीहरूको भाषण सुनिरही । तायुछाङ लामा ‘किरण’
कमान्डरले आमूल परिवर्तन, वर्गीय विभेद , धनी र गरिबको अन्त्य, साहु महाजनको जग्गा सुकुम्वासी भूमिहीनलाई दिने लगायत जनताको सत्ता स्थापना गर्ने कुराहरू गरे । स्याङ्ग्किलाई त्यो कमान्डर पनि नरेजस्तै बलात्कारी लाग्न थालेको थियो । नरेको हर्कतले सबै लोग्ने माओवादीहरूलाई स्याङ्ग्किले बलात्कारी देख्न थाली । सबैले ताली बजाउँदा स्याङ्ग्कि झस्किई र आफू पनि ताली बजाउन थाली । स्याङ्ग्किलाई पनि माओवादी जनसेनामा समावेश हुनुपर्छ भनेर बिहानी भन्ने आइमाई माओवादीले ‘महिला पनि पुरुष समान युद्ध गर्न सक्छ। हामी बच्चा पाउने मेसिन मात्र हैन हामीले राज्यसत्ता र देश हाँक्नु पर्छ’ भन्दै गर्दा स्याङ्ग्कि भने नरेजस्ता अरू लोग्ने माओवादीहरूको बलात्कार सहन माओवादीमा के जानु भनेर सोच्दै थिई ।
रात अबेर सम्म धेरै माओवादी लोग्ने र आइमाईहरूले सबै गाउँलेलाई ‘माओवादी तपाईँ हरूको छोराछोरी हुन्’ भनेर विश्वास दिलाउन कोसिस गरे । झन् नरेले त स्याङ्ग्कितिर हेर्दै भन्यो, “महाजन बलात्कारी र सामन्ती शासक हो । यो गाउँका चेलीबेटी सामन्ती महाजनदेखि चोखा छैनन् ।” नरेले भोटेगाउँका आइमाईहरूमाथि प्रश्न चिन्न खडा गरिदियो । आफ्नै छोरीबुहारी, श्रीमतीको इज्जतमाथि धावा बोल्दा पनि सोझा भोटेहरूले हो मा हो मिलाए । सायद बन्दुक बोकेका माओवादीहरूको डर थियो या गोरुको मासु र धान को भात खाएर नुनको सोझो गरिएको थियो । स्याङ्ग्किले नरेलाई हेर्ने आट गरिन ।
सबै जना गाउँलेहरू मध्य रातमा आ-आफ्नो घर फर्किए । झुल्के घामले बिहान पख टेम्के पहाड जिस्काउँदै गाउँ झर्यो । डाँडाघरमा बसेका माओवादीहरूको अत्तोपत्तो थिएन । पारि मूलबाटोमा शाही सेनाको एउटा टोली आउँदै गरेको देखिन्थ्यो ।
सेनाले केही छिनमा पुरै भोटेगाउँभरिका मान्छेलाई भेला गरेर डाँडाघरमा घुँडा टेकायो । स्याङ्ग्कि कुवाबाट घर फर्किँदा आप्पालाई सेनाले लगिसकेको थियो । स्याङ्ग्कि र पल्लो घरको साङ्गडोल्मा पनि डाँडाघरतिर दौडिए तर उनीहरूलाई दोबाटोमा सेनाले पक्रियो । ५-६ जना सेनाले दुवैजनालाई खस्रुको बोटमुनि बलात्कार गरेर छोडिदिए ।
उता डाँडाघरमा रुवाबासी चलिसकेको थियो । गाउँभरिका भोटेहरूले माओवादी पालेको र महाजनको गोरु र धान लुटेको आरोपमा डाँडाघरे कान्छालाई आँगनमा किला ठोकेर बाँधिएको थियो । सेनाले अरूलाई घुँडा टेकाएर माओवादी कहाँ छ देखा भन्दै मालिङ्गो को लौरी ले कुट्दै थिए । सबै गाउँका लोग्नेहरूलाई हात बाँधेर राखेपछि गाउँमा भएको खसिबाख्रा केही बाँंकी छोडेन, सबै लुटेर फेरि डाँडाघरको आँगनमा भतेर चल्यो । साँझ महाजन आयो र भोटेहरूले सबक सिके अब छोडिदिनु भनेर सेनालाई भन्यो र गाउँमा बस्न सक्दिन बनेर सदरमुकाम सर्यो ।
स्याङ्ग्कि र साङ्गडोल्मा पीडाले खस्रु बोटमुनि नै बेहोस परे । लुङ्गी रगतले लतपतिएको थियो चोली फाटेको थियो । शरीर र अनुहारभरि निलडाम थियो । साँझ गाउँलेहरूले स्याङ्ग्कि र साङ्गडोल्मालाई बोकेर घर लगे । पुरै भोटेगाउँ गनायो, वारिपारिकाले भोटे गाउँका आइमाईहरूलाई हेर्ने नजर फरक भयो । गाउँमा यत्रो तमासा हुँदा पनि बन्दुक बोकेर ‘हामी तपाईँहरूका छोराछोरी हौँ’ भन्ने माओवादीहरूको अत्तोपत्तो थिएन ।
बिस्तारै समय टर्दै गयो । वारिपारि दशैँको चहलपहल हुँदा भोटे गाउँ सुनसान थियो । ऋण माग्न जाऊँ महाजन र ठूलाघरे वारिपारिकाले माओवादी भन्थ्यो ऋण पाउने कुरा थिएन । पुरै गाउँ कुपोषण र भोकमरीले बेहाल थियो । यही बेला साङ्गडोल्माको भुँडी उठेपछि वारिपारि मुख देखाउन नहुने भयो । ज्योज्यो, आलेले घरबाट पालिमा सारेपछि साङ्गडोल्माले “स्याङ्ग्कि नाना ! तिम्रो त भुँडी उठेन, म त बरबाद भए ! भन्थी । साङ्गडोल्माले गुनासो गरेको भोलिपल्ट चिहानडाँडामा झुन्डिएर आत्महत्या गरिछ ।
साङ्गडोल्माले चिहानडाँडा रोजेपछि स्याङ्ग्कि एकोहोरो टोलाउने गर्न थालेकी थिई । वारिपारि दशैँको चटारो आयो, यो सालको दशैँ भोटेगाउँमा आएन । बच्चाहरूले नयाँ लुगा लाउन पाएनन् , न मासु र धानको भात खान पाए । दसैँ सकिएपछि फेरि गाउँमा माओवादीहरू आउन थालेका थिए । अग्नि नामको माओवादीले पल्लो गाउँको ठूलाघरेको चामल लुटेर गाउँभरि सबै लाई २-२ डालो बाँडिदिए । महिनादेखि ननुहाएकी स्याङ्ग्किले आज पर सरेको दिन नुहाई, आँगनको मेन्दोक चुल्ठोमा सिउरिएर डोको बोकेर दाउरा लिन जङ्गलतिर गएको पल्लो गाउँको बाहुनको छोरो रामजीले लुकेर हेरिहेको थियो । स्याङ्ग्किको पिछा गरेर जङ्गलसम्म पुगेको रामजीले स्याङ्ग्किलाई जङ्गलमा बलात्कार गर्यो । स्याङ्ग्कि भाग्न खोज्दा रामजीले उसको केसमा समायो । स्याङ्ग्कि जतिजति गुहारगुहार भन्थी उतिउति रामजीले खुकुरीले मुखमा हान्यो, स्याङ्ग्किको पुरै टाउको नचिनिने भयो र आवाज सधैँको लागि रोकियो । स्याङ्ग्कि ढलेको वरिपरि रगतको भेल बगेको थियो । स्याङ्ग्किको चुल्ठोको मेन्दोक रगतले भिज्यो । फेरि भोटेगाउँका आइमाईहरूले अनुहार छोप्नुपर्ने भयो ।
देशमा माओवादी जनयुद्धले उग्र रूप लिएकोले जिल्लाबाट प्रहरी आएर घटनाको अनुसन्धान गर्ने कुरो थिएन । गाउँमा आउने तिनै माओवादी थिए उनैको जनअदालतमा गाउँलेहरूले बिन्ती बिसाए । त्यही नरे बलात्कारीले न्याय दिने घोषणा गरेसँगै भोटेगाउँका अनपढ भोटेहरूले स्याङ्ग्किको पनि चिहानडाँडा मा बसाइँ सारे । तर जनयुद्ध सकिएको यत्रो समय बित्यो, अहिलेसम्म स्याङ्ग्किको हत्यारा पत्ता लागेन । अन्ततः अहिलेबाट भोटेगाउँका लोग्ने र आइमाईहरूले आफ्नू अनुहार सधैँको लागि नदेखाउने बाचा गरेका छन् ।
लेखक परिचय
भोजपुरका तायुछाङ लामा 'किरण' साहित्यका विभिन्न विधामा कलम चलाउछन् ।
प्रतिक्रियाहरु 1