तामाङ लोककथा सृष्टिकालको कुरा हो ।
त्यसबखत स्वर्गमा आगो थिएन । पृथ्वीमा उज्यालो थिएन । त्यसैले भगवानले कुखुराको भालेलाई ‘पृथ्वीमा गएर त्यहाँका मानिससँग आगो मागेर ल्याउनू’ भनेर पठाए । भगवानले भालेलाई पृथ्वीमा रहदाँ बस्दा आगो लिएर नफर्कुन्जेल नबास्नू भनेर अह्राएका थिए । भाले पृथ्वीमा उडेर पुग्यो । त्यहाँका मान्छेसँग भेट गर्यो र आगो माग्यो ।
मान्छेले कुखुरालाई ‘आगो त हामीहरू दिन्छौँ तर तिमीले हामीसँग एक वाचा गर्नुपर्छ’ भने । मान्छेहरूलाई स्वर्गको भाले पृथ्वीमा बास्यो भने उज्यालो हुन्छ भन्ने कुरा थाहा थियो । अनि मान्छेहरूले कुखुरालाई आगो लैजाने हो भने एक पटक जोडले बास्न आग्रह गरे । तर भालेले आफूलाई भगवानले पृथ्वीमा नबास्नु भनेकाले बास्न नसक्ने कुरा बतायो ।
त्यसपछि मान्छेहरूले भने, ‘त्यसो भए कि आफ्नो वाचा फिर्ता लिनू, कि आगो नलिई स्वर्ग जानु ।’
भालेलाई के गरौँ कसो गरौँ भयो । जेसुकै होस्, स्वर्गमा आगो त लिएरै जान्छु भन्ने सोच बनायो । ठूलो स्वरले बास्न थाल्यो । मानिसहरू दङ्ग परे । पहिलो पटक भाले बास्दा आधा रात बितेको थियो । दोस्रो पटक बास्दा हावाको झोंक्का चलिरहेको थियो । तेस्रो पटक बास्दा पूर्वबाट सूर्य उदायो । चौथो पटक बास्दा पृथ्वी पूरा उज्यालो भयो । पृथ्वीमा मानिसहरूको दिनचर्या सुरु हुन थाल्यो । हरेक काम गर्न मान्छेहरूलाई सरल र सजिलो भयो । यसै घटनाका आधारमा तामाङहरू पृथ्वीमा रातै–रातको सट्टा रात–दिन हुन थालेको हो भनी विश्वास गर्छन् । तामाङ लोककथा
(संकलकद्वय: रविन्द्र तामाङ र सोनी तामाङ)
लेखक परिचय
रवीन्द्र तामाङ र सोनी तामाङ, तामाङ लोककथा संगालोका सङ्कलकहरू हुन्।
Very much interesting tales