कोरोना पिस्तोल । पात्रहरू – राज, कालु, करुणा ।
[दृश्य विवरण- हातमा थर्मल स्क्यानिङ थर्मामिटर लिएर एकजना भिखारी (राज) को ठाँटबाँटसितको प्रवेश ] ।
कालु (छक्क पर्दै): राज, तेरो हातमा पिस्तोल ?
राज: केको पिस्तोल ? देखिनस् यो कोरोना नाप्ने मेशिन । यो निधारको छेउमा राखेपछि तेरोमा कोरोना छ कि छैन थाहा पाइहाल्छ । आइज त खै तेरो नापूँनापूँ ।
कालु (पन्छिन खोज्दै): होस् । तैँ नाप् । म चैँ नाप्दिनँ ।
राज: आइज न आइज । केही हुँदैन (समात्न खोज्छ) ।
कालु: नाइँ । (भाग्छ । दुवैजनाको भागाभाग चल्छ ।)अब्बुई होस् । बाइ चान्स कोरोना छ भने मलाई त सोसियल डिस्टेन्स् होइन सोसियल बाइकट गर्छ । तेस्तो रिस्क लिन्नँ, राज भाइ । होस् होला (खेदाखेद चलिरहेको बेलामा करूणाको प्रवेश) ।
करूणा (अचम्म मान्दै): के भा’को हँ तँहरू ? लुकीचोरी खेलेको ? राजको हातमा के हो यो पिस्तोल जस्तो ?
राज (छेवैमा लगी देखाउँदै): कोरोना पिस्तोल ।
करूणा (छक्क पर्दै): कोरोना पिस्तोल ?
कालु: कोरोना छ कि छैन भनेर हेर्ने मेशिन ।
राज: खै तेरो निधार यता ले त । हेरूँ तेरोमा कोरोना छ कि छैन ?
करूणा (तर्किँदै): नाइँ । ड्याङ्ङै पड्क्यो भने !
राज: यो कहाँ पड़्किन्छ हौ, लाटी ! पड्किने कहाँ हो यो ?
कालु: आफैँ कोरोना पिस्तोल पनि भन्छ पड्किँदैन पनि भन्छ ।
राज: आइज करूणा, तेरो टेस्ट गर्छु ।
करूणा: अब्बुई होस् है । घोँच्छ होला ।
राज: ओहो ! यो सूई होइन करूणा । सूई हुने भा त तेरो पाखुरीमा कि त तानपुरामा रवाम्मै रोप्ने थिएँ नि, लाटी । (कालुलाई) आइज कालु । तेरो निधार ले त । (कालु तर्सेर भाग्छ)
करूणा: तैँले चैँ कहाँबाट पाइस् हौ यो ?
राज: पार्टी गर्ने एकजना सरले देको मलाई । भेटे जति सबैको टेस्ट गराएर प्रत्येककोबाट २०/२० रूपियाँ लिनु अरे अनि त्यहाँबाट एकजनाको ५ रूपियाँ मलाई राख्नु भनेका छन् ।
करूणा: आमामामा हेर यसको कमाइ ! यस्तै हो भने त अब भिख नमागे पनि भो ।
राज: त्यै भएर त तँलाई गरूँ भनेको । आइज न ।
दुवै (पर पर तर्किँदै): होस् पर्दैन ।
राज: आइज न प्लिज । आज एउटै बोनी भाको छैन ।
करूणा: तैँले अरू कुनै मान्छे पाइनस् ? हामीलाई नै देखिस् ?
कालु: भिखारी भएर भिखारीजस्तै बस् न ।
करूणा: पार्टी गर्ने थोत्रेको कुरा सुनेर तैँले आफ्नै भिखारी साथीको पैसा लुट्छस् हँ ?
राज: लु न त तिमारको फ्री गरिदिन्छु नि हुन्न ?
कालु: करूणाले गरोस्, म त गर्दिनँ भाइ ।
करूणा: तैँ गर् । (लोपार्दै) इस् गर्छु । तर एउटा कुरा याद राख्, राज । हामी भिखारी हौँ । भिख मागेर नै हामीले जिन्दगी बिताउनुपर्छ । पार्टीको मान्छेको कुरामा नलाग् बुझिस् ।
राज (मलिन स्वरमा): होइन सरले त समाजसेवा गरेको ।
कालु: समाजसेवा ? कतिवटा संस्थाहरूले निस्वार्थ रूपमा एक पैसा नलिइकन हामीलाई भोजन ख्वाइरहेछन् । त्यो पो हो त खाँटी समाजसेवा ।
करूणा: कोनि पो अरे । (राजको हातमा भएको थर्मल स्क्यानिङ थर्ममामिटर देखाउँदै) यो पिस्तोलजस्तो मेशिन पनि त सरकारले नै दिएको होला अनि हामीलाई पैसा पठाउने ?
कालु: यी नेताहरूको जातै यस्तो हो । दाउ पर्यो भने यी मोराहरूले राहतको लागि लाशलाई पनि डोनेशन माग्नु बेर लाउँदैनन् ।
करूणा: नेता त्यसै हुन्छन् ? नेता हुनलाई पनि भाग्यमा लिएर आउनुपर्छ ।
राज: छ्या ! तेस्ता ढाँट्ने र भाग्ने नेता हुनु पनि के भाग्य लिएर आउनु हौ । साला हामीलाई हेरोस् न घ-घर भिख मागे पनि न हामीलाई भाग्नु परेको छ न ढाँट्नु परेको छ ।
कालु: भाग्नु त ठिकै हो तर हाम्रा नेताहरू बिचराले ढाँटेजस्तो लाग्दैछ है मलाई ।
करूणा: तैँले के भन्न खोजेको मैले बुझेँ । हाम्रा नेताहरू ढाँटदैनन् । गान्धीभन्दा आगर सत्यवादी छन् । तर उतैबाट ढाँट्न लगाएपछि ढाँट् नबोली भो त ? तेति गरेन भने उठीबास लाउलान् अनि ।
कालु: जस्तो पाराले मादल बज्छ त्यस्तै पाराले ननाँची भो ? नत्र मादल नै खोसेर लैजालान् । हामीलाई भोक न भकारी शोक न सुर्ता । मरेपछि डुमै राजा साला ।
करूणा: आकाश हाम्रो छानु फुटपाथ हाम्रो डसना ।
राज (थर्मामिटर निधारसम्म लगेर): आ जेसुकै होस् । नेताहरूको कुरा उनीहरूले नै बुझुन् । लु लास्ट एकपल्ट टेस्ट गरौँ ल ! (भागाभाग हुन्छ) ।
पर्दा खस्छ।
[लेखकको प्रकाशोन्मुख कमेडी ड्रामा कोरोना कमेडीबाट]
लेखक परिचय
भारतीय नेपाली साहित्यमा परिचित नाम हुन् पश्चिम बंगाल सिलिगुडीका कृष्ण प्रधान ।
लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म पच्चीस वटा कृति प्रकाशित छन् । साहित्यका जम्मै विधामा कलम चलाए पनि यिनको विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचना हो । यिनका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्छन् । प्रधान अल इन्डिया रेडियो खरसाङ (भारत) का फुटबल कमेन्टेटर पनि हुन् । यिनका दुई नयाँ कृति 'काव्यशास्त्र' र 'नाट्यशास्त्र' प्रकाशोन्मुख छन् । इमेल: krishanu1956@gmail.com