२०३३ असोज १९ गते मंगलबार नेपाली साहित्यका सुप्रसिद्ध हास्यव्यंग्यकार अनि कवि गीतकार समालोचक र गोरखापत्र मधुपर्कका लेख रचना सम्मादक श्री भैरब अर्यालको दुःखद निधन भयो। कठै। सास उडेको लाश पाइयो।
सास भएका भैरवले हँसाउथे। अब यो लाशले रुवायो । उनन्चालीस वर्षीय भैरबको निधन के थियो, विष्णु शर्मा अलवर भैया र भारवीको पनि एकै साथ मृत्यु भयो । “रचना” मा पहिलो पल्ट चिन्तनको चौतारी चिन्ने बिष्णु शर्माको मृत्यु भयो । गोरखापत्रमा समसामयिक लेख लेख्ने भारबको मृत्यु भयो . . . । यसरी भैरवको निधन सँगसँगै मानो उनका अनेक नामहरू सती गए। एउटा बेहोरिन नसक्ने साहित्यिक व्यक्तित्व अब रहेन अपूरणीय क्षति भयो। अब शोक सभा हुन थाल्यो । अब समवेदना ओइरन लाग्यो । अब चर्चा परिचर्चा चल्न थाल्यो । धेरैको मुखबाट सुनियो “केही समय अघि देखिनै भैरव बेसुरा हुन थालेका थिए । शायद मगज केही ठीक थिएन” हेर मैले जानकारी दिनेहरू: जीउँदो हुन्जेल उनीबाट हाँस्न चाहन्थे यिनीहरू, मगज ठीक थिएन रे भैरवको, तर हाँस्न चाहन्थे मान्छेहरू (हास्य पाठकहरू)
भैरव किन मरे ? किन आफूलाई मारे ? पुरु सम्झाउँछन् भैरबका हरफहरू ‘मागी पाइने भीकभन्दा आफ्नै भोक मीठो । रोइ रोइ बाँच्नुभन्दा हाँसी मर्नु निको ।” हरे भैरवलाई मृत्युको भोक चाँडै लाग्यो । कोही भन्छ ‘जर्मनबाट फर्केदेखि भैरवमा फ्रस्टेसन शुरु भएको हो ।’ कोही भन्छ आफ्नै कार्यालयबाट भैरवमा निराशा पलाएको हो । कोही भन्छ “भैरवको आत्महत्या गर्ने यो तेस्रो प्रयास हो ।”
बिकल भन्छन् “मान्छेहरू गजवका हुन्छन् । भैरवको मुत्यु मेरे सामुन्ने भए जस्तो, एउटा आउँछ सोध्छ भैरव किन मरेछन् है। अर्को आउँछ भन्छ भैरब कैलेदेखि घरबाट हराएको रे । तेस्रो आउँछ सोध्छ भैरवले आफूलाई कसरी कही मारेछन हँ । कस्ता मान्छेहरू यी सबै जान्दो हुँ त भैरव मर्न आँटेको के म हातबाँधि टुलुटुलु हेरि बस्दो हुँ, सोध्ने पनि एउटा काइदा हुन्छ नि !
परशु भन्छन् -भैरबले दसैँअगाडि नै साथीहरू भेट्ने एउटा कार्यक्रम राख्न चाहेका थिए । हुन्छ खबर गर्छु भनेँ दसैँको यताउता दसैँ सकेर खबर गर्ने निधोले चुप्प रहेँ तर उसको यो हालत भो । सायद परशुलाई भित्र सम्म धक्का-लाग्यो गहिरो बिजायो। अनन्त: भन्छन् भैरबले केही समय अघि मात्र हस्ताक्षर शीर्षक लेख सुनाएका थिए । त्यो नै उनको अन्तिम रचना हो अब यसभन्दा अरू केही लेख्ने छैन भन्थे ज्यादै ज्यादै मिठो थियो । थाहा छैन त्यो लेख छापियो कि छापिएको छैन।
भैरवले कुनै किसिमको राम्रो पुरस्कार पाउनु पर्छ दैवज्ञ टड्कारो भन्छन् । गोरखापत्र सम्मान भैरबका बालबच्चालाई छ वर्षसम्म डेड डेड सय दिने कबुल गर्छ । विभिन्न स्कुलहरू निशुल्क अध्ययन गराउने घोषणा गर्छन् । अनेकौँ प्रश्न चिन्ह, प्रश्न चिन्ह ?? पछि हरि अधिकारी भैरवका छ जना बच्चा बच्चीहरू भोलि छ वटा भैरव अर्याल हुन सक्ने चेतावनी हुत्याउछन् ।
केही व्यक्तिहरू भैरबको गुण र देनलाई तारिफ गरेर उनलाई पापी भन्छन् । किनभने उनले आत्महत्या गरे रे आफूलाई (एउटा मान्छेलाई) मारे रे । हुन सक्छ भैरवले बाँच्ने लोलुपतामा पाप र अपराध संगाल्न चाहेनन् ।
दही असाध्य मन पराउने भैरवलाई शायद कृष्णचन्द्र सिंह प्रधानको यो भनाई रुच्यो- ‘कि त बाँच्नलाई अपराध गर कि त अपराध नगर्नुको लागि मृत्यु रोज, बड्ता बाँचेर पाप गर्नुको सट्टा पाप नगर्नको लागि चाडै मर्नु अधर्म होइन। त्यसैले आत्महत्या भनेको अपराधबाट बाँच्नको लागि गरिने सर्वोत्तम उपाय हो ।’ (सालिक-आत्महत्याको अँगालोबाट)
अथवा भैरबले आफूमाधि अपराध गरिरहेकाहरूलाई पापको धेरै भारी बोकाउन चाहेनन् बरू आफै यस संसारबाट धेरै पर एकालिए। यति पर कि जहाँ कुनै पनि अपराधी मस्तिष्कले उनीप्रति पापको दाउ रच्न सक्ने छैन ।
(भैरवको निधन पछि नेखिएको यो टिपोट ‘रचना’को फाइलबाट लिइएको हो ।)
लेखक परिचय
चाबहिल, काठमाडौँका कणाद महर्षि नेपाली साहित्याकाशमा बहुचर्चित व्यक्तित्व हुन् । प्रकाशनका हिसाबले प्रेमा पत्रिकाको वि.स.२०३० जेष्ठ अंकमा प्रकाशित 'लामो नशाको प्याला' शिर्षकको कविता उनको प्रथम कृति भएतापनि वि.स.२०२२/२३ ताका नै 'खै हाम्रो दौरा सुरूवाल' शीर्षकको पहिलो कविता उनले लेखिसकेका थिए । गुफा (२०३१), पग्लेका लाभाहरु (२०३४), भतेर र अाँखाहरू (२०५०), घाउमा हरिभक्त कटुवाल (२०५८) र दृष्टिको यात्रा (संवाद काव्य, २०७२) उनका प्रकाशित काव्य कृति हुन् भने उनको एक कथासङ्ग्रह कणादका कथाहरू (२०७१) पनि प्रकाशित छ । लोकेन्द्र साहित्य पुरस्कार (२०५४), दीर्घ सेवा पदक( रा. वा. बैंक, २०५५), गरिमा सम्मान पुरस्कार (२०६६), अभिनव कदर-पत्र (२०६७), रमेश विकल सृजना पुरस्कार (२०७१), सुलेख आख्यान प्रतिभा पुरस्कार (२०७०), बासु शशी स्मृति पुरस्कार (२०७१), अविरल जन साहित्य यात्रा सम्मान-पत्र (२०७२), साहित्य सन्ध्या पुरस्कार (२०७२), रजत जयन्ती सम्मान-पत्र (२०७५), प्रवल जनसेवा श्री-चतुर्थ(२०७५) जस्ता सम्मान र पुरस्कारबाट विभूषित साहित्यकार महर्षि हाल राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त जीवन बिताइरहेका छन् ।