• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ गैर-आख्यान सँस्मरण

एक साँझको हिँडाइ

■ मुनाराज शेर्मा
जेष्ठ २६, २०७८
154 2
A A
94
SHARES
472
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

साँच्चै देशमा लोकतान्त्रिक स्थिरताको साँझ परेको हो कि भान आम नागरिकलाई परेकै बेला म साँझ हिँडाइमा निक्लेँ ।  दैनिक मृत्युको ग्राफ सेन्चुरी हुँदै दोहोरो शतक हान्दैछ ।  एकफेर त थप अर्ध शतक समेत जोड्यो । राजनीतिले त सिरिज नै कब्जा गर्‍यो । हिँड्दा म मास्क लाउँदिन । वर्षौँ भयो हिँडेको । आज अचानक म एक्लै परेँ ।  अरू विविध कारणले नभ्याउने भन्ने भयो ।  सधैँ जीवन चाहेर पनि साथमा रहन्न ।  हकिङ्सले व्यक्तिभन्दा सङ्गठन बलियो हुन्छ भने पनि तपाईँलाई बलियो राख्ने तपाईँ आफू नै हो है जानी राख्नू । म राजमार्गमा निक्लेँ ।

मेची राजमार्ग यो एकतीस सालमा निर्माण भएको हो । कोदो फुलेर लहलह बाला लागेको थियो । सडक आउने भनेपछि बीस फिट चौडाइ बराबरको हाम्रो जग्गामा करिब पाँच सय मिटर नापेर कोदो म समेत लागेर काट्यौँ । म सात वर्षको हुँदो हुँ बाला लागेको कोदो काट्दा कुनै दुख महसुस भएन । बरु उत्कट उत्साह थियो सडक आउने कुराले  । त्योभन्दा अघि सामान्य गल्ली मात्र थियो । कहिलेकाहीँ बडाहाकिम सन्तवीरले फोरव्हिल ट्याक्सी लान्थ्यो । त्यो बाटो धुलाबारी वा हात्तीसुँढेको पूर्व बीचबाट टिमाई खोलाको तिरै तिर जरेवर हुँदै अघिबाट जान्थ्यो ।  फोरव्हिल जिप सानो गोरेटोमा पनि ढुङगा अङ्गालो मार्दै उकालो चढ्थ्यो । गोरेटो मात्र हुँदा घोडा पहाडी क्षेत्रको ढुवानी र यातायातको प्रमुख साधन थियो ।  गोरुगाडा, राँगागाडा अर्को मुख्य साधन थियो यो क्षेत्रमा ।  एक जना दाइले कालीखोलाको कच्ची उकालोमा गाढा चढ्न नसकेर जुवामा बसेका उनले चक्का काट भनेर अह्राएछन् ।  सहयोगीले ठेल्न छोडेर खुकुरी निकालेर काट्न थालेछ । चक्कामा पालै पालो ठेल भनेको लु बितायो ।  भनेको किस्सा गाडावाल दाइ हामीलाई सुनाई रहन्थे । ल्हिक ल्हिक हाँस्दै ह्वाङ्गै गिजा देखाएर ।  कति पटक ओरालोमा गाडा नथामिएर दुर्घटनामा परेको खतरापूर्ण अवस्था हामीले भोग्यौँ  । बच्चामा गाडा चढ्नु मर्सिडिज चढ्नु जस्तै थियो नि ।

त्यसरी नै घोडसवार त्यो समयको सर्वाधिक बलवान र प्रचलित शक्ति थियो । जेङ्गिज खानको सन्तान झैँ लाग्ने कागते भोटे घोडावालहरूले फिक्कल इलाम आइतबारे गोर्खे जाने घोडा मङ्गलबार र शुक्रबार सामान लादेर हजारौँको संख्यामा आवातजावत हुन्थ्यो  । पछि उनीहरू सडक बनेपछि गाडी मालिक भए ।  कामीहरूको आरनमा घोडाको टाप ठोक्ने पेसा नै गजब चलेको थियो त्यो बेला । अहिले युरोपमा प्लास्टिकको हल्का सजिलो टाप ठोकिन्छ । नेपालमा फलामकै प्रचलन यथावत छ । कामीहरू त्यो समयको उद्योगी प्राविधिक व्यवसायी थिए । सामन्ती सत्ताले कहिले त्यो स्विकारेन । घोडावाल बस्ने ठाउँमा खाना खाजा रक्सी जाँडको निकै राम्रो दोकान चलेको थियो । खाजामा सेलरोटी आलु चना मासुको तरकारी हुन्थ्यो । दुधको गुलियो चिया औधी महत्वपूर्ण मानिन्थ्यो । मेरो बाजेको घरमा सयौ घोडावाल वास बस्थे । मैले आठाना मुठा बाँसको र बन्सोको घाँस बेचेको छु । फुपूसँग धारागोला घाँस काट्न जान्थेँ । एक मुठा घाँस पुर्‍याउन बाउको बिहे देखिन्थ्यो । बाल्यकालको कुरा हो नि  । भानुभक्तले रम्घामा घाँसीले घाँस बेचेर कुवा खनाएको किस्सा लेखेको आलोचित भयो । साँच्चै मेरो जस्तो अवस्था आए घाँस बेचे भन्न सकिने रहेछ । के रम्घामा तेतिखेर घोडा पक्कै परिवहनको साधन थियो कि थिएन होला! पक्कै हुनुपर्छ  । तेसो भए त निश्चय नै घाँस बेच्यो है । यो एउटा अनुमान पनि । केटाकेटी उमेरमा  एक रुपैयाँ कमाउनु उत्पात कमाई थियो होला त्यो बेला । सायद इच्छाहरू सीमित थियो त्यो समय  । पैसालाई नियन्त्रण गर्ने इच्छा मुख्य रहेछ  । इच्छालाई साधनको उपलब्धताले पनि प्रभाव पार्दो रैछ । साधन सीमित थियो नि तेतिखेर । अहिले हिन्दु दर्शन बौद्ध दर्शनको इच्छालाई काबुमा राख्ने सिद्धान्त कहाँ टिकेको छ त  ?  अहिले भए ऋषिहरू तथा बुद्ध पनि आइफोन बोक्थे होलान् । वा सिद्धार्थ बुद्धत्व प्राप्त गर्नै सक्दैन थिए कि । गुगल गरी बस्थे सायद । यशोधराले मायावी मेल पठाएर फर्काइहाल्थिन् होला । उनलाई पत्नी पीडक, अयोग्य ,भगुवा पिता आदि आरोप लाग्न सक्थ्यो । हाम्रो न्यायाधीशहरू न्यायमा विभाजित हुन्थे होलान् । रखेल, गलफ्रेन्डहरूले मुद्दा हालेर सिद्धार्थको धज्जी उडाउँथे ।  सायद बुद्धले आत्महत्या गर्थे । जसरी सिताले तेतिखेरै आत्महत्या गर्ने कोसिस गरिन् । धेरै भए सिद्धार्थ प्यानलिस्ट हुन्थे । सम्भाषण दिन्थे । उनको आर्टिकल नोभल हरारेको भन्दा धेरै सर्च हुन्थ्यो । उनको अभियानमा इतर हिन्दु सङ्गठन निर्माण हुन्थ्यो सायद । हामिले आइटी सम्पन्न आनी लामा साधु देखिरहेका छौँ  । उनीहरू इच्छालाई काबुमा राख्छन् भन्ने सत्य अब पुस्तकको पानामा सिमित भयो ।  कुरा घोडावाल वास बसेको साँझ ठूलो फोसीमा बगडा चामलको भात र मुसुरी दाल पाक्थ्यो । घोडावाल र भारी लादिएको घोडा झिसमिसमै हिँडिसक्थ्यो । वातावरणमा घोडाको गन्धले साम्राज्य जमाउथ्यो । पहाड जान लादिएको घोडा कहिलेकाहीँ ओरालै कुदेर मालिकहरू दिक्दारी र हतासले बहुलाउँथे, रुन्थे । जसरी विश्वकै शक्तिशाली बहुमतको वामपन्थी सरकार जनताको सपनाको भारी बोकेर ओरालो लागिरहेको छ । तेतिखेरको घोडावालजस्तो वामपार्टि असीमित रूपमा छाडा राउन्ड चलाइरहेका छन् । आफैँतिर फर्किने बुमर्‍याङको असंवैधानिक चाबुक घुमाइरहेका छन् । मैले जेङ्गिज खाँ त कहाँ देख्नु तर ती कागते भोटेहरू घोडचढीमा जेङ्गिजकै सन्तान झैँ थिए सायद । प्रत्येकसँग चार पाँचवटा घोडा हुन्थ्यो । तराईको चामल मकै मसला सुर्ती नुन पहाड लाने पहाडको सागसब्जी, अलैँची, नगदे बाली तराई ल्याउने आर्थिक साम्राज्य चलाएकै  थियो ।
हामी बिहान मुसुरी दाल र बगडा चामलको बासि भात उन्मुक्त भै तताएर वा चिसै पनि खान्थ्यौँ । मुसुरी दाल र बगडा चामलको घुर घोलिएर नयाँ गन्धको निर्माण भएको हुन्थ्यो, औधी मनपर्थ्यो । बच्चालाई खान पाए अजरु के चाहिन्छ र हाउ ।  एउटा अलौकिक । जीवन भोगेर आएको हो नि हामी सबैले ।  सम्झँदा पनि कम्ता रोमाञ्चित भइन्छ ।  त्यो समय तेत्ति पनि खान नपाउनेप्रति समवेदित हुनुपर्छ नि मैले । कति छाकहरू भोकै बिताएको अमूल्य स्मृतिहरू छन् मसगँ ।

तीस सालतिर बहुत ठूलो आँधी आयो पूर्वमा ।  आचार्यको ठूलो भैँसी गोठ थियो बर्नेमा ।  शशी तेत्रो भैँसीको हेरचाह गर्थे । दुईचार लिटर दुध र दुई मानाको भात खाजा मात्र हुन्थ्यो उनलाई ।  सय भैँसी हेर्ने तेति नखाई हुन्छ ? त्यो बेला नै खन्चुवा बलवानहरूको समय थियो । धुपिङ माङ्जाबुङमा एउटा कटुवाल थियो रे जो दुई हलको बारीको मकै एक्लै पोलेर दुई ठेकी दहीसँग खाने र पाद्दै सबै ढोड एकै भारीमा बोकेर हिँड्थ्यो रे । त्यसपछि एक हप्ता नखाई बस्थ्यो रे गोहीजस्तो । अर्को बलवान् खन्चुवा महाशेर दिउँसोतिर यासोक बजारमा आएपछि सब थुरुरु हुन्थे रे । राँगा काटेको ठूलो फोसीको रगत सबै पिएपछि थु-थु गर्दै थुक्दै बजारको एकापट्टी पिसाब फेर्दै शिरपुछार हिँडेपछि एकलाइन बजार सकिन्थ्यो रे । एकछिन बिसाएर फेरि अर्को लाइनको राँगाको रगत तन्तनी पिएपछि त्यसरी नै पिसाब गरेर सबै बजार उठाइदिन्थ्यो रे । तेतिन्जेलमा साँझ परिसक्थ्यो रे । उनै महाशेर आसामबाट फर्किदा धुलाबारीमा एउटा पहलमानले चटक देखाइरहेको रहेछ । पहलमानले युद्धको लागि भिडलाई लल्कारेछ  । महाशेर चुपचाप मैदानमा आएछ । धेरैले ‘हाउ लुङा सक्छौ के ?’ भनेछन् । कतिले हाँसेरै भाउ नै दिएनछन् ।  भारतीय पहलमान टाङमुनि छिरेर चक्मा दिने हिसाबले एक्कासि छिरेछ । महाशेरले टाङ टाइट गर्देको पहलमानको घाँटी चेपिएर झन्डै गुहु नै निक्लेछ । अरूले हात जोडेर छुटाए रे ।  अहिलेको खाली बिगसो जस्ता बलियो मान्छे  गाउँ भरी थियो नि त्यो बेला । यसो भन्दा महाशेरको अत्याचारको मेरो सहमती पटक्कै होइन । अहिले पनि सत्ताको महाशेरहरूले कहाँ बसिखानु देको छर हामीलाई  । शशिको कुरा त्यो बेला नाटक मञ्चन हुँदा शशी खिसीटिउरीको पात्र बनाइन्थ्यो गाउँमा । शशी सामन्ती सत्ताको दलनको एक जीवित उदाहरण थियो । काम गरेर साहूको सानमा पसिनाको नदि बगाउने उ निर्मम अवहेलनाको पात्र थियो । मानिसहरूले त्यो हास्य्को गाइँगुइँ विरोध गर्थे । तथापि सतहमा आइहाल्दैन्थ्यो । आजकलको मुन्द्रे कमेडी र नेपाली भारतीय सिनेमाको हास्य सिरियल कमेडी विथ कपिल सो आदि सबै अरूलाई होच्याएर मनोरञ्जन लिने त्यही सामन्ती सोचको निरन्तर पराकाष्ठा हो । तीस सालतिर एक ठूलो आँधीले बर्नतिरको सखुवाको रुख सोतर पार्‍यो । त्यो रुखले चालीस जति भैँसी किचेर मार्‍यो । मानिसहरूले गाउँभरि भैँसीको मासु सकेसम्म बोकेर ल्याए  । त्योबेला भैँसीको मासुको गन्धले वाकवाकी दिकमिक लागेको थियो । सम्झना पनि जिरिङ्ग हुन्छ ।  जङ्गल भरि भैँसी विशाल रुखहरूले किचेको थियो ।  रुख यति भयङ्कर थिए ती पाँच सय वर्ष ज्यादा पुरानो भएर दन्त्य कथाको अजङ्गको पात्र झैँ रहस्यमय भीमकाय थिए ।

दुईचार बिघाको चिस्यान फाँटमा जहाँसुकै हुन्थ्यो । छेउमा जाँदै निगुरो गनाएर वाक्कै लाग्थ्यो, टाउको दुख्थ्यो ।  असारमा पानी परे पछि जिब्री साग देब्रे लहरा गिट्ठाको जङ्गल हुन्थ्यो । जिब्री साग देब्रे लहराको ठ्वास ठ्वास परेको डुकु सब्जी खान टिपिन्थ्यो ।  अनिकालमा गिट्ठा खरानीमा उसिनेर दसौँ चोटि पखालेर खाँदा पनि तितोले थुकै तितो हुन्थ्यो ।  कालुङ्गे च्याउ, झरी च्याउ भुइभरि उम्रेको हुन्थ्यो ।  डोकोभरि टिप्दा पनि सकिन्दैनथ्यो । कोही बेला खुट्टाले लितिपिती पारेर हिँडिन्थ्यो । कस्तो अबुझ थियौँ नि हामी । रुखभरि चाम्रे च्याउ उम्रेको हुन्थ्यो, रुखै सेतै । पत्त्याउनै गाह्रो ।  बर्ने चिया बगानमा अमृत तामाङको आमा, बाबू र अरू दुई परिवार चौँतीस सालमा जङ्गली मकैको साग खाएर दैलै लाएर अकाल मरे । ट्याक्टरले भद्रपुर अस्पतालबाट लास खेप गरेको कहालीलाग्दो विभत्स दृश्य थियो ।  अमृत सानैमा टुहुरा भएको थियो । अमृत हेर्दाहेर्दै टुहुरा हुँदा मेरो मनमा कैयौँपटक आँधी गयो ।  तर उ नाभो सतिसालजस्तो परिस्थितिसँग पौठेजोरी खेल्दै हुर्क्यो । पैँतालीस सालमा नजिकै गाउँमा जङ्गली च्याउले मात्दा कालो कुकुर खोजेर ल्याए । त्यसलाई जबरजस्ती कुटेर छेराएर त्यसको छेर बिरामीलाई खुवायो भन्ने सुनियो बेलुकाखेरि । गाउँमा सुन्नेहरू नै उल्टि गर्दै थिए । होइन कुट्दा कुकुरले छेर्छ चैँ कसरी ? हामीले सोचेको भन्दा ज्यादै फरक ढङ्गले समाज चलिरहेको हुन्छ ।  यो समाजशास्त्रको छोपिएको रहस्य होला ।  गाउँको अन्धविश्वास पनि हदभन्दा ज्यादा हुन्छ । जति हामी कल्पना गर्छौँ । टाइफाइड हुँदा थाङ्ने ज्वरो भनेर घोडाको लिदी छानेर झोल खुवाको कथा गाउँमा हिजो अस्ति बुढाहरू नामै तोकेर भन्थे फलानाले फलानालाई खुवाएर बचायो ।  झगडा परिगयो भने त झन् ‘तँ फुटानी नला घोडाको लिदी मैले खुवाएर बचाएको’ भन्ने डायलग आएपछि मान्छे फेरि अर्को पल्ट जिउँदै मर्छ नै । के थाहा किन खुवायो ? कसले यो सिकायो ? समाज अनभिज्ञ छ । खानेले थाहा पाएर पछि उल्टि गरि टोपलेको किस्सा निकै चल्यो । संसारभरि नै यहुदीहरू अब्बल वैज्ञानिक हुन् । हिटलरले तिनै यहुदीलाई नयाँ औषधि आविष्कार गर्न लाएपछि सिधै यहुदीमै प्रयोग गराउँथे रे । उनी यहुदीको मृत्युपूर्वको पीडा र छटपटी हेर्थे रे सायद हरेक गाउँमा कुनै हिटलर हुन्छ नै ।  हामी समयको हिटलरहरूको दमनबाट बचेर यहाँसम्म आइयो ।  अब अझै कति लोकतान्त्रिक हिटलर सहनु पर्ने हो ।

तपाईंलाई यो पनि मन पर्न सक्छ

भैरब अर्याल

भैरबको मृत्यु पछि – कणाद महर्षि

अशोज १९, २०७८
विनीता सिंह

विनीता सिंहः कवितामै बाँचेकी कवि – शरद प्रधान

असार १२, २०७८
पारिजात

मीतज्यू नाइट पहिलो साँझ – पारिजात

असार १०, २०७८

पूर्वको जङ्गली फूल – थाम्सुहाङ पुष्प सुब्बा

असार ५, २०७८

आजकल मसलको भन्दा मसिनको दिन आयो तथापि मानिसहरूले मसिनको धुवाँदार विरोध गर्छन् । एक श्रम खोसिएको अर्को पर्यावरण विनाश गरेको जिकिर छ । कति वडाध्यक्ष देखि अध्यक्षसम्म जेसिबिको धन्दामा फसेका छन् । झन् सरकार नै बालुवा गिट्टी बेचेर ऋण तिर्ने भन्छ । कति गैरजिम्मेवार अराष्ट्रिय  निर्णय  सरकारको ।  गिट्टी ढुङ्गा बालुवा उत्खननले चुरे विनाश हुने पर्यावरण सङ्कट निम्तिने कुरा कसरी राष्ट्रिय बजेटमा पर्छ भन्ने निष्कर्ष छ ।  घाम जतिकै सत्य कुरा कसरी होइन भन्न सकिन्छ । मसिन प्रयोगले पर्यावरण नष्ट गर्ने आर्थिक चलखेल गलत मनसायले हुने कुरा सत्य रहेको बुझेको हो । तथापि द्रुतगतिमा हुने विकास मसिनकै श्रेय चाहीँ हो । अझै केही मानिसहरू गिट्टी बेच्न सकिने तर्क राख्छ्न । कति विकसित मुलुकले यो काम गरेको तथ्यांक पेस गर्छन । मलाई यो काम कुनै हालतमा ठिक लाग्दैन  । बस्ती बसाउन सकिएला पैसा होला उद्योग सञ्चालित होला । तर पानीको श्रोत वन्य जन्तु बोट बिरुवा भौगोलिक रमणीयता कदापि प्राप्त हुदैन । ठूलो भुगोल भएको मुलुकले गर्न सक्ला तर हाम्रो जस्तो सानो मुलुकले जोगाएरै वैकल्पिक प्रयोगले उन्नति गर्न सकिन्छ । बेचेर होइन ।

विकासको नाममा हामीले ग्लेडरले नाली खनेको बाटो सम्याएको पहिलो पल्ट एकतीस सालमा देखेको हो । त्यसपछि बुलडोजर आयो ।  त्यसले बढे बढे रुख पनि तीन चार वा आठ दस धक्कामा ढाल्थ्यो मानिसहरू तीनछक्क पर्थे । अहिले जेसिबिले संसारभरि नै तहल्का मच्याइरहेको छ ।  विरोध उस्तै जण्ड छ । हाम्रो पहाडमा सडक जेसिबिकै कारण पुग्दैछ । भीर पनि भत्किँदै छ । खोला बालुवा झिकेर सुक्दैछ । यो पाली २०७७ मा नेपाल विश्वको प्रथम प्रदुषणयुक्त देश भयो । त्यसको कारणहरू पानी नपर्नु, भिरपाखा बस्ती चारै तिर सडक खनेर धूलोको कण वायुमण्डलमा मिसिनु, सात सय ज्यादा जङ्गलमा स्थानीयले घाँस च्याउ काठको लोभमा आगलागी गराउनु हुन सक्छ ।  दोष सरकारलाई जाने नै भयो । विश्वकै एक मात्र शक्तिशाली संसदीय वामपन्थी सरकारको राजनीति पनि डढेलो लाग्यो । आगो निभाउने अग्नि रेखाहरू कमजोर भयो मात्र होइन आफैँ आगो सल्काए । ठूलो विशाल तरीमा डढेलोबाट जङ्गल जोगाउन  उहिले फारलाइन हुन्थ्यो ।  फारलाइन क्षेत्रमा चालीस फिट जति
चौडाइमा रुखहरू हुँदैन थियो । निकै तल परसम्म छ्याङ्ग देखिन्थ्यो । यो एक अग्नि रेखा थियो ।  नेपाली वामपन्थी राजनीतिको अन्तरवस्तु कहिले जनताले छ्याङ्ग नदेखी भत्कियो ।  सद्भाव संवाद सहकार्यको ठाउँमा सडेको हैकमको पत्कर थुप्रेर आगो लाग्यो ।
जनता रमितेदेखि बाहेक आगो निभाउन प्रयत्नशिल भए पनि पार लागिरहेको छैन । बरु आगो सल्काउन उद्दत देखिए ।  आगोको भलिबल चलिरहेको छ ।  खेलाडीहरू औधी गुल्चे छन् । अम्पायर आफैँ खेल्ने दाउमा छ ।

यो मेची राजमार्ग पैंतालीस सालमा कोरियन कम्पनिबाट ठेक्का पारेर कालोपत्रे भयो । त्यो भन्दा अघि धुलो उडेर सपनामा पनि निद्रामा ऐठन हुन्थ्यो । राजनीतिले भने कोल्टे फेर्यो भनेको अहिलेसम्म नै नेपाली जनताले ऐठन भोगिरहेका छन् । साम्सद सरुवा र बिक्रीको घृणित दुर्गन्ध फैलिएको छ । जनताको सपनाको भोटले सर्पको जस्तो विष उत्पन्न भएका साम्सदहरूले लोकतन्त्रकै धज्जी उडाएका छन् । यति सुन्दर राजनैतिक सिद्धान्तलाई कुरूप बनाएका छ्न । आउने निर्वाचनले यो कसिङ्गर बढार्छ नै ।
तेतिखेर कोरियन कम्पनिले सडक निर्माणको लागि सिमेन्ट कोरियाबाटै ल्यायो ।
मानिसहरूले कोरियन सिमेन्ट चोर्नु चोरे । त्योबेला गाउँ घरमा पहिलोपल्ट सिमेन्टको धेरै काम भयो । कोरिएन इन्जिनियर छाले सिमेन्ट चोरिको खानतलासि लियो ।  गाउँमा गोठ खोल्मा खाल्टो सब जाँच्यो । तेस्तै अहिले नेपाली वामपन्थी पार्टीले कार्यकर्ताको खोल्मा गोठ जाँच पड्ताल गरेर खोल्माबाटै उठाएर राजनीतिमा मुखै नधुएकाहरूलाई केन्द्रिय समितिमा सामेल गराएर आगोको खेलमा उतारेको छ । त्यो खानतलासिमा कति ठाउँमा भेटेर पक्राउ पनि परे । वास्तवमा छाले स्वयम् कति ट्रक
सिमेन्ट बेचेको आरोप रहेछ । उसको कम्पनिको त्यो आरोप मेट्न पनि उधुम मच्चाउने नाटक गरेको रहेछ । बाटोमा तेतिखेर पैंतालीस सालमा म नालि सडक बनाउने ठेक्कापट्टामा सम्लग्न थिएँ । नेपाली कन्सल्टेन्टले चार एकको सिमेन्टको मसला बनाउनु भन्थ्यो पर्खाल हेरेर भत्काई दिन्थ्यो ।  छा आएर बार एकको मसला बनाउनु “सिक्या” भनेर गालि गर्थ्यो । पछि बुझियो यो काम छाले आफुले घोटला गरेको सिमेन्ट पुर्ताल गर्न यसो गरेको रहेछ ।  तर नेपालीले सानो परिणाममा चोरेको पनि हो ।  चोरहरू देशभित्र र देश छोडेर विदेशमा पनि देशको बदनाम गर्न उतिकै  सक्रिय हुने मानवीय स्वभाव संसार भरी नै रहेछ ।  त्यही भएर चिनमा अदालतले मृत्यु दण्डको फैसला सुनाउँछ ।  तर मृत्यु दण्ड आफैँमा कदापि उचित सजाय भने होइन । झ्वाँकमा बोले जस्तो कदापि हुन्न ।  दण्डितहरूले पश्चाताप गरेको क्षण शून्य हुन्छ । त्यो पश्चाताप त संसारलाई औधी काम लाग्ने चीज हो ।  निर्दोषलाई सजाय भयो भने त्यो जति अपराध अरू के होला ।  यता हाम्रोमा सत्ताको आडमा अपराधीहरू खुलेआम सज्जनको भेषमा निर्धक्क बाचिरहेका हुन्छन् ।  यो त राज्यको झन् ठूलो अपराध हो ।

हिँड्दै जाँदा इतिहासको ढुङ्गेघारी पुगियो । आज अचानक रुट परिवर्तन गरेँ । यसो गर्नु हिँड्नको बेग्लै मजा हुन्छ । ढुङ्गेघारीबाट दाहिने मोडिएँ ।  यो चोकमा तीसको दशक दुईवटा फुलबडी ट्रकले टिमाई खोलाबाट सडक निर्माणको लागि ढुङ्गा ओसार्थ्यो हामी लुकेर  चढथ्यौँ । चालक पन्जाबी  मूलका थिए  । उनीहरूको अनेकौँ किस्सा थियो । यौनजन्य किस्साहरू ज्यादै सनसनीपूर्ण थियो । एक तिरुवा थरकी कन्या अति सुन्दर थिइन् ।  शंकालाई बल पुग्ने गरी उनकै घरमा निरन्तर बसिरहेको देख्नाले हामीलाई हो रहेछ लाग्थ्यो । तर यो मात्र शंका हुन सक्दैन भन्ने प्रमाणहरू कतै बाहिर आएन । समाजमा पहुँच कम भएका निम्न वर्गप्रति समाज कति प्रतिरोधी छ भन्ने नेपाली समाजको यो एउटा मात्र उदाहरण काफी छ । समाजमा कुनै महिला सुन्दर हुनै नपाउने । भइहाले त्यो सुन्दरता व्यक्तिको निजी सम्पत्ति नभएर एक्कासि सार्वजनिक  भइहाल्ने  ?  उसको रूपको उसको अङ्गको आफू मालिक हुनै नपाउने । समाजले नै विश्लेषण सुरु गर्ने । समाजले नै स्वामित्व अनधिकृत रूपमा लिने । जबकी स्वयम् व्यक्ति अनभिज्ञ छ । समाजको चरित्र हो यो । हामीले त्यही भएर निजत्व र व्यक्तिवादी वैचारिकिको निर्माण गर्यौ होला । आफ्नै समाजको गैर चरित्रमाथि अङ्कुश लाउन ।

मलाई चिया कमानको विगत फ्ल्यासब्याक भयो । म चियाको एकनास मिलेको बुट्टा छेवैबाट हिँड्न थालेँ । सहरमा यो सब कहाँ पाइन्छ । अहिले म गाउँमा छु नि त  । त्यसोर यी सुन्दर कुराको समीपमा छु ।  मलाई उहिलेदेखि चिन्नेहरू यही छन् । मेरो आन्द्राभुँडी जान्नेहरू यही छन् । मेरो शत्रु मित्र सबै यहीँ छन् । सुखै मात्र भएको स्वर्ग पनि  बोरिङ नै छरे । होला त्यहाँ  दुख नभएपछि दिक्दार होला । कारण सन्सारको सुखदुखको निवारणकै कारण विकसित भएको हो ।  मैले चियाको बोटमा पसिना बगाउने मजदुरको दुखलाई आत्मसात् गरेँ  । तेतिखेर नेपाल चिया विकास स्थापना भइसकेको थिएन ।  बर्नेमा ठूलो प्राकृतिक वन थियो ।
२०३३ सालमा बगान स्थापना गर्ने भनेपछि जङ्गल फाँडियो ।  बाह्र सय हेक्टर जमिनमा चिया खेती गर्ने पञ्चायतको उद्देश्य थियो । हेमान हेमान सखुवा, करम, धमेरो, साज, कुम्भी, पाडरी, सतिसाल, सिसौँ, खयर, चाँप, हर्रा, बर्रा, मैना काठ, टुनी, दबदबे, आँखातरुवा सिमल, वर, पीपल, साधन, लालिकाठ, दार, भलायो, जमुना, लाटिकरम, असारे, राजवृक्ष, शिरीष, आदिहरू धेरै जातको रुखहरू वर्षौँसम्म ढालियो । रुख कटान र बेच-बिखनका लागि टिम्बर कर्पोरेसन स्थापना गरिएको थियो  । रुख काट्न कर्पोरेसनले, चेन स, स्वचालित आरा ल्याएको थियो । यो पेट्रोलले चल्थ्यो । स्टार्ट गरेपछि एक्सलरेटर दाब्दा जोडले कराउँथ्यो ।  हात्तीले हदै दुख दिने, कर्मचारीहरूले राति चेन स स्टार्ट गरेर हात्तीको सातो लिए ।  अलिपछि त हात्ती उल्टै चेन सजस्तै कराउन थाल्यो । रुख काट्ने मानिसहरू पूर्वी पहाड र मधेसबाट रोजगार खुलेकोले भेला भएका थिए ।  जङ्गल रुख ढलेको गिँडेको र जेएमसी ट्रकमा लोड गरेको आवाजले गर्दा होहल्लाले भरिएको हुन्थ्यो ।  हामीले शक्तिमान् ट्रकले उरुङ उरुङ लट्ठा बोकेर हिँडेको देखेर रमित हेरेको तेतिखेरै हो । लट्ठा लोड गर्न एक प्रकारको टिम वर्क कला सङ्गीत चाहिन्थ्यो ।  त्यो सङ्गितमा निरन्तर चाहिने साहस पनि तेतिखेरै देखेको हो । लोड गर्ने मजदुरहरू सबै भारतीयहरू थिए ।  भयङ्कर गोलाई र लामो टुना पनि एकाध घण्टामा गाडीमा लोड हुन्थ्यो । तेस्तो अजङ्गको टुना लट्ठाले बाँध्ने कला । लट्ठालाई गाडिको उबड्खावड वेगमा नखुस्किन सानो काठको साँचोको महत्व तेतिखेर देखेर अचम्मित भएको हो म ।  जीवन सानो सानो साँचोले चल्छ ।  कहिलेकाहीँ जिन्दगीको साँचो कस्दै गर्नुपर्छ नि त । आजको जस्तो ठूलो मसिन थिएन त्यो समय  । सबै काम हातैले र मानव बलले गर्नु पर्थ्यो । एउटा नाइकेले “जोड से, और ठेलो” भन्दै भट्टाउँथ्यो अरूले एकै स्वर र बलमा बहम्बा, बहम्बा, हैँसे हैँसे भनेर बल गर्थे यो निकै सङ्गीतमय थियो । तेत्रो तरी यस्ता लट्ठा चढाउनेहरूले गुन्जयमान हुन्थ्यो । भारतीयहरू दक्षिण एसिया देखि युरोपेली अमेरिकाली मुलुकभर छाउनुको कारण उनीहरूले सिकेको कौशल र प्रतिकुल समयमा खपेर बस्न सक्ने धैर्यता नै हो । बुधबारे हाटियामा उडुसको साङ्लाको दबै बेचेर मुरै र पानी खाएर बाँच्ने मधेसीहरू नै थिए ।  धैर्यताको जिन उनीहरूसँग छ ।  तेतिखेर रुखहरू सखाप पारेर काटियो । यो प्रकृतिको एक प्रकारको सर्वनास नै थियो ।  पूर्वी पहाडी इलाकाबाट मानिसहरू रोजगारीको दौरान आराकाट्न आएका थिए । कालिखोलाको ठुटालाईन त्यसरी नै तेत्तिस साल उता बगानको जग्गामा सानो बुट्टादेखि सखुवाको अजङ्ग ठुटा उखेल्नका लागि बसोबास गरेको क्षेत्र हो ।

यो चोकमा दुईवटा घुम्ती राखियो  । पचासको दशकमा मावोवादी जनयुद्ध सुरु भयो । मेरो छिमेकी त्यो भन्दा ज्यादा एक बालसखा परम मित्र प्रहरीमा जागिरे भयो । ऊ घर कहिले आउँथ्यो मलाई थाहा हुँदैनथ्यो ।  सुनिन्थ्यो यो चोकको फलैँचामा रातभरि एउटा मान्छे बस्छ ।  उनै प्रहरी मित्रलाई थाहा थियो होला सायद यो कुरा ।  भाग्यवश कुनै दुर्घटना भएन । सम्भावित अप्रियताले हामीलाई छुट्टाएन  ।

अहिले यो मन्दिर चोक भएको छ । हुन चाहिँ यो क्षेत्र सामुदायिक भवन निर्माण गर्ने भनेर लिएको हो । बगानसँग निकै बलजफ्ती गर्नु पर्यो ।  । सुरुमा एक पक्षले मन्दिर बनाए पछि त्यो मिसन तोडियो ।  यो अहिले किराँतेश्वर मन्दिर चोक छ । तीनवटा मन्दिर छ, गुम्बा समेत गरेर । यो हाम्रो गाउँको सहिष्णुताको नमुना हो । मन्दिर छेउमा घर हुनु ज्ञान र हल्लाको जबर्जस्त ग्राहक बन्नु हो ।  संसारमा कति कुरा नचाही स्वीकार गर्नुपर्छ । त्यो मैले स्विकारेको छु । मन्दिर चलाउनेहरूले बुझ्नुपर्छ । माइक फर्काएर चाहिने भन्दा ज्यादा आवाजमा अर्ति उपदेश छाँट्नु अध्यात्मिक तर्कहरू बेला न कुबेला राख्नु मानिसहरूलाई अनाकर्षक बनाउनु सिबाय केही होइन भन्छन् सुन्नेहरू । आध्यात्मिक शालिन तर्क र चिन्तन ठूलो अध्ययनपछि मात्र प्राप्त हुन्छ ।  त्यो शालिन भद्र र आवश्यक बेलामा मात्र राख्नु ठीक हुन्छ ।

तथापि यो मन्दिरबाट पनि मैले धेरै ज्ञान प्राप्त गरेको छु । जबर्दस्त नै सहि अध्यात्मको थोरै खोजीमा लागेको छु ।
नानीहरूको परीक्षा हुन्छ । मानिसहरू कामबाट थाकेर वास फिरेका हुन्छन् । शान्तिको चाहना हुन्छ । घरमा पाहुना आएका हुन्छन्  । कोहि अशक्त बिरामी हुन्छन्  । मन्दिरबाट एकोहोरो अर्ति उपदेश हाइभोल्टेजमा घरको कोठाकोठा पसिरहेको हुन्छ । हामीले हाम्रो कुरा शान्तसँग आफ्नोलाई मात्र सुनाउने होला । ज्ञान त खोजेर लिएको राम्रो नि ।  मन्दिर अध्यात्मिक ज्ञानको स्थल बनाउनु आफैँ ध्यानस्थ बन्नुपर्छ । लोकतन्त्रमा अरूको कुरा सुन्न नचाहन पाउने व्यक्तिलाई पूर्ण अधिकार हुन्छ नै । जे भए पनि धेरै मानिसहरू सङ्गठित भएका छन्  । स्थानीय निकायले लगानी पनि गरेको छ ।  मन्दिरमा पैसा लगानी नगर्नु राम्रो भन्ने नयाँ चिन्तन समेत सुरु भैरहेको छ । कारण विकासको अरू क्षेत्रमा लगानी गर्नु प्रत्युत्पादक हुन्छ भन्नू हो । मन्दिर, गुम्बा, माङ्हिम पनि सभ्यताको एक पुरानो केन्द्र हुन् । अब चाहिँ केन्द्रहरू परिवर्तन भएको छ ।  जबर्जस्त नै सहि मैले यो मन्दिर गुम्बाबाट आध्यात्मिक चिन्तनको मेहेरो पक्रेर भित्र प्रवेश गर्ने प्रयास गरेको छु ।  पुग्दा हुँदा धार्मिक आस्थाको केन्द्र निर्माण गरेको पनि राष्ट्रकै उन्नति र समृद्धि हो ।  सबै काम सहिष्णु भएर गर्नु उत्तम हो ।

चिया बगानबीचबाट  हिँड्दै जाँदा निकै अघि मौसमी मल्लको सुटिङ्स्थल पुगियो । जुन ठाउँ मन्दिर कटेर चिया बगानको क्षेत्र प्रवेश गरेको थिएँ ।  यो चिया बगान २०३३ सालमा स्थापना भएको हो । यो चवालीस वर्षे मस्त जवान भयो ।  सन २००८,साल २०५८मा भारतीय त्रिवेणी ग्रुपलाई वार्षिक ४० लाख भाडामा निजीकरण गरिएको हो । ६५% सेयर त्रिवेणी ग्रुपको र ३५% राज्यको सेयर रहेको छ ।  सन १९९२ देखि निजीकरण सुरु भएको नेपाली संस्थानहरू कुनै नाफामा छैन । उल्टै श्रमिकहरूको दोहोलो र शोषण भएको छ ।  सुरुमा रोपिएको खाँकर प्रजातिको रुख काठ आउने भएपछि त्रिवेणी ग्रुपले बिक्री गर्‍यो । बगानको सुन्दरता त्यसपछि खच्कियो ।

बिक्री गर्न मिल्ने नमिल्ने पक्षमा मतमतान्तर भए । वन समूहले रुख काट्ने अधिकारको लागि प्रयत्न गर्‍यो तर सफल भएन । जनताको सुनुवाइ भएन । राज्यले सोचेन वातावरण संरक्षणमा त्यो रुखहरूको कति महत्व थियो भन्ने । बर्नेमा बगानले नै मसला, युक्यालिप्टस जातको रुख र रातो शिरीषको रुख २०३८ सालतिर सडकको दुवैतिर रोपेको हो । जुन अहिले चर्चामा छ । धेरै रुखहरू विभिन्न चरणको आन्दोलनमा काटियो । कुनै दाउरा काटे कुनै विद्युत लाइन प्रसारणमा काटियो ।  मसलाको रुखको विशाल बोटहरू अहिले देख्न सकिन्छ । यसलाई गमट्री पनि भनिन्छ स्थानिक भाषामा । सायद चिया हेर्ने ब्रिटिसले भन्यो होला । यो रुख अस्ट्रेलियामा कोला जनावरको मुख्य आहार हो ।  बर्नेको विशाल बगान देखेर
त्रिवेणी ग्रुपले चिया कारखाना सञ्चालन गरे पनि फेरि बन्द गर्‍यो । वर्कसपमा बेलायतबाट ल्याएको धेरै कलपुर्जा थियो त्यो के गर्‍यो था भएन । सुनिन्छ अहिले तिनीहरू गायब छन् ।

बगानकै छेउमा पिपलको रुख देखियो । यो रुख मौसमी मल्ल र केशव भट्टराईको जोडीको सुट गरेको  पुकार नेपाली फिल्मको साक्षी हो ।  केशवलाई निर्देशकले मौसमीको अँगालो फुकालेर फुल टर्न गर्न निर्देशन दिएका थिए । केशवले मौसमीको पाखुरा दुईवटा औँलाले पक्रेर हटाउँदा के तिमीलाई घिन लाग्यो भनेर गाली गरेका थिए  । हामी दर्शक गलल हाँसेको थियौँ  । केशवको यो पहिलो फिल्म थियो ।  नेपाली फिल्मको कोरा आर्टिस्टहरूले धानेको फिल्म उद्योग मर्नभन्दा घिट्घिटोले बाँचेको थियो लाग्छ आजकल । बर्नेमा सबैभन्दा पहिले आरएक्स बाइक ज्ञान बहादुर दाइले चढेको हो ।  सरोज खनाललाई एकपल्ट बाउसँग रिसाएर भाग्ने सिन लिनु थियो । बाइक ज्ञान दाइको लगे ।  सिने उद्योग मागमुङमा नै चलेको हो । हामी पनि स्पटमा हेर्न गयौँ । बगानको रेखदेख क्याम्बेल स्वेटर आदि ब्रिटिसहरूले गर्थे । अहिले पनि त्यो कोठी छदै छ । फूलबारी भव्य हुन्थ्यो । सुटिङ गेटमै थियो ।  सरोजले बाइक रिसाको झोकमा यु टर्न गरेर धूलो उडाएर गेट कटाएर लग्यो सिन ओके भयो । दाइ हिँड्ने भए  । खोइ को पनि पछाडी बस्यो  । गेटलाई बाइकले अलिकताले छोएन बाइक गएर बरराको पात झरेर थुप्रेको ठाउँमा नालीमा पस्यो । धन्न चोट लागेन । नजिककाले उठाउन मद्दत गरे ।  दाइ उठेर घर लागे ।  मैले निमेषमै यो दृश्य चिउव हुँदै आँखामा कैद गरेँ  । त्यो बरराको रुख हाम्रो बचपनको दिवा खाजाको स्रोत थियो ।  रुख चैँ अहिले पनि छ । तर आजकल त्यहाँ बररा टिप्दै गरेको बच्चाहरू देखिँदैनन् । बरु त्यही बाटोबाट कुर्मुरे चिप्स खाँदै हिँड्ने बच्चाहरू छन् । आजकल बाँदरले जङ्गली फल ढुङ्गामा राखेर अर्को ढुङ्गाले कुटेर फुटाई खाएको युट्युबमा हेर्छौं  । समय कति हताससँग फेरिएको छ । म यहाँ नआएको पनि वर्षौँ भएछ । यही एउटा सखुवाको रुख थियो  । त्यो रुखमुनि खोलाको पानी ल्याएर झारेको एक मान्छे अग्लो धारा थियो । त्यो ढुङ्गेल धाराले चिनिन्थ्यो । तेस्तो धाराहरू नै त्यो बेलाको पिउने पानीको स्रोत थियो । गैरिगाँउ क्याप्छाकी धारा, हरिसिद्धी धारा सुबेदार धारा काठमाडौँको ढुङ्गेधाराजस्तो बर्नेको चर्चित धारा थिए ।  एक दिन चौकीदार वीर बहादुर तामाङ रात्रि डिउटी सकेर झिसमिसमा घर फिर्दा धारामा कपाल फिँजाएर कुनै महिला नुहाउँदै रहेछ ।  को रहेछ भनेर बैनी भन्दै बोलाउँदा एक्कासि फर्केर ङिच्च दाँत देखाएछ उनी तर्सेर कुले हानेछन् । एक हप्ता बिरामी भए रे ।  त्यो किस्सा निकै सुपर डुपर थियो त्यो बेला । नायक श्रीकृष्ण सुटिङ्को दौरान त्यो बाटो राती एक्लै पीपल चोक आएछन् उनलाई पनि तर्साको किस्सा सुटिङ युनिटमा बबाल चलेको थियो ।

मेरो एउटा साथी विरोधको बिमलासँग प्रेम थियो । मोबाइल बजार छिर्नुअघि गाउँमा नाटक मनोरञ्जनको मुटु थियो । हामी आफैँ नाटक लेखन र मञ्चन गर्थ्यौं । नरेन्द्र भुर्तेल, केबि गुरुङ, दीपक सुब्बापछि मैले तीनवटा नाटक गरेको थिएँ । लय सङ्ग्रौलाले यतै नाटकमा स्ट्यान्डिङ कमेडी गर्दै काठमाडौँ छिरेर देवी धारावाहिक बनाए । त्यो सिरियलको पुर्णे असिना प्रसाद भयो ।
बिमला मेरो नाटकको नायिका पनि थिई । नाटक निकै जमेको थियो । एक साँझ विरोध  मेरो घर आएर बिमलालाई बोलाइदिनू भन्यो । मैले विरोध भेट्न आको छ आऊ भनेँ । उनीहरू अबेरसम्म बगानमा हराए । निकै ढिलो घर फिरेको बिमला त्यो दिन अभिभावकको टर्चरमा परिन् ।  त्यही प्रेम सम्बन्धकै कारण बिमलाले विष सेवन गरिन् । उनको आत्माले चिर शान्ति पाओस् । आत्महत्याअघि धेरैको नाममा उनले पत्र लेखेकी थिइन् रे । त्यो उनको परिवारलाई थाहा थियो । मेरो नाममा पनि एक पत्र थियो रे । सायद त्यो पत्रमा के थियो होला ! कहिलेकाहीँ यो कुरा निकै पीडादायक बन्छ मलाई ।  मृत्युपूर्व परिवारले उनलाई नजरबन्दमा राखेका थिए  । पछि एउटा हल्ला आयो ब्रिटिस कोठीमा बिमलाको भूत आउँछ ।  चौकीदारले मध्यरातमा अम्बकको बोटमा पिङ खेलेको देखेको रे ।  सेतो सल कुर्ता सलवारमा बगैँचा घुमेको किस्सा बाहिर आयो । विशेष हामी निकै चिन्तित भयौं । मलाई एक किसिमको तनाव सिर्जना भयो  । केटाहरूले पनि बिमलाले तेरो नाममा पत्र लेखेकी थिई भनिरहे  । सम्झिन्छु त्यो अप्राप्य पत्रमा के थियो होला ? बिमलाको विष सेवनपछि उनको परिवार पनि बसाइँ हिँड्यो ।  निकै इपिसोड सपनामा आइन् बिमला ।  सेतो पहिरनमा हावामा उडेको दृश्य आइरहन्थ्यो ।  मलाई निकै तनाव भकै हो त्यो घटनाले ।

चियाबगान सुरु भएपछि नानाथरी विष आयो । विषले खोलाको माछा सक्यो । अहिले खोलामा भ्यागुता पनि छैन । विषभन्दा हाम्रो मानसिकता र कुबुद्धिले सकेको हो । पैँतीस सालभन्दा अघि खोलामा माछा बालुवा नै नदेख्ने गरी थियो ।  राज्यको नीति निर्माताहरूले सहि नीति निर्माण गर्न सकेनन्  । बनाएको कानुन पनि लागू भएन ।  अहिले पनि कानुन ल्याएर स्थानीय निकायले खोला सिमसार जोगाउने जलचर बचाउने गर्न सक्छ । त्यसो भए पर्यटन व्यवसाय संवर्द्धनको साथै पर्यावरण संरक्षणमा अहम भुमिका निर्वाह हुन्थ्यो । हामीले यति गर्यौँ भन्ने आधार हुन्थ्यो । धेरै स्थानीय निकायले यो काम गरेका छन् । हाम्रोले सोचेकोसम्म छ भन्न सक्दिनँ । सुपारीको अग्लो बोटहरूको बीचबाट गाउँ एक फेरो लाएर म घर आइपुगेँ । अलिक तल माथि कोभिडको मृत्यु प्रकोप आयो हाम्रै छेउछाउ चाहिँ सुरक्षित छ । सुपारीको बोटैबोटबीचबाट नव आगन्तुक हिँड्यो भने अचम्मित हुन्छ । अझ सुपारीको राष्ट्रिय अन्तर्राष्ट्रिय माफियाको कथा सुन्यो भने त बेहोस मात्र होइन होस आएपछि रुन थाल्ला । पैतालाको लेखक गणेशले यो रुख के हो दाइ भनेर मलाई सोधेका थिए ।  सुपारी हो भन्दा ट्वाँ परेका थिए ।  घर आइपुगेँ भन्नु ठूलै कुरा हो ।  हजारौँ बेपत्ता भएको यो देशमा म सकुशल छु ।  आखिर बाँच्नु छ ।  नेतृत्व निकम्मा भएकोले सरकारी अस्पतालमा भेन्टिलेटर आइसियु केही छैन भन्दा थोरै नै हुन्छ ।  निजी अस्पतालले बिरामीको हड्डी गालेर पैसा लिन्छ । बेसार अदुवाले धान्दैछौँ हाउ हामी । तथापि बाँच्नु त छ नै अछुत मृत्युबीच ।

 

 

लेखक परिचय

मुनाराज शेर्मा
मुनाराज शेर्मा
+ पोस्टहरु

कवि शेर्मा नेपाली साहित्यको मुख्यतय कविता विद्यामा कलम चलाउछन् भने नियात्रा, निबन्धमा पनि उनको उत्तिकै दख्खल रहेको छ । शब्दहरुको याक्सा उनको प्रकाशित कविता संग्रह हो ।

  • मुनाराज शेर्मा
    https://shabdasopan.com/author/munarajs/
    मुनाराज शेर्मा
    माघ १८, २०७७
    मुनाराज शेर्मा - मधेशको गाउँमा दुःखको पहाड
  • मुनाराज शेर्मा
    https://shabdasopan.com/author/munarajs/
    फाल्गुन २, २०७७
    प्रेमको फिराद पत्र
  • मुनाराज शेर्मा
    https://shabdasopan.com/author/munarajs/
    मुनराज शेर्मा
    चैत्र १, २०७७
    मुनराज शेर्मा - जीवनको मोहम्मद गल्लिमा काइँलासँग 
  • मुनाराज शेर्मा
    https://shabdasopan.com/author/munarajs/
    मुनाराज शेर्मा
    चैत्र २१, २०७७
    मुनाराज शेर्मा - नियात्रा : हापेन चोकदेखि लिम्बुनी गाउँसम्म
Share38Tweet24Share7Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

भैरब अर्याल

भैरबको मृत्यु पछि – कणाद महर्षि

अशोज १९, २०७८
विनीता सिंह

विनीता सिंहः कवितामै बाँचेकी कवि – शरद प्रधान

असार १२, २०७८
पारिजात

मीतज्यू नाइट पहिलो साँझ – पारिजात

असार १०, २०७८

पूर्वको जङ्गली फूल – थाम्सुहाङ पुष्प सुब्बा

असार ५, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
इन्द्रबहादुर

पहिलो भेट: इन्द्रबहादुर राईसँग – कणाद महर्षि

जेष्ठ २२, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?