मिति : २०३५।९।८७
श्रेष्ठ लज, दार्जीलिङ, साँझ ७ बजे
नातामा दाजु पर्ने बद्रीकुमार मिश्रसँग (उहाँ आइतबारे इलाममा चिकित्सक पेशामा जागिरे हुनुहुन्छ) दार्जीलिङ घुम्ने भनी काठमाडौँबाटँ हिँडेको आज चौथो दिन हो । बिहान ७:३० बजे आइतबारे इलामबाट यतातिर हिँड्यौं । फिकलमा आएर चिया पियौँ । त्यसपछि पशुपतिनगर पुग्ने देवे बाटो समाएर लम्क्यौँ । हाम्रो दुईवटा सुटकेस सहयोगी डम्बरबहादुर गुरुङले समातेको थियो । बरबोटे भन्ने ठाउँमा उक्त सामान घोडामा लदाएर उसलाई फिर्ता पठाइदियौँ । र हामी पशुपतिनगर निम्ति उकालो उक्लियौँ । बाटो गड्ने राम्रो नै छ । समयले साथ नदिएको हुँदा हामीले मोटर पाएनौँ- त्यो बेग्लै कुरा भयो।
बौद्ध-धाम भन्ने स्थानमा आइपुगेपछि थकाइ मार्दै नास्ता गर्यो। र फेरि हिँड्यौँ । साढे तीन घण्टा मजाले उकालो उक्लिएपछि पशुपतिनगर आइपुग्यौं । यहाँ भा.रु. साट्यौँ ।
अब फाटक भन्ने भारतीय सिमानामा छौं ।दार्जीलिङको निम्ति जीपमा बस्यौँ । दार्जीलिङको पछाडि दृश्य हेर्दै सुखिया पोखरीमा आइपुगेपछि अर्को मोटर बदल्यौँ । पहाडै पहाड, घुमाउरा बाटाहरू सर्प पसारिएझै देखिन्थे – हेर्दै- घुम पहाड हुँदै दार्जीलिङ आइपुग्यौं ।
यहाँ हामीलाई विदेशको भान एकरति पनि भएन । लाग्छ हामी नेपालमै छौँ । यहाँका मानिसहरूका बारेमा धेरै कुराहरू लेख्नुपर्ने सोच आइरहेको छ । पछि लेखौँला । अहिले मलाई समयको असाध्य कमी भइरहेको अनुभव हुँदै छ । भोलि एक दिन यहाँ बस्ने निधो गरेका छौँ । तर समय भने नपुग्ला जस्तो छ किनभने मेरो साहित्यिक मेलो अनुसार धेरै साहित्यकारहरूसँग भेट्नु छ ।
यस लजमा आएर कोठा लिदै मालमत्ता थन्क्याएपछि दिउँसोको १:३० बजेदेखि म साहित्यिक बन्धुहरूलाई भेट्न, सोध्न थालें । सबभन्दा पहिले ईश्वरवल्लभलाई भेटेँ । उहाँसँग सम्बन्धित कुराहरू अर्कै पानामा लेख्छु किनभने उहाँसँग अन्तर्वार्ता पनि लिनु छ । त्यसपछि नन्द हाम्खिमलाई भेट्न सोध्दै खोज्दै धेरै हिँडेर ‘गभर्मेन्ट प्रेस’मा पुग्यौँ । तर भेट भएन । अनि कमला सांकृत्यायनको घर खोज्दै पुग्यौँ । उहासँग पनि भेट भएन । पुन: नन्द हाम्खिमको घर सोध्दै भोटेवस्तीतिर गयौँ । पसलमा भेट भयो । कुरा भयो । अन्तर्वार्ताका निम्ति प्रश्नहरू दिएँ । उनले भोलि ५ बजे यसै लजमा ल्याउने वचन दिए । पान खुवाए । धन्यवाद दियौँ र फक्यौँ । भेट्नु धेरैलाई थियो ।यही क्रममा ‘गोरखा दु:ख निवारण सम्मेलन’को भवनमा पुग्यौँ । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई भेट्यौँ।उहाँसँग यो भेट नै मेरो पहिलो भेट हो । उहाँसँग आफ्ना कुराहरू राख्यौँ । उहाँले हामीलाई विटा चिया पसलमा लग्नुभयो । समोसा खुवाउनुभयो र फेरि त्यही सम्मेलन भवनको पुस्तकालय कक्षमा लग्नुभयो । त्यहाँ बस्यौँ । कुराहरू हुँदै गए । कुरै कुरामा झन्डै बिर्सिएको तर झ्वाट्ट सम्झिएँ र भनेँ “काठमाडौंबाट प्रकाशित हुने नेपाली साहित्यिक मासिक पत्रिका ‘स्वतन्त्रता’को निमित्त ‘नेपाली साहित्यमा नवलेखन’ बारे केही भन्नु छ कि ?’ -र उहाँले हुन्छ नि भन्दै भन्न थाल्नुभयो । मैले लेख् थालेँ । लेखिसकेपछि अन्तमा उहाँले पुनः ३ एकपटक पढेर केही सच्याउँदै पुछारमा सही गर्नुभयो । नेपाली साहित्यका त्यति ठूला प्रतिभा भएर पनि अति शिष्ट व्यवहार गर्नुभयो, जुन कहिले विर्सन सकिदैन । हामी विदा भएर फर्कियौं ।
नेपाली साहित्यमा नव लेखन । इन्द्रबहादुर राई
पूज्य मल्ल राईको ताम्रपत्रको भाषा र भानुभक्तको रामायणको भाषामा भिन्नता छ । आज बोलिने नेपाली भाषा अझ भिन्दै भएको छ । यो भिन्नता कसरी आयो ? विभिन्न कालमा जीवन मापनको पद्धति र शैलीमा आएको भिन्नताबाट भाषाको भिन्नता आएको थियो, आइरहने छ । साहित्य लेखन पद्धतिको भिन्नता पनि आधारत: जीवन मापनकै भिन्नता हो । तर यो भिन्नता सबै लेखक वा कविले समान रूपले अनुभव गर्दैनन्, बोध लिदैनन् । त्यसैले स्थान र समयका अन्तर-अनुभव नगर्ने असङ्ख्य लेखक कविहरू समान प्रकारका पनि बनिरहन्छन् । अन्तरबोध गर्नेहरू नवलेखनतिर आउँछन् । लेखकहरू तर नयाँ व्यवस्थामा बाँच्दाको जीवनयापन प्रणालीले मात्र निर्दिष्ट बन्दैनन्, आफ्ना अधीतिले पनि भिन्न बन्छन् । यो भिन्नता पनि उनीहरूलाई लेख्नै पर्ने हुन्छ । यसरी पनि नवलेखनतिर गएकाहरू छन् ।
१. म दार्जीलिङ जान लाग्दा मेरा मित्र ‘स्वतन्त्रता’ पत्रिकाका सम्पादक/प्रकाशक विनोद रिमालले ‘केही भन्नु छ कि ?’ स्तम्भका लागि साहित्यकारहरूका विचार ल्याइदिन भन्नुभए अनुसार इन्द्रबहादुर राईबाट यो विचार ल्याएको थिएँ तर यो यसै डायरीमा थन्किरहेको पाएँ र यहाँ प्रस्तुत गरेको हुँ । – कणाद)
लेखक परिचय
चाबहिल, काठमाडौँका कणाद महर्षि नेपाली साहित्याकाशमा बहुचर्चित व्यक्तित्व हुन् । प्रकाशनका हिसाबले प्रेमा पत्रिकाको वि.स.२०३० जेष्ठ अंकमा प्रकाशित 'लामो नशाको प्याला' शिर्षकको कविता उनको प्रथम कृति भएतापनि वि.स.२०२२/२३ ताका नै 'खै हाम्रो दौरा सुरूवाल' शीर्षकको पहिलो कविता उनले लेखिसकेका थिए । गुफा (२०३१), पग्लेका लाभाहरु (२०३४), भतेर र अाँखाहरू (२०५०), घाउमा हरिभक्त कटुवाल (२०५८) र दृष्टिको यात्रा (संवाद काव्य, २०७२) उनका प्रकाशित काव्य कृति हुन् भने उनको एक कथासङ्ग्रह कणादका कथाहरू (२०७१) पनि प्रकाशित छ । लोकेन्द्र साहित्य पुरस्कार (२०५४), दीर्घ सेवा पदक( रा. वा. बैंक, २०५५), गरिमा सम्मान पुरस्कार (२०६६), अभिनव कदर-पत्र (२०६७), रमेश विकल सृजना पुरस्कार (२०७१), सुलेख आख्यान प्रतिभा पुरस्कार (२०७०), बासु शशी स्मृति पुरस्कार (२०७१), अविरल जन साहित्य यात्रा सम्मान-पत्र (२०७२), साहित्य सन्ध्या पुरस्कार (२०७२), रजत जयन्ती सम्मान-पत्र (२०७५), प्रवल जनसेवा श्री-चतुर्थ(२०७५) जस्ता सम्मान र पुरस्कारबाट विभूषित साहित्यकार महर्षि हाल राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त जीवन बिताइरहेका छन् ।