गुरुप्रसाद मैनाली
(स्थान: चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ। समय साँझ पख। चामे खेतमा काम गरेर लखतरान भई धुस्रे-फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर तमाखू बेह्रेर सल्काउंदै स्वास्नीलाई कराउंछ।)
चामे: गौंथली! ए गौंथली!(जवाब नआउंदा ढोकाबाट भित्र चियाउंदै) कहाँ मुंटी?ए गौंथली!
(एक छिनपछि हस्यांग र फ़स्यांग गर्दै पल्लो घरबाट गौंथली आएर गाग्रो टिपेर पंधेरोंतिर पानी भर्न गई। त्यो देखेर चामे अझै आगो भयो।)
चामे; (रीसले एक्लै फत्फताउन लाग्यो) राँड! यतिन्जेल भात पकाएको पनि छैन, कामबाट पोई भोकाएर आउंछ भन्ने त्यसलाई थाह छैन। दिनभरी तन्नेरीहरुसित मस्किएर अहिले ठिक्क पार्छे। पख तंलाई…..!
(एकछिनपछि गौंथली काखीमा गाग्रो च्यापेर पिढ़ीमा पुग्न के लागेकी थिई चामेले चुल्ठोमा समाएर आँगनतिर मुण्ट्याउंदै गाली गर्न लाग्यो।)
चामे: राँड! दिनभरी जन्तीसंग आँखा झिम्क्याएर बसी अहिले स्वाँग पार्छेस…..।
(गौंथली ढुन्मुनिनदै आँगनमा लड़ी। आफ्नो कसूर भएकीले पहिले त केही भनिन। चोईटिएको खपटा बटुल्न खोजदै थिई चामेले फेरी एक लात कस्यो।) गुरुप्रसाद मैनाली
गौंथली; (कर्कला स्वरमा चिच्याई) आइय्या…. मार्यो नी…! बज्जियाको कोड़ सल्केको हात।
चामे: (अझै जाक्किएर) मुख चलाउंछेस! जा! कहाँ जाञ्छेस जा। एकछिन नबस मेरो घरमा।
गौंथली;(अझै जोडले चिच्च्याउंदै) तेरो घरमा बस्दिन। बाबु आमा राँड़ारांडीका आँखा फुटेर कसाईको हात सुम्पे, यस्ता कंगाली मोराको पोई भएर बस्नुभन्दा डुबेर मर्नु जाती….।
चामे: राँडले आफ्नो बाबु त खुब ढनाढ्य छ भन्ठानेकी होली। गाउँलेको हलो नजोती साँझ विहान खान पुगदैन, माइतीको धाक लाउंछे।
चामे: (चामे र गौंथलीको झगड़ा सुनेर रमिता हेर्न आएको केटाकेटीहरुतिर झम्टिनदै)मोरा हो यहाँ के को रमिता छ र हेर्न आएको? तिमेर को घरमा काम छैन?(केटाकेटीहरु चामेलाई जिस्क्याऊदै भाग्छ)
(झमक्क पर्न लागेकोछ। गौंथली एकपट्टी सुंकसुकाऊँदै छे, अर्कोपट्टी चामे मुड्किको सिरानी लाएर दुवै भोकै सुते।)
… … …
(भोलीपल्ट बिहानै कामतिर गएको चामे साँझमा भोकले लखतरान भएर आईपुग्यो। हलो कोदालो भीतामा सिउरिएर यता उता हेर्यो तर गौंथली कतै देखेन। मास्तिरबाट जूठे दमाइकी स्वास्नी पानी भर्न जाँदै थियो, चामेले सोध्यों) गुरुप्रसाद मैनाली
चामे: (अन्कनिंदै) भाउज्यू! गौंथलीलाई देखेन?
जुठेकी स्वास्नी: (ओंठ लेब्र्याऊँदै) कुट्न थालेपछि आँखा नदेखी कुटछौ। आइमाइ मान्छे भन्दैमा त्यसरी पशुलाई जस्तो कुटेपछि माइत नगएर कहाँ जाओस त?
(जुठे दमईकी स्वास्नी पंधेरोंतिर लागी। चामेलाई देखेर भोकाएकी भैंसीले वाँइ गरे। भैंसीलाई घाँस हालेर पाडो छोड़ेपछि गबुवा लिएर दूध दुहुन बस्यों।)
चामे: (च्व… च्व… गर्दै) आ राम्री! तेरी मालिक्नीलाई त भोकै राखेर माइत जाकिन पर्यो। के गर्छेस बा?(भन्दै एक दुई सर्को दुहेको थियो, भैंसीले उफ़्रिएर एकलात हान्यों। चामे गोबरमा जोतिन पुग्यो। दिनभरि भोकै खेतमा काम गरेर आएको चामे रीसले आगो भए। छेउमा सिउरिएको लौरो टिपेर भैंसी कुट्न थाल्यो। भैंसीले दाम्लो छिनाएर कोकलेको मकैबारी सोतर पार्यो। पल्लो घरमा मारूनी नाचदै गरेको कोकलेलाई देखेर भैंसी अझै तर्सिएर ठाड़ों पुच्छर लाएर वल्लो छेऊ र पल्लो छेऊ कुद्यो। वर्षदिन खाने अन्न भैंसीले सोतर पारेको देखेर कोकलेले चामेलाई एक झापट कस्यो। माथिबाट कोकलेकी आमाले सरापदै थिइन)
कोकलेकी आमा: चामे मोराको बांझो होस। मोरालाई छेरौटीले लान नसकेको, हिजो स्वास्नी कुटयो आज भैंसी कुटेर अर्काकों वर्षदिन खाने कमाई बिगार्यो, कसैको नभाको रीस। बजियाले बहादुरी देखाएको होला। पोहोर धनवीरेले लातीले खाँदेर वर्षदिन थला परेको बिर्स्यो क्यारे! बलियो छु भन्दो हो। परचक्रीलाई कुटन सक्ने पो सक्ने, आफ्नो स्वास्नी र कीलामा बाँधेको भैंसीलाई कुटने के कुटने? साँझ पर्यो कि एउटा न एउटा बिठ्याई गरेर गाउँमा रडाँको मच्च्याउंछ। गुरुप्रसाद मैनाली
(भोलीपल्ट चामे बिहानै पंधेरोंबाट गाग्रोमा पानी लिएर आएको देखेर जुठे दमईकी स्वास्नीले खिज्याइन)
जुठे दमईकी स्वास्नी: आइय्यु नी !लोग्ने मान्छेले पानी बोकेको कस्तो नस्वाएको।
चामे: (स्वास्नी प्रति रीस पोख्दै) के गर्नु भाउजू? राँडलाई माइततिर गाड़िहाले, आफूले नबोकेर कसले बोकिदिन्छ त?
जुठेकी स्वास्नी: (सम्झाऊँदै) कुट्न थालेपछि आँखा नदेख्ने, विचरी नभागेर के गरोस त?
चामे: आफ़्नु मुखले! छुरा जस्तो मुख छ, नकुटेर के गर्नु?
जुठेकी स्वास्नी: (जिस्क्याउंदै) मुखाले भएकी अलिकति त कुटेरै पनि हो व्यारे!
चामे: (ठुस्किन्दै) चुप लाग! पोर दशैमा जुठेदाईले एकचोटी तिमीलाई कसरी कुटेथे। खोई त एकवचन फर्कायौ?
जुठेकी स्वास्नी:(ओंठ लेब्र्याउंदै) अं…एकचोटी भन्छौ, अहिले पो भक्ति भैरहेछन, अघि अघि त नकुटेको दिनै हूँदैनथ्यो। बेलुकी भोटेगाउँदेखि जाँड खाएर आए अनि एउटा निहूँ झिकेर कुट्न थाले, झन चाडवाड़को दिनमा त के भन्नु… नखाएको दिनै हूँदैनथ्यो। दुई चार दिन झरी-बादल भो की आजकल पनि जीउ दुख्छ। तर आफूले त यो उमेर भो कहिल्यै मुख फर्काएको थाह छैन।
चामे: (गजक्क हूँदै) हो त नि, के कुटेर मुखाले भएकी भन्छ्यौ त? तिम्रा जस्तै सुबानी भए पूजा गरेर राख्ने थिएँ।
जुठेकी स्वास्नी: (ओंठ पल्टाउंदै) भो भो सर्काउनु पर्दैन। जे भए पनि स्वास्नी जैरीसंग टेक गरेर हुँदैन, कति दिन पानी पंधेरों गरेर बस्ने? भोलीनै खुरुक्कै लिन जाऊ।
चामे: (घमण्ड देखाऊँदै) भो ज्ञान जानेर आउंछे भने घर छदैछ, लिन त पोड़े भए जाऊंला।
(एकदिन बिहान चामे पींढ़ीमा बसेर तमाखू खाँदै थियो, मास्तिरबाट छोरों बोकेर जुठे र उसकी स्वास्नी पल्लो गाउँ लुगा सिउन जाँदै गर्दा चामेलाई देखेर खिज्याए)
जुठे: के मेलो छ कान्छा?
चामे: (पुर्पुरोमा हात राखेर) बसिबसाऊ छ दाई।
जुठे: (जिस्क्याउंदै) स्वास्नी माइत धपाइहालिस। अब एक्लै मौज गर बस।
(जुठे दमई गएपछि चामेले धेरैबेर पुर्पुरोमा हात राखेर सोंच्यों, जूठेकों लोग्ने स्वास्नीको खुबै पिर्ती थियो। दुवै लोग्नेस्वास्नी दु:ख-सुखको कुरा गर्दै माझीगाउँतिर लुगा सिउन जाँन्थे । साँझमा जुठे “विद्युतको सरि रूप लिई गगनमा उडनु भया झट तसै” भन्दै विराटपर्वको सिलोक हाल्थ्यो, स्वास्नी जूठों-भाँडो गर्दै सुन्थिई। जुठे बिरामी पर्दा गाउँतिर धामी-झांक्री खोज़्दै हिंडथी तर चामेकी स्वास्नीले यतिका दिन कहिले राम्रो मुखले बोलेको छैन। गौंथली माइत गएपछि भैंसीले लातीले हानेर गोबरमा पछारिएको, भैंसीले गर्दा कोकलेको कुटाई खानु परेको, आफैले जुठों चूल्हो नगरे भोकै बस्नु परेको, दिनभरी खेतमा काम गरेर घर आई आफै पानी पंधेरों गर्नु पर्दा यस्तो छुसी जीवन जिउनुभन्दा खरानी घसेर हिंडनु जाती भन्ने सोंच्यों तर खरानी घसेर पो के गर्नु? दशघरको कुकुर नभुकाए खान पाईंन्दैन त्यति मात्र कहाँ हो र आजकल फेटा गूँथेको हट्टाकट्टा साधु देख्यों भने कोदाली खन्नुको गाह्रोले जोगी भएको भन्छन। अब जे भए पनि घरको स्वास्नी स्वास्नीनै हो। स्वास्नी नभएको घर साह्रै शुन्य लाग्न थाल्यो। विचार गर्यो मुखालेनै भए पनि काममा साह्रै जाँगरिली थी। भैंसीलाई घाँस ल्याउंथी, साँझ बिहान एक गाँस पकाएर खान दिन्थी। आए आऊँली नआए नआउली, एकपल्ट लिन जानै पर्यो। मन्मनै विचार गर्यो अनि ससुराली जान तर्खर भयो। मैलों भए पनि पनेलाको दौरासुरुवाल लाएर कुच्चिएको कालो बिर्खे टोपी टकटकाउंदै गनगनाउन लाग्यो।)
चामे: (कुच्चिएको टोपी सोझ्याऊँदै) राँडको ढंग हेर, माल पाएर चाल पाए पो हून्छ। आफ्नो बाबु बराज्युले कैले बिर्खे टोपी लगाएको भए पो थाह पाऊँथी। बाबु खांडीको टोपी लाएर भांग्राको गादो पारेर हिंड़छ, छोरी किन गतिली हुन्थी?बाहुनले च्याउ खाए पो स्वाद थाह पाउथ्यों।(टोपी सोझ्याएर छड्के पारेर लगाएपछि दौरामाथि ईस्टकोट लाएर हिंड्यो। ससुरालीको घर मुन्तिर पुगेपछि एकैक्षण चौतारामा बिसाएर पसीना पुछ्यो, माथि वन-पाखामा घाँसको भारी विसाएर वनै रन्काई गौंथली गीत गाऊँदै थीई “उड़ी जाऊँ भने म पंछी होइन बस्न त मन छैन” गुरुप्रसाद मैनाली
चामे: (गौंथलीको गीत सुनेर रन्किदै) घाँस खान नपाएर भैंसीको पेट गाइनेको सारङी जस्तो भैसक्यो, राँड यहाँ बसेर वन रन्काउछे।
(केही बेरपछि चामे उकालो लाग्छ। ससुरालीको आँगनमा पुग्दा चामेकों गोड़ा गह्रौ भएर आयो। सासु जुठ्यानमा ताप्के मस्काउन लाग्दै थिई, ससुरा पींढ़ीमा बसेर तमाखू खान लागेको थियो। टाढैबाट सासुलाई ढोग गर्यो, प्रत्युतरमा सासुले पनि जुठै हातले ढ़ोगिन। ससुराले चामेलाई देखेर ढोग्न निहुरिए, चामेले दुवै गोड़ा जोड़ीदिए। केही बेरपछि गौंथली पनि घाँसको भारी बोकेर आई। चामेलाई देखेर गौंथली खुशी भई। छिटको फरिया लाएकी, हातमा बाला,गलामा प्वांलोको माला, पुष्ट छाती, निधारमा पूर्णेको जून झैं सिन्दूरको ठूलो टीको लाएकी गौंथलीलाई देखेर चामे तृप्त भयो। त्यस रात चामेलाई पींढ़ीमै ओछ्यान लगाईदियो। रातभर उपियाँले टोकेर चामेलाई निन्द्रै परेन। ‘त्यसदिन विचरी गौंथलीलाई किन कुटें हुंला, एकछिन गाउंको बिहे हेर्न गएको स्वास्नीलाई कुटने यस्तो छुसीले के स्वास्नी सुमर्नु। अब घर गई भने कहिल्यै कुटने छैन, जुठे दमईको भन्दा बढ़ता कदर गरेर राखिन भने अनि भन्नु।’ त्यसले मन मनै सोंच्यों, त्यसदिन सम्झेर त्यसलाई पश्चाताप भयो। भोली पल्ट बिहान सासु जूठेल्नामा भाँड़ा माझ्दै थिइन। ससुरा पर्खालमा अड़ेसिएर तमाखू सल्काउन लागेको थियो। गौंथली जुठों-चुल्हों गर्दै थिई। गुरुप्रसाद मैनाली
चामे: (अलि संकोच मान्दै ससुरोतिर फर्केर) खेती-कटाईको बेला छ,ससुरा! छोरी पठाई दिनु पर्यो।
ससुरा: (एकछिन तमाखूको नली गलामा अढ्याएर रीसाएको भान पार्दे) हुन त ज्वाइं, गरीब र सरीब भनेर अनेक थरीको नाउँ राख्यौ अरे। गरीब भए पनि आजसम्म कसैको घरमा पोल्टो थाप्न गएको छैन। पाऊ पूजेर दिएको तिमीलाई नै हो, आफ्नो स्वास्नी राजी गराउ लैजाऊ, कसैले छेकेको छैन।
गौंथली:(ससुरासित कुरा गरेको चियाईरहेकी गौंथली मनमनै खुशी भई तरै पनि चामेसित घुर्की देखाउन डोको-नाम्लो बोकेर चामेलाई लामो जिब्रो देखाई वनतिर जान खोज्छे)
चामे: (गौंथली हिंडन लागेको देखेर पाखुरामा च्याप्प समातदै) डोको नाम्लो भिरेर कता नि…? हिंड घर जाऊँ।
गौंथली (घुर्की देखाउंदै) घर त मरे पनि जान्न।
चामे: (फकाउने निहूँ गर्दै) घर नगएर कहाँ जान्छेस त?
गौंथली: (आँखा तर्दे) एउटा जीउलाई के जहीं गए पनि त भो नी…. जोगिनी हुन्छु, जान्छु।
चामे: भैंसीलाई घाँस कसले काटी दिन्छ र जोगिनी हुन्छेस?
गौंथली (ओंठ लेब्र्याउंदै) काट्नु क्या आफ्नो भैंसीलाई आफै घाँस।
चामे: (फकाउंदै) धेरै नबौला, खुरुक्क घर हिंड।
गौंथली (पुलुक्क मायालु नजरले चामेलाई हेर्दै) घर गएर फेरी निहु झिकदै कुटदै गर्नलाई।
चामे (कान समाएर) ई….! अब पोंडे भए केही गरूंला।
गौंथली: भो नापियो। (डोको नाम्लो थन्क्याउंदै घरभित्र पस्छे,सिंगार-पटार भएर निस्कन्छे। सासुले सानु पोका र एक ठेकी दही राखिदिई। गौंथलीले पोकों बोकेर अघि लागिई, पछिपछि दहीको ठेकी बोकेर चामे सासु-ससुरालाई ढोगेर बाटो लाग्यो।)
गौंथली: (जिस्क्याउने बहाना गर्दै) आजकल भैंसीको दूध कति छ नि…?
चामे: बिहान बेलुकी गरेर एकपाथी। गुरुप्रसाद मैनाली
गौंथली (ओंठ लेब्र्याउंदै) इस्स…..! नभाको कुरा…..!
चामे: (भैंसीले लातीले हानेर चित परेको सम्झीन्दै) अनि तेरो भैंसीलाई पुल्पुल्याएर दिए पो। त्यसले अस्ति एक लात हानेर गोबरमा उतानों परें। एक लौरों हिर्काएको के थिएँ दामलों छिनाएर कोकलेको मकैबारी सोतर,व्यर्थै कोकलेको कुटाई खान पर्यो।
(चामेकों कुरा सुनेर गौंथली मुर्छा परीइ। झमक्क पर्न लाग्दा पंधेरोंनेर आईपुगेको थियो। मास्तिरबाट जुठेकी स्वास्नीले चामे र गौंथली जिस्किन्दै आएको देखेर गिज्याइन)
जूठेकी स्वास्नी: ओहो!….. चखेवा र चखेवी। अघि अघि दुलही पछि पछि दुलहा कति राम्रो सुहाएको।
गौंथली : (मुसुक्क हांस्दै) भो भो, नहाँस दिदी, फेरी कुन दिन कटाक्षे पर्ने हो।
जूठेकी स्वास्नी (दुवैलाई पालै-पालो हेर्दै) उस…! चाटाचाट गर्नु पनि त बेर लाग्दो रहेनछ नि….,लोग्ने स्वास्नीको झगड़ा परालको आगो।
- शब्दसाेपानकाे नयाँ खाेजमूलक अंक ‘साठी वर्ष अघिका कथाहरू’काे पाँचाै अंकमा साहित्यकार गुरु प्रसाद मैनालीकाे कथा परालकाे आगाे प्रस्तुत गरेका छाैं । मैनालीकाे उक्त कथा नासाे कथा संग्रहबाट साभार गरेका हाैँ ।
लेखक परिचय
गुरु प्रसाद मैनालीको जन्म बि.सं. १९५७ साल भदौमा धनकुटामा भएको हो भने मृत्यु २०२८ सालमा काठमाडौंको आर्यघाटमा भएको हो । न्याय विभाग अन्तर्गत निजामती कर्मचारीको हैसियतले विभिन्न स्थानमा जाने अवसर पाएका मैनालीले १९८६ देखि नै कथा लेख्न थाले पनि बि.सं. १९९२ सालमा शारदा पत्रिकामा प्रकाशित ‘नासो’ कथा मार्फत नेपाली साहित्यमा देखा परेका हुन् । आफ्नो जीवनकालमा जम्मा ११ वटा कथा लेखेका मैनालीले थोरै कथा लेखेर पनि नेपाली साहित्यमा आफ्नो विशिष्ठ पहिचान बनाउनुका साथै प्रथम आधुनिक कथाकारका रुपमा पनि आफूलाई परिचित गराएका छन् ।