उपेन्द्र सुब्बा Upendra Subba
‘काँठे हो ! मेरो छोरा त ठूलो भइसक्या रै‘छ रे ! बाह्र-तेह्र वर्षको । नाक मुख त ढ्याक्कै मेरै फोटोकपी ।‘ म सानो छदाँ यस्तै देखिन्थे हुँला ।
मुल खम्वानेर उभेको छोराले बोलायो- ‘बुवा आउनू । हातखुट्टा नकमाइ- नडराई आउनू ।‘
म चुल्हानेर हुँदा चुल्हामाथि झुण्डेको फुर्लङमा चढेर छोराले भन्यो -‘मेरो पछि पछि आउनू है ।‘
कसरी चड्ने होला फुर्लुङ ? सोच्दै थिए । छोराले माथिबाट लिस्नु झारी दियो । लिस्नुको खापा उल्टोतिर फर्केको थियो ।
कसो कसो गरेर हामी बाउ- छोरा फुर्लुङ झुण्डेको अङ्कुसेमा पुगेका थियौँ । कसैले फुर्लुङको डोरी काटी दियो । चुल्हामा झरेको फुर्लुङ दनदनी बल्यो ।
त्याँदेखि माथि दलिनको बाटो हुँदै बाँया बाटो छुट्याएर अगाडि जाँदा हामी घरको धुरीमाथि निस्कियौँ आफ्नै घरको धुरी, आफ्नै जस्तो लागेन । खरको छाउँदा थुप्रै खेप धुरी चढेको त हुँ ।
हामी धुरीबाट बलेसीमा झर्यौ । बलेसीमा गडेउलाहरूको सब छिया छिया बनाएको थियो । बलेसी नाघेपछि हामी एउटा सुन्दर फूलबारीमा पुग्यौँ । मैले यति सुन्दर फूलबारी देखेको थिइन छोराले भन्यो -‘यो ठाउँलाई ‘अक्वा लुङबुङ पेन्जुसिङ‘ भन्छन् । मेरै घरछेउ यस्तो नामको फूलबारी सुनेको थिइनँ ।
फुलबारीमा एकछिन थकाई मारेर हामी पुन: अगाडी बड्यौँ । कमिलाले खोलेको फुसफुसे बाटो हुँदै अगाडी बड्यौँ । डरलाग्दो उन्युखघारी हुँदै गग्लातो झारघारी छिचोलेर बाँग्री झारले जेलिएको बाटो भएर अगाडि गयौँ ।
खरघारीमा पुग्दा ‘चिलिख्याक-चिलिख्याक !!‘ चराहरू कराए । उपेन्द्र सुब्बा
छोराले गुलेली फ्याट-फ्याट पारेर चराहरूलाई तर्सायो । चराहरू चुप भए । रक्ताम्मे फुलको गुराँसघारी छिचोल्ने बेला छोराले खवरदारी गर्यो -‘होसियार ! होसियार है बाउ ! यहाँ तान्त्रिकहरूले, बिजुवाहरूले लिसोपासो थापेका हुन्छन् । धनुकाँड तन्काएर राखेका हुन्छन् ।
छोरा मेरो अघिअघि लिसो पासो हटाउँदै, धनुकाँडका ताँदो खोल्दै गयो । म पछि पछि डराइ डराइ पछ्याउँदै गएँ ।
डाँडाकाँडा सप्पै ढाकेर बुक्की फूल फुलेको ठाउँमा पुगेपछि एउटा फूल टिपेर मेरो कानको चेपमा सिउरी दिन्दै छोराले भन्यो -‘यो मृतात्माहरूले लाइने फूल हो । लाउनुपर्छ ।‘ उपेन्द्र सुब्बा
बाटो झनै अप्ठेरो र डरलाग्दो हुँदै आयो । एउटा फङ्गे साँघु तर्न साथ सनाईजस्तो थुतुनो बनाएर सुँगुर स्वाँ स्वाँ गरेर बाटो छेक्न उभियो । छोराले गुलेली हानी खेदायो । अलिक पर पुग्नसाथ गाईहरू बाख्राहरू सिङ ठाडो पारेर हाम्रो बाटो छेक्न उभिए । कुखरा पनि सिउर बल्लाउँदै, भुइँ खोस्रिन्दै, पखेटा फटफटाउँदै हाम्रो बाटो छेक्न आयो । ती सबैलाई पनि छोराले गुलेलीले हानेर खेदायो । अलिक पर बाटोमाथि कोइरालो कराउँदै थियो । बाटोमुनि कोइली कराउँदै थियो । म डरले लुगलुग काम्दै थिएँ । तर मेरो छोरो कति पनि डराएन सानो भए पनि बज्या त बहादुर रैछ । यी सव नाघेर केहू समय उकालो हिडँपछि हामी एउटा ठूलो ढुङ्गेधारा भएको ठाउँ पुग्यौ । त्यहाँ थुप्रै मान्छेहरू नुहाउँदै थिए ।
छोराले भन्यो -‘यहाँ सबैले नुहाउनै पर्छ । र, लुगा फेर्नुपर्छ ।‘ हामी पनि नुहायौँ र पुराना लुगाफाटा, गरगहना फालेर नयाँ कहिले नदेखेको अनौठो खालका लुगा र आभुषणमा सजेर हामी फेरि पनि उकालो लाग्यौँ । लेकाली गाउँ ढुङ्गाका ठूलठूला चौतारीहरू कहिले विश्राम गर्दै, उकालो हिँडदा हिँडदा गरेर अन्तत हामी कुम्भकर्ण हिमालको शिर पुग्यौँ ।
‘पछाडि फर्केर नहेर्नु है बुवा‘ -छोरा भन्दै थिएँ । छोराले भन्यो -‘स्वर्ग !‘
बादलमा चढेर छोराले हात अघि सार्दै भन्यो -‘आउनु बुवा डराउन पर्दैन । ऊ त्यो रथ हाम्रो लागि तयार छ । बरु ढिलो नगरूँ‘
‘तिम्री आमा एक्लै छिन्‘ – मोरो कुरा टुङ्ग्याउने नपाउँदै छोरा बोल्यो -‘अलिक पछि आमालाई पनि ल्याउँला नि ।‘
– ‘नाइँ, तिम्री आमालाई एक्लै छोडेर जान्न।‘ उपेन्द्र सुब्बा
– ‘दाजुहरू छन् नि‘
– ‘हो त ! मेरा दुई भाइ छोरा छन् तर तिमीचाहिँ कुन भाइ छोरा मेरो ?‘
– ‘कान्छा ! अस्ति क्या त तपाईंहरूले म चार महिनाको गर्भमा छँदा हस्पिटलमा फालेको म त्यै नजन्मेको छोरा हुँ ।‘
– ‘ए ! यत्रो भइस् तँ‘
– ‘छिटो गर्नु बाउ‘
– ‘हट ! म जान्न । तिमी जाऊ ।‘
– ‘साँच्ची नजाने ? साँच्ची ! साँच्ची !! साँच्ची त . . .?‘
– ‘अँ नजाने ‘
– लु त उसो भा ।‘ रिसले छेउको जुन तानेर छोराले बुङ मेरो छातीमै हान्यो ।
म कुम्भकर्णको शिरबाट खसेँ । महासून्यमा । कहालिन्दै -चिच्याउँदै खस्दै थिए । सायद स्वास्नीले घुसा मारिन क्यार ! म बिम्झेँ ! कति खतरनाक सपमा । मुटु जोडले ढुकढुक गर्दै थियो । पसिनाले लुथ्रुक्क भिजेको थिएँ । उठेर टेवल ल्याम्प बालेँ । स्वास्नी भित्तातिर मुख फर्काएर सुतेकी थिई । भित्तामाथिको एेश्वर्यको पोस्टर मुस्कुराइहेको थियो । टेवलमा राखेको नाडी घडी उठाएर हेरेँ, तीन बजेको रहेछ ।
मनमा चिसो सिरेटो चल्यो -‘सपना त राम्रो देखिन । मर्छु कि क्या हो ।‘ सपनाको छोराको अनुहार आँखैमा नाच्दै थियो ! जन्मेको भए त्यस्तै कि ? त्यस्कै आमाले नमानेर त हो नि । मैले त सुर गरेकै थिएँ ! बजियाको कस्तो चम्किला अनुहार । हलक बढेको मुलाजस्तो ज्यान । सपनामा पो देखिनु‘ रे । भएका छोराहरू त भने जुका परेको जस्ता ज्यानका, मोचले खाइ मारेको अनुहार । घिचेकोले उल्टो थिचेकोहरू ।‘ – मनमा अनेक कुरा खेले ।
उहिले ज्योतिषीले भनेको कुरा पनि याद आयो -‘तिम्रो साइँला छोराचाहिँ खह्रो हुन्छ है !‘
नजन्मेरै पनि झण्डै स्वर्ग पुर्यायो । जन्म्या भा त झन् गर्थ्यो कुन्नि ! के गर्ने ? त्यसरी फाल्नु नुहुन्थ्यो होला । भेका दुई छोरा त कहिले कहीँ धेर हुन्छन् । फेरि यो महँगीमा पढाउनु -लेखाउनु, डेरा भाडाको बसाई काठमाडौँमा । तैँले नजन्मेरै जानिस् ।‘ मनमा अनेक कुरा थुप्रिए ।
निद्रा हराइसकेको थियो । ओल्टो -कोल्टो कति फेर्नु ! बिहान हुन आँटेको थियो, स्वास्नीसँग गफ गर्न मन लाग्यो र कुममा हल्लाएर बिउँझ्याउन खोजेँ ! ठसमस निद्रामै थिई । तब, नजिक सरेर बिउझाउने कोसिस गरेँ मेरो कोसिसलाई गलत सम्झिन क्यार ! कोखामै घुस्सी मारेर फत्फताइन् -‘राँगाले सुत्न पनि दिँदैन ।‘
म ठाउँको ठाउँ कुप्रो परेँ । म पनि भुस मान्छे । रातिमात्र त्यत्रो रडाको परेर ओछ्यान पसेको, कसरी बिहान नहुँदै बिर्सेछु ।।
लेखक परिचय
सर्जक उपेन्द्र सुब्बा कवि, गीतकार, कथाकार र पटकथाकार हुन्। सुब्बाले सर्जकहरू राजन मुकारुङ र हाङयुग अज्ञातसँग संयुक्त रूपमा साहित्यिक आन्दोलन 'सृजनशील अराजकता'को सुरुवात गरेका हुन्। उनको कथा संग्रह लाटो पहाडले पद्मश्री पुरस्कार प्राप्त गरेको छ भने उनको चलचित्र कबड्डी उत्कृष्ट पटकथाको लागि पुरस्कृत भएको छ। सुब्बाले लिम्बू समुदायको संस्कारमाथि बनेको चलचित्र जारीमार्फत निर्देशनमा प्रवेश गरेका छन्।