सृष्टिको सुरुमा पृथ्वी थिएन अरे । पानी मात्र थियो अरे । अनि भगवानले पोरोमियोम्फमीलाई पृथ्वीको सृजना गर्ने शक्ति प्रदान गरी भगवान्को चित्त बुझ्दो पृथ्वी बनाउनू भनी आदेश दिए अरे । पोरोमियोम्फामीले आफ्नो शक्तिद्वारा पानीको फेदमा मुसेखा सेखानानामक शक्तिमान् माछो बनायो । त्यस माछामाथि पानीभित्रै उसले अर्को मुजिङ्ना खियोङ्गनानामक शक्तिमान् माछो बनाएर राख्यो । त्यसमाथि पानीभित्रै ओकवानामानामक अर्को माछो बनाएर पृथ्वी थाम्ने शक्ति राख्यो । त्यसमाथि मुगुपुलु्ङ थेगुपुलुङ नाउँको ठूलो पत्थर बनाएर राख्यो । तर, त्यो पत्थर पानीभित्रै रह्यो । फेरि, पोरोमियोम्फामीको शक्तिले त्योभन्दा ठूलो र अग्लो पत्थरको पहाड बनाएर अघिल्लो पत्थरको चट्टानमाथि राखी त्यसको नाउँ सुरोपलुङ खोरोपलुङ राख्यो । त्यो पहाड साँच्चै ठूलो र अग्लो भएकोले त्यसको टुप्पो पानीको बीचदेखि बाहिर निस्कयो । फेरि, पोरोमियोम्फामीको शक्तिले नौ प्रकारका माटो बनाई त्यस पत्थरको टुप्पोलाई छोपिदियो । बलौटे माटो बेसी भएकोले पानीको बिचमा सेतो बालुवाको मैदान देखियो । पोरोमियोम्फामीले आफ्नो शक्तिले दुबो झार उमारिदियो र मैदान हरियो चौर बन्यो । त्यसका चारै छेउका समुद्रहरूको नाउँ राख्यो । उत्तर र दक्षिणपट्टिको समुद्र क्रमैसित थेसिङ वारोङ र तेमेन वारोङ भनिए । पूर्व र पश्चिमको समुद्र क्रमैसित पोसङ थार वारोङ र पूर्णिला वारोङ भनिए ।
तर, समुद्र पनि अग्लो–होचो भएकोले तथा पृथ्वी पन अग्लो–होचो नभएकोले सृष्टि सुन्दर देखिएन भनी पोरोमिबाले पृथ्वीको रुप आग्लो, होचो तथा समथर बनाउनृ इच्छा गरी चारैपट्टिको समुद्रको छेउछेउदेखि कुनै ठाउँ समथर तथा कुनैकुनै ठाउँमा सानासाना पहाड बनाई ती समतल भूमिलाई तेम्बे औ सानो पहाडलाई सियाक्पे भन्ने नाउँ दियो । फेरि सियाक्पे पहाडभन्दा अग्लो एउटा पहाड बनाएर थेयाक्पे नाउँ राख्यो । फेरि, त्योभन्दा अग्लो पहाड बनाएर कोङ पालुङ नाउँ राख्यो, फेरि, त्योभन्दा अग्लो पहाड बनाएर थुगु नाउँ राख्यो । फेरि, त्योभन्दा पनि अग्लो पहाड बनाएर कोहिजोङ नाउँ राख्यो । अन्तमा यो कोहिजोङ पहाडदेखि पनि अग्लो आठवटा नामीनामी पहाडहरू बनाएर सदासर्वदा हिउँले ढाकिरहने र पृथ्वीको सौन्दर्य बढाउने भनी तिनीहरूको नाउँ हाक्तोकि लुङ्मा, कोङ्कोङ लुङ्मा र चोमजोङ लङ्मा भन्ने राख्यो । मानिसहरू यिनै पहाडहरूलाई हिमालय पहाड भन्दछन् ।
लेखक परिचय
इमानसिंह चेम्जोङ (१९६१-२०३३) इतिहासकार, साहित्यकार, लिपिकार, भाषावेत्ता र दर्शनविद हुन् । आजीवन किराँत भाषा, संस्कृति, साहित्य, कला, दर्शनको उत्थानमा समर्पित चेम्जोङ युगपुरुष मानिन्छन् ।