फूलको, प्रेमको, निझरको, प्रकृतिको अनि आकाशको अनन्तको ।पृथ्वीको विशालताको, सागरको गहिराइको, सगरको उचाइको र यावत आयतनको । त्यस्तै मान्छेको खप्पर र गिदीको, भुँडी र लिद्दीको । अनि अनेकौं चल, अचल, जड, जहादि । औषधी, विषादि र त्यसप्रति बगेका भावना, उडेका कल्पना र सुतेका विपना, चच्चलाएका सपनादिको अभिव्यक्त्याउने माध्यम बनेका हाँगाविगाँ फाँटादि साहित्यका विभिन्न विधाहरू छन्: कथा, कविता, निबन्धादि ।
सोचाइ र क्षमताअनुसार मौलिकता । इच्छा अनुसार शैली, छन्द-बेछन्दको बनोट । पाएअनुसार शब्दको बनोट अनि भनिन्छ र भनाइन्छ- क्या नयाँ प्रयोग ।
यस्तै प्रकार मान्छे जन्मिन्छ नयाँ, युग बनाउँछ नयाँ । यसरी नयाँ, नयाँ र अझ बेस्मारिकन नयाँ खोज्न, रोज्न र उछिन्न, कुद्न थाल्छ नेत्र नयाँ, विचित्र नयाँको ।
अमृत नै किन नहोस धेरै भएपछि, भरिएपछि भरिएको भाँडो पोखिन थाल्नु सम्भवभित्र कसरी नपर्ला ।
कतै पिढीहरूमा जन्मिएपछि प्रयत्नका सिढीहरूमा क्रमशः बामे सर्दै, उभिदै उक्लन । चढ्न नखोज्नु, नसिक्नु पनि भोलि म अड्न, चढ्न सक्दै सक्दिन भनेर पहिल्यै निराश हुनु भनेको कातर र धमिलो कुहिरोभित्र हराइरहने हुतिहारा हुनुजस्तै त होला नि ।
यो नयाँ पुराना सबै स्रष्टालाई लौ त ।
मान्छे समाज (समाजसँग रोग । रोगको प्रकार । प्रकार । प्रकार धेरै । धेरै भ्याउदैन । भन्नु जानिएकै, बुझिएकै थोरै ।
त्यसैले भनिदियो समय थोरै । झन्झट किन कुरै खतम ।
समयसँग पसौ रोगभित्र । मात्र थोरे रोगभित्र ।
रोग रोगले मान्छे त्यसै मर्दैन ।
मान्छे मर्छ मरिन्छ, छरपष्ट तर अस्पष्ट, निदान र निदानमा भएको लगानीले उत्पादन गरेको परिस्थिति र उपचारको अभावले ।
उपचारको अभाव ? असम्पन्नता । हो, विविध विषयमा हामी असम्पन्न र दरिद्र छौ।
हिचकिचाउन, संकोच मान्न पर्दैन । निश्चय हामी त्यो हौं र छौं। असम्पन्न दरिद्र॥
रोगः “क”
चल्दैको मुटु दुख्ने चलनभित्र विचलनसँग घोत्लिएर ।
रोगको आसन । आकृतिअनुरूप । अवस्थाअनुरूप । भेष र
अर्थअनुरूप । रासन पनि त्यस्तै, निदान पनि उस्तै ।
अनि उपचारमा चाहिं फरक नभई समान कसरी होला र ।
आसनले विभाजित तुल्याउँछ रोगीलाई।
केठै ! रोगीको जात, थर, गोत्र, राशि-नक्षत्र दिन । रोगीको श्रेणी मान, पदवी, अलङ्कार-विभूषण केही हुँदैन । खोज्नु र रोज्नु पनि हुँदैन । हुँदै भएन ।
खोज्नु र रोजी रोजी बीउ छर्नु। यो रोपाई होइन मजा गर्न । रमाइलो गर्न ।
फेरि पाइ नपाई बोल्नु र रोज्नु अनि बिल भर्नु यो रोपाइमा हिलो छ्याप्नुजस्तो ठट्टा होइन बिरामीलाई बिल भराउनु । यो
त बेअर्थ विष खाई आफैलाई सास्ती दिनुजस्तो अपराध हो- बिरामीलाई नास्ती पार्नु ।
हात, खुट्टा मर्कनु, चर्कनु वा भाँचिनु मात्रै रोग होइन रेडियमले भरथेक गर्ने, (थेरापीको प्रयोगमा आधा बर्ष बिताउने । क्यान्सर, अचेल भनिन्छ नेपालीमा अर्बुद । गालामा एउटा टुटिल्को उठ्यो,
जँचायो-यो केही होइन तर हप्ता दिनपछि आउनुस् । एकपल्ट फेरि राम्ररी जाचौँला । यो कागजमा लेखिदिएको छु- रगत, दिसा, पिशाप र छाला पनि जँचाई हाल्नोहोला रिपोर्ट हेरौँला । भैहाल्छ । केही छैन । चिन्ता मान्नु पर्दैन ।
रिपोर्ट आयो । हेरेँ। ए तपाईँलाईत टी.बी. भएको रहेछ । त्यसैको उपचार गर्नुपर्यो । उपचार चल्यो छ महिनासम्म । निको भएन ।
ए ! तपाईँको खटिराको । (टुटिल्को) एकपल्ट बायस्कोपी गरी हेर्नुपर्ने पो भयो ।
हुन्छ । बिरामीले भन्यो। बायस्कोपी भयो । ए ! एकछिन डाक्टरहरू आपसमा ट्वालट्वालती मुख हेराहेर गरे ।
मौन । तर पछि यो भने क्यान्सर भइसकेछ ।
यो क्यान्सर। यो अर्बुद रोग बड़ो अप्ठेरो पो पन्यो त । तैपनि केही छैन । अलिकति बढी खर्च हुने भो । अलिकति विरामीले कष्टसाथ धैर्य गर्नुपर्यो । बिरामीको मनोबल बलियो भए राम्रै हुन्छ ।
बिरामीको मनोबल राम्रै थियो । पीडा सहेर पनि ऊ हलुका मुस्कुराउने प्रयत्न गरिहन्थ्यो।
तर उपचार। उपचार विधि । परीक्षण-निदान ।
कहिले सामान्य टुटिल्को । लामो समयपछि टी.बी. फेरि बायस्कोपी पछि क्यान्सर-अर्बुद !
खासैमा क्यान्सर भनेको अर्बुद नै हो ? अथवा अर्बुद भनेपछि क्यान्सर बाहेक अर्को रोग होइन ? अथवा अर्बुद रोगी
क्यान्सरको रोगीझैँ नै दु:खाइमा वा पीडामा पिल्सिरहनु, के गरौं, कसो गरौंको मानसिकतामा उल्झिरहनु पर्छ ?
अथवा अर्बुद रोग भनेको क्यान्सर रोगझैँ भयावह हो ? अथवा अर्बुद रोग भएपछि क्यान्सरमा उक्लिसकेको हुन्छ ?
अझ अथवा क्यान्सरको ठेट नेपाली शब्द उपलब्ध नभएर त्यसो भन्नै पर्ने बाध्यता उब्जिएको पो हो कि ?
त्यसै भएको हो नै भने पनि कोटलाई कोट नै भनेर कोट लगाएझैँ क्यान्सरलाई क्यान्सर नै भनीदिए के विग्रिएला ?
रोग:- ‘ख’
शारीरिक, मानसिक, आर्थिक र राजनीतिक छ्यालब्याल पोखिएको छ रोग । फुटपाथ हिँडिसक्नु छैन । शहर टेकिसक्नु
छैन । कतै पुगिसक्नु छैन । धूँवा, दुर्गन्ध, प्रदूषण यातायातको जाङ्गल अनि मान्छे मान्छेको सासको वाफभित्र नामको निमित्त
निर्मित चिकित्सालय पाइसक्नु छैन
भोटो, भोक र भुईँको दुःखद रोग लाग्नेले त सोच्नु पनि दुर्लभ शैयामा सुतुँला ।
चिन्ता को गरोस् रोगीको आखिर मृत्युको हावा निलेर नफ्यँकुन्जेलसम्म त त्यो पनि मान्छे नै त हो । मान्छेभन्दा मान्छे
किन बुज्रुक बन्ने ? आफैले ख्याल गर्नुपर्छ आफ्नो । मान्छे भए मान्छेसँग भिड्नु पर्छ । रोगी हुन् एकछिन अर्कै कुरा । मान्छेको नाताले आफै कुद्दै गएर चिकित्सकको लपेटा (stethoscope) झड्कोर्दै हृदय देखाइदिनुपर्छ । लौ । जाँच मलाई !! भन्दै।
रोग:- ‘ग’
व्यक्ति व्यक्तिको स्वास्थ्यताबाट विकसित हुन चाहन्छ समाज । विपरीत आयाम आउँछ लुक्दै, छिप्दै, । जसले बाधा
गर्छ अनुभव हुन दिँदैन सञ्चोको- समानभित्र ।
स्रेस्ता गोलमाल । अगुवा भ्रष्ट । पुरानो रोग । चाट्नै पर्ने काढ्नेले मह । रकम हडप । अनि ढाक्छोप । तैँचुप मैचुप । गुपचुप-
संस्थाहरूको गति- दुर्गति- कुमति-प्रख्यात रोग
रोग:-“घ”
पार्खाल अग्लो हुन्छ। एक बीचमा । दायाँ एउटा बायाँ अर्को समस्या समाजको ।
पुरानो ईट फुदतै जान्छ पाको जति । नयाँ बनाउनै मुस्किल । बल्ल बन्न खोजेपनि कस्तो कस्तो, काँचो काँचोजस्तो।
अनौठो, अप्ठ्यारो रोग नबुझिने रोग नबुझिने मान्यताले मडारिदैछ कुहिरोभित्र अनेक आकाश । मान्छेले मान्छेको लागि रचना किन गर्ने नबुझिने ?
भन्नु आफै नबुझ्नु हो । यो भयानक रोग ।
रोग:- “ङ”
असीमित इच्छाको परम्परा महान् छ । आर्थिक रोगले पाचुके गरेको कसलाई छ ? संतोष कसले गयो चाहनाबाट ?
योगी भएर खप्परु लिएर, बमबम गरेर घरदैलो चाहारेर गुफा, जाङ्गल सत्तत्त पसेर या गल्ली गाउँ घुमेर भीख माग्नु या नमाग्नु गर्दैमा आनन्द हुनेभए, शान्ति पाइने भए किन त्यस्तो त्याग र तपस्या गरेको बुद्धले ?
फेरि सबैले गर्नु नै किन पर्छ ? यो अर्को रोग ।
रोग प्रत्येक जीवनको ढुकढुकीसम्म रहिरहन । यहाँ अनेक बीभत्स रोगहरू छन् ।
यहाँ अनेक विकृत समस्याहरू छन् । (त्यो पनि रोगै हो । पाप हुनु रोग हो । पाप गर्नु रोग हो ।
तर सीमा हुनुपथ्यो त्यसको पनि तर बढी भो ।
आरम्भ कसरी त अनेक रोगको ?
अक अभाव ।
एक अतृप्ति ।
एक संकुचिकता
एक प्रकृति
एक प्रवृत्ति
एक स्वार्थ । एक समस्या । अनि एक अप्राकृतिक विडम्बना पनि हो । मानवता र नैतिकताको हास हुँदै जानु रोगको थाक थुप्रनु हो ।
लेखक परिचय
चाबहिल, काठमाडौँका कणाद महर्षि नेपाली साहित्याकाशमा बहुचर्चित व्यक्तित्व हुन् । प्रकाशनका हिसाबले प्रेमा पत्रिकाको वि.स.२०३० जेष्ठ अंकमा प्रकाशित 'लामो नशाको प्याला' शिर्षकको कविता उनको प्रथम कृति भएतापनि वि.स.२०२२/२३ ताका नै 'खै हाम्रो दौरा सुरूवाल' शीर्षकको पहिलो कविता उनले लेखिसकेका थिए । गुफा (२०३१), पग्लेका लाभाहरु (२०३४), भतेर र अाँखाहरू (२०५०), घाउमा हरिभक्त कटुवाल (२०५८) र दृष्टिको यात्रा (संवाद काव्य, २०७२) उनका प्रकाशित काव्य कृति हुन् भने उनको एक कथासङ्ग्रह कणादका कथाहरू (२०७१) पनि प्रकाशित छ । लोकेन्द्र साहित्य पुरस्कार (२०५४), दीर्घ सेवा पदक( रा. वा. बैंक, २०५५), गरिमा सम्मान पुरस्कार (२०६६), अभिनव कदर-पत्र (२०६७), रमेश विकल सृजना पुरस्कार (२०७१), सुलेख आख्यान प्रतिभा पुरस्कार (२०७०), बासु शशी स्मृति पुरस्कार (२०७१), अविरल जन साहित्य यात्रा सम्मान-पत्र (२०७२), साहित्य सन्ध्या पुरस्कार (२०७२), रजत जयन्ती सम्मान-पत्र (२०७५), प्रवल जनसेवा श्री-चतुर्थ(२०७५) जस्ता सम्मान र पुरस्कारबाट विभूषित साहित्यकार महर्षि हाल राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त जीवन बिताइरहेका छन् ।