तामाङ लोककथा / दन्त्यकथा
धेरै वर्ष पहिले कुनै गाँउमा एक जना युवक थियो ।
ऊ दाउरा काट्न सधै सबेरै टाढाको जङ्गलमा जान्थ्यो । साँझपख दाउरा लिएर घर फर्कन्थ्यो । एकदिन ऊ वनमा गएर रूख काट्यो, दाउराको भारी बनायो र बोकेर घर फर्कदै थियो ।
टन्टलापुर घामको कारण उसलाई पानी खान मन लाग्यो । जङ्गलको बीचमा रहेको पहरामा गई उसले पानी खायो | एकछिन थकाइमार्यो र त्यागी भुसुक्कै निदायो । केहि समयपछि त्यही बाटो गरी वनमा सिकार खोज्न गएका वनझाँक्रीहरू ढ्याङ्ग्रो बजाउँदै आए । उनीहरूको कद होचो थियो । जीउभरि रौं नै रौंले ढाकिएको थियो । अनि उनीहरूले त्यस युवकलाई बोकी पहराभित्र रहेको सानो प्वालबाट आफ्नो सुनको
दरबारमा पुर्याए र एउटा कोठामा बन्द गरी राखे । हातखुट्टामा लामा-लामा नङ्ग्रा र घुँडासम्म लत्रेको स्तन भएका झाँक्रिनी आफ्ना छोराछोरी समेत उपस्थित भई । उनीहरूले युवकलाई मार्ने स्थितिमा पुगे । आपसमा वादविवाद समेत भयो । मार्नु हुँदैन भनी झाँक्रीले बल्लतल्ल मनायो ।
झाँक्रीले युवकलाई साँझपख सुनको थालमा चामल को भात र गँड्यौलाको तरकारी खान दियो । डर, त्रास र भोकको कारणले युवकले खानेकुराहरू सबै खायो । उसलाोई झाँक्रीले सम्झाउँदै भन्यो- “हामीले तिमीलाई विद्या र ज्ञान सिकाउन ल्याएका हौं, तिमी नडराऊ, सिकाएपछि सकुशल फर्काउने छौं ।” युवकले त्यस प्रस्तावलाई सहर्ष स्वीकार गर्यो ।
झाँक्रीले दिनहु एकपछि अर्को गरी ज्ञान दिँदै गयो । युवकले पनि सबै कुरा विश्वासका साथ तनमन दिएर सिक्यो । वनझाँक्रीलाई गुरू मान्दै ढोग्यो । वनझाँक्रीले पनि युवकलाई जुन दिन,समय र स्थानबाट जसरी ल्याएको थियो त्यसै गरी सुनको सियो उपहार दिएर सकुशल फर्कायो । त्यसपछि युवकले आजीवन धेरै रोगीहरूले उपचार गरी प्रसिद्वि कमायो ।
यसै घटनाका आधारमा आजसम्म पनि तामाङ लगायत अन्य सम्प्रदायमा वनझाँक्री प्रथा कायमै रहेको छ ।
तामाङ लोककथा / दन्त्यकथा
(साभार: रवीन्द्र तामाङ / सोनी तामाङ)
लेखक परिचय
रवीन्द्र तामाङ र सोनी तामाङ, तामाङ लोककथा संगालोका सङ्कलकहरू हुन्।