श्वास फेर्ने र सुँघ्ने काम गर्ने दुईवटा प्वाल भएको ओँठमाथिको अवयवलाई नाक भनिन्छ । सृष्टिकर्ताले नाकलाई जुन ठाउँ वा स्थानमा राखेका छन् सो गहन अध्ययन, मनन अनि चिन्तन गरेरै राखेका छन् । अहिले नाक जुन ठाउँमा गजधम्म छ त्यसको साटो तपाईँको नाक निधारको माझमा वा छातीको माझमा वा दुइवटा गलामध्ये कुनै पनि एउटा गालामा तुर्लुङ्गै झुण्डिएको भए तपाईँलाई कस्तो देखिने थियो सो तपाईँ आफै विचार गर्नोस् । कस्तो देखिनेथ्यो र…कार्टुनभन्दा पनि महाकार्टुन देखिने थिएन होला र ? त्यति मात्र कहाँ र संसारको सप्तम आश्चर्यमध्ये तपाईँको ठेगान नभएको नाक कुन आश्चर्यको सूचीमा पर्नेथ्यो त्यो पनि तपाईँ आफै नै विचार गर्नोस् । यसकारण तपाईँ-हाम्रो नाकले जुन स्थान पाएको छ त्यो ठीक र रुपियाँमा सोह्रै आना उचित र सर्वमान्य छ ।
कानलाई हेर्नोस् न अब । दुई-दुईवटा भ्यागुते गालाका दुवैतिर झुण्डिरहेको जस्तो देखिँदैन ? त्यो हेरि ता यो यो नाक कता हो कता सुन्दर स्थानमा गजघम्म भएर ठाँटले सुहाउँदिलो पाराले बसेको छैन र ? कसैले भनेका छन्, “क्लियोपेट्राको नाक अरु छ इञ्ची ठूलो भएको भए इतिहास अर्कै हुनेथ्यो ।”
बङ्ला भाषामा नाकको अर्थ स्वर्ग हो भन्ने कुरा युक्तिसङ्गत देखिन्छ । स्वर्गलाई आँखाले देखिँदैन । आँखाको निकट भएर पनि नाकलाई हरदम देख्न सकिँदैन । अङ्ग्रेजीमा एउटा भनाइ नै छ, “As plain as the nose on one’s face.”
लामा नाक र थेप्चो नाक – दुवै समान हाँस्यकर हुन्छन् । सर्कसका जोकरहरूको ढाँट नाक उनीहरूका निमित्त गतिलो सम्पत्ति हो । प्राचीन रोमवासीहरूका नाक सोलोडोलो हुन्थ्यो । ‘रामन नोज’ यसैले इतीतहासमा विख्यात छ । विश्व साहित्यमा पनि नाकको स्थान तीन नम्बरमा देखिन्छ । अर्डर अफ मेरिटमा चौथो कि पाँचौं स्थानमा छ ।
विश्वका केही कविहरूले नाकलाई निकै मर्यादा दिएको देखिन्छ । किट्सले ता भनेकै छन्, “emblamed darkless ।” प्रख्यात् फ्रान्सेली लेखक पियेर कोतीले पनि आफ्ना एकाध रचनामा नाकको प्रसङ्ग उठाएको पाइऩ्छ ।
फ्रान्सेलीहरू जिब्राले होइन नाकैले बात मार्छन् । हाम्रा युवतीहरू नाक तानेर झगड़ा साङ्गे गर्न चाहन्छन् । बू़ढ़ा-पाकाहरू आफूलाई चित्तनपरेका कुरोमा कान खुम्च्याएर विद्रोह बोल्छन् । यसैले ता भनिन्छ – “बूढृा-पाकाले नाक खुम्च्याए बिल्लीबाठ ; तरुणीले आँखा खुम्च्याए साँठगाँठ ।”
नेपाली भाषामा नाकको अर्थ इज्जत , प्रतिष्ठा वा मान्-मर्यादा हुन्छ । यसैकारण. नेपाली जातिमा नाकले महत्त्वपूर्ण स्थान पाएको देखिन्छ । अनि प्रत्येक नेपालीहरू नाकसित थुरथुर हुने गर्दछन् । आफ्ना लाला-बालाले नाक नफ्याँकुन् भन्ने कुरामा घरका ठूला-बड़ा त्राही-त्राही भइरहेका हुन्छन् । सबै नाकै जोगाउने जल्पना-कल्पनामा अहर्नि मग्न छन् । सबैको मनमा एउटै कुराको वास बसेको देखिँदोछ – येन-केन-प्रकारेण यहाँ नाक राख्नैपर्छ । नाक फ्याँकियो कि सर्वनाश…वंश कलङ्कित हुन्छ ।
यहाँ कोही नाक घोक्र्याउनमा व्यस्त छन् भने कोही नाकमा झिँङा ढिम्कनै नदिनेहरू पनि छन् । नाकमा झिँङा बस्यो कि सर्वनाश ! हिटलरले आफ्नो नाकमा भिँङा बस्नै दिँदैन थिए । हिटलर जति ढीट थिए त्यसको दोबर-तेबर ढीट थियो तिनका जबरस्वाँठ नाक । अलेकजाण्डर ता आफ्नो नाक राख्न अनि घोक्र्याउनलाई संसार नै विजय गर्ने ताकमा थिए । भारतभूमिको नाक राख्नलाई नै गान्धीजी अहिंसा आन्दोलनमा ओर्लेका थिए । गान्धीजीको नाक अत्यन्तै शिष्ट अनि बुझकी थियो । उनका नाकमा झिँङा बस्ने ठाउँ थियो वा थिएऩ सो थाहा भएऩ तर उनका नाक उनीभन्दा सोझो थियो । उनका नाकले विद्रोहको धाक कहिल्यै देखाएन ।
इतिहास पल्टाएर हेऱ्यौं भने, हाम्रो भारतभूमिको नाक राख्न, नाक ठाड़ो पार्न अतीतमा हाम्रो नेताहरूले जतदि बलिदान, त्याग गरेका छन् ती सबै स्मरणीय र बिर्सिनसक्नुका छन् । तर अचेलका हाम्रा तथाकथित नेताहरूको चर्तीकलाले गर्दा यो भारतभूमिको ठाड़ो नाक क्रमशः थेप्चिँदै गइरहेको कुरा यहाँ भनिरहन परोइन । खुलस्तै भन्नु हो भने, विशाल यो भरतभूमिमा भूइँफुट्टे यो नेताहरूलेआफ्नो देशको नाक ता फ्याँके-फ्याँके आफ्नै नाक पनि भ्रष्टाचारको दौड़मा फ्याँकिसकेका छन् । यसकारण न यिनीहरूलाई आफ्नो नाकको माया छ न ता अर्काकै नाकको । आफ्नो दुनो सोझ्याउन पाए कसैको नाकको के सरोकार ? यिनीहरूलाई नाक जाने डर छैन तर निजी कुर्सी, पावर खोसिन्छ कि भन्ने डर र शङ्काको हाउगुजीले अहर्निश गिज्याइरहेका हुन्छ ।
अन्य जातीको नाकको कुरा यहाँ थाँतीमा राखी गोर्खे नाकको मात्रै सामान्य चर्चा गरौं क्यारे ! हाम्रो गोर्खे नाक साह्रै अभागी छ । गोर्खे नाक थामिदिने अझसम्म कुनै नेता गोर्खे नाकले देख्न पाएको छैन । गोर्खे नाक राख्न भनेर जे-जति नेता आए सबै कानै चिरेका जोगीजस्तै भएर आए । गोर्खे नाक जोगाउनु होइन यी हाम्रा नेताहरूले गोर्खे नाक झण्डै-झण्डै बेचे पनि । यी भालेमुङ्ग्रे नेताहरूले गर्दा नै गोर्खे नाक सप्रिन नसकेको हो । भारतभूमिको चारै दिशामा गोर्खे नाक बिल्लीबाठ भएको कारण पनि एकताको कमीले हामी ता अर्काकै नाक मुसार्नमै व्यस्त र मस्त छौं ।
हाम्रो निधारमा अहिल्यैसम्मै नाक घोक्र्याउऩ भाग्य नै कहा ? हामी ता कति अभागी ! अचेल हाम्रो नाक ता गैँड़ाको खागजस्तै मात्रै भएको छ । बाँदरको पुच्छर लौरो न हतियारजस्तो मात्र भएको छ ।
दुःख लाग्छ, हाम्रो अस्तित्वको नाक बिलाइसक्यो, अस्मिताको नाक थेप्चिसक्यो । अधिकारको नाक चेप्टिसक्यो । हाम्रो प्रतिष्ठा, इज्जत, मान, मर्यादाको नाक खिइसक्यो । कुनै पनि जातीको नाक नहुनु भनेको त्यस जातिको अस्तित्व र इतिहास नै विलीन हुनु हो । प्रत्येक जातीको नाक हुनैपर्छ । नाक बिना कुनै पनि जाती बाँच्न सक्दैन । यसकारण, यो बिलाउन लागेको, हराउन लागेको, खिइन लागेको, दिनदिनै नेप्टिन-चेप्टिन लागेको गोर्खे नाक ठाड़ो हुनैपर्छ । उचित स्थान र ठाउँमा यो गोर्खे नाक घोक्रिनै पर्छ । अब पनि गोर्खे नाक जुर्मुराएर उठेन भने गोर्खे नाकले आफ्नो हृक, अधिकार, पाउनुपर्ने सहुलियतहरूबारे ठिक ठाउँमा झक्-झकाएन भने गोर्खे नाक बोक्ने तपाईँ-हामी सबै भ्याकुरा खेदाइमा पर्नेछौँ । यसर्थ, पुरुषार्थ जीवन बाँच्नु हो भने आफूभित्रको विद्वेष, मनोमालिन्य सब त्यागेर सम्पूर्ण गोर्खे नाकको अखिल भारतीय अधिवेशन हुनु अत्यन्त आवश्यक छ ।
तमाम् गोर्खे नाक एउटै मञ्चमा आएर एकता चिच्यायौँ भने अन्य आह्रिसे नाकहरू आफै भाँचिएर उछिट्टिनेछन् । त्यसभन्दा पनि धेर चासोपर्दो कुरा ता के छ भने, यसरी तमाम् गोर्खे नाकहरू एकताबद्ध भएर जुर्मुराइदिनुको अर्थ नै हाम्रो ‘आइडेण्टी’ हो । किनभने यै गोर्खे नाकले संसार थर्काएको होइन ? यही गोर्खे नाकले फकल्याण्ड फाँड़ेको होइन ? गोर्खे नाकले संसारैमा हुल्दङ्गा मच्चाएको इतिहास साक्षी छ ।
छाती बजारेरै भन्नु हो भने, यो गोर्खे नाकले के गर्न सक्दैन ? सबै सक्छ । तर बिरालाको घ्रिच्रामा घण्टी बाँध्ने कसले ? गोर्खे नाकले कि राजनैतिक नाकले ? यसै प्रश्नको कोपऱ्याइँलेम अहर्निश छटपटिने गर्दछु…अविराम….निरन्तर । फेरि बिरालाको घिच्रामा घण्टी बाँध्ने प्रतिद्वन्द्विता वा होड़मा यो गोर्खे नाक र राजनैतिक नाकमाझ आफ्नो दुनो सोझ्याउन हनाथाप, लुछाचुँड़ी, उछिनपाछिन् नहोस् भनेर साँझ-बिहान तेत्तिसकोटी देवी-देवतालाई पुकारिरहेको छु ।
अचेल अर्थात् यो कोरोनाको ढलीमली भएदेखि यता संसारभरि नै नाक थै-थै छ । मुखको मास्तिर दुई आँखाका मुन्तिर अनि दुवै गालामाझ ट्याप्पै टाँसिएको छ नाक । कोराना ऩआइञ्जेल यो नाकको काम सुँघ्नु, चश्मालाई डाँड़ीले अड़ेसाउनु अनि सिँगान थुपारिदिनु बाहेक अरू केही थिएऩ । तपाईँ-हामीले पहिले नाकलाई कहाँ याद गऱ्यौ र ? आफ्नो अनुहारलाई स्याहार्यौँ बेस्सरी । हामी पुरुषहरूको कुरा छोड़िदिउँ तर आइमाई मानिसहरूले समेत नाकलाई स्याहारेको वा ब्यूटी पार्लर गई अनुहारको फ्लेसियल सितै आफ्नो नाकको नाकेसियल गरेको आजसम्म देखेको छैन । आइमाई मानिसहरू अनुहारमा किसित पोतेकी, ओँठमा रङ्-विरङ्गी लिप्स्टिक, आँखामा काजल । तर कुनै आइमाई मानिसले पनि आफ्नो नाक स्याहारेकी वा त्यसलाई पोतेर सुन्दर र बान्किलो पार्ने खोजेकी लु मैले पटक्कै देखेको छैन । आफ्नो मुखमण्डलमा गजधम्म भएर बसेको नाकको वास्ता कसैले गरेनन् । न ता मैले गरेँ न तपाईँले नै । सर्दी लागेर कुलो फुटेको आलीबाट पानी सललल बगेजस्तो नाकबाट पानी चुँहुँदा मात्र नाकलाई निमोठेर सिङान फ्याँकेर नाकलाई रातै पार्नु बाहेक अरु केही जानेनौं हामीले । कतिले ता नाकको सिँगान मिल्काउँदा हुँदा आफ्नो नाक निमोठ्दै गनगन गरेको पनि सनिएको हो, “एस्किमा….के साह्रो पनि चुहेको ? चुँड़ाउनु हुने भा पनि यस (नाक)-लाई चुँड़ेर डाँड़ा कट्टाइदिन्थेँ ।” भन्नु उसो होइन युगौंदेखि प्रत्येकको घरमा नाक बदनाम हुँदै आइरहेको छ । किनभने संसारभरिकै श्रीमतीहरू राति उखरमाउलो गरी घुर्दा भाते निद्रामा मस्त सुतिरहेका पति महोदय तस्रेर उठी श्रीमतीको नाक चिमोट्दै, ‘”औ…तिम्रो यो बज्ने नाक उता लैजाऊ । के साह्रो घुरेकी आमामामा….”
मस्त सुतिरहेकी श्रीमती आँखा पर्लक्क पल्टाउँदै रिसाउँदै जवाब “के गर्नु ता ? नाक चुँड़ेर फ्याक्नु भएन । तिमी चैँ घुर्दैनौ होला । ओसिएको बम पड़्केजस्तो घुर्छौं । खै मैले ता कहिल्यै कम्पलेन गरेकी छैन ता ।” कठै ! कत्ति हेपिनु परेको यो नाक । यसकारण नाक दुःख मनाउ गर्दै भन्दो हो , ”मेरी बास्सै ! यो शरीरमा मलाई किन टाँसिदिएको ? रिस उठ्यो कि सबैले मलाई नि चिमोट्छन् । परै ओँठ, गाला, आँखा, कानलाई कसैले केही भन्दैनन् ता ! ओठ कति भाग्यमानी परै भन्दा, ओंठ चुमेको हेर्छु…गाला चुमेको हेर्छु । तर नाक चुम्ने प्रेमि-प्रेमिका कहिल्यै देखिनँ । किन? मलाई चैं नचुमेका ? कि म (नाक)-लाई चुम्दा मेरा दुईवटै दुलाबाट सिङान स्वात्तै मुखभित्र पस्छ भनेर ? एउटै शरीरभित्र बसेका अङ्गलाई पनि किन यति ठूलो पक्षपाती ? राजनीतिमा मात्र होइन यो शरीरमा पनि शरीरका मालिकहरूले कसैलाई काखा कसैलाई पाखा गर्दारहेछन् । हुन्छ…सही दिन्छु । कुनै दिन मेरो पनि समय आउँला । छेउको सियो एक न एक दिन माझमा ता पुग्छ होला नि ! कहाँ जान्छस् मछड़िया मेरै ढढ़िया ।” नाकलाई रिस पोखाउने जति देखिए नाकलाई वास्तै नगर्नेहरूको सङ्ख्या दोबर तेबर धेर नै देखिए ।
हो अहिले नाकको समय आएको छ । नाकको जीवनमा यो कोरोना भन्ने अद्श्य किटाणु छद्म भेषमा ईश्वरीय वरदान भएको छ । शरीरका कुनै दुला छ्याङ्छ्याङ्ती वा हाकाहाकी सोझै नदेखिने भएकोले कोरोना सोझै आएर नाक वा मुखका दुलाबाट पस्छ भनेको सुनिन्छ । शरीरका अऩ्य अङ्गहरूभन्दा नाकको स्ट्याण्ड बेग्लै ठाउँमा छ । ठिक ट्राफिक सिग्नलजस्तो । कोरोनाको डरले नै नाकलाई सबैले सुमर्न थालेका छन् संसारभरिकै मान्छेहरूले । हिजोआज मास्कल नाक छोपिन्छ । त्यति मात्र होइन नाकका दुलाभित्र कतै कोरोनाको शाखा-सन्तान लुकेर बसेका छन् कि भनेर सबैले एकाबिहानै मुख धुँदाको समयमा नाक पखाल्ने गर्छन् । कतिले ता छिप्पेको आँली जबरजस्ती घुसारेर नाकको चेपचापतिर औंली बि़ड़ोलेर नाक सफा गर्न थालेका छन् । यतिबेला यो नाक ट्याप्पै नटाँसिकएको भएर फोल्डिङ नाक हुनुपर्नेथ्यो जस्तो लाग्छ । फोल्डिङ दाँत हुनेहरू दाँत फुकालेर रातभरि पानीमा ढढ़्याइ राख्छन् र बिहान उठ्ने बित्तिकै क्वाप्पै लाउँछन् । त्यस्तै यो कोरोनाकालमा पनि नाक फोल़्डिङ भएको भए ता राति ओछ्यान पर्ने बेलामा प्वाक्कै निकालेर तातो पानीमा भिजाएर राखी भोलिपल्ट मुख धुँदा पुरानो टुथ ब्रसले दली-दली माझ्दा नाकमा टाँसिएको कोरोना धूलोपिठो हुनेथ्यो । तर फोल्डिङ नाकलाई फ्रिजमा भुलेर पनि राख्नु हुँदैन । कारण चिसोमा छिटो कोरोना टाँसिन्छ भन्छ । लु एकक्षणलाई कोरोना नटाँसिएला हो । तर रातभरि फ्रिजमा फोल्डिङ नाक राख्दा त्यो फोल्डिङ नाक आइस भएर भोलिपल्ट टाँस्ने बेलामा कि मार्तोल कि चाहिँ हम्मरले फुटाउनु पर्ने हुन्छ । मार्तोल र हम्मर ठिकसित चलाउन नसके नाक उछिट्टिएर कुन दुलामा पस्नेथ्यो….खोज्दा…खोज्दा हत्तु हैरान ।
नाकको दुलामै कोरोनाको दाउ हुन्छ भन्छ । तर नाक ठिक ओँठको माथि, दुइ गाला माझ वा आँखा मन्तिर कतै भएको भए कोरोना नराम्रो घतले झुक्किनेथ्यो । हाम्रा नेताहरू जस्तो कोरोना लुकी लुकी चोरबाटो आउँदैन । सोझै आएर सोझै नाकको दुलोमा । तर यो नाक पछिल्तिर पिठ्यूँमा टाँसिएको भए ? नाकको ठाउँमा गाला सोलोडोलो हुन्थ्यो । कोरोना आएर गालामै ठोक्किएर भूईँतर पछाडिन्थ्यो होला । कोरोनाले पिठ्यूँमा नाक नदेखे पनि मास्क ता लाउऩे पर्नेथ्यो । पिठ्यूँमा टाँसिएको नाकको निम्ति कत्रो मास्कको आवश्यकता पर्नेथ्यो होला । पिठ्यूँमा कथङ्कल नाक भएको भए राति सुत्नु कस्तो बिजोक हुनेथ्यो….नाकले बिझाएर । जीवनभरि कोल्टे सुत्दाको जात्रो । फेरि नाकलाई पिठ्यूँमा सुहाउँदैन पनि ता । पिठ्यूँमा लु नाक सुहाएन अरे ठिकै छ । नाकलाई भुँड़ीमा ट्याप्पै टाँसे ? लगाले नाक ग्वाम्मै छोपिन्थ्यो । नाक निस्सासिन्थ्यो । नाकको श्वास-प्रश्वासको निम्ति आफूले पहिरिएको लुगामा नाककै आकारमा छेँड़ पार्नुपर्थ्यो….भेण्टिलेटरजस्तो । कथङकल नाक नोम्यान्स ल्याण्डतिर टाँसिएको भए ? कन्त बिजोग हुनेथिेएऩ ? तर यो अङ्गका कारीगढ़ले नाकलाई जुन ठाउँमा टाँसिदिएका छन् त्यो एकदम सठिक, पाइक परेको ठाउँमा टाँसिदिएका छन् । हामीले आफूलाई भाग्यमानी ठान्नुपर्छ, हाम्रो नाक हामीले ठिक ठाउँमै पाएका छौं ।
हामी अरुको नाक देख्छौं जहीँतहीँ ; हेर्छौं पनि । तर हामीले आफ्नो नाक न ता देख्न सक्छौँ न ता हेर्न नै । नाकका आकार र प्रकार देखेर हामी नाक अऩुसारको नाम पनि राखिहाल्छौं – थ्याप्चे माइँला, ढोँढ़ी कान्छी, चुच्चे बाजे, सुगे पुलिस, नेप्टी बड़ीआमा, सोते हवल्दार, टोँड़्के चौकिदार, बुच्ची गुरुआमा आदि-आदि । तर हिजोआज सबैले मास्कले आ-आफ्नो नाक छोपेकाले को थ्याप्चे माइँला, को ढोँढ़ी कान्छी, को चुच्चे बाजे, को सुगे पुलिस, को नेप्टी बड़ीआमा, को सोते हवल्दार, को टोँड़्के चौकिदार, को बुच्ची गुरुआमा चिन्नै गाह्रो । यो मास्कले यस्ता अमिल्दा, लाजैमर्दा नाकहरूको इज्जत चाहिँ बचाएको कुरा स्वीकार्नैपर्छ ।
कोरोनाले रँड़ाको मच्चाएपछि अहिले संसारभरिकै नाकको मान, सम्मान, इज्जत बढ़ेको छ । यतिञ्जेल नाकको वास्तै गरिएन, नाकलाई अरु अङ्गहरूको तुलनामा हेला होँचो गरियो । अब ता नाकलाई कुनै हालतमा पनि बिच्काउनु हुँदैन । पहिले नेताहरूलाई बिच्काउँदा उठीवास लाग्नुपर्थ्यो । अहिले नाकलाई बिच्काए यो संसारबाटै उठीवास लाग्नुपर्छ । नाकको दिन आएको छ। डर लाग्छ नाकले पनि हाम्रा नेताहरूको देखासिकी गरी नेताहरूले झण्डी साटेजस्तै यी नाकहरूले पनि हामीलाई बदला लिन कोरोनासित मिलेर जहाँ कोरोना छ त्यतैतिर गएर नाकका दुलामा कोरोना हालेर हामीलाई ठहरै पार्दैनन् भन्ने के ग्यारेण्टी ? अब नाकलाई खुशी पार्ने समय आएको छ । नाकको मति बिग्रिन्छ भनेर, नाक कोरोना पार्टीसित नलागोस् भनेर स्वीजरल्याणडको एउटा शहरमा धुमधामले नाक महायज्ञको आयोजन गऱ्यो भन्ने हल्ला छ । ठिक हाम्राहरूले पुराण आयोजन गरेजस्तो ।
हाम्रो यतातिर कुनै नाक महायज्ञ वा नाक पूराण आयोजन नगरे पनि नाकको सुरक्षाको निम्ति मास्कबिना कोही नहिँड़्ने भएका छन् । नाक अलिक चिलायो कि वा सिङान आउने छाँट देखिए नाकका दुलाभित्र किसिम ड्रप हालेर नाकलाई हत्तु पार्ने काम भइरहेको छ । किनभने अहिले नाकलाई जोगाउने समय आएको छ । नाकलाई थै-थै गर्ने समय आएको छ ।
हेनतेन नभनी लाजै पचाएर के लाखेस् गर्न मन लागेको छ भने, मास्क प्रयोग गरेर हुन्छ कि के गरेर हुन्छ आफ्नो नाकलाई जोगाउनोस्, सुरक्षा गर्नोस् तर नाकलाई कुनै नेताहरूसित भेट्ने, साँठगाँठ गर्ने मौका नदिनोला । मास्कले छोपेर राखेका तपाई-हाम्रा नाकहरू कथङ्कल कुनै पनि नेताको लहलहैमा लागे राजनीति गरेर कोरोनासित गठबन्धन गर्न बेर नलाउँलान् ।
लेखक परिचय
भारतीय नेपाली साहित्यमा परिचित नाम हुन् पश्चिम बंगाल सिलिगुडीका कृष्ण प्रधान ।
लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म पच्चीस वटा कृति प्रकाशित छन् । साहित्यका जम्मै विधामा कलम चलाए पनि यिनको विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचना हो । यिनका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्छन् । प्रधान अल इन्डिया रेडियो खरसाङ (भारत) का फुटबल कमेन्टेटर पनि हुन् । यिनका दुई नयाँ कृति 'काव्यशास्त्र' र 'नाट्यशास्त्र' प्रकाशोन्मुख छन् । इमेल: krishanu1956@gmail.com